कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

शिक्षक सम्मानित भए गुणस्तर

सुनिता लामिछाने

काठमाडौँ — म सानी छँदा सुन्ने गर्थें, हाम्री छिमेकी आमै आफ्ना छोरालाई जति बेलै पढ्न कर गरिरहनुहुन्थ्यो । छोराले अटेर गरे रिसाउँदै भन्नुहुन्थ्यो, ‘पढे पढ्, नपढे नपढ् ! पढिस् भने तेरी स्वास्नी मास्टर्नी हुन्छे ।’ छोरो पढेर मास्टर बनिदिए आफ्नालागि सर्वस्व हुने आमैको आशय थियो ।

शिक्षक सम्मानित भए गुणस्तर

एक पुस्ता अगाडिसम्म हाम्रो गाउँ–समाजमा शिक्षक पेसा कति सम्मानित र मर्यादित थियो भन्ने यथार्थको एउटा उदाहरण हो । गाउँघर, छरछिमेकमा केही पर्दा सरसल्लाह दिने शिक्षकहरू नै हुन्थे । अहिले त्यस्तो देखिँदैन । त्यही शिक्षकले पढाएका विद्यार्थी डाक्टर, इन्जिनियर, वकिल, मन्त्री, व्यवसायी जस्ता ओहदामा पुगेका छन्, सम्मानित हुन पुगेका छन् ।

तिनलाई त्यो हैसियतसम्म पुर्‍याउने शिक्षकलाई चाहिँ प्रायः तुच्छ रूपमा हेरिन्छ । त्यति मात्र होइन, शिक्षण पेसामै रहे पनि हामी आफ्ना छोराछोरीलाई शिक्षक भनेर गर्वका साथ परिचय गराउन हिचकिचाउँछौँ । कसैले छोराछोरी के गर्छन् भनेर सोधे, अभिभावकहरू भन्ने गर्छन्, ‘खोइ, आफ्ना छोराछोरीले त केही गर्न सकेनन् ! यसो अल्झने बाटो विद्यालयमा पढाउँछन् ।’

नेल्सन मन्डेलाले भनेका छन्— शिक्षा यति महान् र शक्तिशाली हुन्छ, यसले विश्वलाई नै परिवर्तन गराउँछ । मन्डेलाको यो भनाइबाटै स्पष्ट हुन्छ, मुलुकलाई समृद्ध बनाउन विभिन्न निकाय र पक्षमध्ये शिक्षाको प्रमुख भूमिका हुने गर्छ ।

गुणस्तरीय शिक्षाका लागि त्यस ठाउँको सामाजिक र आर्थिक संरचना, विद्यार्थीको क्षमता, साधनस्रोतले प्रभाव पार्न सक्छ । त्यसमध्ये मुख्य त शिक्षालाई प्रभावकारी बनाउनमा शिक्षककै भूमिका प्रमुख रहन्छ । शिक्षकको हात सयौं कलिला बालबालिकाको भविष्यसँग जोडिने भएकाले शिक्षक आफै मजाले नखटेसम्म विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् ।

भर्खरै तोते बोली बोल्दै गरेका बालबालिकालाई अभिभावकले विद्यालयको जिम्मा लगाइदिन्छन् । ती कलिला बालबालिकालाई असल नागरिक बनाउने मात्र नभएर, सिङ्गो मुलुकलाई शिक्षित बनाउने काम शिक्षकले गरेका हुन्छन् । कक्षाकोठा भित्र पसेर पढाइरहँदा शिक्षकले त्यो कक्षाकोठाको मात्र नेतृत्व गरेको हुन्न कि मुलुककै नेतृत्व गरेको हुन्छ । शिक्षकहरू स्फुर्त रूपमा अगाडि बढ्नसके मात्र शिक्षाको गुणस्तर बढ्न सक्छ । त्यसैले शिक्षणलाई महत्त्वपूर्ण र सम्मानित पेसाका रूपमा हेर्नु आवश्यक छ ।

भौतिक पूर्वाधार र आर्थिक लगानीका साथसाथै गुणस्तरीय शिक्षाका लागि ऊर्जावान् शिक्षकको खाँचो पर्छ । शिक्षकको ऊर्जा बढाउन उनीहरूलाई हौसलाको आवश्यकता पर्छ । त्यो हौसला राम्रो तलब र अन्य सरसुविधाका कारण बढ्ने गर्छ । अनि शिक्षकलाई हेर्ने हाम्रो समाजको सोचमा परिवर्तन आउनु पनि जरुरी हुन्छ ।

भविष्यमा शिक्षक बन्ने चाहना राख्ने विद्यार्थी अचेल विरलै भेटिन्छन् । उनीहरूको मस्तिष्कमै ‘शिक्षण सम्मानित पेसा होइन’ भन्ने छाप पारिएको हुन्छ । शिक्षाचाहिँ गुणस्तरीय चाहनेहरूमा यही विरोधाभास छ । राम्रो शिक्षाको अपेक्षा राख्छौं, तर कोही पनि आफ्ना केटाकेटी शिक्षक भएको हेर्न चाहँदैनौं । नमुना शिक्षाको उदाहरण दिँदा फिनल्यान्डको नाम अगाडि आउने गर्छ । फिनल्यान्ड यस्तो मुलुक हो, जहाँ शिक्षकलाई सबैभन्दा बढी सम्मान र मर्यादा दिने गरिन्छ । हामीकहाँ यही पेसा अपहेलित छ ।

नेपालका एकाधबाहेक सबैजसो सार्वजनिक विद्यालयका शिक्षकहरू पार्टीगत राजनीतिमा विभाजित छन् । कतिपय चाहिँ आफ्नो ठाउँमा खेताला शिक्षक राखेर अन्यत्र संलग्न छन् । यस्ता विद्यालय पनि छन्, जो राहत कोटा र खेताला शिक्षकमा निर्भर छन् । निजी विद्यालयमा राजनीति घुसिनहालेको भए पनि तलबका मामिलामा शिक्षकहरू प्रताडित छन् । श्रमिकलाई तोकिएको न्यूनतमभन्दा पनि कम तलबमा पढाउन शिक्षकहरू बाध्य छन् । आफ्नै भविष्यको टुंगो नभएका यस्ता शिक्षकले देश निर्माणका कर्णधार मानिने विद्यार्थीलाई के सिकाउन सक्छन् ?

गुणस्तरीय र रोजगारमूलक शिक्षाको पहिलो सर्त हो— शिक्षण पेसालाई सम्मानित अनि पहिलो रोजाइको पेसा बनाउनु । यसका लागि निजीमा पनि तलब र अन्य सरसुविधालाई आकर्षक बनाउनुपर्ने हुन्छ । यस्तो नभएकैले ‘हेल्मेट शिक्षक’को बिगबिगी भएको हो । आफू कार्यरत संस्थाले योग्यता अनुसारको सुविधा उपलब्ध गराए, कोही पनि परिवारको भरणपोषणका लागि दसतिर धाउने थिएनन् होला ।

जागिर खानुको अर्थ हो— आफ्नो भविष्यलाई ढुक्कको बनाउनु । हामीकहाँ शिक्षकका सन्दर्भमा यो सम्भव छैन । यसर्थ भोलिको समुन्नत मुलुकको आधारशिला निर्माण गर्न शिक्षणलाई सम्मानित पेसाको रूपमा विकास गर्नु अपरिहार्यता छ ।

हालसालै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षामा सुधारका लागि प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको छ । त्यसमा शिक्षक र शिक्षणका आम समस्यालाई केही हदसम्म समेट्ने प्रयास गरिएको छ । ती सुझावलाई दराजमा नथन्क्याई कार्यान्वयन गर्न सकिए शिक्षा क्षेत्रमा देखिएका कमी–कमजोरी हट्दै जाने थिए ।

प्रकाशित : चैत्र ८, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?