परीक्षाको के पीर !

काठमाडौँ — एसईई सुरु भइसकेको छ । विद्यालय तह संरचना परिवर्तन भएकाले कक्षा १० को परीक्षाको महत्त्व कम भएको भान हुन्छ । ग्रेडिङ प्रणाली लागू भएपछि मनोवैज्ञानिक सन्त्रास कम भए पनि फेल नहुने भएकाले विद्यार्थीले मिहिनेत गर्न अल्छी मान्ने प्रवृत्तिको विकास भएको पाइन्छ । 

परीक्षाको के पीर !

कुनै पनि विद्यार्थीले परीक्षा बिगारूँं र शिक्षक–अभिभावकको चित्त दुखाऊँ भन्ने चाहेको हुन्न । पढाइमा ध्यान नजानुका पछाडि धेरै मनोवैज्ञानिक कारण हुन्छन्, जसको ख्याल गरिएको हुँदैन । कतिपय अवस्थामा विद्यार्थीले पनि आफू कमजोर भएको थाहा पाउँदैनन् । स्कुले विद्यार्थीको उमेर भनेको शारीरिक, मानसिक र वैचारिक रूपमै शारीरिक वृद्धि र हार्मोनको परिवर्तनको उमेर भएको हुँदा छिट्टै तनाव सिर्जना हुने, पढाइमा मन नजाने र दिक्दार लाग्ने हुन्छ ।


विद्यार्थीहरूमा परीक्षाका बेला तनावका कारण एकाग्र हुन नसक्ने, आत्मविश्वास डगमगाउने, भोक कम वा बढी लाग्ने, कम बोल्ने, निद्रा नलाग्ने, छिनछिनमा मुड बदलिने पनि हुनसक्छ । अंक धेरै ल्याउने दबाब, आमाबुवाको अपेक्षा, प्रतियोगी भावना लगायतले गर्दा तनाव उत्पन्न हुन्छ ।


परीक्षाको तनाव कम गर्ने उपाय

१. अभिभावक सजग हुने

परीक्षा आएसँगै बालबालिका परीक्षा र करिअरका बारेमा सोचेर चिन्तित हुन्छन् । अभिभावकहरूले उनीहरूमा आएको परिवर्तनलाई ध्यान दिनुपर्छ । यतिबेला विद्यार्थीहरूमा प्रश्नपत्र कस्तो आउला, तयारीमा मन लाग्दैन, विषय याद भइरहेको छैन भन्नेजस्ता समस्या देखिन्छन् । यस्तो नहोओस् भन्न अभिभावकले अनावश्यक दबाब दिनुहुन्न । घरको वातावरण सकारात्मक हुनुपर्छ । विद्यार्थीले पढाइका साथै शारीरिक गतिविधि पनि गरिराख्नुपर्छ । खानपिनमा विशेष ख्याल गर्नुपर्छ ।


२. उपयुक्त तयारी र लगनशीलता

विद्यार्थीले आफ्ना पुस्तक, नोटकापीहरू, पेन, पेन्सिल तयारी अवस्थामा राख्नुपर्छ । विषय अनुसारका पुस्तक र सम्बन्धित नोटकापी एवं अन्य वस्तु छुट्याएर राख्नुपर्छ, खोजेको र पढ्नुपर्ने बेला भेटिऊन् भनेर । परीक्षाका दिन चाहिने प्रवेशपत्र, घडी, क्यालकुलेटर जस्ता आवश्यक सामान सधैं तयारी अवस्थामा भए भने तनाव अलिकति भए पनि कम हुन्छ ।


३. आलस्यबाट टाढै बस्ने

आलस्य मानिसको सबैभन्दा ठूलो शत्रु हो । विद्यार्थीले कहिले पनि आलस्य गर्नुहुन्न । आफ्ना पाठ्यक्रमका किताबहरू पढिरहनुपर्छ । पढने बेला अल्छी लाग्न थाल्यो भने चिसो पानिले मुख धुने, केही समयका लागि खुला स्थानमा ताजा हावा खाने, कहिलेकाहीं शवासनमा लम्पसार हुने र केही समयपछि फेरि पढ्न सुरु गर्ने गर्नुपर्छ । यसले गर्दा पढाइमा मन जाने हुन्छ ।


४. समयको महत्त्व बुझ्ने

सफलता र असफलताको बीचमा समयको महत्त्वपूर्ण भूमिका हुन्छ । सफल विद्यार्थीहरू समयको महत्त्व बुझेर समयको सदुपयोग पाठ्यक्रमका महत्त्वपूर्ण बुँदाहरूलाई रिभिजन गर्न र विषयको ज्ञान प्राप्त गर्नमा अवसरको रूपमा केन्द्रित हुन्छन् । असफल विद्यार्थीहरू समयको दुरुपयोग गर्छन्, अनि पढाइको अवसर गुमाउँछन् ।


५. नतिजाको चिन्ता नगर्ने

केही विद्यार्थी परीक्षाभन्दा पहिले नै परिणामबारे चिन्तित हुन्छन् । आफूले गरेको परिश्रमको फल पाउनु निश्चित नै छ, त्यसबारे धेरै सोचेर परिणाम परिवर्तन हुँदैन । त्यसैले परिणामबारे सोच्नुको सट्टा कडा मिहेनत र लगनका साथ पढाइमा ध्यान केन्द्रित गर्नु

बुद्धिमानी हुन्छ ।


६. आफूलाई सधैं ताजा राख्ने

विद्यार्थीहरू परीक्षाको बेला लगातारको पढाइ र परिणामबारे सोचेर आफूलाई व्यस्त राखिरहेका हुन्छन् । त्यसबाट विद्यार्थीको स्मरणशक्तिमा कमी आउँछ । त्यसैले विद्यार्थीले समय–समयमा पढाइबाट ब्रेक लिएर बाहिर घुम्न जाने, साइकल चलाउने, मनपरेको गेम खेल्ने, चेस खेल्ने, मनपरेको गीत–संगीत सुन्ने गर्नुपर्छ । यसो गर्दा पढाइमा एकाग्र हुन सहयोग मिल्छ ।


७. जंक फुड नखाने

पढाइको तनाव कम गर्न आफ्नो मनपरेको खाना खानुपर्छ । परीक्षाको बेला मनपरेको खाना खाने बहानामा जंक फुड बिर्सेर पनि खान हुन्न । मस्तिष्कका लागि शारीरिक स्वास्थ्य राम्रो रहुनु आवश्यक छ ।


८. पढेको कुरा परीक्षा पहिले दोहोर्‍याउने

परीक्षाको बेला पहिले पढेको कुराहरू अनिवार्य रूपमा रिभिजन गर्नुपर्छ । रिभिजनले याद गर्न सहज हुन्छ र परीक्षामा पुनः स्मरण गरी लेख्न सहज हुन्छ । रिभिजन गर्दा सम्पूर्ण पाठहरूलाई पढ्नुको सट्टा महत्त्वपूर्ण बुँदाहरूलाई पढ्नुपर्छ । पहिले एकपटक पनि नपढेको पाठभन्दा पढिसकेका पाठहरूको रिभिजन गर्नु राम्रो मानिन्छ ।


९. सोच सकारात्मक बनाउने

अध्ययनको समयमा मोबाइल फोन, टीभी, इन्टरनेट, भिडियो गेम, ट्याबलेट आदिको प्रयोग गर्नु हुन्न । सोच सकारात्मक बनाउनुपर्छ । नकारात्मक सोच राख्ने मानिसहरूबाट टाढै बस्नुपर्छ । समय मिलाएर आराम गर्नुपर्छ ।


लेखक स्कुल अफ साइकलोजी नेपालका अध्यक्ष हुन् ।

[email protected]

प्रकाशित : चैत्र ११, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?