आई लभ यु आई डोन्ट लभ यु

स्नेह सायमि

काठमाडौँ — मेरी आमाले मलाई ‘म तँलाई माया गर्छु’ कहिल्यै भन्नुभएन, भन्न जान्नु पनि भएन  । आमाले माया नगर्ने हो भने म गर्भमै हुन्नथेंँ वा तुहिन्थेंँ भन्ने मलाई थाहा छ  ।

संसारमा आमा र आमाको असीम माया नहुने हो भने सृष्टि नै असम्भव छ । तसर्थ अरूका झैं मलाई पनि सबैभन्दा बढी माया गर्ने आमा नै हुनुहुन्थ्यो । मान्छे होओस् या पशुपन्क्षी, कुनै पनि जीवात्मा आमाकै अंश भएर जन्मिने हो । आमाले सन्तानलाई जोगाउन कति देउता भाक्छन् र भूतप्रेत मन्साउँछन्, कति प्रतिकूल वातावरण र सम्भावित आक्रमणको सामना गर्छन् भन्नेबारे बुझेका मान्छेहरूलाई व्याख्या गरिरहनु पर्दैन ।


आमाको माया अर्थात् काख यस्तो संसार हो, जहाँ सन्तानले घुर्क्याउन, रुन, सबै किसिमका दुःखसुख साटासाट गर्न पाउँछन् । आमाहरूले आफ्नो सुख–दुःख, सफलता–असफलता सन्तानको दुःख–सुख र सफलता–असफलतासंँग जोडेर हेर्ने गर्छन् । सन्तान जेजस्तो नियतका भए पनि तिनको सफलताकै कामना गर्छन् । सन्तानलाई ज्ञानी बनाउन आफूले जानेबुझेको विस्तृत वा सीमित ज्ञान, विचार, विधि, सम्पत्ति सबै प्रयोग गर्छन् । सन्तान आफूभन्दा जान्ने–बुझ्ने होउन् भन्ने चाहन्छन् ।

कति सन्तान कालान्तरमा नयाँ प्रविधिका ज्ञाता पनि हुन्छन् । उसबेला आमाबाले गरेका कतिपय विधि–व्यवहार राम्रा–नराम्रा के थिए भनेर विश्लेषण गर्न सक्ने हुन्छन् । तथापि त्यस्ता सन्तानले अहिले आएर आमालाई ‘तपाईंले उसबेला भूतप्रेतमा विश्वास गर्नाले म अस्वस्थ भएँ’ वा ‘तपाईंले देवता भाकेकाले म हुर्केको हुँ र ?’ वा ‘मलाई किन गाउँको स्कुलमा पाउनुभयो ?’ भन्न मिल्दैन । आमाहरूलाई जे असल लाग्यो, ल्याकतले जे भ्यायो, त्यही गरे । कुनै पनि आमाले आफ्नो सन्तानको अहित चिताउँदैनन् । आमाबाको समग्र ध्यान आफ्ना सन्तानको प्रगतिमा केन्द्रित हुने गर्छ । त्यही भएर सन्तानलाई ‘म तँलाई माया गर्छु’ भनिरहनै परेन । सन्तानले बदमासी गरेको बेला जगल्ट्याउनु, लात्ताले भक्कुर्नु पनि पनि माया गर्नुकै अर्को रूप हो ।


अहिले बजारमा नयाँ चलन भित्रिएको छ । सानैदेखि छोराछोरीलाई ‘आई लभ यु’ भनिरहनुपर्छ, म्वाइँ खाइरहनुपर्छ, तिनको बालसुलभ निर्णय आफूलाई ठिक नलागे पनि ‘बाउ’ भनिरहनुपर्छ ! अर्थात सन्तानलाई मनैदेखि माया गरेर मात्र पुग्दैन, भन्नु पनि पर्छ— ‘म तिमीहरूलाई माया गर्छु’ । माया गरेको अभिनय पनि गरिरहनुपर्छ । भित्रैबाट माया गर्नेले अभिनय गरिरहन चाहँदैन ।

अभिनयमा माया नै हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि अबका आमाबाले हाम्रा बाआमाले जस्तो चुटेर वा दाउराले हानेर माया गर्ने स्वतन्त्रता पाउने कल्पनासम्म गर्न सकिँदैन । बरु उपहार नकिनिदिएको दिन, आइप्याड नचलाऊ भनेको दिन, पिज्जा र कोकको सट्टा अर्थोकै खानु भनेको दिन वा आफ्नो हैसियतले नभ्याएको सामान नकिनिदिएको दिन, जन्मदिनमा उनीहरूका साथीहरू बोलाएर केक नकाटेको दिन, रेष्टुराँ जान सकिनेगरी पकेट खर्च नदिएको दिन अबका सन्तानहरूले मेरा आमाबाले मलाई माया गर्दैनन् भन्ने हिसाबमा बुझ्ने गर्छन् । सन्तानप्रति आमाबाको माया जहिल्यै अगाध हुन्छ, कुनै सामान वा पैसाको आदान–प्रदानबाट आमाबाको मायाको परीक्षा लिन सकिँदैन भन्ने रहस्य बुझ्न नसक्ने हुँदै गइरहेको छ, नयाँ पुस्ता ।


अहिले सबैजसो घरको सबैभन्दा ठूलो समस्या हो— संवादहीनता । इन्टरनेट, मोबाइल फोन र त्यस्तै साधनहरूको अधिक प्रयोग अर्थात दुरुपयोग । बैठक कोठा र भान्सा कोठामा संँगै बस्ने, केही नभए सँंगै टिभी हेर्ने चलन अब हराउँदै गएको छ । अचेल हामी सबै बाहिरी संसारमै ब्यस्त भएका छौं । हामीलाई आफू र घरपरिवारमा भन्दा अरूको बारेमा बढी चासो हुनथालेको छ । बाहिरी चलन, बाहिरी वेशभूषा, बाहिरी संस्कारले छपक्क छोपेको छ । श्रीमान–श्रीमती एउटै कोठामा सुते पनि अलग–अलग सामाजिक सञ्जालमा व्यस्त हुने बानीले श्रम र जीवन्त सम्बन्ध दुबै घटाएको छ । बच्चा रोए आइप्याड वा मोबाइल फोन दिएर फकाउने चलन बसेको छ । हामीलाई समय र काम बितेको पत्तै हुन छाडेको छ । कोही कसैप्रति उत्तरदायी हुनु नपर्ने यस्तो डिजिटल, भर्चुअल र बाहिरी सम्बन्धले जीवन्त सम्बन्धमा खिया लगाइरहेको छ । त्यो जीवन्त सम्बन्धमा, जहाँ ‘आई लभ यु’ भन्दामात्रै माया गर्ने दायित्व पूरा हुँदैन । धेरै विधि–व्यवहार आवश्यक पर्ने त्यो जीवन्त सम्बन्धमा क्षय भइरहेको छ । यही क्षयीकरणको बाढीमा सम्बन्धहरूको वस्तुकरण भइरहेको छ र आमाबाहरू यसको मारमा परिरहेका छन् ।


कुनै दिन मलाई जीवन दिनेहरू, मेरो जीवनयात्रामा निःस्वार्थ सहयोग गर्नेहरू यिनै हुन् भन्ने यथार्थलाई सम्झनुको कुनै अर्थ बुझ्दैनन्, अहिलेका सन्तानहरू । अब अरू सम्बन्धजस्तै लेनदेन र उपयोगिताको सिद्धान्तमा आधारित भइरहेको छ, सन्तान र अभिभावकको सम्बन्ध । आमाबा बुढाबुढी भए, उनीहरू पुरानै कुरा गर्छन्, हठी छन्, नयाँ सोच र प्रविधिसँंग मेल खाँदैनन्, कचकच मात्र गर्छन्, खर्चमात्र बढाउँछन् भन्ठान्छन्, अहिलेका प्रायः सन्तान । उनीहरू आमाबाको साथ, उपदेश, स्याहारमा समय खर्च गरेर आफ्नो अमूल्य समय ‘खेर’ फाल्न चाहँदैनन् ।


सम्बन्ध लेनदेनमा आधारित हुँदै गएपछि आमाबा र सन्तानहरूले नयाँ सम्बन्धको खोजी गर्नुपर्ने देखिएको छ । सायद सँगै राख्नु नपर्ने भर्चुअल प्यारेन्ट्स वा सन्तान साथमा नभएपछि पैसा तिरेर राखिने सुसारेहरू अर्थात् पेड (पैसा तिरेर बनाइएका) चिल्ड्रेन !

प्रकाशित : चैत्र १३, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?