कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नफुटेको ढिकुरो

अनुराधा शर्मा

काठमाडौँ — नियास्रा चेहरा लिएर आउनेहरूको भीड । हातहातमा पोलिथिनका झोला । कुनै फलफूलले भरिएका, कुनै चिनीले भरिएका अनि कुनैको मुखबाट जुसको डिब्बा देखिएका । दुई दिन भएको थियो, प्रेमको मृत्यु भएको । २८ वर्षकी श्रीमती र दुई बालकलाई छाडेर । उषाको भक्कानो, ठूलो छोराको तोते बोली अनि दुधे बालकको रुवाइ । आँगनदेखि बैठककोठासम्म आगन्तुकको निरन्तर भुनभुन ।

नफुटेको ढिकुरो

के भयो ? कसरी भयो ? अस्पतालमै ? दाहसंस्कार कहाँ गरियो ? अन्तिम बेला केही भनेको थियो ? प्राण जाने बेला साथमा को थियो ? सबै सवाल–जवाफ त्यहाँ बसुन्जेल समय बिताउने अनि फर्कंदा कतै कसैले केही सोध्यो भने जवाफ दिएर आफू शोकसन्तप्त परिवारनिकट रहेको प्रमाणित गर्न मात्र ।


कति जवाफ सही थिए त कति अनुमानित । तर जे होस्, जवाफ दिने र लिने दुवै सन्तुष्ट थिए । हरेक सवाल–जवाफको अर्न्त्ययउटै प्रश्न वा अनुमानबाट भइरहेको थियो– ‘बिचरी उषा, अब के गर्छिन् होला !’ यो भीडको जिज्ञासा थियो, चासो थियो वा सरोकार, त्यो कसैलाई थाहा थिएन । भीड फेरिन्थ्यो, नयाँ आउने भीड पनि त्यही भुनभुनमा हराउँथ्यो, मानौं भीड भुनभुनको रिले दौडमा छ ।

केही बेर भुनभुनाइसकेपछि धेरैजसोको सवाल एउटै हुन्थ्यो, ‘उषा कहाँ बसेकी छन् ?’ केही बेरको औपचारिकतापछि उनीहरू उषालाई सान्त्वना दिने अर्को औपचारिकता निभाउन अर्को कुनातिर गइरहेका थिए ।


उषा सेतो धोतीमा बेरिएर कुनामा भित्ताको अडेस लागेर सेतो कम्बलमा बसेकी थिइन् । ठूलो बैठककोठाको एउटा कुनालाई खरले बेरेर अलग्याइएको थियो । शून्यतातिर एकटक हेरिरहेका उनका रित्ता आँखाले शून्यतासँग ती तमाम प्रश्न सोधिरहेका थिए, जसको जवाफ सायद अब कसैसँग छैन । सिवाय समयसँग । कतिपय आगन्तुकलाई उषा किरिया बसेकामा पनि आपत्ति थियो ।

छातीमा आएर बिसाउने ती आगन्तुकका आँखा उषाका लागि तिखो भालासरि हुन्थे, जसले उनको छाती चिर्दै आत्मामा समेत घाउ बनाइरहेका हुन्थे । उषाले कालो लामो छरिएको कपाल आफ्नो छातीतिर ल्याई सेतो धोतीको लहरोले ढाक्न नसकेको छातीलाई छोपेर हरेक नजरको तीरलाई रोक्ने असफल प्रयास गरिरहेकी थिइन् ।


उषाको हाँसो अनि हार्दिकतालाई निमन्त्रणा सम्झिनेहरूले हिजो उनलाई सर्वांग वस्त्रमा हुँदा त उदांगो देख्थे भने, आज भित्री वस्त्रविहीन, एकसरो धोतीमा बेरिएकी उनको अर्धनग्नतालाई के छाड्थे !


भन्दै थिए, ‘चिन्ता नगर्नू, हामी छौं ।’ तिनलाई एक नजर हेरेर उषा आँखा फेरि शून्यतामा पुर्‍याउँथिन्, अनि सोच्थिन्— तिमीहरू छौ र त चिन्ता छ !


उषाको वेदना त्यति बेला बढेर आउँथ्यो, जब त्यस्ता व्यक्ति उनलाई हेर्दै निकै बेर त्यहीं बस्थे, आँखा तृप्त पार्थे अनि भोलि फेरि आउने वाचा गर्दै निस्किन्थे । उनी फेरि भित्तामा अडेस लागेर सुस्केरा हाल्थिन्, अनि सोच्थिन्— आगन्तुकहरूभन्दा यो भित्ता कति जाती छ !

हरेक बिहान उषा आमा अनि छिमेकी महिलाहरूसँग नजिकैको घाटमा नुहाउन जान्थिन् । पण्डित पनि नियमित किरियाकर्मका लागि सधैं अघि लागेका हुन्थे । पण्डितले विभिन्न मन्त्रोचारणसहित घाटमा नित्यकर्म गराउँथे । मृतकको आत्माको शान्तिका लागि, स्वर्गमा बास भन्नका लागि ।


वरपरको माटो बटुलेर पण्डितले उषालाई एउटा ढिकजस्तो बनाउन लगाएका थिए । उनले भनेका थिए, ‘यो ढिकुरो हो । मृतकको काजक्रियाका सबै काम यसैमाथि गर्नुपर्छ । अन्तिम दिनमा मृतकको छटपटिएको आत्मा शान्त भई यहाँबाट बिदा हुन्छ, अनि यो ढिकुरो फुटाउनुपर्छ ।’


हरेक दिन उषा त्यही माटाको थुप्रोमा सबै कर्म पूरा गर्थिन् ।


बाटामा पर्ने वरको रूखमा पण्डितले एउटा माटाको भुर्को झुन्ड्याउन लगाएका थिए, जसमा हरेक दिन फर्किने बेला उषाले पानी हाल्नुपर्थ्यो । ‘यो प्रेतघडा हो, मृतकको आत्मा अनि यत्रतत्र घुम्ने प्रेतहरूलाई प्यास लाग्दा यहाँ पानी पिउन आउँछ । अन्तिम दिनमा यो भुर्को पनि फुटाउनपर्छ’, पण्डितले भनेका थिए ।


उषा घाटको काम सकेर घर आइपुग्दा आँगनमा पहिलेझैँ भुनभुन चलिरहेकै हुन्थ्यो । बिहानको चर्को घाममा उषा भिजेको कपाल काँधभरि फिँजाएर जसै आँगनमा पुग्थिन्, त्यो बेला एकाएक केही बेरका लागि भुनभुन रोकिन्थ्यो । आँखाहरूले उषालाई आँगनदेखि भित्र कोठामा पुग्दासम्म पछ्याउँथे । जसै उषा कुनामा पुगेर आफूलाई भित्ताको जिम्मा लगाउँथिन्, पुनः भुनभुन सुरु हुन्थ्यो । घाटमा नुहाएर शुद्ध पारेको शरीरलाई आँगनमा जम्मा भएका आँखाहरूले क्षणभरमै अशुद्ध बनाइदिइसकेका हुन्थे ।


आज अन्तिम दिन, आगन्तुकहरू खचाखच थिए । उषा, उनकी आमा अनि पण्डित घाटतर्फ लागेका थिए । ‘आज घाटको सबै काम सकिन्छ, पिण्ड दिइसकेपछि ढिकुरो फुटाउने अनि फर्कंदा वरको रूखमा झुन्ड्याएको भुर्को पनि फुटाउने,’ अघिअघि लागेका पण्डित भन्दै थिए ।


‘उषा नानी, ल अब यो ढिकुरोलाई फुटाऊ । मृतकको भड्किएको आत्मा आफ्नो बाटो लागिसक्यो ।’ तामाको भाँडामा पकाएको पिण्ड ढिकुरोमाथि राखेर अन्तिम दिनका सबै काम सकेपछि पण्डितले भने । उषा उभिएर एकटक पहिलो दिनमा बनाएको त्यो माटाको ढिकलाई हेरिरहेकी थिइन् ।


‘के हेरेको नानी त्यसरी ? यसको काम सकियो, अब फुटाऊ’, पण्डितले फेरि भने । ‘फुटाऊ छोरी, अब पीर नगर । प्रेमको आत्मा शान्त भैसकेको छ, उसको आत्मा अब आफ्नो बाटो लागिसकेको छ । ढिकुरो फुटाऊ छोरी, अब ढिला नगर’, उषाको काँधमा हात राखेर आमाले भनिन् ।


‘नाइँ आमा, म यो ढिकुरो फुटाउँदिनँ’, बिस्तारै दृढताका साथ टाउको हल्लाउँदै उषाले भनिन् । उनका आँखा अझै पनि ढिकुरोमै केन्द्रित थिए ।


‘के भनेको छोरी यस्तो ? किन पीर गरेको ? सुनिनौ पण्डितजीले भनेको, प्रेमको आत्मा अब शान्त भैसक्यो । तिमी यो ढिकुरो फुटाऊ ।’ ‘मलाई चिन्ता प्रेमको आत्माको होइन, आमा ! उहाँ त आफ्ना सबै जिम्मेवारीबाट मुक्त भएर गैसक्नुभयो । मलाई त यो पनि थाहा छैन, उहाँको आत्मा कहाँ छ र कुन दिशाको बाटो समातेको छ ।’ उषाले आमातिर फर्केर भनिन्, ‘मलाई चिन्ता ती अतृप्त आत्माहरूको छ, जसलाई जिउँदा शरीरहरूले बोकेर डुलाएका छन् । ती आत्माहरू यो समाजमा रहेसम्म म यो ढिकुरो फुटाउँदिनँ ।’

आमाले उषाको अनुहारमा हेरिरहिन् । ढिकुरोको पारिपट्टि उभिएका पण्डितका ओठ थरथराइरहेका थिए ।


सधैं पण्डितको मन्त्रले गुन्जिने घाटको त्यो छेउ आज उषा र आमाको भक्कानोले थर्किएको थियो । ‘आमा, जाऔँ अब । फर्किंदा वरको रूखमा झुन्ड्याएको भुर्कोमा पनि पानी राख्नु छ । म यो ढिकुरो अनि त्यो प्रेतघडारूपी भुर्को साबुतै छाडेर जान्छु,’ उषाले खुला कपाल समेटेर जुडो बनाउँदै भनिन् ।


उषाले आमाको हात समातिन्, अनि दुवै जनाले एक पटक ढिकुरो र त्यो माथिको पिण्डतिर हेरे, अनि आफ्नो बाटो लागे । पण्डित पनि तामाको कसौँडी उठाएर बाटो लागे । आज भने उनी पछाडि थिए । उषा र आमा वरको रूखतर्फ जाने उकालो चढ्दै

थिए । पछाडि थियो त त्यो अन्तिम दिनको पिण्ड थामेको ‘नफुटेको ढिकुरो’ ।


पारिजात बालसाहित्य पुरस्कार विजेता लेखिका बालबालिकाका लागि कथा लेख्छिन् ।

प्रकाशित : चैत्र १४, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?