२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सबैका लोटामा 'गान्धी’

डेटलाइन तराई
चन्द्रकिशोर

काठमाडौँ — नेपाली सामाजिक–राजनीतिक जीवनमा महात्मा गान्धीको नाम विभिन्न कोणबाट उठ्ने गर्छ । विश्वभरि उनको १५० औं जन्मजयन्ती मनाउन लागिरहँदा मात्र उनको नाम लिइँदैन, अरू बेला पनि गान्धी उत्तिकै पूजित छन् । संघीय सरकारसँंग राजनीतिक सहमतिमार्फत बहुचर्चित बन्न पुगेका सीके राउतले पनि आफूले गान्धी गोरेटो समाएको उल्लेख गरे ।

सबैका लोटामा 'गान्धी’

नेपालमा गान्धीलाई कसले र किन सम्झिन थालेका छन् ? नेपाली समाजमा गान्धीबारे सम्यक समझदारी छैन । कोही सामाजिक अभियन्ता वामपन्थी पृष्ठभूमिका छन् । रूपान्तरणका लागि भनी अपनाइएका माध्यममा उनीहरू ‘गान्धी शैली’ आत्मसात् गरेको दाबी गर्छन् । अहिंसात्मक रूपान्तरणका निम्ति प्रशिक्षण दिन्छन् ।


सामाजिक न्यायका लागि संघर्ष गर्नेहरू आफ्नो शान्तिपूर्ण हस्तक्षेपमाथि राज्यको उपेक्षा भइराख्दा गान्धीका उद्धरणलाई अगाडि सार्छन् । कोही यस्ता पनि छन्, जो अहिंसाबाटै समाज परिवर्तन सम्भव छ भनी लागे । तिनले छोटै समयमा केही न केही रचनात्मक काम गर्न सफल भए । कसैले संवादबाटै अहिंसाको जित हुन्छ भनी त्यसैमा आफूलाई केन्द्रित गरेका छन् ।


धर्मनिरपेक्षता समर्थकलाई समेत गान्धीको याद आउँछ । उनीहरू गान्धीको स्मृतिलाई साम्प्रदायिकतासंँग लड्ने ऊर्जाप्राप्तिमा अनुवाद गर्न खोज्छन् । नवचेतनाले आरूढ दलित अधिकारकर्मीसमेत गान्धीको सम्झना तिनका विरोधका लागि गर्छन् । यिनीहरू गान्धीलाई ब्राह्मणवादी बताउँछन् । गान्धीलाई सबभन्दा बढी गर्नेहरूमा सनातनधर्मीहरू नै थिए ।


गान्धी छुवाछूतलाई हिन्दु समाजको ठूलो कलंक मान्थे । छुवाछूत निवारणका लागि उनले अम्बेडकरकै समानान्तर कठिन संघर्ष गरे । वामपन्थीहरूको एउटा ठूलो हिस्साले उनलाई केवल भारतीय राजनीतिकर्मीका रूपमा हेर्छ, उनको प्रयोगलाई अवैज्ञानिक बताउँछ । कोहीकोही गान्धीमार्फत भारतीय संस्थापन वा अन्तर्राष्ट्रिय अहिंसात्मक आन्दोलनसंँग जोडिन पनि गान्धीलाई सम्झिने गर्छन् । दक्षिणपन्थी होओस् वा प्रगतिशील, चारैतर्फ ‘लगे रहो मुन्ना भाई’ बन्ने होड छ । नेपालमा सबैका कित्तामा आ–आफ्ना गान्धी छन् ।


कार्ल मार्क्सलाई पछ्याउनु सजिलो छ । उनलाई पढ्दै गर्दा आफ्नै वर्तमानको जीवनशैलीमा चुनौती खडा भएको अनुभूति हुँदैन । शोषण, थिचोमिचो, विभेद समाप्त पार्नुपर्छ । एउटा व्यक्तिलाई लाग्छ, त्यो काम म एक्लैले गरेर हुनेवाला छैन । मध्यमवर्गीय जीवन बाँचेर पनि मार्क्सवादी हुन सकिन्छ । अकुत सम्पत्तिका स्वामी भएर र विलासी जीवन बाँचेर पनि मार्क्सवादबारे लम्बेतान वकालत गर्न सकिन्छ । त्यसैले भन्ने गरिएको छ, मार्क्सवादी हुनका लागि नैतिकभन्दा राजनीतिक भए पुगिहाल्छ ।


अम्बेडकरको कोणबाट ‘मस्तिष्क मन्थन’ का लागि बहस थालनी गर्दा तपाईंले आफूभन्दा पनि अरूमाथि आक्षेप लगाए पुगिहाल्छ । गान्धीलाई पछ्याउँदा चाहिँ तत्काल आफ्नै जीवनशैलीमा बदलावको चुनौती सामना गर्नुपर्ने हुन्छ । गान्धीबाहेक विरलै यस्ता राजनीतिक पात्र छन्, जो ठीक त्यसै गरी बाँचे जसरी उनले सोचे । होस रहेसम्म अहर्निश निष्ठाका लागि प्रयत्नशील देखिए गान्धी । यही नै उनको सत्यवादी प्रयोगको जडीबुटी थियो । जीवनको यस्तो कुनै पनि क्षेत्र छैन, जहाँ उनले आफ्नो प्रयोगमार्फत व्यावहारिक सन्देश नदिएका होउन् । गान्धीलाई पछ्याउन सहज छ, उनले कोरेको गोरेटोमा हिँड्न सरल छैन ।


गान्धीलाई कसरी सम्झिने ? एउटा भक्तका रूपमा । गान्धीका एक अनुयायी विनोबा भावे एउटा प्रेरक सन्दर्भ बताउँथे । महात्मा गान्धी बितेपछि उनको स्मारक बनाउने कुरा सुरु भयो । अनेक स्मारकका नमुना प्रस्तावित हुन थाले । एउटा प्रस्ताव थियो, ‘गान्धी स्मृति स्मारक अशोक स्तम्भजस्तै निर्माण गरियोस् ।’ विनोबाको जवाफ थियो, ‘भुइँमान्छेलाई गएर सोध्नुस्, कति जनालाई अशोक स्तम्भबारे जानकारी छ ?’ सायद उनलाई अशोकको नाम पनि थाहा छैन । इतिहासमा अनेक राजा भए, तिनैमध्ये एक थिए– अशोक । अशोकले युद्धोपरान्त केही असल काम गरे पनि जनताले उनलाई बिर्सिसकेका छन् । कवीर, नानक, रहिम जस्ता आलोचनात्मक चेत भएकाहरूलाई जनताले अहिले पनि स्मृतिमा राखेका छन् । विनोबाको तर्क थियो– गान्धीलाई स्मृति स्मारकहरूमा कैद गर्नुको अर्थ तिनका मुख्य सन्देशबाट जनसामान्यलाई ओझेलमा पारिदिनु हो ।


गान्धीलाई सम्झिने कसरी त ? उनीप्रति तटस्थ आलोचनात्मक मूल्यांकन गर्ने कि ? वैश्विक क्षिजितमा उदाएका चुनौती र जोखिम व्यवस्थापनका लागि गान्धीतिर फर्किने कि ? वा, आफ्नो लोटामा जेजति गान्धी अटाउँछ, त्यसलाई आफ्नै जीवनमा परीक्षण गरेर त्यसै आधारमा निष्कर्ष निकाल्ने ? विज्ञानका विद्यार्थी प्रयोगशालाको कक्षामा परीक्षणद्वारा निष्कर्षमा पुग्छन् । त्यसैलाई सिद्धान्तको रूप दिन्छन् । गान्धीले पनि आफ्नो जीवनलाई खुला किताब र सत्यप्रतिको एउटा प्रयोगशाला बताएका थिए ।


नेपालमा मात्र होइन, स्वयं उनको जन्मदेशमा पनि गान्धीलाई पढ्दै नपढी, बुझ्दै नबुझी उनलाई स्वार्थ सिद्धिका लागि प्रयोग गर्ने होड नै चलेको छ । गान्धी संघर्ष र सत्याग्रह पनि गर्थे । आम मानिससँग पनि संवादमा रहन्थे । आवश्यक परे उपवास पनि बस्थे, जसलाई आजकल ‘अनशन’ भन्ने गरिन्छ । सत्ताभन्दा टाढा बसेर पनि उनी आफ्नो जीवनशैलीमा समाजका अन्तिम व्यक्तिको जीवनस्तरलाई बाँच्थे ।


अचेल उपवासलाई ‘सत्याग्रह’ को नाम दिइएको छ, जसरी हार्मोनियम–ढोल बजाउँदै–चिच्याउँदै कीर्तन गर्नुलाई ‘भक्ति’ मानिन्छ । जोड–जोडले चिच्याउँदा निद्रा भाग्न सक्छ । जाग्राम बस्नुले भक्ति सिद्ध हुँदैन । भक्तिका नाममा जोडले टोलछिमेकमै आवाज–आतंक गर्नु आध्यात्मिक साधना होइन, उपद्रव हो ।


दुराग्रहलाई सत्याग्रह भन्नु कसैको सामुन्ने पेस्तोल तेर्स्याउनु जस्तै हो । कसैले सत्याग्रह गर्छु भनी घोषणा गर्‍यो भने अहिले अर्को पक्ष प्रतिकारको रणनीति ल्याउन थाल्छ । जसरी हिंसाको प्रतिक्रियामा हिंसा जन्मिन्छ । सत्याग्रहको स्वरूप हुँदैन । सत्याग्रहमा दुइटै पक्षको जितको अवस्था विकसित हुन्छ । त्यसमा एकअर्कामा समान बुझाइ निर्माण हुन्छ । एकले अर्कालाई स्वीकार गर्छ । सत्याग्रहमा संवादमार्फत अर्को पक्षलाई आफ्नो पक्षमा ल्याइन्छ । सत्याग्रहको बाटो ‘छोटो बाटो’ होइन । सत्याग्रहबारे नेपालीले विकृत रूप पनि भोग्नुपरेको छ । हिंसाप्र्रति जनता मोहभंगको मनोदशामा छन् । वितृष्णा गर्छन् ।


आश्चर्यको के हो भने, तिनै जनता अहिंसक माध्यमको आधारभूत सर्त भयबाट आफूलाई मुक्त राख्न सक्दैनन् । नत्र भने कुनै एउटा बन्दुक बोकेको शक्तिले राज्यलाई दबाब दिन बन्दको आह्वान गर्दा त्यसको सविनय अवज्ञा आम नागरिक किन गर्दैनन् ? सीमित समूहले कसरी बृहत् समाजलाई भयाक्रान्त बनाउँछ ? गान्धी व्यक्तिको मनभित्रको डरलाई फुकाल्थे । हो, हामीकहाँ पनि राष्ट्रपतिको सवारी चलाइँदा उकुसमुकुसमा परेकाहरू अवज्ञा गरेर सडकमा नहिँडेका होइनन् ।


तथापि यो जुनकिरी प्रयत्नले निस्पट्ट अँधेरी रातमा काम गर्दैन । गान्धीको अहिंसात्मक सामाजिक रूपान्तरणको बाटामा हिँड्नु त्यस्तो आदर्श हो, जसलाई प्राप्त गर्ने बाटामा हिँड्नु बृहत् अनुष्ठान हो । यसका लागि निरन्तरको सचेत अभ्यास चाहिन्छ । समाजमा अहिंसाप्रतिको भरोसा कम हुँदै गयो भने संविधानका अक्षरहरूमा लोकतन्त्र जतिसुकै लेखिएको भए पनि त्यसबाट अधिनायकवाद जन्मिने सम्भावना हुन्छ । जब संवादभन्दा सखाप पार्ने मनसुबा छचल्किन थाल्छ, त्यतिखेर लोकतन्त्रको दीयोलाई जलाइराख्नु असम्भव नभए पनि कठिन हुन्छ ।


गान्धीको अनुपस्थितिमा गान्धीको सबभन्दा रचनात्मक उपयोग भारतबाहिर भएको छ । यस सन्दर्भमा मार्टिन लुथर किङ पहिलो नम्बरमा छन्, जसले अहिंसक तरिकाबाट अमेरिकामा अश्वेत नागरिकको मानव अधिकारका लागि संघर्ष गरे । स्वयं गोलीको सिकार भए । अफ्रिकामा डेसमन्ड टुटु गान्धीको प्रयोगमा नजिक देखिन्छन् । यस्ता अनेक उदाहरण छन्, जहाँ गान्धी प्रयोगमा आएका छन् । त्योभन्दा पनि बढी गान्धीमाथि शोध गर्नेहरूको संख्या धेरै छ ।


प्रत्येक वर्ष कतै न कतै गान्धीबारे चर्चित किताब लेखिएको हुन्छ । गान्धीका जीवन प्रसंगका कतिपय विषयमा मतान्तर हुन सक्छ । अहिलेका चुनौती व्यवस्थापन गर्न गान्धीतिर नफर्की सुख भने छैन । हाम्रो जस्तो मुलुक, जहाँ हतियारबन्द ट्यांक बनाइँदैन र राष्ट्रिय आवश्यकताका निम्ति कतैबाट आयात गरिन्छ । आयातमुखी अर्थतन्त्रले ट्यांकभन्दा बढी हानि पुर्‍याउँछ । आत्मनिर्भरताप्रतिको मौलिक र रैथाने प्रयत्नलाई विस्थापित गर्दै आयातित ज्ञानतिर लोभिँदा अझ बढी आर्थिक दलदलमा फसिन्छ ।


गान्धी जे भन्थे, त्यही गर्थे । कुनै छलकपट र ढाँट हुँदैनथ्यो । सादगी एउटा गुण हो । गान्धीको विचारमा आवश्यकता हो । उनका सबै प्रयोग सार्वजनिक निधि हुन् । उनी आफ्नो सुरक्षाका लागि कुनै पनि प्रकारको दस्तामा विश्वास गर्दैनथे । उनको ढोका सधैं खुला हुन्थ्यो । त्यसैले गान्धीको कुरा गरेर मात्र हुँदैन । गान्धीको नाम जप्दैमा गान्धीमार्गमा हिँडेको होइँदैन ।


गान्धी मार्गमा अभ्यास गरेर नै सही बटुवा बन्न सकिन्छ । सधैं भयमुक्त रहेर नै त्यो बाटाको यात्री बन्न सकिन्छ । सजग भएर नै त्यो कठिन बाटामा लम्किन सकिन्छ । संयोग के हो भने, सबैले आ–आफ्नो स्वार्थसामु तेर्सिएको झन्झावात् छल्न गान्धी ब्रान्डको छाता ओढ्ने गरेका छन् । त्यसैमा रमाएका छन् !


ट्वीटर : @kishore_chandra

प्रकाशित : चैत्र १४, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?