२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रलेस: आन्दोलन कि ट्याग

समवेत
सरिता तिवारी

काठमाडौँ — अब समय आएको छहाम्रा सम्बन्धहरू स्वीकार गरौंर झूलभन्दा बाहिर निस्केर लडौं विचारको लडाइँ  । – पाश, बीच का रास्ता नहीं होतावामपन्थी लेखकहरू विभाजित ! समाचार आयो  । प्रगतिशील लेखक संघको इतिहासमा पहिलोपल्ट एकैसाथ ३८ लेखकले संयुक्त विज्ञप्तिमार्फत बगावत गरे । विज्ञप्तिको मजबुन छः प्रलेसको मूल नेतृत्व सत्ता–संरचनाको कृतदास भयो । यसले इतिहासदेखिको आफ्नो ‘प्रगतिशील लिगेसी’ गुमाउँदै गयो ।

प्रलेस: आन्दोलन कि ट्याग

पार्टी प्रभुत्वलाई प्रलेस सञ्चालनको तजबिजी दिइयो । भाषिक/सांस्कृतिक समावेशिता र अग्रगामी विचारलाई निषेध गर्ने प्रवृत्तिलाई प्रोत्साहित गरियो ।फरक विचार राख्ने, वैचारिक बहस गर्नेलाई अपमानित गर्ने, दुत्कार्ने प्रवृत्ति हावी भयो ... ।


के यी कुराका लागि प्रलेसबाट लेखकहरूको घोषित बहिर्गमन नै जरुरी थियो ? के यी विषयमा प्रश्न उठाउने र बहस गर्ने ‘स्पेस’ त्यहाँभित्र नभएकै हो ?यिनै आधारमा प्रलेसभित्रको सबैभन्दा सिर्जनशील मानिसको दस्ताले प्रलेस छाडेर अर्को साझा मोर्चा चाहिएको तर्क गर्नुपर्थ्यो कि अझै विकल्पजीवित थिए ?

प्रलेस के हो ?
प्रलेस अर्थात् प्रगतिशील लेखक संघ धेरै देशमा क्रियाशील वामपन्थी लेखकहरूको संगठन हो । यसको स्थापना फ्रान्सको पेरिसमा भएको हो । सन् १९३४ मा पेरिसमा भेला भएका लेखकहरू म्याक्सिम गोर्की, रोमा रोला, थोमस मुन लगायतले विश्वव्यापी संगठित साहित्यिक आन्दोलन सुरु गरेका थिए, जसलाई नाम दिइएको थियो–प्रोग्रेसिभ राइटर्स एसोसिएसन ।


रूसी कम्युनिस्ट सरकारको तत्त्वावधानमा भर्खरै रसियाली लेखक संघको पहिलो अध्यक्ष बनेका गोर्कीसहितको यो मण्डलीको गतिलो प्रभाव पर्‍यो । भारत स्वतन्त्रता आन्दोलनको उत्कर्षतर्फ बढ्दै गइरहेका बेला प्रेमचन्द,मुल्कराज आनन्द, सज्जाद जहिर, रवीन्द्रनाथ टैगोर, श्रीपाद अमृत डाँगे लगायत ख्यातनाम लेखक यसमा समाहित भए ।


उपनिवेशवादविरोधी आन्दोलनका सिलसिलामा संगठित जनसाहित्यको प्रसारमा लागेका कतिपय भारतीय लेखक कम्युनिस्ट ब्रान्डको प्रलेसमा आबद्ध हुनु संयोग मात्रै पनि हुन सक्थ्यो, तथापि भारतमा प्रलेसले एउटा गौरवशाली पदचाप छाड्यो । साम्राज्यवाद, उपनिवेशवादविरुद्ध उठेको स्वतन्क्रता संग्राम र त्यहाँका बौद्धिक–राजनीतिक घटनात्रमबाट नेपाली युवा विद्यार्थीमा सकारात्मक प्रभाव पर्नु अपेक्षित थियो । त्यसमाथि चिनियाँ कम्युनिस्ट क्रान्तिको पनि आलो प्रभाव छँदै थियो । फलस्वरूप राणातन्त्रको समाप्तिपछि श्यामप्रसाद शर्माको अगुवाइमा वीरगन्जमा भेला सम्पन्न गरीप्रलेस जन्म्यो । यो संवत् २००९ को कुरो हो । यसको तत्कालीन लक्ष्य युवा लेखकहरूलाई संगठित गरेर जनवादी साहित्यको प्रचार गर्नु थियो ।


संवत् २०१० तिर काठमाडौंमा पनि प्रलेस स्थापनाको पहल भएको भन्ने इतिहास भेटिन्छ, जसमा सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, विजय मल्ल, शंकर लामिछाने, कृष्णचन्द्रसिंह प्रधान आदिको नाम जोडिएर आउँछ । तारानाथ शर्मा, धर्मराज थापा, कमल दीक्षित लगायत समेत प्रलेसभित्र थिए ।


वर्ग पक्षधरताको स्पष्ट प्रावधान नहुनाले नै हुनुपर्छ, स्थापनाकालमा पुँजीवादी प्रगतिशीलसमेत प्रलेसभित्र समेटिए । ‘प्रगतिशीलतालाई अँगाल्ने तर प्रगतिवादलाई लघार्ने... अराजक र अवसरवादी प्रवृत्ति हावी भएका कारण’ प्रलेसको पुनर्गठन गर्नुपर्ने आवाज उठ्न थालेपछि ‘देब्रे ढल्कुवामात्रै बन्ने तर राजनीतिक दलविशेषको नियन्त्रण नचाहने’ भन्ने लेखक असुविधामा परे । जब संगठित पक्षधरताको आग्रह धेरै बलियो बन्न थाल्यो, त्यसपछि केही लेखक राजीनामा दिएरै बाहिरिए ।


२०१७ पुसदेखि पञ्चायत थालिएसँगै लोकतान्त्रिक राजनीति संकटमा परेपछि अवरुद्ध भएको प्रलेस २०३५–३६ सालमा बल्ल बौरियो । यसपटकको पुनर्गठनमा प्रलेसलाई प्रलेक सङ्घ (प्रगतिशील लेखक कलाकार सङ्घ) को रूप दिइयो । २०४४ सालमा पुनः प्रलेसकै नाममा पुनर्गठन भएयता प्रलेसका दस वटा सम्मेलन भैसकेका छन् र यो अहिले एघारौं सम्मेलनको सङ्घारमा छ ।


२०३६ सालदेखि नै कम्युनिस्ट पार्टीसम्बद्ध लेखकहरूको साझा मोर्चाका रूपमा विकसित गरिएपछि यो प्रायः संगठित वाम लेखकको मात्रै संस्था बन्यो । कुनै कम्युनिस्ट पार्टीमा असंगठित तर विचारले मार्क्सवाद प्रतिबद्ध लेखक नै नअट्नु प्रलेसको उल्लेख्य सीमा थियो । त्यो सीमा अहिलेसम्म कसैले भत्काउनसकेको छैन, त्यस्तो प्रयत्न भने धेरैपल्ट भएको छ । यद्यपि प्रलेसभित्र रहँदैमा प्रगतिशील बनिने अन्यथा नबनिने भन्ने होइन, तथापि पार्टीसम्बद्ध कतिपय लेखकभन्दा धेरै गुणा प्रतिभाशाली र सिर्जनशील लेखकहरू प्रलेसभन्दा बाहिरै रहनु ‘प्रगतिशील’ हरूका लागि सुहाउँदो कुरा थिएन ।


यस दौरान प्रलेसमा आमने–सामने बहस, विवाद, अखबारबाट प्रतिकार र गम्भीर आरोप–प्रत्यारोप आदि हुँदै आएका हुन् । यो शृङ्खला पारिजात–मोदनाथ प्रश्रित हुँदै आजसम्म तन्किन्छ । प्रलेसको आन्दोलनात्मक स्वभाव र चरित्र जीवित हुन्जेल साना–ठूला विवाद, बहस र असम्मतिलाई नै मुद्दा बनाएर यत्रो ठूलो संख्यामा प्रलेस छाडेर बाहिर निस्कने स्थिति आएको थिएन । यस्तो यसैपटक भयो । उसो भए अहिले नै किन त ? के त्यस्तो कारण पर्‍यो, राष्ट्रिय सम्मेलनको मुखैमा प्रलेसको मूल नेतृत्वमाथि गम्भीर आरोपसहित अर्को साझा संगठन खोल्ने तयारी गर्दै यसभित्रका लेखक बाहिरिए ?

'पश्चयात्रा कि अग्रगमन'को घर्षण?
प्रगतिशीलताको मानकविपरीत पश्चयात्रा रोज्ने कि जुगले तय गरेको अग्रगामी बाटो पक्रिने ? अहिले प्रलेसको मुख्य घर्षण यही हो । आजको विवादको विषय ‘सरकारी प्रगतिशील’ हरूले आरोप लगाएजस्तै केही व्यक्तिका पद, स्थानमान वा अन्य कुनै लुकेको प्रस्ताव पूर्ति नहुँदाको परिणति होइन,नत नेतृत्वले विज्ञप्तिमार्फत भनेजस्तै निष्क्रियहरूको अरण्यरोदन नै हो ।


यो इतिहासको जटिल मोडमा मार्क्सवादी आदर्श मान्ने, आलोचनात्मक बहस मनपराउने लेखकहरूले आफ्नै गालामा झापड हानेर, आफूलाई झकझक्याएर बाटो छुट्टिएको बेला हो । यो मूलतः सत्तापक्षीय भक्तिमार्गसित आमने–सामने भई गरिएको वैचारिक लडाइँको अभिव्यक्ति हो ।


देशभित्र रहेका वामपन्थी पार्टीसम्बद्ध लेखकहरूको संगठन (सबै वामपन्थीको साझा भने होइन) भएकाले प्रलेसको जीवनमा सम्बन्धित पार्टीका राजनीतिक–सांस्कृतिक धारणा र धरातलले अर्थपूर्ण स्थान राख्ने गर्छन् । आफूलाई कम्युनिस्ट भन्दै आए पनि तीमध्ये प्रायः कम्युनिस्ट मूल्य र आचरणको प्रगतिशील रूपान्तरित संस्कृति निर्माण गर्न असमर्थ छन् भन्ने सबैलाई थाहा छ । त्यसबाट प्रगतिशील भनिने लेखकहरूसमेत अछूतो छैनन् ।


ठूला दुई ‘कम्युनिस्ट’ पार्टीको एकतापछि यो संकट झनै चुलिएको छ । निकट अतीतको ‘क्रान्तिकारी’ र धर्मनिरपेक्षता लगायत भाषिक–सांस्कृतिक समावेशी,सहभागितामूलक लोकतन्क्रको हिमायती शत्तिले नीतिगत विसर्जनको बाटो समाएपछि मरणशील महेन्द्रपन्थी राष्ट्रवाद ‘कम्युनिस्ट’हरूकै खोपीमा पुजिन थाल्यो । यो विपथगमनले सांस्कृतिक क्षेत्रमा काम गर्ने मानिसलाई बढारेर लैजानु निश्चित थियो ।

‘हिमवत्‌खण्ड कला साहित्य सम्मिलन’ त्यसैको सांस्कृतिक प्रहसन थियो । यो प्रहसन गैरमार्क्सवादी र गैरप्रगतिशील त हुँदै हो,कांग्रेस र पञ्चहरूलाई समेत जिल्याइदिने गरी गरिएको पश्चगामी अभ्याससमेत हो । राज्यसंरक्षित यस्ता अनुष्ठानमा पलेँटी कसेर सहभागी हुने मानिसले साहित्य उत्सवमा भाग लिएर आलोचनात्मक बहस गर्नेहरूको निन्दा गर्नु हास्यास्पद छ ।


राज्यसत्ताको चरित्रअनुसार बौद्धिकहरूको चरित्र निर्धारित हुने सामान्य नियम ‘कम्युनिस्ट र प्रगतिशील’ शक्तिले चलाएको सत्तामा पनि स्पष्ट देखिएको छ । चरम दलालपन्थ र सामन्तवादी सांस्कृतिक अभ्यासमा चुर्लुम्म डुबेको सरकारी कम्युनिस्ट वृत्तले यस्तो चाबी निर्माण गरेको छ, जसमा मार्क्सवादी र सामन्तवादी दुवै विचार एकै ठाउँमा अट्छन् ‘सरकारी दृष्टिको त्यो चाबीभित्र फिट भएकाको आँखाबाट आजका सबै खाले विचलनमाथि आलोचना गर्ने लेखकजतिजम्मै ‘डलरमा बिकेका’देखिन्छन् ।


जातीय र सांस्कृतिक उत्पीडनविरुद्ध लेख्नेहरू ‘विखण्डनवादी र राष्ट्रवादविरोधी’ बन्छन् । महिलाको अधिकार र आत्मसम्मानका पक्षमा उभिनेहरू ‘पश्चिमा हन्डी खाएर’ बोलिरहेका देखिन्छन् । सत्ता अनुकूल दृष्टिको यही चाबीले यतिखेर प्रगतिशील लेखक संघलाई बन्धक बनाएको छ ।


प्रलेस विवादको मूलविन्दु संगठनात्मक जीवनका सामान्य भनाभन र आरोप–प्रत्यारोपमा छैन । यसको विन्दु वैचारिक–सांस्कृतिक विपथको दोबाटामा छ । अब सामाजिक–राजनीतिक परिवर्तनका घोषित अजेन्डामुताबिक, प्रलेसको विधानमा उल्लिखित उद्देश्य र कार्यक्रम मुताबिक अगाडि बढ्ने कि सत्तासंरक्षित पश्चयात्रामा सरिक हुने ? पहाडे, पितृसत्तात्मक, हिन्दुवादी एकात्मक राष्ट्रवादमा सङ्कुचन हुँदै बाउन्निने किसबैको साझा उदात्त र सहिष्णु राष्ट्र निर्माणका विविध बहसलाई जोड्दै अनि प्रश्न र विमर्शको स्थानलाई सुरक्षित गर्दै फैलँदै जाने ? यी प्रलेसका लागि निर्णायक सवाल थिए ।


यिनको उत्तर खोज्ने प्रयत्न प्रलेसभित्र नगरिएको होइन, तर नियोजित तरिकाले नै भिन्न मत राख्ने सदस्यलाई कारबाही गर्ने र निष्कासन गर्ने धम्की दिन थालेपछि प्रलेसमा निहित ‘साझा सांस्कृतिक आन्दोलन’ को विम्ब भत्किँदै गएको छर्लङ्ग छ । यस सन्दर्भमा पंक्तिकारकै पहलमा चितवनमा गरिएको ‘माङ्गेना मन्थन’ लाई जिम्मेवार नेतृत्वले नै ‘राष्ट्रवादविरोधी’ किताबमाथिको बहस तुरुन्त रोक्न र नरोके अन्यथा हुनसक्ने चेतावनी दिएको घटना नै एउटा ज्वलन्त उदाहरण हो ।


प्रलेस एउटा साहित्यिक संस्थामात्रै होइन, सांस्कृतिक आन्दोलनको नाम पनि हो । प्रतिरोध र निरन्तर बहस यसको जीवन्तता र अस्तित्वको सार हो । यसको मूल्यरक्षा सम्बद्ध सबैको चिन्ता र सरोकारको विषय हुनुपर्ने हो, त्यसो भएन । प्रगतिशील सांस्कृतिक मूल्य र आन्दोलनको रक्षा गर्ने प्रस्तावनालाई कुल्चेर केवल नाम र ट्यागको प्राविधिक रक्षा गर्नुको कुनै अर्थ छैन ।


जसरी सत्ता सञ्चालकहरू दलाल पुँजीवाद, कमिसनखोरी, भ्रष्टाचार, सामाजिक न्यायप्रति पूर्णतया विमुख र आलोचनात्मक चेतनाप्रति असहिष्णु भएर पनि ‘कम्युनिस्ट’ भनाउन सक्ने सुविधाको उपभोग गरिरहेका छन्, त्यसै गरी महेन्द्रपथीय पञ्चायती राष्ट्रवादको स्तुति, पितृसत्तात्मक, सामन्तवादी रुढिग्रस्त र धार्मिक अतिवादका पक्षपाती भएर पनि प्रलेसभित्रको निर्णायक पंक्ति ‘प्रगतिशील’ भैरहन सक्ने सुविधाको उपभोग गरिरहेको छ । प्रलेसका आम इमानदार सदस्यले बुझ्न जरुरी छ– अहिले प्राविधिक रूपले प्रलेस तिनै मानिसको कब्जामा छ । यतिखेर पनि प्रलेसभित्रै बिनाप्रश्न चुपचाप रहिरहनु तिनैको सत्ताप्रजनित ‘दुईतिहाइवाला’ दम्भ र अधोगतिशील नेतृत्वको दासत्व स्वीकार गर्नु हो ।


यो वास्तविक प्रगतिशील आन्दोलनको रक्षा गर्ने कि ‘प्रलेस’ नामक आलंकारिक ट्यागकोभन्ने निश्चित गर्ने समय हो । कवि पाशले भनेजस्तै यो सुरक्षाका तमाम खोलबाट बाहिर निस्केर विचारको लडाइँलाई आत्मसात् गर्ने समय हो ।


ट्वीटर : @saritatiwari36

प्रकाशित : चैत्र १९, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?