१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चक्रवात चुनौती

चन्द्रकिशोर

काठमाडौँ — ‘घरमै आइपुगेको विपद’, धूलोको मुस्लो गाउँ छिर्‍यो, हेलिकप्टर झरेजस्तो चर्को आवाज सुनियो, बाँसका रुख मडारिएर सोतर भए, छाना उचालेर बेपत्तै पार्‍यो, एक दुई मिनेटमै भागाभाग भो’ यी टिप्पणी बारा जिल्लाको दक्षिण–पश्चिमी भरवलिया, पुरैनिया र गछियाका बासिन्दाबाट सुनिएको हो  । उनीहरू आइतबार राति बेहोरेको चक्रवातबारे आफ्ना भोगाइ राख्दै थिए  ।

चक्रवात चुनौती

कतिपय बूढापाकाले यस्तो हावाहुरी कहिल्यै नदेखेको दुखेसो पोखे । हो पनि, आँधीहुरी र असिनाको प्रकोप प्रदेश २ को पर्सा, बारा र रौतहटतिर देखिए पनि चक्रवातको प्रकोप बाराका ३/४ गाउँमा सघन रूपमा देखियो । चक्रवात अंग्रेजीको टोर्नेडो जस्तै भएको विज्ञहरू बताउँछन् ।

प्रभावित गाउँको अवस्था युद्धको विभीषिका बेहोरेको जस्तो देखिन्छ । फुसको घर मात्र होइन, पक्की घरहरू पनि भत्किएका छन् । ह्यान्डपम्पसमेत उखेलिएको छ । पिलरका केही घर मात्र सग्ला देखिएका छन् । घर भत्कँदा सामान बर्बाद भएको छ । यी ३/४ गाउँमै मर्नेहरूको संख्या बढी छ । यसकारणले पनि चक्रवातको संकट ‘बारा विपद’ भएर देखा परेको छ । घटनालगत्तै टेलिफोन र सामाजिक सञ्जालमार्फत सूचना सर्वत्र फैलिए पनि भुईं सतहमा त्राहिमाम र हाहाकार थियो । अप्रत्याशितको संकटबाट सबै अत्तालिएका थिए । गाउँ अँध्यारो थियो । भय र चिन्ता सघन भएर विस्तार भएको थियो । त्यस विपदबाट बचेकी एक वृद्धा भन्दै थिइन्, ‘आइल चइत उतपतिया हो रामा !’ अर्थात यो चैत महिना उपद्रो लिएर आयो ।

विपद कहिल्यै चुपचाप आउँदैन । त्यो बिनातिथि आइपुग्ने अतिथि होइन । गाउँ/देहातका पुराना मान्छेहरू फागुकै बेलामा भन्दै थिए, ‘यी आन्हिपानी के साल ह ।’ अर्थात् यो वर्ष आँधीहुरी आउने साल हो । साधारण मानिस र समुदाय विज्ञहरूभन्दा ज्यादा जान्ने र बुझ्ने हुन्छन् । उनीहरू अनुभवबाट आर्जन गरेको ज्ञानबाट बदलिँदै गरेको मौसमबारे भविष्यवाणी गर्छन् । स्थानीय वायुको प्रभाव र मौसममा हुने बदलीबारे जानकारी दिन सक्ने प्रणालीको अभाव भए पनि देहाती ज्ञानले महत्त्व नपाउँदा यस्ता संकटसँग बेलैमै चेतिने भेउ मिल्दैन ।

पछिल्ला वर्षहरूमा असिना, चट्याङ, आगलागी, आँधीहुरी, बाढी, हाँडीघोप्टे वर्षाजस्ता विपद मधेसले झेल्दै आएको छ । यस्तै संकट अरू भौगोलिक क्षेत्रमा पनि छन् । यसपटक शीतलहरको कहर तराईमा त्यति साह्रो देखिएन तर असिना र चक्रवातले पछ्यायो । तराईले बहुप्रकोप झेल्दै आएको छ । बारा प्रकोप भलै प्रदेश २ मा देखियो तर बाढी, खडेरी, आगलागी, असिनाले हरेक वर्ष जनधनको विनाश गर्छ । विपद व्यवस्थापन चुनौतीपूर्ण हुँदै आएको छ र अहिले पनि छ ।

विपदमाझ पनि अच्छा काम देखिए । समुदायको आफ्नो सजगताले आगलागी हुनबाट जोगियो । नत्र भने कतिपय अवस्थामा चक्रवातसँगै आगलागी हुने डर हुन्छ । स्थानीय जादोलाल दास (४५) भन्छन्, ‘साँझ गाई दुहुँदै थिएँ, एक्कासि हुरी आयो ।’ उनका अनुसार खाना पकाउने समय भए पनि हावा चल्न थालेपछि सबैले हत्तपत्त चुलो निभाएका थिए । स्थानीय प्रशासन, सामाजिक संघ/संस्थाहरूले बेलैमा तत्परता देखाए तर यिनीहरूका पनि सीमा थिए । उद्धारका लागि गाडीहरूको अभाव, अस्पतालहरूले थेग्नै नसक्ने चाप, रगतको अभाव, प्रभावितहरूलाई तत्काल राहतका समस्या मुखरित भए । जसोतसो बिहान हुँदै गयो, तुलनात्मक रूपमा समन्वयका संकेत देखिए । संघीय सरकार, प्रदेश २ सरकार, स्थानीय सरकार जुर्मुराए ।

बारा विपद एउटा छोटो परिधिको भूगोलमा देखिएको छ । त्यसैले बहुतहका सरकारमार्फत देखिएका जुर्मुराहट सुखद समन्वय हुन पायो भने त्यो चुनौतीपूर्ण रहँदैन तर विपदलाई कुनै पनि तहको सरकारले राजनीतिक जोडघटाउसँग जोडेर हेर्‍यो भने फेरि यो चिन्ताको विषय हुन्छ । यस प्रकारको सम्भावनालाई पनि इन्कार गर्न मिल्दैन । व्यवस्थापनको ‘क्रेडिट’ लिने होड र त्यसमार्फत राजनीतिक शक्ति बनाउने मनसुवा लुप्त छैन । विपद व्यवस्थापनका लागि चनाखो रहनुपर्ने विषय यही हो । व्यवस्थापनको विधिमा पक्षमा सुधार गर्नुपर्छ । नत्र भने हल्ला बढी हुन्छ भुर्इंसतहमा परिणाम थोरै पुग्छ । घर र मानवीय क्षतिसँगै खेतका खडाबाली चौपट भएको छ । सम्पत्तिको रूपमा रहेका रुखहरू ढलेका छन् । मृतकहरूको दाहसंस्कारको बन्दोबस्तीको खाँचो छ ।

चक्रवातबाट भएको जोखिम टोलअनुसार फरक छ । ३/४ टोलमा भएका क्षति र त्यसभन्दा पर हुने क्षति फरक छ । एकै ठाउँमा पनि घरहरूको वनाबटका आधारमा क्षतिको मात्रा फरक छ । आर्थिक सबलता र सुरक्षाका कारणले घरका भित्ता पक्की बनाउने चलन बढेको छ । बरु छाना खपडा, जस्ता वा फुसको राखिन्छ । त्यसैगरी बिनापिल्लरका घर ठडयाइएका छन् । घर निर्माणका आधार भिन्नभिन्न छन् । पुनःस्थापनका बेला यो सवाल ख्याल गर्नुपर्छ । पुनःस्थापना गर्दा रैथाने प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्नुपर्छ ।

आकस्मिक उद्धार, बचाउ र उपचार एउटा पाटो हो । त्यसपछि आउँछ, अस्थायी शिविरहरू बनाइदिने । फेरि भोलि आँधीहुरी आउँदैन भन्ने ठेगान छैन । तत्काल बन्दोबस्तीका नाउँमा झटपट केही गर्दा यस्ता कुरा ख्याल गर्नैपर्छ । रोगी, गर्भवती, वृद्ध र बालबालिकाहरूको हेरचाहका आवश्यक प्रबन्ध, घरवारविहीन हुँदा शौचालयको समस्या र सुरक्षा प्रबन्ध पनि त्यतिकै ध्यान दिनुपर्ने पक्ष हो । शुद्ध पिउने पानीको आपूर्ति तथा यसको अनुगमन, प्रभावित क्षेत्रमा सरसफाइ तत्काल जरुरी छ ।

राहत प्रदान गर्ने संस्थाहरूले आफूखुसी देश र विदेशमा चन्दा बटुल्दै छन् । बारा विपदका तस्बिरहरू देखाएर सहानुभूतिको खेतीपाती सुरु भएको छ । पीडित परिवार समक्ष त्यो पुग्छ कसरी ? विगतमा पनि बाढी, भूकम्पलगायत घटनामा यस्ता कमजोरी बाहिरिएकै हो । अहिले सानो क्षेत्रमा विपद परेकाले यसपटक सरकारलाई अवसर पनि छ कि गैरसरकारी संस्थाहरूलाई मनपरी गर्न दिनुभन्दा आफ्नो प्रभावकारिता र विश्वसनीयता बढाउने । यसका लागि बहुतहका सरकारको योजना, तयारी बाहिरिएको छैन । सरकारी पक्षको सेवा प्रभाव मत्थर भयो भने गैरसरकारी पक्ष सेवाका लागि भुईंतहमा पुग्छन् नै । त्यसैले गैरसरकारी पक्षलाई हतोत्साहित गर्नुभन्दा पनि सरकारको उपस्थिति प्रभावकारी देखिनुपर्‍यो । यसपटक स्थानीय तहमा निर्वाचित सरकार छन् । तिनलाई अग्रपंक्तिमा राखेर प्रदेश र संघीय सरकारले पुनःथापना र पुनःनिर्माणका काम बढाउन सक्छन् ।

कतिपय उद्योगमा क्षति पुगेको छ । दैनिक रोजगारी गर्नेहरू रोजगारविहीन भएका छन् । प्रभावित क्षेत्रका रोजगारविहीनहरूको रोजगारका अवसर कसरी व्यवस्थापन गर्ने ? पुनःस्थापनासँग जोडिएको सवाल हो । स्थानीय वा जिल्ला स्वास्थ्य केन्द्रहरूको निरीहता पनि उजागर भएको छ । एकभन्दा अरूले महँगा सवारी किन्न स्थानीय तहबीच अघोषित प्रतिस्पर्धा नै छ । विपद व्यवस्थापनसँग जोडिएको वारुणयन्त्र जनघनत्व र क्षेत्रफलको आधारमा एकदम न्यून छ । आगो लागेपछि इनार खन्ने पुरानो कहावत हामीकहाँ विपद व्यवस्थापनका सन्दर्भमा पटकपटक दोहोरिने गर्छ । विपदको सूचना समयमै पुर्‍याउन नसकिनुदेखि पछिल्ला ३० घण्टामा सरकारी कमीकमजोरी एकपछि अर्को उजागर भएका छन् ।

बाराको विपदप्रति अन्य प्रदेशका बासिन्दा र विदेशमा बस्ने नेपालीबाट जुन चिन्ता र चासो देखिएको छ, त्यसले फेरि हामी राजनीतिक व्यवस्थापनका लागि जो जुन प्रदेशमा बसे पनि एक नेपालीले अर्को नेपालीको माया गर्दोरहेछ भन्ने स्थापित भएको छ । यही नै नेपाली समाजको सामर्थ्य हो । हाम्र्रो आन्तरिक ऐक्यबद्धताको मन्त्र पनि । हामी विपद परेका बेला जति गहन जिम्मेवारी बुझ्छौ, त्यति सुझबुझ व्यवस्थापनका बेला देखाउँदैनौँ । जलवायु परिवर्तनका कारण आइपर्ने चुनौतीका सामु आर्थिक–भौतिक क्षमता र तयारी अत्यन्त कमजोर छ । प्रदेश २ सरकारले संघीय सरकारको समन्वयमा मौसम र जलवायुमा भइरहेको परिवर्तनको अभिलेखीकरण गर्नु जरुरी छ । अब वर्षा, असिना, आँधीहुरीको तथ्यांक राख्न सुरु गरिदिनुपर्छ ।

विपदको नक्सांकन त्यतिकै जरुरी छ । यसका लागि छिमेकी भारत, विहारको सूचना समन्वय त्यतिकै अपरिहार्य हुन्छ । कतिपय पीडितको आशंका ‘नेतवा के भोज जगलो’ अर्थात नेताका लागि भोजको अवसर जुर्‍यो । कोही हेलिकप्टरबाट आउँदै छन्, कोही गाडीको लस्कर लिएर पुग्दै छन् । सामाजिक सञ्जाल र मिडियामा बयानबाजी गर्दै छन् । पहिला पनि यस क्षेत्रमा बाढी, असिना, मकैका घोगामा दाना नहुनु जस्ता समस्या आएकै हो तर त्यो भुईंमान्छेलाई राहत पुर्‍याउनेभन्दा खास राजनीतिक कार्यकर्ताले बढी बाजी मारेको तीतो अनुभव छ ।

यस पटक पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘ट्वीटर अपिल’ मार्फत पार्टीफंक्तिलाई सत्रिय हुन आग्रह गरेका छन् । फेरि यस्तै घटनाक्रमको पुनरावृत्ति नहोस् । तसर्थ प्रधानमन्त्रीको विशेष जिम्मेवारी हुन्छ कि प्रदेश २ सरकारसँग समन्वय गरी भुईंसतहसम्म उदाहरणीय ढंगले विपद व्यवस्थापनको काम हुने वातावरण निर्माण गर्नु । प्रदेश २ ले पनि सबै काम आफैं गर्न सक्दैन । संघीय सरकारसँग सामञ्जस्य गर्नैपर्छ । राजनीतिक फाइदा लिने मनसुवाबाट जोगिँदै तलसम्मै मिलेर काम गर्ने यो अवसरले बहुतहलाई दीर्घकालीन अनुभव दिन्छ । यसले नै चक्रवातबाट उत्पन्न चक्रव्यूहलाई भत्काउन सक्छ ।

[email protected]

प्रकाशित : चैत्र १९, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?