कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भालुले भलो गर्छ

कमल मादेन

काठमाडौँ — हिमालहरू आफूमात्रै उभिएका छैनन्, सिंगो हिमाली सभ्यता बोकेर बसेका छन्  । हिमाल भनेको चुचुरोमात्र होइन, त्यस भेगको जनजीवन र जैविक विविधता पनि हो  ।

भालुले भलो गर्छ

हामी धेरैलाई हिमाल थाहा छ, त्यहाँको परिवेशबारे जानकारी छैन । जस्तो– हामीलाई अन्नपूर्ण हिमाल प्रथम थाहा छ । फ्रान्सका माउरिस हर्जोग र लुइस लाकाहेनलले सन् १९५० मा अक्सिजन बेगर संसारको १० औं अग्लो यो चुचुरो सफल आरोहण गरेका थिए । यही हिमाल उभिएको अन्नपूर्ण गाउँपालिकाको परिवेशबारे भने कमै जानकारी छ ।


५५३.३८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो गाउँपालिकाको ५१ प्रतिशत भूभाग अर्थात २८३.२२ वर्ग किलोमिटर क्षेत्र वनजंगलले ढाकेको छ । वडा ४ ले गाउँपालिकाको झन्डै २ तिहाइ ओगटेको छ । अन्नपूर्ण हिमाल प्रथमबाट सोही वडाको नार्च्याङ लेकगाउँ सबैभन्दा नजिकको बस्ती हो ।यो पंक्तिकार नार्च्याङ लेकगाउँ २०७४ पुसमा पहिलोपटक पुगेको थियो । कालीगण्डकीको एक भँंगालो मिष्ट्री खोलाको पूर्वतर्फ अवस्थित यो गाउँको उत्तर, पूर्व र दक्षिण तीनैतिर जंगल छ । स्थानीय बासिन्दा जंगल पस्दा भालुसँग जम्काभेट होला कि भन्ठानी पिरोलिने रहेछन् । उनीहरू भालु आक्रमणमा पर्ने रहेछन् । भालुको आक्रमणबाट बाँच्न सफल एक गोठाला बेलबहादुर पाइजा पुनसँग भेट भयो । तिनी पुस्तैनी गोठाला रहेछन् । गाई, भैंसीसँगै जंगलमा गोठगरी बस्नु तिनको दिनचर्या रहेछ ।


बेलबहादुर पाइजाले पुसमा २ हजार मिटर उचाइको लेकगाउँ नजिक एक फाँटमा गोठ ल्याइपुर्‍याएका थिए । फागुनको सुरुदेखि मंसिरसम्म गोठ त्यसभन्दा उचाइको जंगलतर्फ सारिँंदो रहेछ । तिनले पहिलो भेटमा कुरा गर्न रुचाएनन् । मलाई तिनले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना ‘एक्याप’ कारिन्दा भन्ठानेछन् । भालुले टोक्दा एक्यापबाट सहयोग नपाएको दुखेसो रहेछ । भोलिपल्ट फेरि भेट भयो । कुराकानी गर्न आफू एक्यापको कारिन्दा नभएको पुष्टि गर्नुपर्‍यो । त्यसपछि एक क्वाटर रेडिमेट रक्सी किनिदिन आग्रह गरे । तिनले रक्सीसँग हरियो खुर्सानी टोक्दै भालु आक्रमणका घटना सुनाए ।


६ वर्ष पहिले, बेलबहादुर एकाबिहानै डोकोमा दूध, घ्यु, जंगलमा पाइने तरकारी बोकेर गाउँ झर्दै थिए । बाटाको कुइनेटोमा एक्कासी भालुसँग जम्काभेट भयो । डोको फाल्न नपाउँदै दुवै पञ्जाले अनुहारमा चिथोर्‍यो । एकाध सेकेन्डमै टाउको रगतपक्ष भयो । उम्किन सक्ने अवस्थै थिएन । अझ लछार्दै जंगलतिर घिसारेर लैजान थाल्यो । उनलाई एक्कासी कताबाट साहस जुट्यो । तुरुन्तै उठेर भालुलाई अन्धाधुन्द मुक्का हान्न थाले । टाउकोबाट रगत बगेको कारण राम्ररी देख्न सक्ने अवस्था थिएन । मुख आँ...गरेर झम्टेको बेला बेलबहादुरको मुठ्ठी घडीसहित नाडीसम्म भालुको मुखभित्र पस्यो । त्यसपछि भालु भागेछ । दसैं परेकाले स्वास्थ्यचौकी बन्द भइसकेको थियो । पिउनले टाउकामा १ दर्जनजति टाका लगाइदिए । पछि घाउ पाक्यो । चिप्लेकिरा घोटेर लगाउँदा निको भयो रे । एक्यापले सहयोग गर्छ भन्ने सुनेका रहेछन्, नपाएपछि रिसाएछन् ।


त्यहाँ एसियाटिक ब्ल्याक बियर भनिने कालो कण्ठे भालु पाइने रहेछ । भालुले टाउको र अनुहारमा पञ्जाले आक्रमण गर्छ । मानिस भुइँमा लडेपछि मात्र टोक्ने गरेको बताइन्छ । खोप्रा लेकमा भेटिएका ट्रेकिङ गाइड नवीन पुनले एकपटक खोप्रा–नार्च्याङ लेकगाउँबीच २ वटा भालु जुधिरहेको देखे । भागदौडमा केही पर्यटक हल्का घाइते भए । त्यसपछि पर्यटकलाई नार्च्याङ लेकगाउँ लैजान छाडेको बताए । खोप्राबाट नार्च्याङ लेकगाउँ जाने बाटो छ । त्यो बाटोबाट आँखै अगाडिजस्तो अन्नपूर्ण प्रथम, निलगिरि, धौलागिरि, मानापाथी हिमाल देखिन्छ । तर अधिकांशजसो पर्यटक खोप्रा लेकबाटै फर्कन्छन् ।

भिडियो तथा तस्बीर
भालु नार्च्याङ लेकगाउँ नजिक जंगलमा उल्लेख्य मात्रामा पाइने अवस्था बुझियो । जंगलमा भालुलाई हम्मेसी क्यामेरामा कैद गर्न सकिन्न । दिनमा धेरैजसो समय दूरदराजको ओडारमा बस्छ । रातमा चर्न निस्कन्छ । अनुसन्धानमा भालु पाइन्छ भन्ने प्रमाणका लागि तस्बीर आवश्यक पर्छ । यसका निम्ति क्यामेरा ट्रयाप प्रयोग गर्नैपर्ने हुन्छ । म लगायत मिलन दाहाल (वातावरणविद, नेपाल विद्युत प्राधिकरण वातावरण शाखा), राजेन्द्र बसौला (उप–प्राध्यापक, जन्तु विज्ञान, पीएन क्याम्पस पोखरा), कुलप्रसाद लिम्बु (सह–प्राध्यापक, जन्तु विज्ञान, स्नाकोत्तर क्याम्पस विराटनगर) त्यहाँ अवस्थित मिष्टी खोला जलविद्युत आयोजना अन्तर्गत त्यस क्षेत्रमा पाइने जैविक विविधता अध्ययन, अनुसन्धान र अभिलेखीकरण गर्न पुगेका थियौं । हामीले त्यस क्षेत्रमा ४ पटक जैविक विविधता अवलोकन गर्न पुग्नैपर्ने योजना बनाएका थियौं । हाम्रो काममा एक्यापको घान्द्रुक एकाइ ऐक्यबद्ध थियो । एक्यापले हामीलाई क्यामेरा उपलब्ध गराउने भयो । तर अनुमति प्रक्रिया पुरा गर्न झन्डै ६ महिना लाग्यो । अनुसन्धान टोलीमा एक्यापका अनुसन्धान अधिकृत रिशी बराल पनि थिए ।


हाम्रा सहयोगी झपेन्द्र बुदुजा पुन र शिव पाइजा पुनले क्यामेरा ट्रयाप जंगली जनावर हिँड्ने नाकामा १५, १५ दिन गरी थुप्रै ठाउँमा करिब ३ महिना राखे । यसबाट मृग, चितुवा, भालु लगायतका वन्यजन्तुका थुप्रै भिडियो र तस्बीर कैद भए । भालु चाहिँ ३ ठाउँमात्र फेला पर्‍यो । भालुको गतिविधि गाउँ नजिक पनि देखियो । जुन ठाउँमा भालु तस्बीर तथा भिडियो क्यामेरामा कैद भयो, त्यस ठाउँमा स्थानीय बासिन्दा दिउँसै जान डराउन थाले । जंगलमा हिँड्दा भालुले कटुस, बाँझको फल खान रुखमा तिनका हाँगा भाँचेको प्रशस्तै देख्यौं । रुखमा हाँगा सोरसार गरेर फल खाँदो रहेछ ।
कुनै रुखमा ससाना हाँगा थुपारेको पनि देखियो । त्यो चाहिँ भालु सुत्ने ओछ्यान रहेछ । तेर्सो हाँगा वा हाँगा विभाजन भएको ठाउँमा सुत्ने ठाउँ बनाउँदो रहेछ । एक ठाउँ भालु मार्ने काठको भत्केको टहरोजस्तो पुरानो पासो पनि भेटियो । पासो थाप्न काठको टहरोजस्तो संरचनाभित्र भालुले खाने आहारा राखिँदो रहेछ । त्यसभित्र पसेर आहारा खाँदा टहरो भत्किई भालु मारिने प्रविधि अचम्मको देखियो । यसले भालुको चोरी सिकारी हुन्छ भन्ने पुष्टि गर्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नत समुदायका संरक्षणकर्मी पुग्छन् न त एक्यापकै प्रतिनिधि । खोप्रा नजिक डाँफे मार्न थापेका एक दर्जनजति पासा भेटिएको थियो ।

लोपोन्मुख वन्यजन्तु
आईयुसीएनले कालो कण्ठे भालुलाई लोपोन्मुख अर्थात भोल्नुरेबल समूहमा सूचीकृत गरेको छ । बासस्थान विनाश र चोरी सिकारीका कारण यो भालु प्रजाति विश्वभर लोपोन्मुख अवस्थामा पुगेको हो । यसको पित्त र छालाको अवैध व्यापार हुँदै आएको छ । विशेषतः यो वन्यजन्तुको पित्त पूर्वी एसियामा हजारौं वर्षदेखि परम्परागत औषधिका निम्ति उपयोग हुने गरेको पढ्न पाइन्छ । यसको प्रयोगबारे लेखिएको एक अभिलेख ईसापूर्व ६ सय ५९ वर्षअघि प्रकाशन भएको पाइन्छ । ज्वरो कम गर्न र कलेजो सुन्निएको निको पार्न यसको प्रयोग गर्ने गरिएको बताइन्छ । यसको प्रयोगले आँखा ज्योति बढ्ने र पत्थरी निको हुने बताइन्छ । यसको पित्तमा महत्त्वपूर्ण जैविक रसायनहरू पाइन्छ । यस्ता रसायनहरू मानव कलेजो उपचारमा उपयोगी सिद्ध हुने बताइन्छ । यसको पित्तमा पाइने रसायनले मधुमेह लगायत मस्तिष्क सम्बन्धी खतरनाक समस्या उपचारमा उपयोगी हुने जानकारी आईयुसीएनबाट सन् २०१६ मा प्रकाशित ‘युर्सस थिबेटानस ः द आईयुसीएन रेड लिष्ट अफ थ्रेटेन्ड स्पेसिस’ शीर्षक सामग्रीमा उल्लेख छ ।


कालो कण्ठे भालु इरान, अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत, भूटान, चीन, कोरिया, ताइवान, जापान, कम्बोडिया, म्यान्मार, रूस, थाइल्यान्ड, भियतनाममा पाइन्छ । यो वन्यजन्तु हाम्रा पहाडी तथा हिमाली भेगका सबैजसो संरक्षित क्षेत्रमा विशेषतः १४ सयदेखि ४ हजार मिटर उचाइसम्म पाइन्छ । सन् १९९९ मा बर्दियास्थित बबई उपत्यकामा पनि पाइएको थियो । नेपालमा यसको संख्या कमै भएकाले यसलाई संकटापन्न (इन्डेन्जर्ड) समूहमा सूचीकृत गरिएको छ ।


कालो कण्ठे भालु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ऐन, २०२९ अनुसार नेपालको एक संरक्षित वन्यजन्तु हो । ऐन अनुसार भालु मार्ने वा यसको छाला लगायत वस्तु कारोबार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखिा दस लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ । भालु जोगाउन दण्ड सजायका प्रावधान राखेर मात्र सम्भव हुन्न । संरक्षण तथा दिगो उपयोगका नीतिहरू अवलम्बन गर्न आवश्यक हुन्छ । चीन तथा भियतनाममा भालुको पित्त उत्पादनको निम्ति भालु उद्यान सन् १९८० बाटै सुरु भएको हो । ती दुई देशमा १२ हजारजति भालु उद्यानमा छन् । चीनमा मात्र ६७ वटा भालु उद्यान रजिष्टर्ड भएको आईयुसीएनको उक्त सामग्रीमा उल्लेख छ ।


सरकारले माघ महिनामा जरायो, चित्तल, लगुना, रतुवा, बँदेल, सर्प, गोही, भ्यागुता, पाहा र चरा प्रजाति पाल्न, मासु खान, बेचबिखन गर्न र विदेश निकासी गर्न सकिने प्रस्ताव गरेको छ । प्रस्ताव अनुसार बनेको नियमावली कार्यान्वयन र प्रभावकारी अनुगमन हुनसके मुलुकले प्रशस्त लाभ लिन सक्नेछ । यो प्रस्ताव कार्यान्वयनले मुलुकमा जैविक विविधता संरक्षण र दिगो उपयोगको नीति लागू भएको बुझाउनेछ । हामीले वन्यजन्तु संरक्षण गर्नेमात्र होइन, यसको दिगो उपयोग गर्ने नीति अवलम्बन गर्न सक्नुपर्छ । यसैले अब सरकारले कालु कण्ठे भालुलाई पनि पाल्न र पित्त बेचबिखन गर्न सकिने प्रस्ताव गर्नुपर्छ ।

प्रकाशित : चैत्र २३, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?