१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भुमरी पनि अवसर

राजेन्द्र महर्जन

काठमाडौँ — ‘सबै जनताले खाना खाए–नखाएको बुझ्न लगाउने र खाएको खबर दरबारमा नपुगेसम्म आफै पनि खाना नखाने’ किराती राजा बलिहाङको कथा फेटा चक्रवातबाट पीडित अस्सी वर्षका नथुनी मुखियाले कहिल्यै नसुनेको हुनसक्छ । ‘प्रजाको धुरीबाट धुवाँ ननिस्कुन्जेल भोजन नगर्ने’ मल्ल राजा महेन्द्र मल्लको इतिहास भुमरीबाट थिलथिलो भएकी देवी पटेलले पढिनन् पनि होला ।

भुमरी पनि अवसर

उनीहरूले चक्रवातग्रस्त फेटा गाउँपालिकाका भोका जनतालाई हेलिकप्टरबाट नजर गर्ने र ‘अब आफ्नो शासनमा कोही भोका हुने छैनन्’ भन्ने नयाँ राजाका चुटकिला भने पक्कै सुनेको हुनुपर्छ ।


‘प्रजाले दूधभात पनि खान पाएका छैनन् र ?’ भनी सोध्ने ‘राष्ट्रपिता’ त्रिभुवन शाहको कहानी हुन्डरीबाट आक्रान्त भलुहीका राजेश दासलाई थाहा नहुन सक्छ । तिनै त्रिभुवन शाह, उनका छोरादेखि नाति राजाहरू फटाएका फेटाबासीहरूले चक्रवातग्रस्त क्षेत्रमै ‘नयाँ राजाहरू’ भने देख्ने मौका पाएका छन् । हो, त्यस्ता नयाँ शासकहरू भोग्न पाएका छन्, जो पीडितजनलाई दर्शन दिन र आश्वासनको कोसेली बाँड्न चक्रवातग्रस्त क्षेत्रमा राजकीय सवारी चलाउँछन् । त्यस्ता नेता, मन्त्री र प्रशासकहरूको दर्शन पनि पाएका छन्, जो भुमरी पीडित प्रजाका रुग्ण हातसँगै चामलको बोरा र चाउचाउको प्याकेट समाउँदै, आश्वासनको पोको बाँड्दै रंगीन तस्बिर खिच्नमा बेसी रुचि राख्छन् । पत्रकार अक्षर काकाको रिपोर्ट अनुसार रित्तो हात आउने र अनावश्यक सामग्री ल्याउनेहरू देखेर आफन्तजनसँगै सर्वस्व गुमाएकी मोहनदेवी दास भन्छिन्, ‘आश्वासनले मात्रै आँसु नथामिँदो रहेछ ।’


पत्रकार सुविना श्रेष्ठको रिपोर्टिङ अनुसार आफ्नो घर र सपनाको भग्नावशेषमाथि टुक्रुक्क बसिरहेकी देवी पटेलको ठूलो गुनासो छ, ‘ठूलठूला नेताजी र सरकारी बाबुहरू आउँछन्, ठूलठूला आश्वासन बाँड्छन् । तर हामीलाई तुरुन्तै चाहिएको ओतको व्यवस्थासमेत गर्दैनन् ।’


मेला होइन, चक्रवातको ताण्डव

‘न चुनाव छ, न गढीमाईको मेला, तैपनि भिड लागेको छ,’ वृद्ध नथुनी मुखियाको अनुभूति उतारेका स्तम्भकार चन्द्रकिशोर परोपकारीका व्यवहारबारे खरो भाषामा लेख्छन्, ‘कतिपयले प्रकोपलाई तमासाका रूपमा लिएका छन्, पीडितहरूले पनि हेर्न आउनेको घुइँचोलाई तमासाकै रूपमा लिएका छन् । यसभित्र करुणा र संवेदनशीलता कम छ । ठूला कदका नेता र उच्च पदाधिकारीको ओहोर–दोहोरले सुरक्षा निकायको श्रम र समय त्यसैमा खर्चिइरहेको छ । शीर्ष नेतासँगै गाडीको ठूलो लाम लाग्छ । हेर्न आउनेको भिड र गाडीको लाम राहत वितरणमा तगारो बनिरहेका छन् ।’


फेटाका कच्ची सडकमा धुलो उडाउँदै आउने गाडीको ताँतीसँगै नेता र सरकारी अधिकारीहरूको लर्को रोकिएको छैन । त्यस्तै मृतकका परिवारजनका शोक र पीडाको भुमरी पनि थामिएको छैन, जतिसुकै ठूलठूला आश्वासन बाँडिए पनि । किरिया गर्न, खानपिन गर्न, घामपानी र हुरी–बतासबाट बच्न चाहिने स्रोतसाधनको अभावमा त्रास र निराश जीवन बाँचिरहेका फेटाबासीका लागि आश्वासनको पोको होइन, ठोस र मूर्त राहतको प्याकेजको जरुरी हो । जेजति सामग्री पुगेका छन्, जेजस्तो सहयोग पुगेको छ, तिनको अपुगपना र अव्यवस्थाबारे जनगुनासोलाई बेवास्ता गर्न सकिँदैन ।


‘कसैले पनि हाम्रो पीडा र शोकलाई बुझेन । सिंगो गाउँ शोकमा डुबेको छ, तर अरुका लागि मेला लागेको छ’, आफ्नो असहायपनको फोटो खिच्नेहरू देखेर वाक्कदिक्क भएकी देवी पटेलहरूको दुःखेसो कम भएको छैन । सुविना श्रेष्ठका शब्दमा, आफन्तजन र श्रीसम्पत्ति गुमाएर आहत भएका फेटाबासीहरू अरुका लागि चिडियाघरमा राखिएका दुर्लभ प्राणीजस्तै सावित भएका छन् । जो आए पनि उनीहरूको तस्बिर र सेल्फी खिचिन्छ, उनीहरूको आत्मसम्मानमा लाग्ने ठेसलाई हेक्का राख्दैनन् । नेता, प्रशासन र गैससबाट लथालिंग पारामा लापरबाहीपूर्वक जारी राखिएको राहत वितरणलाई ‘पब्लिसिटी स्टन्ट’को रूपमा गाउँलेहरूबाट सार्वजनिक रूपमा भइरहेको निन्दालाई कसले वास्ता गर्ने होला ?


प्राकृतिक प्रकोपको उपयोग

भुमरीबाट थिलथिलो पारिएका फेटाबासीका शोक र पीडालाई समेत प्रचारबाजीको आदिम तमासा बनाउनेहरूका लागि प्रत्येक प्राकृतिक–अप्राकृतिक प्रकोप ‘महान अवसर’ हो । २०७२ सालको विनाशकारी भूकम्पलाई समेत विभेदकारी संविधान निर्माणको सुनौलो मौकामा बदल्न सक्ने महान प्रचारकहरूलाई थाहा छ, फेटा झन्झावातलाई पनि मज्जाले उपयोग गर्न सकिन्छ !


कुनै समन्वय र योजनाविना आआफ्नै सर्तमा जथाभावी राहत वितरण गर्ने जिद्दी, राहत वितरणमा सशरीर संलग्न हुनुपर्ने हठ, आफ्नो संलग्नतालाई सार्वजनिक गर्नुपर्ने मोहले ‘पर–उपकार’ र त्यसको नाममा जारी उपयोगको नीति र नियतलाई उजागर गरेको छ ।


चुस्त उद्धार र तत्काल राहतसँगै व्यवस्थित पुनर्वासको अगुवाइ गर्नुपर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली शर्माले रित्तो हात हेलिकप्टरबाट निरीक्षण गर्दै मधेस विरोधी छाप मेट्न हतारिएको धेरैलाई थाहा छ, पूर्वनिर्धारित भ्रमण रद्द गर्दै भुमरीग्रस्त क्षेत्रमा यात्रा गरेको प्रचार गर्दै ।


चाहे नेकपा डबलका नेता माधवकुमार नेपाल हुन् या नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वा अन्य दलका नेता, सबैले लाख–लाख रुपैयाँको कोसेली र सरकारले बर्खाअघि घर बनाउने आश्वासन दिएका छन्, जसको नेपथ्यमा मधेसी भावना आफ्नो पक्षमा तान्ने रणनीति लिएको तथ्यबाट कोही बेखबर छैन । यो सब लोकरिझ्याइँ वा लोकप्रियतावाद (पपुलिजम) का अनेक अवतारीको गरिखाने मेलोमेसो हो, जसले कसैको आपत्–विपत्मा संस्थागत लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गर्दै लोकलाई लोभ्याउने राजनीति गर्छ ।


भुमरी पीडितको उद्धार, राहत र पुनर्वासका लागि संस्थागत लोकतान्त्रिक प्रक्रिया र संरचना के हो ? त्यस संरचना र प्रक्रियामा लोकको सहभागिता कसरी हुन्छ ? त्यसक्रममा उनीहरू आफ्नो भाग्य निर्माणका लागि कसरी सशक्त, सम्मानित र हस्तक्षेपकारी हुन्छन् ? कुनै दल वा नेता वा सरकारले सम्यक विचार पोखेको र सही बाटो व्यवहार देखाएको थाहा छैन ।


सबैजसो नेता संस्था र प्रक्रियालाई भन्दा व्यक्तिलाई विधाता वा नायक बनाउने धुर्मुसपथमा अग्रसर हुँदा आखिरमा कमजोर हुने त लोक र लोकका लागि अत्यावश्यक संस्थागत लोकतान्त्रिक प्रक्रिया र संरचना नै हुन् । उदाहरणका लागि, चुनावको मुखमा हातले गुहुमुत सोहर्ने सफाइ कर्मचारीका गोडा धुँदै हिँडेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकरिझ्याइँसामु तिनै दलितजनसँगै लोकतन्त्र र संस्थागत प्रक्रियाको देहान्त हुँदैछ ।


हातले गुहुमुत सोहर्ने घृणित व्यवस्थालाई समाप्त पार्ने र सफाइ कामदार दलितले पनि सवर्णसरह सम्मानित जीवन बाँच्न सक्ने वातावरण बनाउने संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै लोकलाई लोभ्याउने मोदीपथ नेपाली नेताहरूको पनि विचार र मार्ग भएको छ ।


परोपकारी अवतारमा प्रचण्ड

यस अर्थमा सत्तासीन पार्टी नेकपा डबलका को–पाइलट पुष्पकमल दाहाल प्रचण्डले उद्योगमन्त्री मातृका यादव र प्रभु साहजस्ता मधेसी नेतासँगै चामलको बोरा समात्दै गरेको दृश्यमा खासै टिठलाग्दोपना देखिँदैन ।


मृतकलाई ३ लाख बाँड्ने वचन दिने क्रममा आफ्नै खल्तीबाट पैसा बाँड्न खोजेको आभाष दिलाउने भाषा प्रयोग गरेका प्रचण्डले फेटामा भुमरी पीडितलाई राहत बाँड्ने क्रममा समातेको चामलको बोरा र समात्ने हातले खासमा परोपकारवाद र लोकप्रियतावादतिर संकेत गरेका छन् । सबै गरिब जनता, त्यसमा पनि महिला, मधेसी, दलित, जनजातिको मुक्तिको सपना बाँडेर जनयुद्धको अगुवाइ गरेका प्रचण्ड पनि अब मुक्तिकामीको रूपमा होइन, परोपकारी अवतारमा अवतरण गरेका छन् ।


चुनावका बेला हजार–हजारको नोट र सारी बाँड्ने पुराना नेताहरूकै शैलीमा मधेसका पनि अति विपन्न र अधिकांश दलितलाई चामल बाँड्ने परोपकारिताले धेरै गरे प्रचण्डलाई पनि ‘खान पुगोस्, दिन पुगोस्’ भन्ने विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको परोपकारवादसम्म मात्रै पुर्‍याउने हो । यस्तो परोपकारवादले कोही माग्ने, कोही दिने असमान सामाजिक संरचनालाई नै भरथेग गर्छ, कोही संरक्षक त कोही संरक्षितको सम्बन्ध (प्याट्रोन क्लाइन्ट रिलेसनसिप वा विष्ट–अछूत सम्बन्ध) लाई नै पोस्छ ।


लोकतान्त्रिक राजनीतिभन्दा वंशानुगत र लोकप्रियतावादी राजनीति गर्नेहरूका लागि एउटा सजिलो माध्यम हो– परोपकारवाद । अंग्रेजीमा झन्डै–झन्डै झुक्किने खालका दुई शब्द छन्– ‘ह्युमनिस्ट’ (मानववादी) र ‘ह्युमनिटेरियन’ (परोपकारवादी) । चिन्तक पाउलो फ्रेरेका अनुसार मानववादले उत्पीडनको संसारलाई अनावृत्त गर्दै सामूहिक आचरणद्वारा त्यसको रूपान्तरणमाथि जोड दिन्छ, अनि उत्पीडितमात्रै होइन, उत्फीडकलाई मुक्त गर्ने स्थायी मुत्तिको प्रक्रिया अंँगाल्छ । परोपकारवादले चाहिँ उत्पीडकहरूका अहंवादी हितहरूबाट थालनी गर्छ, जुन अहंवाद आफू पितातुल्य भएको मिथ्या उदारवादको खास्टोले छोपिएको हुन्छ ।


यसले उत्पीडितहरूलाई परोपकार गरिने ‘वस्तु’ बनाइदिन्छ, अनि उत्पीडनकारी संरचना, सम्बन्ध र संस्कृतिलाई कायम राख्छ । यसले पीडितहरूलाई उत्पीडितहरूलाई जहिले पनि कुवामा खसेको निरूपाय मान्छे वा आगलागीमा परेको असहाय व्यक्तिको रूपमा बुझ्छ । र उनीहरूलाई उद्धार गर्न कोही न कोही चामत्कारिक नेता वा उदात्त तानाशाह वा एलिट क्लास (अभिजात वर्ग) को बौद्धिक अगुवाको अवतरण जरुरी हुन्छ । यसरी ‘यदा यदा हि धर्मस्य’को गीता–शैलीमा भगवान्को एक रूप प्रकट हुन्छ ।


फेटाबासीले गरिब र दलितसँगै उत्पीडितलाई बेसी सिकार गर्ने प्रकोपको दुष्प्रभावबाट मुक्त हुन कुनै अवतारको आस गरिरहेका छैनन् । बरु अनेक पीडा र अव्यवस्थासँग संघर्ष गर्दै सोधिरहेका छन्– हाम्रा दुःखसुखमा सहकार्य गर्ने र हाम्रा विपत्‌काे दुरुपयोग नगर्ने कुनै दल, कुनै नेता–कार्यकर्ता, कुनै जनआन्दोलन छन् कि छैनन् ?


ट्वीटर : @maharjan72

प्रकाशित : चैत्र २६, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?