२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

वैश्य युगको समृद्धि चेतना

कृष्णप्रसाद पौडेल

काठमाडौँ — केही दिन पहिले लगानी सम्मेलनले राजधानी तात्यो । सरकार लगानी ल्याउनसके समृद्धि आउने सपनाले तरंगित भयो । लगानीका लागि प्रस्तावित परियोजना हेर्दा यस्तो लगानी भित्र्याएर गर्न खोजिएको समृद्धि भने नयाँ बोतलमा पुरानै रक्सीजस्तो हुन्छ । हिजोआज समृद्धि योजनालाई अन्तिम रूप दिने भन्दै विकास परिषदको बैठक चलिरहेको छ ।

वैश्य युगको समृद्धि चेतना

विडम्बना, प्राकृतिक स्रोतको अति दोहनबाट सम्भव भएको पश्चिमेली विकासको नक्कल नै अहिले हाम्रो समृद्धिको लक्ष्य बनेको छ । यसैको सिको गर्दै विकसित हुने होडबाजी चलिरहेको छ ।


शाव्दिक अर्थमा केही भिन्नता देखिए पनि रूप र सारमा विकास र समृद्धिमा कुनै भिन्नता छैन । यो बदलिएको परिवेशमा विकासमा समग्रताको जलप लगाएर नयाँ देखाउन खोजिएको आत्मतुष्टि मात्र हो । बढी भए, केही गरी यसलाई विकासको अर्को रूपमा अर्थ्याउन सकियो भने यसले थोपरेको विनाश र परनिर्भरताको दासतालाई केही दिनलाई भए पनि गुन्द्रीमुनि लुकाउन सकिन्छ कि भन्ने समृद्धि सपनाका नायकहरूको मनको लड्डुसम्म हुन सक्ला ।


अहिले भनिएको समृद्धिले हामीलाई आधुनिक विकासको विनाशलीलाबाट बचाउने नभई यसले थोपरेका समस्याको दलदलमा रमाउन मात्र सिकाउने हो भन्नेमा कुनै द्विविधा नराखे हुन्छ । अहिले बखान गरिएको समृद्धि भेद पाउन भने एकपटक विकास शव्दको अर्थ, मर्म र यसको बोलीचालीमा प्रयोगको विगततर्फ फर्केर हेर्न आवश्यक छ । विकास फ्रेन्च शव्दावली डेभलोपरको नेपाली अनुवाद हो । सत्रौं शताव्दीमा फैलाउने या विस्तार गर्ने भन्ने अर्थमा प्रयोग भएको यो शव्दको प्रयोगको विस्तार हुँदै, सात दशक अघिसम्म जैविक वृद्धि, रसायनको प्रयोगबाट फोटो बन्ने प्रक्रिया र घरजग्गा व्यवस्थापनको अर्थमा मात्र प्रयोग हुन्थ्यो ।


१९४९ जनवरी २० मा अमेरिकी सिनेटलाई सम्बोधन गर्दा तत्कालीन राष्ट्रपति ह्यारी ट्रुम्यानले दोस्रो विश्वयुद्धमा ठूलो सफलता हात पारेको अमेरिकाको अभिमान र बर्चस्वको विम्ब प्रस्तुत गर्दै ‘अविकसित’ क्षेत्रको उन्नतिका लागि वैज्ञानिक उपलव्धि र औद्योगिक प्रगतिको भरपुर उपयोग गर्दै युरोपेलीलाई सघाउन तयार हुनुपर्छ भनेका थिए । यो भनाइ यथार्थमा दोस्रो विश्वयुद्धमा ध्वस्त भएको युरोपको पुनर्निर्माणको दायित्व अमेरिकाले समेत लिनुपर्नेछ भन्ने सन्दर्भमा व्यक्त भएको हो ।


ट्रुम्यानको यो उपनिवेश र प्रभुत्वको प्रायोजित व्याख्याले बाह्य स्रोतमा आधारित औद्योगीकरणको जग नै विकासे हुनुको मूल आधार हो भन्ने मान्यता स्थापित गर्न सफल भयो । यसरी विकास पश्चिमेली एकाधिकारको रूपमा व्याख्या भयो भने अविकासे भनिने अन्य सबै तिनै विकासेको सिको गरेर मात्र आधुनिक, सभ्य, सुखी र समृद्ध मानिस हुन सक्छन् भन्ने मूल प्रवाहको मान्यता स्थापित गर्न सफल भयो ।


हुन त यो ‘अविकसित’ भन्ने शव्द समाज विकासको सन्दर्भमा यसभन्दा पहिले पनि प्रयोग भएको थियो । गुस्ताभो इस्तिभाका अनुसार १९४२ मा वाइल फ्रेड बेन्सनले पछौटे क्षेत्र र १९४४ मा रोसेन्टाइन रोडानले आर्थिक रूपले पछौटे क्षेत्र र त्यसै वर्ष अर्थुर लुइसले धनी र गरिब बीचको खाडल भनी अविकासको समाजशास्त्रीय सन्दर्भ उठाएका थिए ।


यिनीहरूले त्यति महत्त्व पाएनन् । तर यसको ५ वर्षपछि शक्तिशाली देशका राष्ट्रपतिले उठाएको अविकासको प्रसंगले भने यो शव्दलाई समाजको उन्नति र प्रगतिको अर्थमा मात्र सीमित राखेन । यसले असभ्य र अमर्यादित जिन्दगी बिताउने अविकासेहरूलाई विकासे हुनैपर्ने लघुताभास थोपर्न सफल भयो । अहिलेको समृद्धि रटान त्यसैको उपज हो ।


त्यसपछिका दिनमा विकास धेरैका लागि आर्य विचार बन्यो । यो अहिलेसम्म सबैभन्दा धेरै बोलिने र लेखिने शव्दमात्र बनेन, सभ्य–असभ्य, मर्यादित–अमर्यादित मानिस, समुदाय र क्षेत्र बीचको लक्ष्मणरेखा कोर्ने मूल मापदण्ड बन्यो । यसले विकसित र अविकसित, उच्च र नीच, हुने र नहुने, ठूलो र सानो, राम्रो र नराम्रो, धनी र गरिब छुट्याउँदै मानिस, समाज र प्रकृतिबीच मान र अपमानको रेखा कोर्न सिकायो । जसका कारण मानव सभ्यतामा कहिल्यै पुर्न नसकिने विभेदको खाडललाई झनै गहिरो बनाउँदै लग्यो । यसले विभेदका रंगलाई अझ गाढा बनाउँदै सामाजिक समूहलाई एकआपसमा विभाजित हुन र निहित स्वार्थका आधारमा पक्षपोषण गर्न उक्सायो ।


यसले समग्र प्रकृतिको दोहनलाई सक्ताशत्तिको आडमा वैधतामात्र दिएन, यस्तो बिगार नगर्ने अभ्यास, सभ्यता र संस्कृति भएका समुदाय, समाज र क्षेत्रलार्ई अविकसित र पछौटेको संज्ञा दियो । यो दिनदेखि संसारभरका आदिवासी, जनजाति र फरक जीवन पद्धति भएका अन्य लाखौं समुदाय रातारात अविकसित र पाखे हुनपुगे । विकासको यो जोड–घटाउले हजारौं वर्षको प्रकृतिसँगको सहअस्तित्व र पारस्परिक अन्तर–सम्बन्धबाट उन्नत भएको विविधतापूर्ण मानव सभ्यता र संस्कृतिलाई ७ दशकमै जगैदेखि हल्लाइदियो ।


अहिले विकसित हुनु भनेको पश्चिमी जीवनशैली जस्ताको तस्तै नक्कल गर्नु हो भन्ने आम मान्यता स्थापित भएको छ । यसले अहिलेको उपनिवेश र प्रभुत्वमा आधारित पश्चिमेली मूलतः भौतिक विकासको ढाँचामाक्र ठिक र अरु सबै विविधता र समताका मूल मर्ममा आधारित समाज विकासत्रमको ऐतिहासिक कालखण्डमा निर्मित सभ्यता र संकृति बेठिक भन्ने परनिर्भर मानसिकताको लघुताभास थोपरेको छ । त्यसैले त सके त्यसको नक्कल यतै बसेर गर्ने, नसके उतै जाने मानसिकता नेपाली समाजमा बढेको छ ।


भौतिक विकासको तीव्र आकांक्षाले गरिएको प्रकृतिको अति दोहन नै अहिलेको माटो, मानव स्वास्थ्य र पर्यावरणीय समस्याको मूल कारण बनेको छ । यसको प्रत्यक्ष प्रभाव मानिस, समाज र प्रकृतिको अन्तर–सम्बन्धमा परिरहेको छ । माटोको उत्पादन क्षमता र उत्पादकत्वमा आएको ह्रास, मानिसमा नसर्ने दीर्घरोगको बढ्दो प्रकोप र जलवायु परिवर्तनको असर र प्रभाव थपिँदै गएको छ ।

यस्तो विकासको असर र प्रभाव अहिलेका अविकसित भनिने समाजमा झनै पेचिलो छ ।


अघिल्लो दिनसम्म गरिबी र अभाव के हो भन्ने सुइँकोसमेत नपाएका आममानिस बाहिरी सहायताका आसमा आफ्नै समुदायलाई धनी र गरिब, हुने र नहुनेका कित्तामा विभाजित गर्न उद्यत छन् । त्यतिमात्र कहाँ हो र ? आफैलाई अविकसितको प्रमाणपत्र थमाउँदै गरिब र विपन्नताको असली दाबेदार बनाएर हीनताबोधको सिकार भैरहेका छन् । हालैमात्र वितरण गरिएको गरिबीको परिचयपत्रमा गरिएको धाँधली, दातासँग गरिएका याचना र लगानी सम्मेलन केही उदाहरणमात्र हुन् ।


विकासका नाममा गलत दिशातर्फको हाम्रो यात्राले सिंगो मानव सभ्यतालाई अब मानव, समाज र प्रकृतिको अन्तरनिर्भरता पुनर्निर्माण गर्न सकिन्न कि भन्ने घुम्तीमा पुर्‍याएर छाडेको छ । बेलायती भौतिकशास्त्री स्टेफेन हकिङ्सको भविष्यवाणी होस् या अन्य वैज्ञानिक खोज सबैको एउटै निष्कर्ष छ : पृथ्वी वा ब्रह्माण्डमा हुने प्राकृतिक उतार–चढावले सम्पूर्ण जैविक प्रक्रिया नष्ट हुने परिस्थिति बाहेक मानव सभ्यताको अन्त्य मानिसले समयमै बाटो फेर्न नसकेको कारणले मात्र हुनेछ ।


यस्तो अवस्थाको चित्रण गर्न खानेकुरा र यसको मूल स्रोत कृषि प्रणालीमा देखिएको विकराल समस्या नै काफी छ । अहिले हावा र पानीपछि जीवनका लागि नभई नहुने खानेकुराको उत्पादन रसायन, विषादी, हर्मोन र नसड्ने प्लाष्टिकले विषाक्त भएको छ । हाम्रो हठ गाईगोठ र खेतबारीमा यिनै विषाक्त कृत्रिम रसायनको प्रयोग गरी खेती गरेर माटोलाई मरुभूमिकरण, पर्यावरणलाई प्रदूषित र मानव स्वास्थ्यलाई नसर्ने दीर्घरोगले आक्रान्त बनाउनमा मात्र उद्यत छ ।


हामी अहिले पैसा रोपेर पैसै फलाउने र यसैलाई खाएर बाँच्ने सपना बोकेको वैश्य युगको कृत्रिम मानिसको झुन्डको पछि लागेका छौँ । लगानी सम्मेलनमा रासायनिक मल कारखानाको सोकेश परियोजना यसको एउटा ज्वलन्त उदाहरण हो । यस्ता वैश्यहरू रसायन र कृक्रिम रसायनमा आधारित विषात्त खानेकुरा उत्पादन गर्न र यिनै खाना खान आम मानिसलाई बाध्य बनाउन उद्यत छन् । यीमध्ये केहीले विषाक्त खानेकुरा र अस्पतालको व्यापार सँगसँगै चलाएका छन् । यिनीहरू मानिसलाई पहिला बिरामी बनाउँछन्, अनि तिनको उपचार पनि आफै गर्छन् । अर्को अर्थमा यिनीहरू आफै बोक्सी आफै धामी बनेका छन् । यो जनसेवाको आडम्बरभित्र जसरी पनि पैसामात्र कमाउने निहित उद्देश्यमा आधारित छ ।


अन्त्यमा, मानवजाति यात अहिलेको वैश्य युगबाट जैविक युगमा पुग्नेछ या केही समयभित्रै यसको सधैंका लागि अन्त्य हुनेछ । केही वर्ष अघिसम्म एच.पी. रुचको यो भनाइसँग धेरै मानिस सहमत थिएनन् । तर अहिले यसबारे आम मानिसबीच चर्चामात्र हैन, चिन्ता, चासो, खोज र विश्लेषण हुनथालेको छ ।


ल्याटिन अमेरिकी आदिवासी अगुवाले भनेझैं ठूलो परिणाममा प्रकृतिको नाश भएपछि मात्र हामीलाई थाहा हुनेछ, पैसा खाएर बाँच्न सकिँदैन । उनको यो मार्मिक भनाइलाई समयमै आत्मसात गर्न नसके प्रकृतिको अति दोहनले ल्याउने समृद्धि नै मानव सभ्यताको इहलीलाको कारक हुनेछ ।

प्रकाशित : चैत्र २८, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?