कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

देह राजनीति

समवेत
सरिता तिवारी

काठमाडौँ — अहिले सबैभन्दा फलेफुलेको बजार हो— स्त्रीदेह–बजार । शरीर एउटा जैविक अस्तित्वमात्रै रहेन अब, यो पुँजी निर्माणको खासा ‘माल’ भएको छ । यो अलिक अप्रिय सुनिन्छ । कम्तीमा विगत आधा शताब्दीयता वैश्विक अर्थतन्त्रमा व्यापक प्रभाव पारेको यो बजारले शरीरलाई सम्मानित जैविक रूप मान्दैन ।

देह राजनीति

बहुराष्ट्रिय कम्पनी र पराराष्ट्रिय व्यापार–सञ्जालमा स्त्रीको शरीर आर्थिक उत्पादनको सबैभन्दा गतिशील माध्यम बनिरहेको तथ्य छर्लङ्गै छ । स्त्रीदेहलाई सम्पूर्णमा वा खण्डमा बाँडेर सुन्दरताका नयाँ–नयाँ मिथ बनाउँदै ‘प्रोडक्ट’हरूको निष्कंटक व्यापार गर्ने सिलसिला बढेको मात्रै छैन, रूपान्तरसमेत हुँदै गएको छ ।


प्राचीन सौन्दर्य मिथहरू स्त्री शरीरमाथि मात्रै होइन, पुरुष शरीरमाथि पनि रचिएका छन् । तिनमा सौन्दर्यका जैविक आग्रह बढी छन् । त्यसैले परम्परित सबै सौन्दर्य मूल्यको आलोचना गर्नु गलत हुनसक्छ । सांस्कृतिक मानक निर्माणको चरणमा सौन्दर्यजस्तो अमूर्त विषयको ग्रहण र अभ्यासमा जनसामान्यका कल्पना र पौरखको ठूलो भूमिका छ । तर समय बित्दै जाँदा सौन्दर्य सम्बन्धी धारणालाई स्त्री वर्गको आत्मसम्मान र स्वतन्त्र अस्तित्वमाथि अङ्कुश लगाउन उपयोग गर्न थालियो ।


उपेक्षा र दमनको साध्यका लागि उत्पीडनकारी मानक तय हुनथाले । सहनशीला, सुशीला र बत्तीस लक्षणा लगायतका भाष्य बन्न थाले । यो सिलसिला अधिकृत पितृसत्ताको जन्म सँगसँगै थालिएको हो । त्यसैले देह राजनीतिमाथि आलोचनाको आधारबिन्दु परिवार–संगठन, राज्यको निर्माण र यिनको शक्तिमाथि पितृसत्ताले एकछत्र कब्जा गरेताको झन्डै दस हजार वर्षको इतिहासमा जोडिन्छ ।


जताबाट पनि पितृसत्ताको इतिहासलाई नछोई महिलामाथिको शारीरिक र सांस्कृतिक उत्पीडनको विमर्श पूरा हुनै सक्दैन । शरीर र सौन्दर्यसँग जोडिएको होओस् या श्रम र उत्पादनसँग, हरेक छलफलको तान पुरुषकेन्द्री राजनीतिभित्रै उनिएको छ । शरीरमा अधिकारको प्रश्न र स्त्री सौन्दर्यको मानकीकरण पितृसत्ताको शिरदेखि पुछारसम्म जोडिएका विषय हुन् । वर्ण र लिङ्ग भेदसँगै विकास भएका पितृसत्ताको रेखदेखमा निर्मित स्त्रीद्वेषी कानुन र संहिता (स्मृति) र मिथहरूले बताउँछन्, ‘सभ्य’ समाजको जगभित्र महिलाको कति ठूलो कोलाहल पुरिएको छ ! परिवार र राज्यसत्ताको ‘पुरुषकेन्द्र’ निर्माणको वेदीमा महिलाको आत्मसम्मान र गरिमा कसरी होमन भएको छ !


इतिहासको लामो मौन च्यातेर भाषाको उडानमा निस्केका नारीलाई नै दुनियाँभरका प्रश्न खडा गरेर किन परिवार र समाज भाँड्दै छौं, एक थान लोग्ने र सन्तानसुखको भोग अनि आदर्श ‘विदुषी’ नारी भएर बाँच्ने सुविधा छोडेर प्रश्नको जंगलमा किन छिरेको भनेर सोध्दा सुझाव दिइन्छ— स्त्री मुद्दामा मात्रै होइन, ‘समग्र मानवतावाद’का लागि पो बोल्नुपर्छ ! यस्तो सुझाव दिने ‘उच्च मानवतावादी’ पंक्तिले जवाफ दिऊन्– स्त्री सौन्दर्यको मापदण्ड बनाउने, स्त्रीलाई भोग्याका रूपमा पत्नी, उपपत्नी, यौनदासी, वेश्या, कोठे नर्तकी हुँदै मोडल र पोर्नस्टारसम्म बनाएर प्रभुत्वको राजनीति गर्दा, दिनदिनैका बलात्कार र हत्याको मोहरीमा नाबालिकादेखि वृद्धासम्मका ज्यानमा मा धावा बोलिँदा संसार कुन अर्थमा सभ्य र ‘मानवीय’ छ ?


'माल’ उत्पादनको खेल

हामीकहाँ ‘लोउनी छोराले हुप (बर्कत) ले खानी हो, आइमाईले रूपले’ जस्ता आहान प्रचलित छन्, जसले स्थानीय ज्ञान र चेतना निर्माणको जग के हो भन्ने बताउँछन् । यद्यपि यो तुलनात्मक रूपले कम अपमानजनक आहान हो । आर्थिक उत्पादन सम्बन्धको प्रभाव आम मानिसले बनाएका दैनन्दिनका भाष्यमा कस्तो छ भन्ने सामान्य उदाहरण मात्रै हो यो ।


समाजले योभन्दा कैयौं गुणा स्त्रीद्वेषी उखान र उक्तिको रचना गरेको छ । तिनले महिलालाई जबर्जस्ती राम्री देखिनुपर्ने, शरीरको छटनी–कटनी गर्नुपर्ने, नखरा र उत्तेजनाले पुरुषलाई मोहित पार्नुपर्ने मनोविज्ञान थोपरेका छन् । र अधिकांश महिला त्यही मनोवैज्ञानिक दासत्वमुनि खुसी–खुसी सहिद भइरहेका छन् ।


आर्थिक अधिकारबाट अपदस्थ भएपछि इतिहासमा महिलाका अगाडि पुरुषलाई रिझाएर बाँच्नुका विकल्पहरू थिएनन् । अब भने समयले ठूलो फड्को मारेको छ । उपभोक्तावादको सिकार हुनबाट बचेर एकसरो लाउन, एकपेट खान र मानवीय गरिमाको एउटा पूर्ण जिन्दगी बाँच्न पुरुषलाई रिझाएर जबर्जस्ती राम्री देखिनुपर्ने अवस्था आज छैन ।


तर सचेतना र आत्मसम्मानको क्रान्तिका असंख्य सम्भावना भएको आजको युगमा पनि पितृसत्ता महिलाको शरीर कब्जा गर्ने रणनीतिमा सफल छ । यसको रहस्य पितृसत्ताको संशोधित रूप पराराष्ट्रिय कर्पोरेट पुँजीवादभित्र भेटिन्छ । सुरुआत कालमा महिलालाई घरका दैला र गराला फड्काएर उद्योग, कारखाना, विद्यालय र विश्वविद्यालयमा पुर्‍याएको प्रगतिशील पुँजीवाद प्रतिस्पर्धात्मक वित्तीय र कर्पोरेट पुँजीवादमा रूपान्तरण भएपछि खानी, तेल, जलस्रोतजत्तिकै विशाल लगानीको बहुराष्ट्रिय बजार स्त्री शरीर र कस्मेटिक्सले धानिरहेको छ ।


त्यसलाई निरन्तर गतिशील बनाउन कम्पनी मालिकहरूलाई विज्ञापनमा खेलिदिने मोडल र प्रचारप्रसार गरिदिने असंख्य एजेन्ट चाहिन्छ । त्यस्ता एजेन्ट युट्युब र टेलिभिजन स्टार, सिनेमाका सेलेब्रिटी र सुन्दरी प्रतियोगिताका ‘जज’का रूपमा रहन्छन् । बहुसंख्यक नारी तिनैलाई आदर्श मान्छन् । तिनका मेकअप, पहिरन र हाउभाउको नक्कल गरेर आफू जमानासित ‘फिट’ भएकामा गर्व गर्छन् ।


सन् १९९१ मा प्रकाशित किताब ‘ब्युटी मिथ’मा अमेरिकी लेखक नाओमी उल्फ शरीरबारे बनाइएका तमाम सौन्दर्य मिथहरू पूर्णतः मर्दवादी पुँजीवादी मिथ हुन् भन्छिन् । यो मिथले पुरुष ज्यानले पराक्रमी, उद्यमशील र साहसी हुनुपर्ने तर्क गर्छ । महिलालाई भने थकित र सौखिन पुरुषको मन बहलाउने, उसलाई ऊर्जा र पुनर्ताजगी दिने केवल एउटा निरीह सेवाप्रदायक मान्छ । समकालीन बजारशास्त्रले पक्रेको गाँठी तर्क नै यही हो । यसले कुनै पनि तरिकाबाट महिलाको शरीर र सौन्दर्यका धारणामाथि पुरुष दृष्टिको वर्चस्व कायम हुनुपर्छ भन्छ ।


अर्थशास्त्रले उत्पादित भौतिक वस्तुलाई ‘माल’ भन्छ । त्यसको उत्पादन प्रणाली हुन्छ । सञ्चय र वितरणको प्रक्रिया हुन्छ । ग्राहकले पैसा तिर्छ र मालको उपभोग गर्छ । जबकि शरीर त जैविक अस्तित्व हो ! तथापि स्त्री शरीर आजको नाफाखोर व्यापार नेटवर्कको गतिशील अस्त्र बनेको छ । यो सौन्दर्य र यौनको यस्तो परियोजनाद्वारा सञ्चालित छ, जसमा शरीर पुँजी निर्माणको वस्तु र माध्यम दुवै बनेको छ ।


विगतमा सामन्तवादले स्त्री शरीरमाथि भयानक हिंसा र कोप बर्साएको सत्य हो, तथापि त्यसले शरीरको हाटै लगाएर विशालतम व्यापार संयन्त्र बनाएन । आजको बहुराष्ट्रिय पुँजीवादले भने सिनेमा, टेलिभिजन, सामाजिक सञ्जालदेखि सहरका चोक, गल्ली र वातानुकूलित कोठीसम्म देहबजार फिँजारेको छ । त्यहाँ रेट अनुसार महिलाहरूको ‘हाइरार्की’ छ ।


यसमा सहरको मध्यचोकवरिपरि आफूलाई लिलाम गर्न टहलिइरहेका यौनकर्मी युवतीदेखि हाई प्रोफाइलहरूलाई सेवा दिने ‘सेक्स वर्कर’ सम्मलाई किन्ने खरिदार, प्रमोसन र प्रसिद्धिका तिर्खालु महिलाका लागि यौन सम्बन्धको च्याँखे थापेर मौका पर्खने ‘बोस’, ‘कास्टिङ काउच’ रच्ने सिनेमा जगतका निर्माता–निर्देशक लगायत रासलीलाकार र मोडल, सुन्दरी उत्पादन गर्ने अधिकृत व्यापारिक घरानाहरूको क्रियाशील भूमिका छ ।


सौन्दर्यको पुनर्परिभाषा

नेपालमा हुन लागेको सुन्दरी प्रतियोगिताको एउटा अडिसन क्लिपले केही दिनअघि प्रतियोगिताभित्रको कुरूप पाटोलाई दुनियाँसामु छताछुल्ल पारिदियो । भिडियोमा कुनै शृङ्गार नगरी, पावरवाला चस्मा लगाएकी युवतीलाई ‘मेकअप नगरी किन आएको ?’ भनी निर्णायकले झन्डै थर्काएको शैलीमा सोधिन् । ती युवतीलाई सौन्दर्यको ‘डिसरेस्पेक्ट’ नगर्न चेतावनी दिँदै उनले चस्माको सट्टामा ‘कन्ट्याक्ट लेन्स’ लगाएर आउन सुझाइन् ।


भिडियोमा टिप्पणी गर्नेमध्ये धेरैले ती निर्णायक महिलामाथि आक्रोश पोखे । यो स्वाभाविकै हो । फेरि पनि खास कुरा पुँजीवादी मापदण्डको सौन्दर्यशास्त्रका निर्माता को हुन् भन्ने नै हो । निर्णायकका रूपमा बसेकी महिला देह–राजनीतिकी एउटी ‘प्यादा’ मात्रै हुन् । खास कर्ता त देहको हाटबजार चलाउने व्यापारिक घराना हुन्, ठूलठूला बहुराष्ट्रिय र वित्तीय कम्पनी हुन् । स्थानीय आयोजक पनि एजेन्ट माक्रै हुन् । त्यसैले अमुक व्यत्तिमाथि प्रकट गरिने आक्रोशको खास अर्थ छैन । विरोध त स्त्रीदेहलाई व्यापारको वस्तु बनाएर पूरै विश्व समाजलाई अमानवीय र हिंस्रक बनाइरहेको पुँजीवादी पद्धतिको पो गर्नुपर्छ !


सन् १९२० मा सुरु सुन्दरी प्रतियोगिता साठीको दशकयता विरोधको तारो बन्न थाल्यो । १९६८ देखि नारीवादी अभियन्ताको चर्को विरोध खेप्न थालेको ‘ब्युटी प्याजेन्ट’ को नेपाली संस्करण १९९४ मा सुरु भयो । नेपालमा वामपन्थी महिलाहरूको संगठित विरोध शृङ्खला ‘नेपाल सुन्दरी’को पहिलो संस्करणसँगै सुरु भयो । अहिले सबै संगठन मानौं चुप छन् ।


केही लेखक र सामाजिक सञ्जालमा क्रियाशील मानिसहरूबाहेक संगठित र उल्लेख्य विरोधको स्वर सुनिन्न । नेपाली समाजमा सचेत विद्रोहको धार भुत्ते भइरहेको स्पष्ट संकेत हो यो । अब कसैलाई संगठित विरोध किन गर्नु छैन भने अधिकृत बहुराष्ट्रिय पुँजीवादसँग नेपालका प्रायः कम्युनिस्टले सम्झौता गरिसकेका छन् । पछिल्लो समय त ‘कमरेड–पुत्री’ नै झन्डै विश्व सुन्दरी बन्न पुगिन् ! सौन्दर्यको पुनर्परिभाषा गर्ने इमानदार प्रयत्न थाल्ने हो भने यो विषयमा खुला र आमने–सामनेको बहस अनिवार्य छ ।


नाओमी उल्फका अनुसार, पुरुषवादी सौन्दर्यशास्त्रको माकुरी जालबाट निस्कन नारीवादी सौन्दर्य मिथको यस्तो परिभाषा बनाउनुपर्छ, जसले शरीरमाथि नारीकै अधिकार स्थापित गर्नुलार्ई प्राथमिक सर्त मानोस् । शरीर, यौन, विवाह लगायतका निजी मामिलामा व्यापक रूपले छनोटको पूर्णाधिकार स्थापित गर्न सक्ने हो भने सौन्दर्यको स्वतः पुनर्परिभाषा हुँदै जान्छ । यति कुरा जोकसैले बुझ्छ— सौन्दर्यको पुनर्परिभाषा वास्तवमा सत्ताको पुनर्परिभाषा हो ।


पितृसत्तालाई धूलिसात् पारेर लैंगिक समताको वास्तविक अर्थमा ‘मानवतावादी’ सत्ता स्थापित गर्ने तर्क हो यो । यसो गर्न महिलाहरू कुनै पनि सर्तमा देहलाई पैसा र प्रसिद्धिसित साट्न मन्जुर हुनु हुँदैन । हामी कागजका पुतली र भोगका वस्तु हुन राजी छैनौं भनेर आजसम्म चलेको सौन्दर्य मिथलाई खारेज गर्न तयार हुनुपर्छ । तथाकथित ‘सुन्दरी प्रतियोगिता’ हाम्रो विवेक र स्वाधीनतामाथिको हस्तक्षेप हो र यसमा झुक्किएर पनि प्रतियोगी बन्दैनौं भनेर आयोजकलाई चुनौती दिन सक्नुपर्छ ।


हामी यति आँटिला बन्न तयार छौं ?


ट्वीटर : @saritatiwari36

प्रकाशित : वैशाख ३, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?