१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

तालिका मात्र होइन खेल

सम्पादकीय

काठमाडौँ — नेपालकै परिकल्पना हो, दक्षिण एसियाली खेलकुद (साग) । ३५ वर्ष अगाडि सन् १९८४ मा काठमाडौंबाटै यसको सुरुवात भएको थियो । गर्वको विषय– हाम्रो आफ्नै बृहत् राष्ट्रिय खेलकुदको अभ्यास त्योभन्दा तीन वर्ष जेठो छ । २०३८ सालदेखि नै नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव हुन थालेको हो ।

तालिका मात्र होइन खेल

चार दशक लामो यात्रामा यो प्रतियोगिता नियमित भने हुन सकेन । यस पटक आठौं राष्ट्रिय प्रतियोगिताले भने उक्त ‘राष्ट्रिय रोग’ लाई चिरेको छ । निर्धारित दुई वर्षकै अन्तरमै प्रतियोगिता भइरहेको छ । २०७३ मंसिरमा पूर्वाञ्चलमा सातौं खेलकुद भएको थियो ।

२०३८, २०४० र २०४२ मा २–२ वर्षको अन्तरमा राष्ट्रिय खेलकुद आयोजना भए ।


बाँके केन्द्रित भएर समग्र प्रदेश ५ भरि यसका खेलहरू भइरहेका छन् । हतारोका कारण पूर्वाधार सबै बनिसकेका छैनन् । स्पर्धासँगै तयारीका काम सँगसँगै चल्दै छन् । प्रमुख खेलस्थल नेपालगन्ज रंगलशाला बन्दै छ । यत्रो कुम्भ मेला चलिरहँदा खेलकुदमन्त्री भने स्वदेशमा छैनन् । त्यही भएर चैत २७ मै सुरु प्रतियोगिताको औपचारिक उद्घाटन वैशाख ५ मा मात्रै हुँदै छ ।


ओलम्पिक र एसियाली खेलकुदको सोचअनुसार भएको हो, राष्ट्रिय खेलकुद । त्यहीअनुरूप बृहत् रूपमा आयोजना हुने गर्छ । तयारी र खर्च पनि चाहिन्छ । यसै वर्षको अन्त्यमा नेपालले १३ औं साग गर्दै छ । जारी राष्ट्रिय खेलकुद नेपाल टिम तयारीको प्रमुख माध्यम हो । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरू नेपालको जर्सी लगाएर आगामी सागमा देखिने छन् । त्यसैले मैदानभित्रको प्रदर्शनलाई जति गम्भीर रूपमा लियो नेपालले सागमा त्यति नै सफलता पाउन सक्छ ।


सम्पूर्ण रूपमा सरकारी लगानीमा हुने हो राष्ट्रिय खेलकुद । यसकै आधारमा सरकारले नेपाली खेलकुदको दीर्घकालीन बाटो कोर्न सक्नुपर्छ । यसकै लागि धेरै खर्चेर पर्याप्त भौतिक पूर्वाधार तयार भएका छन् । झन्डै २५ करोडमा नेपालगन्ज रंगशाला र अत्याधुनिक प्यारापिट बन्यो । दाङको बेलझुन्डीको रंगशाला र एथ्लेटिक्स ट्र्याक बनाउन २४ करोड लाग्यो । खजुरामा भलिबल रंगशाला बनेको छ । रंगशाला परिसरमै सुटिङ रेन्ज छ ।


नेपालगन्जमै जुडो हल, कोहलपुरमा क्रिकेट मैदान, बर्दियामा बहुउद्देश्यीय कभर्ड हल बनेका छन् । सातौं खेलकुदमा भएकै पूर्वाधारलाई बनाउन ८० करोड खर्च भएको थियो । अहिले सबै नयाँ सरंचनामा बनाइएका छन्, झन्डै १ अर्बमा । प्रतियोगिता पछाडि यी पूर्वाधारको उचित संरक्षण चुनौतीपूर्ण छन् । तिनको उचित उपयोगले उक्त प्रदेशको खेलकुद विकासमा उल्लेखनीय योगदान दिन सक्छ ।


कमजोर व्यवस्थापन अहिलेसम्म भएका राष्ट्रिय खेलकुदहरूको साझा विशेषता हुन् । यस पटकको प्रतियोगिता पनि त्यसबाट अछूतो छैन । बर्दियामा कबड्डी खेलाडीले हैरानी बेहोर्नुपरेको गुनासा आएका छन् । बेमौसममा आयोजना गरिएकाले खेलाडीको प्रदर्शनमा असर परेको हुन सक्छ । गर्मीकै कारण मात्र प्रदर्शन कमजोर भएको बहाना बनाउन भने खेलाडीले मिल्दैन । विदेशमा योभन्दा बढी तापक्रममा पनि नेपालीले खेलेका छन् । यो प्रतियोगिताले पात्रो नियमित त बनायो तर उचित तयारी पुगेको देखिएन । राष्ट्रिय खेलकुद परिषद्ले अब सिक्नैपर्ने पाठ यही हो– पात्रो नियमित गर्ने, तयारी पनि पुर्‍याउने ।


विभिन्न प्रदेशमा आयोजना गरिने राष्ट्रिय प्रतियोगिताले समग्र खेलकुदलाई विकेन्द्रीकरण गर्न सघाउँछ । मुलुकका राष्ट्रिय खेलाडी गएर खेल्दा आयोजनास्थलको रौनक र खेल माहोल बढ्छ । त्यहाँका खेलाडीमा सकारात्मक ऊर्जा थपिन्छ र खेल कौशल पनि सिक्न सक्छन् ।


खेलकुद खालि खेल होइन, एक संस्कृति पनि हो । राष्ट्रिय खेलकुद आयोजनाले मोफसलमा खेलकुद संस्कृति विकास हुन्छ । देशका लागि अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सघाउ पुग्छ । तसर्थ, हामीले जति यस प्रतियोगिताका लागि लगानी गर्छौं, त्यति नै अन्तर्राष्ट्रिय लक्ष्यहरू हासिल गर्न सक्छौं । राष्ट्रिय खेलकुद जग हो, जति मजबुद बनाउँछौं, त्यति माथि चढ्न सक्छौं ।

प्रकाशित : वैशाख ३, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?