३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ओझेल पर्दै ३मीटु

मधु राई

काठमाडौँ — प्रा ध्यापक कृष्णबहादुर भट्टचन यौन दुर्व्यवहारको भुमरीमा परेयता जनजाति समुदाय र जातीय संघसंस्थालाई नराम्रो झट्का लागेको हुनुपर्छ । किनभने, आदिवासी जनजातिका मुद्दालाई पहिचानसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने थोरै जनजाति बुद्धिजीवीमध्ये पर्छन् उनी ।

जनजातिका मुद्दालाई कसरी परिणाममुखी बनाउने भन्नेबारे उनको योगदान अपरिहार्य देख्छ जनजाति समुदायले, अझै पनि । तथापि आफ्ना अगुवा यौन दुर्व्यवहार जस्तो संवेदनशील मुद्दामा परेको विषयलाई लिएर आदिवासी जनजाति समुदायभित्रका बुद्धिजीवीहरूबीच केकस्तो छलफल भयो या भएन, सार्वजनिक नहुनु आश्चर्यजनक छ ।


चैत अन्तिम साता यस्तै अर्को घटनाबारे ‘काठमान्डु पोस्ट’ मै समाचार छापियो । त्रिचन्द्र क्याम्पसमा आठ वर्षअघि छात्राहरूलाई परीक्षा हलभित्रै प्राध्यापकद्वय प्रवीणकुमार झा र दीपेन्द्रकुमार गुप्ताले यौन दुर्व्यवहार गरेको त्यो समाचारमा उल्लेख थियो । त्यति बेला ती परीक्षार्थीहरूले भोगेको पीडा र न्यायका लागि गरेको संघर्षलाई समाचार समेटिएको थियो ।


भट्टचन, झा र गुप्ताहरू आफूमाथिका आरोप मनगढन्ते हुन् भन्दै पन्सिन खोजेका छन् । उनीहरूले यसलाई आफूहरूको व्यक्तित्व धराशायी बनाउने प्रपञ्च भन्दै खण्डन गरेका छन् । तर उनीहरूले सायदै सोच्न सक्छन्, आफू यौन दुर्व्यवहारमा परेका घटनालाई सार्वजनिक गर्ने आँट जुटाउनुअघि महिलाले धेरै मानसिक तनाव झेल्नुपर्छ भनेर । उच्च शिक्षा हासिल गर्दै गरेका छात्रासम्मले लोकले विश्वास गर्ला–नगर्ला भन्ने त्रासबीच आफ्नो पीडा सार्वजनिक गरेपछि विषम परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । रहर होइन यो । अर्कातिर, कार्यस्थल वा विश्वविद्यालय परिसरमा यौन दुर्व्यवहारमा परेकाहरूले तत्काल गुनासो गर्ने संयन्त्र नहुँदा पीडितहरू दोहोरोतेहरो अन्यायमा पर्ने गरेका छन् ।


पछिल्लो समय हलिउडदेखि बलिउड हुँदै भित्रिएको मीटु अभियानले नेपाललाई पनि छोइरहेको छ । हाम्रा सञ्चार माध्यमहरूले यस सम्बन्धी धेरथोर समाचार र लेखहरू जनसमक्ष ल्याउँदै छन् । यस्ता विषयमा खोजमूलक सामग्री जनसमक्ष ल्याउनु पत्रकारिताको मूल धर्म पनि हो ।


तर, नेपाली भाषाका मूल धारे पत्रिकाहरूमा यसले ‘काठमान्डु पोस्ट’ मा झैं प्राथमिकता नपाउनु चाहिँ सुखद होइन ।


बहुसंख्यक नेपाली सञ्चार माध्यमहरूले, चाहे छापा होऊन् या विद्युतीय, यौन दुर्व्यवहारका विषयमा घटनाप्रधान समाचारलाई मात्र प्राथमिकता दिने पुरातन प्रवृत्तिले गर्दा आरोपितहरूले सहजै उन्मुक्ति पाउने गरेका छन् । अन्यक्र मीटुमा डामिएका व्यत्तिहरूबारे थप अध्ययन–अनुसन्धान हुन्छ, भइरहेको छ । हामीकहाँ भने यस्ता कुरा केही दिनमै सेलाउने गरेका छन् । यस्तै कारणले गर्दा नेपालमा मीटु अभियानले त्यति गति लिन सकेको छैन ।


फेरि, यो यौन दुर्व्यवहारको मात्र कुरा हैन, पुरुषहरूको प्रवृत्तिबारे चियोचर्या हो । पछिल्लो समय यस्तो प्रवृत्ति भएका जुनसुकै समुदाय र वर्गका व्यक्तिले महिलालाई वस्तु सम्झेको देखिन्छ । यस्तो प्रवृत्ति पितृसत्तात्मकताबाट यति लादिएको हुन्छ, यसले महिलाको विद्वत्तालाई सधैं नकारिरहन्छ । समाजका अघिल्तिर बाहिरी मनले महिलाको प्रशंसा गरे जस्तो गर्ने, भित्रभित्र चाहिँ अपेक्षित स्थान नदिने हुन्छ । यस्तो प्रवृत्तिले नै हाम्रो समाजलाई पाषाण युगतिरै फर्काउने दुश्चेष्टा गरिरहेको हुन्छ । यस्तो प्रवृत्ति मानव सभ्यताको बाधक हो । यस्तै प्रवृत्ति भएका पुरुषहरूका कारण महिला हिंसाका घटनाले पराकाष्ठा नाघ्दै गएका हुन् । यस्ता पुरुषहरू जति नै शिक्षित र सम्पन्न भए पनि समाज कालो दागका रूपमा रहने गर्छन् । मानवताविरोधी कार्य गर्ने यस्ता पुरुष जुनसुकै वर्ग, धर्म वा समुदायको भए पनि उसबाट मुलुकले कुनै लाभ पाउन सक्दैन ।


पछिल्लो समय कछुवाकै गतिमा भए पनि धेरथोर महिलाले कलमको खेती गर्न थालेका छन् । कतिपय यस्ता कलमजीवी महिलाहरूले यस्तो प्रवृत्तिविरुद्ध लेख्न र बोल्न थालेका छन् । उनीहरूमध्ये केहीले देश–विदेशबाट उच्च शिक्षा हासिल गर्ने अवसरसमेत पाएका छन् । मानवताविरोधी कार्य गर्ने त्यस्ता विद्वान्हरूका बारेमा महिला कलमजीवीहरूले लेख्नु र बोल्नुपर्ने अवस्था सिर्जना हुनु भनेको एक प्रकारले विकासको गति अवरुद्ध हुनु हो । किनभने विकसित मुलुकमा अध्ययन–अनुसन्धान गर्ने अवसर पाएका अधिकांश विद्वान्–विदुषी आफ्नो मुलुक पनि समृद्धिको पथमा हिँडेको हेर्न चाहन्छन् ।


प्राज्ञिक क्षेत्रमा भइरहेको यौनहिंसाका घटनाबारे मूलधारका अन्य सञ्चार माध्यमले पनि थप अनुसन्धानमूलक सामग्रीको प्रकाशन र प्रसारण गर्न जरुरी छ । यस्ता घटनामा मुछिएका व्यक्तिलाई दण्ड–सजाय र पीडितलाई न्याय दिलाउन तीनै तहका सरकारले पहल गर्नु पनि अत्यावश्यक छ । सार्वजनिक स्थल, कार्यस्थल, विद्यालय र विश्वविद्यालय परिसरलाई यौन दुर्व्यवहारमुक्त क्षेत्र बनाउन विशेष संयन्त्र बनाई पुरुषहरूलाई सचेत गराउन जरुरी छ । महिला हिंसामुक्त समाज निर्माण गर्न सके मात्र समृद्धि र विकासले गति लिन्छ ।


प्रकाशित : वैशाख ४, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?