३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पानी बिन सब सून

डेटलाइन तराई
चन्द्रकिशोर

तराईमा नयाँ वर्षको स्वागतार्थ प्रकृति पूजा गरिन्छ । ठाउँ र समुदाय विशेषअनुसार त्यसको शैली फरक देखिए पनि मूल भाव एउटै पाइन्छ । झिसमिसेमै उठेर घरका श्रेष्ठ महिलाहरूले अञ्जुलीमा पानी लिई आफूभन्दा कनिष्ठका टाउकामा हाल्दै शान्तिको कामना गर्छन् । यसलाई ‘जुराउनु’ भनिन्छ । रूखबिरुवा र बाटाघाटामा पनि पानी छरिन्छ ।

पानी बिन सब सून

घरआँगन, टोलछिमेकमा रहेका इनार, पोखरी, चापाकल छेउमा जमेको पानी वा नालाको सरसफाइ गरिन्छ । फागु जस्तै यसमा हिलो–पानी खेल्ने चलन छ । ‘मधेसी हार्लिक्स’ भनिने सातु पनि खाने चलन छ । माटाका भाँडामा बटुवाका लागि पानी राखिन्छ । घरमा पनि त्यसै गरी राख्ने चलन छ ।

वास्तवमा यो दिवस मधेसका लागि ‘पानी पर्व’ हो । पानीसम्बन्धी पुर्ख्यौली ज्ञानलाई सम्झना गर्ने अवसर हो । पानीका मुहानहरूको सरसफाइ गर्ने, हेरचाह गर्ने र त्यसका निम्ति सामूहिक प्रयत्न गर्ने बेला हो । तर समय प्रवाहसँगै परम्परालाई नयाँ अर्थमा पुनःस्थापित गर्न नसक्दा प्रकृति पूजक र जलाशयको स्वच्छताप्रतिको सामूहिक अनुष्ठानको यो पर्व आफ्नो मूल तत्त्वबाट विमुख हुँदै गरेको छ ।

पानीप्रति फेरिँंदो सामुदायिक दृष्टिकोणलाई पनि यसले उजागर गर्दै गएको छ । प्रत्येक समुदायका अनुभवहरूमा आ–आफ्नै सूक्षमता र विशेषता हुन्छन् । नयाँ वर्षसँगै पानी पर्वको परम्पराले नयाँ जीवनसँगै पानीको अन्तर–सम्बन्धलाई पनि अभिव्यक्त गर्छ । नेपालका विभिन्न भूगोलमा पानी संरक्षणका लागि स्थानीय परम्परा अनुरूप पानीलाई पूजनीय मानिन्छ । यो समानता नेपालको प्रत्येक समुदायमा छ ।

पानीलाई कुन रूपमा हेर्ने ? अहिले पनि कतिपय ठाउँमा परम्परालाई थेग्न सार्वजनिक पेयजल राखिन्छ । त्योभन्दा पनि अब यसको स्थान बोतलबन्द पानीले लिँंदै गएको छ । पहिले तिर्खा मेट्न प्रकृतिले निःशुल्क उपलब्ध गराइदिएको पानी सकेसम्म अरूका लागि त्यो सहज बनाइदिनुपर्छ भन्ने बुझाइ थियो । अब पानीमा बजार छिर्‍यो । सुदूर देहातसम्म पनि बोतलबन्द पानीले आफ्नो अवसर हेर्‍यो । एउटाले पानीलाई प्रकृतिको उपहार त अर्कोले फलिफाप हुने व्यापार ठान्छ ।

पानीप्रतिको यो सामुदायिक बुझाइमा आउँदै गरेको बदलावले पानीको मुहानको संरक्षण, जलाशयहरूको सरसफाइ र वरिपरिका बोटबिरुवाप्रतिको दायित्वलाई ओझेलमा पार्दै गएको छ । पहिले–पहिले सबैजना मिलेर वर्षको पहिलो दिन पोखरी वा इनार सफा गरिन्थ्यो । तीबाट निस्केको हिलो आ–आफ्नो खेतबारीमा मलका रूपमा हाल्ने चलन थियो । इनार वा पोखरीमा कसैले फोहोर नफालोस् भनी टोल–समाजले निगरानी गर्थ्यो ।

पर्वसँग जोडिएका मूलतत्त्व बिर्सिंदै जाँदा अब इनारहरू मासिँदै गए, पोखरीहरू अतिक्रमित हुँदै गए, वरिपरिका ठूला रूखहरू ढालिँदै गए ! अब यिनलाई बचाउने चाहना भए पनि टोलमा इनारै छैन, अनि केको सफाइ गर्ने ? के भयो, के भइरहेछ र किन भइरहेछ भनी केलाउने चासो र धैर्य पनि कमै देखिन्छ ।

सर्लाहीको दक्षिण–पश्चिमी सीमान्त गाउँ बलराको चौरमा एउटा खोला छ, भोरहर । वाग्मतीको बाढीले करिब ६ दशकपहिले भोरहरलाई अस्तित्वमा ल्याइदियो । त्यहीँको चौरबाट निस्किए पनि त्यसमा बाह्रैमास पानी जमेको हुन्थ्यो । पानीका ‘भूर’ (मुहान) हरू प्रशस्त थिए, जसले कुनै पहाडी नदीले जस्तै पानी जोगाइराख्थे । छेउछाउका गाउँहरूका निम्ति यो सिँचाइको स्रोत पनि थियो । पानी भोरहरबाट खेतमा ल्याउने काम गाउँलेहरूको सहमतिमा हुन्थ्यो ।

यस क्रममा कसैले सोरसार गर्ने, कसैले चपरी खन्ने, कसैले ढुंगा–माटो हाल्ने गर्थे । यसरी धेरै जनाको सहयोगमा भोरहरको पानी खेत–खेतमा पुग्ने गर्थ्यो । कुलो सरसफाइको काम चाँडो सक्न पाए रोपाइँ चाँडै सक्न पाइन्थ्यो भन्ने सोचले सामूहिकता ल्याउँथ्यो । अर्थात् पानीले समाजलाई जोडेको थियो । दुर्भाग्यवश, अचेल भोरहर सुक्न थालेको र यसको अस्तित्व हराउन थालेको छ ।

वाग्मतीमा तटबन्धपछि वर्षेनि आउने बाढी रोकियो, जुन भोरहरमा जल आपूर्तिको स्रोत थियो । यता भूरहरू पनि मासिँदै गए । यस्तै चालाले त भोरहरको नामोनिसान मेटिन्छ ! यहाँ सवाल एउटा भोरहरको होइन । तराईमा अनेक साना खोल्साहरूको अस्तित्व हराउँदै गएको छ । मान्छेहरू धेरै जान्ने–सुन्ने भए, यी खोलाहरूको पानी कसलाई चाहिएको छ र मतलब राख्थे !

मधेसमा पानीसँगै जोडिएको एउटा भनाइ निकै प्रचलित थियो :

रहिमन पानी राखिए, पानी बिन सब सून

पानी गए न उबरै, मोती मानुस चून ।

अर्थात्, पानीलाई जतन गरौं, पानी मासिए फेरि फर्किंदैन, कष्ट सहनुस्, तर पानी जोगाउनुस् ।

नदी, इनार र पोखरीहरू मात्रै मर्दै गएका छैनन्, तराईको पेयजल आपूर्तिमा समेत संकट आउँदै गएको छ । वास्ता कसलाई ? जबकि जललाई तीर्थ बराबर मान्ने यस क्षेत्रको संस्कार थियो । जलले गति दिन्छ भन्ने सामुदायिक बुझाइ थियो । जीवनलाई गति दिने आधारहरूलाई बरबाद पार्दै लगेर हामी कस्तो सामुदायिक जीवन खोजिराखेका छौं भन्ने प्रश्न मुहान सरसफाइसँग जोडिएको मौलिक परम्पराका बेला उठ्नु जायज हुन जान्छ ।

नदी, पोखरी वा इनारको तात्पर्य केवल पानीको स्रोतका रूपमा थिएन, ती संस्कृतिको धारा पनि थिए । जलाशय किनारको वातावरणमा विशेष आर्द्रता हुन्छ, जसले सामाजिक जीवनलाई अनेक किसिमले प्रभावित गर्छ । तर उपभोक्तावादको यस अराजक दौडमा जलाशयको सांस्कृतिक पक्षलाई चरम उपेक्षा गरिएको छ । जीवनको गीत गाउने जलाशय अहिले आफ्नै लागि जीवन माग्दै छ । अचेल अधिकांश सिँचाइ भूमिगत जलबाट हुने गरेको छ । नदी स्वयं भूमिगत जलका लागि ‘रिचार्ज जोन’ पनि हो । अतः भूमिगत जललाई जोगाइराख्न पनि नदी र खोलाहरू जीवित रहनु जरुरी छ ।

जुन समाजमा तिर्खाएकालाई पानी खुवाउनु सबभन्दा ठूलो पुण्य मानिन्थ्यो, त्यहाँ पानीको व्यापारमाथि बहस हुनु सानो विडम्बना होइन । हाम्रो इतिहास पानीको सामुदायिक प्रबन्धका अनुकरणीय उदाहरणहरूले भरिएको छ । पानीको व्यवस्थाको उपक्रम सधैं सार्वजनिक र परजन हिताय रहँदै आएको छ, चाहे शासकहरूको चरित्र जस्तोसुकै रहोस् ।

इनार वा पोखरी खनाइँदा त्यो त सबैका लागि हुन्थ्यो नि ! यहाँको समाजलाई चलाउने, यहाँका मान्छेले मन पराएका र पचाएका ज्ञान र सीपहरू अहिले किन असान्दर्भिक बनाइँदै छन् ? यसबाट उत्पन्न हुने संकटको सामना गर्न समुदाय तयार छ ? वैशाख सुरु नहुँदै कतिपय सीमान्त क्षेत्रहरूमा समेत चापाकल सुक्न थालेका छन् । वर्षेनि चापाकलको गहिराइ बढाउनुपर्ने बाध्यता आउने गरेको छ । समाज अचेल कैयौं विडम्बनासँग जुझ्ने गरेको छ ।

संकट चाहे लोकतन्त्रको होओस् वा पर्यावरण वा संस्कृतिको, यी तीनै विषय एकअर्कासँग जोडिएका हुन्छन् भन्ने कुरा हामीले बिर्सियौं । संस्कृति कमजोर भयो भने पर्यावरणमाथि प्रहार हुन्छ र प्रदूषित पर्यावरणले अनेक द्वन्द्व खडा गर्छ । जलाशयहरूले संस्कृतिलाई जन्म दिए र विकसित गरे । यिनै संस्कृतिका सन्तान हामीले जलाशयहरूलाई नष्ट गर्दै गयौं । जलाशय विलुप्त हुँदै गए हाम्रो संस्कृति कसरी जोगिन्छ ? हामीले नदीहरूलाई छेकबार गर्न तटबन्ध लगायौं, नहर निकाल्यौं, तर नदीमा पानी नै नरहे के गर्ने ? तराईमा नदी व्यवस्थापनका नाममा जेजस्ता तटबन्धको मोडल अपनाइएको छ, त्यसबारे फराकिलो विमर्श हुन सकेन भने अहिलेको नाफामुखी राजनीतिले चाँडै तराईलाई पानी संकटको डिलमा पुर्‍याउँदै छ ।

पहिले नदीमा प्रचण्ड बाढी आई गाउँघरमा पुग्दा त्यसलाई पूजा गरिन्थ्यो, ‘गंगा मइया तोहे पियरी चढइबो’ भन्दै । पानीको अभावले जीवनको प्रत्येक पक्षलाई प्रभावित गर्छ । स्वास्थ्य र शिक्षादेखि उद्योग–व्यवसाय, ऋणको भुक्तानी, खेती–किसानी, जीवन शैलीसम्मलाई प्रभावित गर्छ । पानीको अभावका कारण पलायन हुनुपर्ने वा पानीसम्म पहुँचका लागि संघर्ष गर्नुपर्ने दुइटै अवस्था तराईको सम्भावित द्वन्द्वको कारक हो । यसप्रति बहुतहका निर्वाचित जनप्रतिनिधिहरू भने अबुझ बनिरहेका छन् ।

स्थानीय तहले पहिले पानीको समस्या पहिचान गर्न सक्नुपर्छ । आफ्नो सीमा क्षेत्रका जलाशयबारे तत्काल अभिलेख तयार गर्नुपर्छ । अहिले स्थानीय तहहरू नयाँ आर्थिक वर्षको रूपरेखा तयारीको गृहकार्यमा लागेका छन् । तिनले पानी सम्बन्धी कामलाई प्राथमिकतामा राख्नुपर्छ । खानेपानी र सिँचाइको अवस्था के छ र त्यसमा पछिल्ला वर्षहरूमा के कस्तो बदलाव आएको छ, यसबारे जानकारी संस्थागत रूपमै राख्नुपर्छ ।

पानी सम्बन्धी समस्याहरू के छन् र त्यसका लागि के गर्न सकिन्छ ? खानेपानीको गुणस्तर कस्तो छ ? त्यसको परीक्षण आवधिक गराइनुपर्छ । पानीको भूमिगत सतह तल खस्किँदै जाँदा र सोही अनुसार चापाकल गहिरिँदै जाँदा पानीको स्वाद र गुण फेरिँदै गएको छ । प्रदेशहरूले आआफ्ना क्षेत्रभित्र पानीको वितरण, संरक्षणको सामर्थ्य स्थानीय तहसँगको समन्वयमा अगाडि बढाएनन् भने पानीलाई लिएर निकट भविष्यमै आन्तरिक खिचलो हुनसक्छ । पानी व्यवस्थापनको गुणात्मकताबारे आपसी सहकार्य गर्न अन्तर–प्रदेश संवाद र समन्वय पनि आवश्यक छ ।

[email protected]

प्रकाशित : वैशाख ५, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?