१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विज्ञान र प्रविधि पनि विभेदकारी

दुर्गा घिमिरे

सृष्टिको सबैभन्दा महत्त्वपूर्ण वरदान बालिकाहरू हुन् । तिनका विभिन्न रूप छन् । छोरी, बुहारी, पत्नी, आमा । यी विभिन्न रूपमा महिलाले विभिन्न दायित्व निर्वाह गर्छन् । हाम्रा विभिन्न धर्मग्रन्थले महिलाका यी रूपलाई शक्तिको रूपमा, दयाको रूपमा व्याख्या गरेको छ ।

विजयादशमीमा हामी देवीका यी विभिन्न रूपलाई सम्झना गरी पूजा गर्छौं । जस्तैः ‘या देवी सर्वभुतेषु शक्तिरूपेण संस्थिता, नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः’ ।

बालिका सुरक्षा, शिक्षा र विकासमा कुनै पनि विभेद नगरी समाजका प्रत्येक वर्गले बराबर अवसर प्रदान गर्नुपर्छ । बालिकाहरू आमाको कोखमा समेत सुरक्षित नहुनु कस्तो विडम्बना ? लिंग पहिचान गरी बच्ची भए भ्रूणमै हत्या गरिदिने प्रचलन बढ्दै छ । विज्ञान र प्रविधिले ल्याएको यो सबैभन्दा नकारात्मक पक्ष हो । बालिकाहरूको जीवन जिउने सन्दर्भमा विज्ञान र प्रविधि पनि विभेदकारी !

एक अध्ययनअनुसार अहिले पनि प्रतिवर्ष १५ लाख बालिकाको उमेरै नपुगी विवाह भइरहेको छ । तीमध्ये दक्षिण एसियाका धेरै देशमा बालविवाहको संख्या बढ्दै गइरहेको छ । आमाको पेटमा गर्भको पहिचान गरेर छोरी भए हत्या गरिदिने प्रचलन बढ्दै गइरहेको छ । बालिकामाथि हुने यसप्रकारको अत्याचारविरुद्ध चुप लाग्ने होइन, त्यसको विरोध गर्नुपर्छ । सच्याउन ढिला गर्नु हुन्न ।

बालिकाहरूमाथि हुने विभेद र असमानताविरुद्ध अहिले भारतमा ‘छोरी बचाउ’ आन्दोलन सुरु भएको छ । सरकारले नीति र कार्यक्रम सञ्चालन गरेको छ । नेपालमा पनि बालिकाहरूको सुरक्षा र विकासका लागि सरकारले सबैभन्दा पहिले बालिकाहरूको शिक्षामा पहुँच बढाउनु आवश्यक छ । प्राथमिक तहदेखि हाईस्कुलसम्म निःशुल्क र अनिवार्य पढ्ने व्यवस्था गर्नुपर्छ । यसले बालविवाह रोक्न सहयोग गर्नेछ ।

भ्रूण हत्या बढ्दै गइरहेको छ । कानुनी रूपमा भ्रूण हत्या निषेध भए पनि लुकीचोरी भ्रूण हत्या गर्नेको संख्या बढ्दै गइरहेको छ । यसलाई गम्भीर रूपमा हेर्नुपर्ने आवश्यकता छ । सरकारले कानुन मात्र बनाएर पुग्दैन । यसका लागि दरिलो अनुगमन आवश्यक छ । बालिकाहरूमाथि विभेद र हिंसा नियन्त्रणको सुरुवात गर्भबाटै हुनुपर्छ । यसमा बाबुआमाको महत्त्वपूर्ण भूमिका हुन सक्छ । आमाबाबुले छोराछोरीमाथि विभेद गर्नु हुँदैन । उनीहरूको खानपिनदेखि शिक्षालगायत विभिन्न अवसरमा विभेद गर्नु हुँदैन । छोरालाई राम्रो बोर्डिङ स्कुलमा पढाउने, छोरीलाई सामान्य स्कुलमा पढाउने सोच दिमागबाट हटाउनुपर्छ ।

छोरीहरू पनि छोराहरूभन्दा कम हुँदैनन् । उनीहरूले पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने धारणा विकास हुनु जरुरी छ अनि मात्र बालिका शिक्षाको विकास र क्षमता वृद्धि हुन्छ । बालिका बेचबिखन, बालविवाह र यौनिक हिंसा रोकिन सक्छ । अशिक्षा र अज्ञानताकै कारण बालिकाहरू बेचिएका छन्, यौन हिंसाको सिकार भएका छन्, नारकीय जीवन बिताउन विवश पारिएका छन् । तिनलाई राम्रो शिक्षादीक्षा दिने हो भने यसखाले ट्र्यापमा फस्ने सम्भावना रोकिन सक्छ ।

प्रकाशित : वैशाख ८, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?