कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चोर बाटो विदेश ? हुन्न

दीप्स शाह

केही दिनअघि एउटा दैनिकमा प्रकाशित वैदेशिक रोजगार सम्बन्धी एउटा समाचार पढ्दा मेरो जीउ सिरिङ्ग भयो । समाचारअनुसार, दलालको लहैलहैमा इराक हिँडेका २० देखि २९ वर्षसम्मका पाँच युवतीको चितवनबाट उद्धार भएको थियो । पासपोर्टचाहिँ उनीहरूभन्दा पहिल्यै दिल्ली पुर्‍याउने दलाल भने फरार थियो । उसो त मानव बेचबिखनसम्बन्धी यस्ता दुःखद समाचार पढ्नु हाम्रो नियति नै भइसकेको छ ।

अर्काको लहैलहैमा वैदेशिक रोजगारको यात्रामा निस्किँदाका हन्डरको साक्षी बन्ने संयोग मलाई पनि सन् २००७ मा जुरेको थियो । म पहिलो पटक वैदेशिक रोजगारका लागि त्रिभुवन विमानस्थलबाट भारत, उज्वेकिस्तान हुँदै इजरायल जाँदै थिएँ । मध्यराततिर हाम्रो सानो डफ्फा नयाँदिल्लीको इन्दिरा गान्धी विमानस्थलमा उत्रियो ।

पहिलो यात्रा, घर र देश छोड्नुको उकुसमुकुस र त्रासमा रुमल्लिँदै समय कटाउन ड्युटी फ्रीतिर रुमल्लिँदै थिएँ, एउटी महिला रुँदै यताउता गरिरहेको अवस्थामा देखिइन् । आफ्नै दिदीबहिनी जस्तो लागेर मैले फटाफट तिनीछेउ पुगी सोधें, ‘नेपाली हो ?’ मेरो बोली सुनेपछि झन् कोकोहोलो गर्दै उनले भनिन्, ‘लौन बैनी, मेरो पिलेन छुट्यो ! कुवेत जाने पिलेन छुट्यो रे ! गइसक्यो भन्छन् । म के गरुँ !’

ती दिदीको हुलिया हेर्दा वैदेशिक यात्रामै निस्केकी भन्न कठिनै थियो । पुरानो जस्तो लाग्ने एकसरो टिसर्ट, उस्तै लुंगी, खुट्टामा खिइसकेका तुने चप्पल र काखीमा सानो पोको । विश्वास नलागेर मैले सोधें, ‘तपाईंको सुटकेश पनि प्लेनमै गयो ?’ उनले भनिन्, ‘होइन, मेरो सामान यत्ति नै हो ।’ उनको बिलौना थामिने छाँट थिएन ।

कोसँग दिल्ली आइपुगिन्, कुन म्यानपावरले पठाएको, एजेन्टको नाम के हो जस्तो प्रश्नको जवाफ अधबैंसे जस्ती ती ख्याउटे दिदीसँग थिएन । बस्, ‘कुवेत जाने पिलेन छुट्यो’ भन्ने रट लगाइरहिन् । या त उनले जवाफ दिन चाहिनन् या कोहीमार्फत अवैध तरिकाले कुवेत पुर्‍याइँदै थिइन् । एक त म पनि पहिलो विदेश यात्रामा थिएँ, कति कुरा थाहै थिएन । अर्को कुरा, उज्वेकिस्तानतर्फ उडानको बेला भइसकेको थियो । हतारहतार ती दिदीलाई विमानस्थलका सुरक्षाकर्मीको जिम्मा लगाई सहयोगका लागि अनुरोध गरेर म छुट्टिएँ ।

यात्राभरि मैले ती दिदीलाई सम्झिइरहें । गाउँघरमै मेलापात निस्कँदा पनि हाम्रा दिदीबहिनीहरू कोरिबाटी गरी कति सुकिला भएर निस्किन्छन् ! वैदेशिक रोजगारीमा निस्केकी ती दिदी असाध्यै टिठलाग्दी थिइन् । ती कता गइन् होला ? गन्तव्यमा पुगिन् कि अन्यत्रै अलपत्र परिन् ? कुनै दलालको फन्दामा परी कतै बेचिइन् ?

हामी आईएदेखि ब्याचलरसम्मको पढाइ सकेर आफूलाई केही सुझबुझ भएकै ठान्नेहरू त अज्ञात भयबाट गुज्रिइरहेका थियौं भने तिनलाई कसले त्यस्तो भययुक्त यात्रामा घचेटिदियो होला ? उफ्, आत्मबलको ‘अ’ पनि नभए जस्ती तिनले गन्तव्य कसरी पहिल्याउलिन् ? मैले तिनको ठाउँमा आफ्नी सुधा अनपढ आमालाई राखेर तुलना गरिरहें र त्यसैत्यसै विचलित भइरहें, यात्रैभरि ।

निर्वाचनका बेला नेताहरूले वर्षौंदेखि ‘अब युवा विदेशिनु पर्दैन, गएकालाई स्वदेशै फर्काइन्छ’ भने पनि ईपीएस

परीक्षाको चटारोमा युवाहरू कुदिरहेकै छन् । झन्डै ९२ हजारले कोरिया जान फाराम भरे । जापान जाने अनुहारहरूको ताँती गनिनसक्नु छ । अन्य खाडी मुलुकमा जान श्रम स्वीकृति लिन हतारो गर्नेहरूको लर्को उत्तिकै छ ।

देशमै बसेर गरिखाने अवस्था छ र हुन्छ भन्नेमा युवा जमात् पटक्कै विश्वस्त नरहेको इंगित गर्छ यो परिदृश्यले । मुलुकमै परिश्रम गरेर परिवारसँगै रमाउने वातावरण नबनुन्जेल आम नेपालीका लागि वैदेशिक रोजगार बाध्यात्मक तर विकल्परहित छनोट बनिरहनेमा दुई मत छैन ।

रहरले कोही विदेशिँदैन, अपवादबाहेक । अझ अवैध तरिका र बाटो त किमार्थ अपनाउँदैनन् । वैध तरिकाले वैदेशिक रोजगारीमा जानेहरूकै दुःख बयान गरिसाध्य छैन, झन् अवैध तरिका अपनाउनेको पीडाको फेहरिस्त कस्तो होला ? चोर बाटो गरी विदेशिनेहरूलाई आफू कहाँ कसरी के प्रयोजनका लागि जाँदै छु र त्यसपछि केके समस्या आइलाग्लान् भन्ने हेक्कै हुन्न । यिनमा बढीजसो सोझासिधा, गाउँले, अर्धशिक्षित वा अशिक्षित महिला नै हुने गर्छन् । अन्ततः सबैभन्दा बढी पीडित पनि यिनीहरू नै हुन पुग्छन् ।

शिक्षा र ज्ञानको कमी हुनु भनेको आत्मबल, आत्मविश्वासको कमी हुनु हो । आत्मबल नहुनुको अर्थ हो– सम्बन्धित देशका चालचलन र तौरतरिका बुझ्ने, अरूसँग बोल्ने ह्याउ नहुनु । अनि तिनै पाइलापाइलामा समस्यामा पर्ने गर्छन् । यसर्थ जतिसुकै ठूलो बाध्यता परे पनि अवैध बाटो कोही पनि, खासगरी महिलाहरू अज्ञात यात्रामा ननिस्किएकै राम्रो । नयाँदिल्लीमा ती दिदी जसरी हजारौं मानिसका अघिल्तिर त्यसरी बिलखबन्दमा पर्नुभन्दा आफ्नै घरको खोलेफाँडो खाएर रमाउनु श्रेयस्कर हुन्छ ।

[email protected]

प्रकाशित : वैशाख ९, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?