१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

स्याटेलाइट प्रक्षेपणका भ्रम र यथार्थ

मधुसूदन दाहाल

काठमाडौँ — गत साता अमेरिकाको भर्जिनियाबाट नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ प्रक्षेपण भयो । नेपालको ठूलै उपलब्धि जस्तोगरी त्यसबारे प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले चर्चा पनि गर्‍यौं । प्रधानमन्त्री ओलीले त हामी अन्तरिक्ष युगमा प्रवेश गरेकोसम्म भने । उनी यतिमै रोकिएनन् ।

स्याटेलाइट प्रक्षेपणका भ्रम र यथार्थ

नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको समेत भनिदिए । तारिफ र आलोचना देख्न क्षणभर कुर्नु नपर्ने सामाजिक सञ्जालमा पनि त्यसप्रति प्रशंसा नै वर्षियो । पहिलो पटक, त्यो पनि भूउपग्रह प्रक्षेषण, त्यो पनि नेपालजस्तो तेस्रो मुलुकबाट !


ठूलै हल्ली–खल्ली गरिएको यो विषय यसको हकदारचाहिँ थियो कि थिएन ? यसका लागि केही आधारभूत प्रश्नमा छलफल गर्नु वाञ्छनीय हुन्छ ।


त्यो स्याटेलाइट कसरी बन्यो र बन्छ ?

प्रक्षेपण गरिएको स्याटेलाइट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का दुई कर्मचारीले जापानको एउटा विश्वविद्यालयमा आफ्नो एउटा अनुसन्धान अन्तर्गत बनाएका हुन् । झन्डै २ करोड रूपैयाँ खर्चिइएको, १.३ किलो तौलको न्यानो स्याटेलाइट विश्वविद्यालयको प्रत्यक्ष संलग्नतामा बनेको हो । यो विशुद्ध अध्ययन–अनुसन्धानका लागिमात्र बनाइएको हो । यस्ता स्याटेलाइटहरू जापानका धेरै विश्वविद्यालयका लागि यति सामान्य हुन्, कलेज स्तरमै यिनको प्रतिस्पर्धासमेत हुने गर्छ ।


कसरी प्रक्षेपण भयो ?

स्याटेलाइट निर्माणभन्दा महत्त्वपूर्ण विषयचाहिँ प्रक्षेपण हो । नेपालले स्याटेलाइट त बनाउने क्षमता राख्दैन भने प्रक्षेपण गर्ने त कुरै भएन ! थोरै मुलुकले मात्र प्रक्षेपण क्षमता राख्छन् र यसमा भारत अहिलेसम्म अग्रणी छ ।


बनाइसकिएका स्याटेलाइटहरू प्रक्षेपण गर्नका लागि चाहिने प्राविधिक क्षमता, अन्य प्रविधिमा अगाडि रहेका देशमै पनि नभएकाले, धेरै युरोपेली देश पनि भारतमै निर्भर छन् । ‘नेपाल स्याट १’ अमेरिकाबाट प्रक्षेपण गरियो । श्रीलंका र जापानका स्याटेलाइटको प्रक्षेपण पनि हाम्रोसँगै गरिएको थियो ।


प्रक्षेपणपछि यसको डाटा कसरी लिने ?

स्याटेलाइट निर्माण र प्रक्षेपणभन्दा महत्त्वपूर्ण पक्ष त्यसले पठाएका डाटा रिसिभ गर्नु हो । त्यसका लागि ग्राउन्ड स्टेसन हुनुपर्छ, जुन नेपालमा हालसम्म छैन । नास्टले बनाउने त भनेको छ, तर अझै कति वर्ष लाग्छ, त्यसको अनुमान छैन । नबनुन्जेल हामी अरूले रिसिभ गरेर दिने डाटाको सूचनामै भर पर्नुपर्छ ।


स्याटेलाइटबाट प्राप्त गरिने डाटा निकै संवेदनशील हुन्छन् र जुन कसैले दिइहाल्दैनन् पनि । दिइएकै डाटामा पनि विश्वास गरिहाल्ने ठाउँ हुँदैन । जबसम्म डाटामा अरूसँग निर्भर हुनुपर्छ, तबसम्म हामीले भूउपग्रह प्रक्षेपण गर्‍यौं भनेर मक्ख पर्न त्यसैले पनि मिल्दैन ।

ठूला शक्तिराष्ट्रहरू अमेरिका र रूसको भूउपग्रह मिसन हेर्दा नै सबै कुरा प्रस्ट हुन्छ । ग्राउन्ड स्टेसन नबनाइकन स्याटेलाइट प्रक्षेपण गर्नुले नै हाम्रो अपरिपक्वता देखाउँछ ।


यसले गर्छ चाहिँ के ?

हामीले अहिले प्रक्षेपण गरेको न्यानो स्याटेलाइट हो । यसको मुख्य काम भनेको पृथ्वीको निरीक्षण गर्नु हो । कृषि, वनजंगल, वन्यजन्तु र मौसम सम्बन्धी डाटाहरूबारे यो स्याटेलाइटबाट जानकारी लिन सकिन्छ । त्यसैले अरू स्याटेलाइटभन्दा न्यानो स्याटेलाइटको बजार धेरै छ ।


नेपालले प्रक्षेपण गरेको न्यानो स्याटेलाइटले नेपालका फोटाहरू खिचेर पृथ्वीमा पठाउँछ भनिए पनि यो विशेषतः भविष्यमा अनुसन्धान गर्नमा बढी केन्द्रित हुनेछ । ‘नेपाल स्याट १’ अरू न्यानो स्याटेलाइट जस्तो व्यावसायिक भने छैन ।


कुनै पनि प्रविधिमा काम हुनु राम्रो हो, तर ‘नेपाल स्याट १’ भूउपग्रहमा त्यस्तो विशेष व्यावसायिक क्षमता नभएको, नेपाल एक्लैले नबनाएको, ग्राउन्ड स्टेसन नभएको, डाटा प्राप्त गर्ने र प्रशोधन/विश्लेषण गर्ने क्षमतासम्म पनि नभएकोले यसलाई स्याटेलाइट सम्बन्धी प्रारम्भिक अनुसन्धानमात्र भन्दा फरक पर्दैन । यस्ता स्याटेलाइटले विशेषतः मौसमी जानकारी दिने गर्छन् ।


दुई साताअघि तराईमा भएको हावाहुरीको अनुमान गर्ने क्षमता नभएको देश ‘स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको’ भनेर प्रचार गर्नु लज्जास्पद हो । हामी प्रक्षेपण गर्ने र त्यसको डाटामा आफैँ भर पर्नसक्ने अवस्थामा पुगेको भए हावाहुरीको अनुमान गरेर बारा र पर्सामा जनधनको क्षति कम गर्न सकिन्थ्यो । धेरै विपत्का घटना हुने हाम्रोजस्तो देशमा भविष्यमा पूर्वानुमानका लागि पनि स्याटेलाइट प्रक्षेपण गरेर त्यसले पठाउने डाटा रिसिभ गर्ने क्षमता बनाउन आवश्यक छ । हाम्रो ध्यान यस्ता विषयमा पर्याप्त अध्ययन र अनुसन्धानतर्फ केन्द्रित गर्न आवश्यक छ ।


भारतमा यस किसिमको स्याटेलाइट विश्वविद्यालयका विद्यार्थीहरूले नै बनाउँछन् । अहिले हामीले चर्चा गरिरहेकै स्तरको, भारतमा उच्च माविका विद्यार्थीहरूले बनाएको १.२ किलोको कलामस्याट भूउपग्रह गत जनवरीमा प्रक्षेपण भएको थियो । यो स्याटेलाइट प्रक्षेपणको मुख्य उद्देश्य भारतीय विश्वविद्यालयका विद्यार्थीहरूलाई अभिप्रेरित गर्नु थियो ।


भारतमा स्याटेलाइट प्रक्षेपण इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (आईएसआरओ) ले गर्ने गर्छ । यसले हरेक वर्ष विद्यार्थीबीच स्याटेलाइट निर्माण प्रतिस्पर्धा गराउँछ र उत्कृष्टलाई आवश्यकता अनुसार परिमार्जन गरी प्रक्षेपण गर्छ ।


आईएसआरओले अन्य मुलुकलाई पनि सहयोग गर्छ । सन् २०१५ मा म पनि नेपाललाई प्रतिनिधित्व गरी त्यसबारे बुझ्न भारत गएको थिएँ । पन्ध्रदिने अवधिमा हामीले प्रोटोटाइप स्याटेलाइट बनाएका थियौं, त्यहीँका विद्यार्थीको सहयोगमा ।


भारतका धेरै विश्वविद्यालय यस्ता किसिमका स्याटेलाइट बनाउने क्षमता राख्छन् । हाम्रो देशका विश्वविद्यालयहरूले पनि यस विषयमा चाख दिनुपर्ने हो । अर्को देशको विश्वविद्यालयमा गएका नास्टका कर्मचारीले बनाएको स्याटेलाइटको प्रक्षेपणलाई प्रधानमन्त्रीले बढाइ–चढाइ गर्नुभन्दा हाम्रै विश्वविद्यालयहरूमा अध्ययन–अनुसन्धानका लागि आवश्यक वातावरण निर्माण गरिदिनुपर्छ । त्यो न्यानो स्याटेलाइटबारे सबैभन्दा बढी चासो हाम्रा विश्वविद्यालय, क्याम्पसहरू तथा विद्यार्थीहरूले दिनुपर्ने हो ।


विडम्बना, नेपालको कुनै पनि विश्वविद्यालयमा स्याटेलाइट निर्माण सम्बन्धी आधारभूत शिक्षासम्म दिइँदैन । जबसम्म जनशक्ति उत्पादन हुन सक्दैन, यस्तो कामले निरन्तरता पाइरहनेमा शंका रहिरहन्छ । प्रधानमन्क्रीले स्याटेलाइटबारे अहिलेदेखि नै चाहिने जनशत्ति निर्माण अनि अध्ययन–अनुसन्धानका लागि योजना बनाउन वातावरण तय गरिदिन नसक्नेचाहिँ होइन । हाम्रो जनशक्तिले विदेशमा गएर काम गर्न सक्छ भने स्वदेशमा नसक्ने कुरै छैन ।


यति धेरै तामझम गरिएको विषय अब विस्तारै सेलाउँदै नजाओस् । अहिलेको सानो प्रयत्नलाई हाम्रा विद्यार्थीले निरन्तरता दिएर क्षमता अभिवृद्धि गर्ने सानै भए पनि बाटो बनिदियोस् । हामी पुग्नुपर्ने बाटो निकै टाढा छ, अहिले कम्तीमा जाने बाटो त देख्न सकेका छौं ! मौसम सम्बन्धी मिहिन जानकारी दिनसक्ने यो प्रविधि निर्माणमा लाग्नु कति ढिलो भइसकेको छ भन्ने बारा–पर्सामा हावाहुरीले पुर्‍याएको ठूलो क्षतिले देखाइसकेको छ ।


लेखक दूरसञ्चारमा विद्यावारिधि गर्दैछन् ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?