कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सबै काम सम्माननीय

काठमाडौँ — दार्शनिक सुकरातकी आमा धाईको काम गर्थिन् । सुकरात आमा र आमाको पेसालाई सम्मान गर्थे । भन्थे, ‘मेरी आमा जीवनमरणको दोसाँधमा लडिरहेकी महिलालाई बच्चा जन्माउन सहयाता गर्ने सुँडेनीको काम गर्नुहुन्छ । म पनि व्यक्तिमा निहित ज्ञान बाहिर निकाल्न मद्दत गर्छु ।

जसरी प्रसव कष्टकर हुन्छ, त्यसरी नै सत्यको साक्षात्कार पनि कष्टकर हुन्छ । अँध्यारामा रहन अभ्यस्त आँखा उज्यालो देखेर केही क्षण तिर्मिराए जस्तै ज्ञानका आलोचकहरूले अज्ञानीलाई देखेर केहीबेर चिन्तन गर्छन् ।’


मदन पुरस्कार विजेता ‘खलंगामा हमला’ की लेखिका राधा पौड्यालका बुबा कुनै सरकारी कार्यालयमा भान्सेको काम गर्थे रे ! भान्सेमा जागिर खाने लोग्नेमान्छे कमै हुन्छन् । राधालाई आफ्ना बुबाको पेसा साह्रै मन पर्थ्यो रे !

कति महान् विचार ! तर प्रायःलाई आफ्ना बुबाआमाको कामलाई लिएर यस्तो धारणा रहेको पाइन्न । मैले स्कुलमा एक दिन १२ कक्षाका विद्यार्थीहरूलाई सोधेकी थिएँ, ‘तिमीहरूमध्ये ककसका बाबा किसान हुनुहुन्छ’ भनेर सोधेकी थिएँ ।


मलाई थाहा थियो, केहीका बुबा कृषिकर्ममा थिए तर कसैले जवाफ दिएन । हाम्रो परिवेश, संस्कार र परिस्थिति नै यस्तो छ । कामलाई सानो वा ठूलो ठान्ने ! साथीभाइले गिज्याउलान् भनेर किसानका छोराहरूले पनि बुबा गर्ने कामबारे बोल्न सकेका थिएनन् ।


तिनलाई हेक्का भएन, पसिना र परिश्रमको बलिदानका हिसाबले किसानजति महान् कोही हुन सक्दैन भनेर । किसानहरू घाम, पानी, हावाहुरी केही नभनी दिनरात खट्ने गर्छन् । उनीहरूकै परिश्रमका कारण उब्जेका अन्नपात सबै स्तरका मानिसले खाने हुन्, समाजले ‘ठूला’ मानेका सबै मानिसले ।


मेरो छिमेकमा एउटी बहिनी छन्, जो कुनै कार्यालयमा सरसफाइको काम गर्छिन् । यसो समय मिले बिहानबेलुका टोलका सुत्केरी स्याहारसुसारमा लाग्छिन् । ती बहिनीको मिहिनेतलाई हामीले सलाम गर्नुपर्ने हो, तर भइदिने गरेको उल्टो । हामीले के बिर्सिनु हुन्न भने, अवैध कमाइबाट आर्जेको सुखसयलभन्दा इमानदारीको आर्जनमा बाँच्नु कता हो कता श्रेयस्कर हुन्छ ।


अचेलका धेरैजसो विद्यार्थी आमाबुबाको दुःखकष्टलाई बुझ्नुको सट्टा हेला गर्न उद्यत हुन्छन् । आमाबुबाले अनेक पीडा सहेर पैसा कमाइ छोराछोरीलाई पढाएको यसैका लागि हो र ? बालुवा चालेर होओस् वा कथित ‘समाज निन्दित काम’ गरेर भए पनि हरेक अभिभावकले, विशेषतः आमाले, आफ्ना सन्तानलाई शिक्षित तुल्याउने काम गरेका हुन्छन् । जीवन गुजार्नका लागि आफूले जुन कष्ट भोग्नुपरेको छ, त्यो सन्तानले भोग्नु नपरोस् भन्ने तिनको कामना हुन्छ ।


हाम्रो मुलुकमा कुनै पनि कार्यालयमा पढेलेखेका तथा सम्मानित भनिएका व्यक्तिहरूले थोरै समय काम गर्छन् तर धेरै तलब पाउँछन् । कम पढेका वा नपढेकाहरू कुचीकार, पियनजस्ता ‘साना काम’ गर्नेहरूले खटाइको तुलनामा निकै कम तलब पाउने गर्छन् । त्यसमाथि हामी सानातिना काम गर्नेहरूमा सम्मानको दृष्टि लगाउँदैनौँ ।


हामीले आफ्नो कर्म तथा पेसालाई प्रेम गर्नुपर्छ र अरूको कर्म तथा पेसालाई पनि आदर तथा सम्मान गर्न सक्नुपर्छ । कुनै काम कहिल्यै सानो हुँदैन । गरिब घरका हाम्रा कैयौँ चेली आजीविका चलाउन देह व्यापारजस्तो कष्टकर पेसा अपनाउन बाध्य हुन्छन् । तिनीहरूलाई हामी हेय र तुच्छ दृष्टिले हेर्छौं तर तिनीहरूभित्रको पीडा र मर्मलाई बुझ्ने कोसिस गर्दैनौँ ।


के तिनलाई पनि आफ्नो मायालु, दाजु–भाइ, पति अनि अभिभावकको निश्चल र शाश्वत माया, सद्भाव र न्यानो अँगालोको स्पर्शको रहर त हुन्छ नि ! जीवनको सबैभन्दा मूल्यवान् विषय भनेकै सुन्दर मन, दयालु दृष्टि र करुणा हुन् । हामीले सकेसम्म सबैप्रति करुणा र सम्मानको भाव राख्न सक्नुपर्छ । गरिबी र असहायपनले दिएको अभिशाप बोक्न विवशहरूलाई अपहेलना गर्न हुन्न ।


लेखक शिक्षक हुन् ।

प्रकाशित : वैशाख १५, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?