कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हामी कति सञ्चार साक्षर ?

मधु राई

काठमाडौँ — केही समययता अधिकांश मूलधारका पत्रपत्रिकाले पाठक संख्या बढाउन 'पत्रिका पढौं, पुरस्कार जितौं' भन्ने उपहार योजना अघि सारेका छन् । कतिपय पत्रिकाका बजार प्रतिनिधिहरूले घरदैलो कार्यक्रमसँगै बजार र चोकचोकमा अस्थायी स्टल थापेर पत्रिकाको बजारीकरण गरिहेका छन् ।

बजारीकरणकै लागि कान्तिपुर मिडिया ग्रुपले तेस्रो सिजन अन्तर्गत पाठकलाई करोडपति र लखपति बनाउन पूर्वी पहाडी जिल्लाहरूमा रोड सो सुरु गरेको छ । यस्ता उपहार योजनाले पुरुष पाठकहरूको ध्यानाकर्षण गराए पनि महिला पाठकका लागि 'कागलाई बेल पाक्यो हर्ष न विस्मात' भएको छ ।


बहुसंख्यक महिला चाहे कामकाजी हुन् या गृहिणी अधिकांशको प्राथमिकतामा पत्रपत्रिका पर्दैन । बहुसंख्यक पुरुष पाठकले भने पत्रपत्रिका किनेर या मागेरै भए पनि नियमित पढ्ने गरेको देखिन्छ । यस अर्थमा पुरुष लक्षित र पुरुषमुखी छन्, हाम्रा सञ्चार माध्यमहरू भन्दा फरक नपर्ला ।


पत्रपत्रिका नियमित पढ्ने अधिकांश पुरुष पाठकले पनि विचार र दृष्टिकोण पानामा छापिएका लेख-रचनाभन्दा घटनाप्रधान समाचार नै बढी पढ्ने गरेको अध्ययन, अनुसन्धानले देखाएको छ । यस्तै कतिपय बौद्धिक पाठकलाई भने घटनाप्रधान समाचारले भन्दा विचार र दृष्टिकोण पानाका लेख-रचनाले आकषिर्त गर्ने गरेको देखिन्छ । यस अर्थमा दुवै थरीका पाठक अर्थात् महिला र पुरुषको ध्यानाकर्षण गराउनेभन्दा बढीभन्दा बढी यस्ता पुरुष पाठकको संख्या बढाउन मूलधारे पत्रपत्रिका लागिपरेको देखिन्छ, नकि महिला पाठकको ध्यानाकर्षण गराउन ।


पछिल्लो समय मूलधारे पत्रपत्रिकाका पानाहरू महिला हिंसाका समाचारले भरिएका हुन्छन् । यस्ता अधिकांश समाचार अधिकांशले नेटमै हेर्ने र पढ्ने गर्छन् भने विचार र दृष्टिकोण पाना पढ्ने महिला पाठकको संख्या नगन्य देखिन्छ । केही समययता मूलधारका पत्रपत्रिकाले महिला लेखकका विचार र दृष्टिकोणलाई पनि महत्त्व दिने गरेको पाइन्छ । तर महिलाले लेखेका यस्ता लेख-रचनाहरू शिक्षित महिलाकै प्राथमिकतामा पर्दैनन् ।


पाठक चाहे पुरुष हुन् वा महिला, नियमित पत्रपत्रिका पढ्दा हुने प्रत्यक्ष र परोक्ष फाइदाबारे बहुसंख्यक पाठक अनभिज्ञ देखिन्छन् । पत्रपत्रिकाले पाठकलाई सुसूचित मात्र गर्दैन, यसले पाठक र लेखकको जीवनशैली र व्यक्तित्व विकासमा विशेष प्रभाव पार्छ । व्यापार व्यवसाय बढाउने लगायत रोजगारीका लागि उर्वरभूमि बन्दैछन्, सञ्चारका विभिन्न माध्यम ।


त्यतिमात्र हैन, नियमित पत्रपत्रिकामा छापिने लेख-रचना पढ्दै आएका पाठकहरू नै लेखक बन्ने गरेका छन् । यस्तै लेख-रचना लेख्दा पारिश्रमिक पाइन्छ भन्ने कुरा पुरुष पाठकलाई थाहा भए पनि पढेलेखेका कतिपय महिला अझै पनि 'दिदी कति रुपियाँ दिएर छाप्नु हुन्छ, आफ्नो लेख ?' भनेर सोध्ने गर्छन् ।


नेपाली छापामाध्यम मात्रै हैन, बहुसंख्यक विद्युतीय सञ्चार माध्यमका दर्शक र श्रोताले पनि पुरुषहरूलाई मात्रै ध्यानमा राखेर सामग्री उत्पादन गर्ने गरेको देखिन्छ । अधिकांश समाचार लगायत सूचना र अन्तर्वार्ताका नियमित दर्शक र श्रोता भनेका पुरुष नै हुने गरेको अध्ययन, अनुसन्धानले देखाएको छ ।


यसो भनिरहँदा भारतीय टेलिभिजनबाट प्रसारित हुने टेलिशृंखलाका नियमित दर्शक भने नेपाली महिला नै छन् भन्दा दुईमत नहोला । यस्ता टेलिशृंखलाले नेपाली महिलालाई ज्ञान र सीप सिकाउनुभन्दा सस्तो मनोरञ्जन प्रदान गरिरहेको देखिन्छ । यस्ता टेलिशृंखला नियमित हेर्ने अधिकांश हुनेखाने र शिक्षित महिलाहरूको दिनचर्या कस्तो खाने र कस्तो पहिरन लगाउने भन्नेमै बित्ने गरेको छ ।


महिला होस् वा पुरुष अझै पनि अधिकांश शिक्षितको दैनिकीमा पत्रपत्रिका पर्दैन । यसका धेरथोर कारण केलाउँदा स्वयं सञ्चार माध्यमहरू पनि दोषमुक्त भने देखिंँदैनन् । सञ्चारका विभिन्न माध्यमले अझै पनि महिलाहरूको रुचिलाई ध्यानमा राखेर सामग्री तयार गर्नसकेको देखिँंदैन । यसो हुनुमा अधिकांश सञ्चार माध्यमको सम्पादन मण्डलमा महिला सञ्चारकर्मीहरूको नगन्य उपस्थिति हुनु पनि एक हो ।


यस्ता कतिपय कारणले महिला पाठकको रुचिलाई ध्यानमा राखी सामग्री उत्पादन भएको पाइँदैन । किन र केका लागि पत्रपत्रिका पढ्ने भन्ने विषयमा पाठकलाई साक्षर बनाउन नसक्दा सञ्चारको पहुँच सबै लिङ्ग, वर्ग र समुदायसम्म पुग्नसकेको छैन । सञ्चारको आवश्यकताबारे साक्षर बनाउन अधिकांश सञ्चारका माध्यम चुकेेको देखिन्छ । हुनेखाने शिक्षित महिलाहरू सूचना र सञ्चारबाट टाढिनु भनेको आफ्ना छोरी र बुहारीहरू सूचना र सञ्चारको पहुँचबाट टाढिनु हो । सूचना र सञ्चारबाट टाढिनु भनेको त्यस क्षेत्रबाट पुग्ने प्रत्यक्ष र परोक्ष फाइदाबारे पाठक, श्रोता र दर्शक अनभिज्ञ हुनु हो ।


आजको युग सूचना र सञ्चारको युग हो भनेर सुन्दै-पढ्दै आएको दशकौं बितिसक्दा पनि बहुसंख्यक नेपालीको जीवनमा नेपाली सञ्चार माध्यमले के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा त्यति धेरै अध्ययन, अनुसन्धान भएको देखिंँदैन । केही समय अघि 'नेपाल मिडिया सर्वेक्षण २०१९' अनुसार ९१ प्रतिशत नेपालीको हातहातमा मोबाइल पुगेको छ भने तीमध्ये आधाले स्मार्टफोन बोक्ने गरेका छन् ।


यस्तै ८८ दसमलव ३ प्रतिशतको फेसबुक खाता छ भने ३४ दसमलव ४ प्रतिशतले युट्युब नियमित हेर्ने गरेको उक्त अध्ययनले देखाएको छ । यसरी सूचना र सञ्चारको सहज पहुँच भए पनि सञ्चार साक्षरताकै कमीले कसरी उपभोग गर्ने भन्नेबारे बहुसंख्यक नेपाली अनभिज्ञ छन् । यसैको परिणाम भन्नुपर्छ, पछिल्लो समय मोबाइलको प्रयोगसँगै यसको दुरुपयोगले समाजमा विकृति र विसंगति भित्रिँदैछ भन्ने समाजशास्त्रीहरूको ठहर छ । बहुसंख्यक फेसबुक र युट्युब प्रयोगकर्ताले व्यक्ति र समाजलाई चाहिने सूचना कसरी ग्रहण गर्ने र प्रवाह गर्नेभन्दा पनि व्यक्ति केन्दि्रत सामग्री हेर्ने तथा प्रवाह गर्ने गरेको देखिन्छ ।


सञ्चारको सुविधा पाए पनि सञ्चार साक्षरताकै कमीले सञ्चारको सही सदुपयोग गर्न नसक्दा महिला हिंसाले पराकाष्ठा नाघेको छ । पछिल्लो समय महिला हिंसासँगै अन्य आपराधिक घटना बढ्नुका थुप्रै कारणमध्ये स्मार्ट फोनको दुरुपयोग पनि एक हो भन्दा फरक नपर्ला । विकसित मुलुकहरूमध्ये क्यानडाले १४ वर्ष मुनिकालाई ल्यापटप लगायत मोबाइल प्रयोगमा प्रतिबन्ध लगाएको धेरै भइसक्यो भने हङकङमा फेसबुकलाई प्रतिबन्ध गरिएको छ । बि्रटिस सरकारले पनि सञ्चार निगरानी थाल्ने समाचार केही दिनअघि सार्वजनिक गरिसकेको छ ।


सञ्चार माध्यमहरूले विशेषगरी छापाले पाठक संख्यामा बढोत्तरी गर्न 'पत्रिका पढौं, पुरस्कार जितौं' भन्नेजस्ता उपहार योजनासँगै सञ्चार साक्षरता बढाउन विशेष अभियान थाल्न जरुरी छ । यसका लागि अस्मिता महिला प्रकाशनगृहले सन् २००५ मा शुरू गरेको एकवर्षे सञ्चार साक्षरता अभियान जस्तै मूलधारे पत्रपत्रिकाले पनि अभियान थाल्न जरुरी छ । शिक्षक मासिकले पनि बेलाबेला विभिन्न विषयमा प्रतियोगितात्मक लेख-रचना लेख्न लेखकहरूलाई प्रोत्साहित गर्छ । मूलधारे पत्रपत्रिकाले पनि नयाँ पाठक विशेषगरी युवा र महिलाको रुचिलाई ध्यानमा राखी सञ्चार सामग्री प्रकाशन र प्रसारण गर्न जरुरी छ ।


सञ्चार माध्यमहरूले बेलाबेला किन पत्रपत्रिका र पुस्तक पढ्ने भन्ने विषयमा अन्तरक्रियात्मक कार्यक्रम गर्न जरुरी छ । स्कुले जीवनमै पत्रपत्रिका पढ्दाको प्रत्यक्ष र परोक्ष फाइदाबारे थाहा पाएका नियमित पाठकहरूलाई उपहार योजनाले भन्दा गहकिलो विषय-वस्तुले बढी आकषिर्त गर्छ भन्ने कुरा सञ्चार माध्यमहरूले बुझ्न जरुरी छ । यी र यस्ता आधारभूत कुराह सञ्चार माध्यमहरूले बेलैमा बुझ्नसके यस्ता उपहार योजनाहरूको आवश्यकता पर्दैन ।

प्रकाशित : वैशाख १९, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?