१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लोकतन्त्रका पाँच जोखिम

डम्बर खतिवडा

काठमाडौँ — आजको लोकतान्त्रिक चेतनाबाट आधुनिक विश्वका शासन व्यवस्थालाई दुवै भागमा बाँड्न सकिन्छ- गैर-लोकतन्त्र र लोकतन्त्र । दुबैका मुख्य ४/४ वटा प्रकार देखिन्छन् । राजतन्त्र/परिवारतन्त्र, सैनिक शासन, एकदलीयता र धर्मगुरुहरूको शासन गैरलोकतन्त्रका प्रकार हुन् ।

लोकतन्त्रका पाँच जोखिम

प्रत्यक्ष लोकतन्त्र, प्रतिनिधिमूलक लोकतन्त्र, सामाजिक लोकतन्त्र र सहभागितामूलक लोकतन्त्र, लोकतान्त्रिक शासनका मुख्य प्रकार हुन् । लोकतन्त्रको अभाव वा अनुपस्थिति गैरलोेकतान्त्रिक शासन व्यवथाको प्रमुख समस्या हो । आधारभूत लोकतन्त्र स्थापित भइसकेका देशमा लोकतन्त्रले नयाँ प्रकारका जटिलता, समस्या र चुनौतीहरूको सामना गर्दैछ । त्यस्ता चुनौतीलाई लोकतन्त्रका 'उत्तर-लोकतान्त्रिक जोखिम' भन्न सकिन्छ ।


हार्वर्ड विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापकद्वय स्टेभन लेभित्स्की र डेनियल जिब्लाटले गतवर्ष 'हाउ डेमोक्रेसिज डाई' अर्थात् 'लोकतन्त्रहरू कसरी मर्छन्' पुस्तक प्रकाशित गर्नु अघि युरोप र ल्याटिन अमेरिकी लोकतान्त्रिक प्रणालीहरूको २० वर्ष अध्ययन गरेका थिए । यो लामो अध्ययनपछि अत्यन्त सरल निष्कर्ष निकालियो- 'हिजो लोकतन्त्रका ३ मुख्य जोखिम थिए । सैनिक कू, फासीवाद र कम्युनिजम । शीतयुद्धको अन्त्यसँगै ती पराजित भए । आज लोकतन्त्रका जोखिम स्वयं लोकतन्त्रभित्र छन् । त्यो हो- लोकतान्त्रिक निर्वाचनमार्फत 'डेमागग'हरूको उदय । हिजोको संघर्ष लोकतन्त्र र गैरलोकतन्त्रबीच थियो । लोकतन्त्रका आजका चुनौती उत्तर-लोकतान्त्रिक हुन् ।'


डेमागग को हो ? कस्तो शासकलाई 'डेमागग' भन्ने ? नेपाली शब्दकोशमा सायदै यो शब्दको उचित अनुवाद पाइएला । डेमागगको जबर्जस्त नेपाली अनुवाद 'दुर्जनभावले जन्माउने लोकपि्रय शासक' हुन सक्ला । अलिकति विस्तार गर्दा मान्छेभित्र चेतना र अज्ञानता सँगसँगै हुन्छन् । सज्जन र दुर्जनभाव सँगसँगै हुन्छन् । विवेक सम्मत सोच र पूर्वाग्रह सँगसँगै हुन्छन् । वस्तुसंगत योजना र सस्ता आश्वासन सँगसँगै हुन्छन् । त्यसमध्ये जनसाधारणमा हुने अज्ञानता, पूर्वाग्रह, दुर्जनभाव र सस्तो आश्वासनको राजनीतिक दोहन वा मनोवैज्ञानिक शोषण गरेर सत्तामा आउने शासकलाई 'डेमागग' भनिन्छ ।


पपुलिजम डेमागगको मुख्य अस्त्र हो । डेमागगहरूले जनसाधारणाको मनोविज्ञानमा हुने कमजोर पक्षहरूको पूर्वानुमान गर्छन् । निर्वाचनमा ती सबै वाचा, कसम र प्रतिबद्धता गर्छन्, जो तार्किक, सम्भव, वस्तुगत र विवेक सम्मत नहुन सक्छन्, तर भीडलाई मनपर्छ र भोट आकषिर्त गर्ने क्षमता राख्छ । प्राध्यापकद्वय लेख्छन्, 'अधिनायकवाद जब लोकतान्त्रिक निर्वाचनबाटै अनुमोदित हुन्छ, त्यो लोकतन्त्रका लागि मन्दविष सरह हुन्छ । घृणा, प्रतिशोध र सरलीकृत सुखको इच्छाबाट निसृतः सत्ताले विवेकको पक्ष घुमाउँछ । फलतः लोकतन्त्रको बिस्तारै, सहजै, संवैधानिक तवरले नै हत्या हुनपुग्छ ।'


वस्तुतः यो निष्कर्ष अमेरिकी लोकतन्त्र र डोनाल्ड ट्रम्पको उदयको सन्दर्भमा निकालिएको हो । नेपाली समाजको वर्तमान यथार्थसँग यो अध्ययनको कुनै साइनो छैन । नेपालको वर्तमान सत्ता चरित्र यी निष्कर्षबाट बिलकुलै भिन्न छ भन्नचाहिँ सकिन्न । उत्तर-लोकतान्त्रिक युगमा नेपाली लोकतन्त्रका निम्न पाँच जोखिम प्रस्टै देखिन्छन् ।


वैचारिक दुविधा

उत्तर-लोकतान्त्रिक युगमा फरक-फरक राजनीतिक दर्शन, विचारधारा, पार्टी र नेतृत्व समूह बीचको भिन्नता समाप्त भएर जान्छ । सबैका सामु एउटै चुनौती खडा हुन्छ- चुनाव कसरी जित्ने ? सत्तामा कसरी पुग्ने ? सरकारमा कसरी टिक्ने ? यी प्रश्नले राजनीतिक दलबीच कुनै मौलिक, वैचारिक र नैतिक भिन्नता बाँकी राख्दैन । सांगठनिक प्रचलन र पद्धतिको भिन्नता पनि बाँकी रहँदैन, केवल संगठनमात्र भिन्न हुन्छ । इतिहास, पृष्ठभूमि र घोषणापत्रमा भिन्नता देखिए पनि व्यवहारमा सबै उस्तै-उस्तै बन्न पुग्छन् ।


यस्तो अवस्थामा कुनै एक वा अर्को पार्टीलाई भोट दिनुको भिन्नता समाप्त भएर जान्छ । मतदाताका वैचारिक उत्तेजना शिथिल हुन्छन् र मतदान विवेक सम्मत ढंगले गर्नुको औचित्य रहन्न । मतदातालाई सकेसम्म गैरवैचारिक र आवेगात्मक मुद्दाहरूमा मतदान गर्न प्रेरित गरिन्छ । डेमागगहरूको कुनै विचार हुँदैन, उनीहरू जे भनेर सत्तामा पुग्न र टिक्न सक्छन्, त्यही नै उनीहरूको विचार हो ।


सत्तारूढ नेकपाको विचारधारा के हो ? के यो साँच्चै अझै पनि माक्र्सवादी-लेनिनवादी-माओवादी पार्टी हो ? यदि हो भने यी दर्शन र बहुदलीय लोकतन्त्रबीच कुनै संगति छ कि छैन ? यी दर्शन र अहिले राज्यले विरासतमा पाएको 'दलाल नोकरशाही पुँजीवादी अर्थनीति'बीच कुनै सम्बन्ध छ कि छैन ? राज्य सञ्चालनमा यस पार्टीका नीतिहरूमा पूर्ववर्ती शासक र पार्टीहरूको भन्दा कहाँनेर भिन्नता छ ? यी अनुत्तरित प्रश्न हुन् ।


सत्तारूढ नेकपा मात्र हैन, नेपाली कांग्रेसको औपचारिक विचार भनिएको प्रजातान्त्रिक समाजवाद र सन् १९९० पछि उसले लिएका नीतिहरूबीच कहाँनेर सामञ्जस्यता छ ? कांग्रेसलाई आफ्नो व्यवहार अनुसारको सिद्धान्त हाक्काहाकी 'लिवरल डेमोक्रयाट्स' भन्न कसले र किन रोकेको छ ?


नश्लवाद

आधुनिक राष्ट्रिय राज्यहरू स्वभावैले बहुसांस्कृतिक छन् । यस्तो समाजमा वर्चस्वशाली र वर्चस्वकृत, बहुसंख्यक र अल्पसंख्यक समुदाय हुन्छन् । यो अन्तरविरोधमा वर्चस्वशाली र बहुसंख्यक समुदायको मनोविज्ञानलाई वर्चस्वकृत, उत्पीडित तथा अल्पसंख्यक समुदायसम्म सघनीकृत गर्नु, अल्पसंख्यक समुदायमा आफ्ना हित र अधिकारका सवालप्रति भ्रम र हीनताभाष सिर्जना गर्दिनु छद्म नश्लवादको चरित्र हो ।


डोनाल्ड ट्रम्प आफै जर्मन हजुरबुबा र स्कटिस हजुरआमाका नाति हुन्, उनले आप्रवासी महिलासँग पछिल्लो विवाह गरेका छन् । तर राजनीतिक जीवनमा उनी आप्रवासी, काला र हिस्पानिकप्रति सर्वथा असहिष्णु देखिन्छन् । वर्चस्वशाली समुदायको सोच्ने तरिकालाई नै राष्ट्रवादका रूपमा मूलप्रवाहीकरण गर्नु डेमागग रणनीतिको अभिन्न अंग हो । नेपालमा संविधान निर्माणको अवधिमा प्रकट भएका असन्तुष्टि र विद्यमान संघीयता कार्यान्वयनको जटिलतामा छद्म नश्लवाद हावी छ भन्न कत्ति हिचकिचाउनु पर्दैन ।


सेटिङ राज्य

शक्ति पृथकीकरण लोकतन्त्रको एक अनिवार्य सर्त हो । उत्तर-लोकतान्त्रिक युगमा शक्ति पृथकीकरणको विपरीत 'सेटिङ राज्य' क्रियाशील हुनपुग्छ । सतही रूपमा विधिको शासन, नियन्त्रण र सन्तुलनको अवधारणा क्रियाशील भए जस्तो देखिन्छ । तर व्यवहारमा शक्ति सम्भ्रान्तहरूको घेरा निर्माण हुन्छ । त्यसले भित्रभित्रै 'सेटिङ राज्य' चलाउँछ । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, संवैधानिक निकाय र आयोगहरू अन्तर्य शक्तिका गोटी बन्न पुग्छन् ।


राष्ट्र विखण्डनको मुद्दामा न्यायिक प्रक्रियामा रहेको व्यक्ति भोलिपल्ट बिहानै प्रधानमन्त्री सँगसँगै भाषण गरिरहेको हुन्छ भने अदालतको निष्पक्षतामा कसैले विश्वास गरिरहन सक्दैन । न्यायाशीधको नियुक्तिपत्र खल्तीमा बोकेर पार्टी अफिसमा शपथ खान जानेहरूबाट विधिको शासन कसरी पालना होला ? भ्रष्टाचारका यति धेरै घटनाबीच अख्तियार किन मौन छ ? संसदीय समिति व्यवस्थापकीय अधिकारको प्रतीक हो, त्यसका क्रियाकलाप र प्रतिवेदनहरू कसरी कार्यकारीद्वारा सजिलै निष्त्रिmय हुन सक्छन् ? यी सेटिङ राज्यका ज्वलन्त दृष्टान्त हैनन् कसरी भन्ने ?


लोकतन्त्रले बलिया, निष्पक्ष, तटस्थ र मौलिक संस्थाहरूको कल्पना गर्छ । ती संस्थाहरूका आआफ्ना कार्यक्षेत्र, अधिकार र कर्तव्यको दायरा, मर्यादा र सीमा हुन्छन् । डेमागगहरूले संस्थाहरूलाई शक्तिको छायामा लल्याकलुलुक हुनेगरी 'ओभरल्याप' गर्छन् । शक्ति केन्द्रीकरणको अतिशय चाहनाले संस्थाहरूको मौलिक चरित्र, कार्यशैली, छवि र मर्यादालाई विद्रूप पार्छ । नागरिकमा संस्थाहरूप्रतिको विश्वास समाप्त हुनु लोकतन्त्र मर्नु सरह हो ।


थैलीको शक्ति

राज्यका हरेक ठूला आर्थिक क्रियाकलापमा थैली बोकेका बिचौलियाहरू देखापर्छन् । 'कमिसन एजेन्ट'को उपस्थिति शासनशैलीको एक अनिवार्य सर्त बनेको छ । तिनीहरूले पार्टीको राजनीतिक लागत, नेताको गुट वा आसेपासे व्यवस्थापन खर्च, महाधिवेशनहरूमा नेतृत्व उदय वा थमौतीको तयारी र अर्को निर्वाचन खर्चको जोहो गर्न सघाउँछन् । राजनीतिक नेतृत्व वृत्तका केही व्यक्ति नवधनाढ्य वर्गको रूपमा उदित हुने माध्यम पनि बन्छन्, उनीहरू । 'पावर अफ पर्स' भनिने यो शक्ति विस्तारै लोकतन्त्रको नियति निर्धारक बन्छ । थैलीको शक्तिमा पहुँच नभएकाहरू राजनीतिक परिदृश्यबाट हराउँदै जान्छ । फलतः लोकतन्त्र थैलीतन्त्रमा परिणत हुन्छ । आज नेपालमा जेजति राजनीतिक भ्रष्टाचार भइरहेका छन्, ती उत्तर-लोकतान्त्रिक समस्याको यो पाटोबाट अछूत छैनन् ।


ज्ञान नियन्त्रण

लोकतन्त्रमा आलोचना मूलतः विपक्षी र नागरिक समाजको कर्तव्य, दायित्व र अस्त्र हो । सत्तापक्षले निर्वाचन घोषणापत्रमा भएका नीति, योजना, कार्यक्रम लागू गरेर परिणाम देखाउनुपर्छ । सरकारले कामद्वारा आफ्नो औचित्यको पुष्टि गर्नु र विपक्षले आलोचनाद्वारा आफ्नो अस्तित्वको रक्षा गर्नु लोकतन्त्रको सौन्दर्य हो । तर डेमागगहरूको शासकीय चरित्र यसको ठिक विपरीत हुन्छ । उनीहरू राज्यको सञ्जाल, स्रोत र शक्तिलाई प्रतिपक्षी विरुद्ध हरदम लक्षित गर्छन् ।


सत्तापक्ष आफै विपक्षको यति धेरै गाली, निन्दा र भत्र्सना गर्न उद्यत हुन्छ कि त्यस्तो आलोचना आफूले निर्वाचनमा गरेका वाचा मतदातालाई बिर्साउने अस्त्रका रूपमा प्रयोग गरिन्छ । सत्तारूढ नेकपाका लागि अहिले विपक्षीहरू नन्दीभृंगी हुन्, विद्रोही लुटेरा हुन् र विपक्षी विरुद्ध अरिंगाल भएर जाइलाग्न आवश्यक छ । सत्तापक्षले नै विपक्षलाई टन्नै गाली गरे मिडियामा प्रतिपक्षको स्पेस खुम्चिन्छ र सूचना अनुकूलन हुन्छ भन्ने मान्यतामा यस्तो कार्यशैली अपनाइन्छ ।


सूचना अनुकूलनको प्रयास ज्ञानमाथि सत्ताको नियन्त्रण सम्भव छ भन्ने विश्वासमा बनेको हुन्छ । सूचना ज्ञानको स्रोत हो । ज्ञानले संकथन निर्माण गर्छ । संकथनले शक्ति निर्माण गर्छ र शक्तिले नयाँ सत्ता । नयाँ सत्ताको जन्म सूचनाबाट सुरुवात हुनेहुँदा सूचना सञ्जाल र स्रोतमाथि प्रत्यक्ष-अप्रत्यक्ष नियन्त्रणको प्रयास डेमागगहरूको सजिलै चिनिने चरित्र हो ।


उल्लिखित पाँच प्रवृत्ति आज नेपाली लोकतन्त्रका समस्या हैनन्, सायद कसैले भन्न सक्दैन । त्यसो भए स्वाभाविक प्रश्न खडा हुन्छ- नेपाली लोकतन्त्र जीवितै छ कि मर्दैछ ?

प्रकाशित : वैशाख २३, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?