कफीमै परनिर्भर 

सम्पादकीय

नेपाली कफी लोकप्रिय हुँदै जाँदा धेरैलाई लाग्न सक्छ, नेपाल कफीमा आत्मनिर्भर भयो । वा, हुँदै छ । काठमाडौं उपत्यकामा मात्रै खुलेका कफीघर हेर्ने हो भने स्वदेशी दानाको माग र आकर्षण बढ्दो छ । 

कफीमै परनिर्भर 

सहरमा कफी पिउने संस्कार बढाउन विदेश गएर फर्केका युवा उद्यमीहरूको उत्प्रेरणा छ । एक तथ्यांकअनुसार उपत्यकामा करिब साढे चार हजार कफीघर छन् । महिनैपिच्छे सरदर तीनवटा नयाँ खुल्ने गरेका छन्, त्यो पनि चालीस/पचास लाख रुपैयाँसम्मको लगानीमा । देशभरि १२ हजार कफीघरको अनुमान छ ।


कफी नेपालको आफ्नै उत्पादनले नपुग्ने भयो । हाम्रो आफ्नै उत्पादन जम्मा ५ सय १३ मेटि्रक टन मात्र हुन सकेको छ । त्यही भएर राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार ०७४/०७५ मा १ सय ६३ दशमलव ३८ मेटि्रक टन कफी आयात भयो ।

अहिले देशभर २ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा कफी हुन्छ । कफीको उत्पादन र क्षेत्रफल विस्तार सुस्त छ । जिल्लाहरूमा कफी सहकारी पनि बनेका छन् । सहकारी संघहरूमार्फत प्राप्त प्रारम्भिक विश्लेषणअनुसार नेपाली बजारमा यसको माग वाषिर्क ६ हजार मेटि्रक टन रहेको देखिन्छ । विदेशमा अझै बढी ८ हजार मेटि्रन टन निर्यात गर्न सकिन्छ ।


नेपालमा कफी रोपण १९९५ सालमा गुल्मी आँपचौरबाट सुरु भएको मानिन्छ । स्थानीय हिरा गिरीले बर्माको सिन्धु प्रान्तबाट ल्याएर भूक्षय रोक्न भन्दै कफी लगाएका थिए । २०२० को दशकतिर सरकारले भारतबाट कफीको बीउ ल्याई वितरण गरेपछि कफी खेतीले केही गति लियो । अहिले ४२ जिल्लामा कफी उत्पादन हुन्छ । बढी उत्पादन ललितपुर जिल्लाले गर्ने गरेको छ । विदेश निर्यात गर्ने देशले कफी बिस्तारै आयात बढाउनुपर्ने भएको छ ।


कफी किसानहरू सरकारी उदासीनता अनुभव गर्छन् । गुणस्तरमा एकरूपता छैन । कफीको आन्तरिक र बाह्य दुवै माग व्यापक भए पनि व्यावसायिक रूपमा कफी लगाउने चेतना बढिसकेको छैन । बोर्डले अध्ययन गरेअनुसार देशका २ सय ५० स्थानीय तहमा कफी उत्पादनको सम्भावना छ । कफीमा अनुसन्धान र प्रविधिको अभाव छ । सिन्दुरे र सेतो गभारो रोगको समस्या छ । सिन्दुरे रोग उपयुक्त छहारी नहुँदा देखा पर्ने गर्छ । कफीको गुणस्तर बढाउन सकिएको छैन ।


कफी नगदे बाली भए पनि बिरुवा लगाएको केही वर्ष फलको प्रतीक्षा गर्नुपर्ने हुन्छ । साना किसानले त्यसो गर्न सक्दैनन् । प्रतीक्षाका लागि प्रोत्साहन चाहिन्छ । कफी खेतीलाई उद्यमको रूप दिन लगानी बढाउनुपर्ने हुन्छ । प्राविधिक सहायता चाहिन्छ । देशमा अहिलेसम्म एकजना पनि कफी खेती प्राविधिक छैनन् भनिन्छ । कफी विकास बोर्डले किसानका लागि भनेर सहायता कक्षको समेत व्यवस्था गर्न सकेको छैन । वा, चाहेको छैन ।


गुणस्तरीय र जात खुलेको बीउ तथा प्राविधिकको मुख्य समस्या छ । बीउ स्रोत केन्द्रको स्थापना गरिएको छैन । बाहिरी संसारका अध्ययन/अनुसन्धानसँग सहकार्य गर्ने गरी नेपालमा आफ्नै केन्द्र स्थापना गर्न नसक्नु कफीको व्यापक सम्भावनाको अवमूल्यन हो । कफी किसान तथा प्राविधिक, उद्यमीलाई वाषिर्क तालिकाअनुसार शैक्षिक तथा प्राविधिक प्रशिक्षणको व्यवस्था गर्नेतर्फ सरकारको सचेतना आवश्यक छ । कफीलाई सहयोग गर्ने हो भने किसानको संख्या र गुणस्तर बढ्न सक्नेछ, पहाडी कान्लाहरूले रोजगारी आकषिर्त गर्न सक्नेछन् ।

प्रकाशित : वैशाख ३०, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?