२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सडकको ज्यामिति मिलाए घट्छ दुर्घटना

उमेशप्रसाद ओझा

हाम्रो देशमा दिनहुँजसो सडक दुर्घटना भइरहेका छन् । कतै दुर्घटना हुँदा मृतक र घाइतेको संख्या गनेपछि सम्बन्धित निकायको काम सकिएको मानिन्छ । न जनता न सरकार दुर्घटनाको मुख्य कारण र भित्री चुरो पत्ता लगाउनतिर लाग्ने गर्छौं । अचेल देशको हरेक कुनामा बाटो खोल्ने, खन्ने लहड चलेको छ ।

सडकको ज्यामिति मिलाए घट्छ दुर्घटना

अझ केन्द्र, प्रदेश, स्थानीय तहमा यस विषयमा उछिनपाछिनै चल्ने गरेको छ । सडक र विकास एकअर्काका पर्यायजस्तै भएकाले झलक्क हेर्दा यो अन्यथा नलाग्न सक्छ । अमेरिका लगायत सबै विकसित देशको उन्नतिको रहस्य सडक सञ्जाल नै हो । यसो भन्दैमा आँखा चिम्लेर सडक खन्नु बुद्धिमत्ता होइन । विकट भूगोल भएको हाम्रोजस्तो मुलुकमा सडक निर्माण गर्दा निकै होस पुर्‍याउनुपर्छ । वैज्ञानिक हिसाबले बनाइएको सडकले नै कुनै पनि यात्रालाई सुरक्षित र भरपर्दो बनाउन सक्छ ।

सडक दुर्घटना हुँदा सवारी चालक, सवारी साधन र निर्माण व्यवसायीलाई मात्र दोष देखाएर पुग्दैन । तिनको पनि दोषी रहेको त असत्य हुन्न, सधैँभरि सत्य पनि नहुन सक्छ । सडक दुर्घटनाको प्रमुख कारण हो— बाटाको ज्यामिति नमिल्नु । पहाडी भूभागमा नयाँ बाटाका लागि जथाभावी ट्र्याक खोल्नु, भू–बनोट विचार नगर्नु, बाटाको ज्यामितीय आकार–प्रकार नमिलाउनु दुर्घटनाका प्रमुख कारक बन्ने गरेका छन् । सडक निर्माण गर्दा सवारी चालक र सवारी साधनको सुरक्षा आवश्यकतालाई ध्यानमा राखी केही भौतिक र ‘भिजुअल एलिमेन्ट’ लाई मिलाउनु जरुरी हुन्छ ।

ज्यामितीय डिजाइन अन्तर्गत वास्तविकतालाई त्रि–आयामिक दृश्य (थ्री डाइमेन्सनल भ्यु) बाट केलाइन्छ । सडकको संरचनात्मक डिजाइन (जस्तै— सबग्रेड, सबबेस र बेस) भन्दा यो फरक हुने गर्छ । ज्यामितीय डिजाइनमा तेर्सो गोलाइ, ठाडो गोलाइ, क्याम्बर, ग्राडियन्टलाई मुख्यतः विचार गरिन्छ । यस्ता–यस्ता ठाउँमा सवारी चालकको मनोविज्ञान, गाडीको गति कस्तो हुनसक्ला भन्ने अड्कल पनि गरिन्छ ।

अहिले स्थानीय निकायमा प्राविधिक जनशक्ति छ । यसलाई परिचालन गरेर जुनसुकै मोडलमा काम गरे पनि पहिलो काम बाटाको ज्यामिति मिलाउनु नै हुनुपर्छ । अनि दुर्घटना घटाउन सकिन्छ । उदाहरणका लागि, अधिकांश नयाँ बाटोमा तेर्सो गोलाइ (होराइजन्टल कर्भ) मा सडकको बाहिरी छेउ भित्री छेउभन्दा उचालिएको हुँदैन । अहिले धेरैजसो दुर्घटना यही कारणले हुने गरेका हुन् ।

बाहिरी छेउ भित्री छेउभन्दा होचो भइदिनाले गुडिरहेका गाडीहरू बाहिरतिर हुत्तिने गरेका छन् । त्यसैगरी ठाडो गोलाइ (भर्टिकल कर्भ) को वैज्ञानिक डिजाइन नहुनु, बाटोको ग्रेड नमिल्नु, तेर्सो गोलाइ बाटोमा थप चौडा नहुनु गाडी दुर्घटनाका प्रमुख कारण बनिरहेका छन् ।

घुमेको तेर्सो सडकको बाहिरी छेउलाई सडकको भित्री छेउभन्दा अलि अग्लो बनाउन एउटा काठकै टेम्प्लेट पर्याप्त हुन्छ । त्यसैगरी बाटाको ठाडो ग्रेड पनि काठकै टेम्प्लेटबाट मिलाउन सकिन्छ ।

तेर्सो, घुमाउरो र ठाडो बाटोको गोलाइ मिलाउनलाई पनि आधुनिक सर्भे इन्स्ट्रुमेन्ट चाहिन्न । किला–काँटा, धागो र सामान्य औजारकै सहायताले यो काम गर्न सकिन्छ । धेरै वर्षपहिले एकजना अस्ट्रेलियाली इन्जिनियर एउटा जलविद्युत परियोजनामा जाने बाटो निर्माण गर्न आएका थिए । उनले सामान्य किला–काँटी, धागो, काठको टेम्प्लेट र काठकै सानो गाडीको मोडल तयार गरेर बाटाको ज्यामितीय डिजाइन मिलाएको मलाई अहिले पनि सम्झना छ । यो विधि सामान्य भइकन पनि कति महत्त्वपूर्ण छ, यसबाटै थाहा हुन्छ । सैद्धान्तिक ज्ञानलाई व्यावहारिक ज्ञानमा उतार्नसके नसोचेको उपलब्धि हासिल गर्न सकिन्छ ।

नयाँ बनेका हाम्रा सबै सडक अवैज्ञानिक छैनन् । कतिपय पहाडी बाटा ज्यामिति मिलाएरै बनाइएका छन् । तिनमा दुर्घटना पनि कमै भएको पाइन्छ । त्यस्ता बाटामा सवारी चालकको मनोविज्ञान ठीक रहने, डिजाइनकै गतिमा गाडी गुड्न पाउने हुन्छ । बाटाको ज्यामिति मिल्नु भनेको सडक प्रयोगकर्ता, सवारी चालक र सवारी साधन सबैको सुरक्षाको प्रत्याभूति हुनु हो ।

दुर्घटनाको अर्को कारण हो— सडक भारवहन क्षमता र भू–बनोट कमजोर हुनु । भारवहन क्षमता थोरै भएको सडकमा बडेबडे सवारी साधन चल्दा दुर्घटना निम्तिने सम्भावना प्रबल हुन्छ नै । त्यस्तै अनुशासनहीन सवारी चालक, थोत्रा सवारी साधनका कारण पनि दुर्घटना निम्तिने गरेका छन् । सडक हेर्ने सरकारी निकायले पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्नैपर्छ ।

यति हुँदाहुँदै पनि हामीले के बिर्सनु हुन्न भने, ज्यामिति मिलेको ग्राभेल सडक ज्यामिति नमिलेको कालोपत्रे सडकभन्दा सुरक्षित हुन्छ ।

लेखक इन्जिनियर हुन् ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?