२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

उपचारमा ढुक्क हुन स्वास्थ्य बिमा

डा. उमाशंकर प्रसाद

स्वास्थ्य सेवाको खर्चलाई परिवारले धान्न सक्ने अवस्थामा ल्याउने, स्वास्थ्य समस्याका कारण हुनसक्ने आर्थिक जोखिम घटाउने संयन्त्र हो— स्वास्थ्य बिमा । स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने बृहत् सामाजिक साझेदारीको अवधारणा हो यो । 

आधारभूत, नियमित, प्रतिरोधात्मक, प्रबर्द्धनात्मक, उपचारात्मक, आपत्कालीन र पुनःस्थापना सम्बन्धी सेवाहरू स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत समेटिन्छन् । खरिद गर्ने तरिका बमोजिम स्वास्थ्य बिमा पाँच प्रकारका छन् : सामाजिक, निजी, करमा आधारित, समुदायमा आधारित र मिश्रित ।


राष्ट्रिय स्वास्थ्य बिमा नीति, २०७१ ले गुणस्तरीय स्वास्थ्यसेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाका आधारमा सबैका लागि स्वास्थ्यसेवा सुनिश्चित गर्ने उद्देश्य लिएको छ । स्वास्थ्य बिमा ऐन, २०७४ ले यी व्यवस्था गरेको छ— (क) राष्ट्रसेवक र प्रतिष्ठानका कर्मचारी तथा वैदेशिक रोजगारमा जानेहरूका परिवारले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुपर्ने, (ख) नवजात शिशु, बालबालिका, ज्येष्ठ नागरिक तथा भिन्न क्षमता भएका व्यक्तिलाई बिमा कार्यक्रममा आबद्ध गर्नु निजको अभिभावक वा संरक्षकको कर्तव्य हुनुपर्ने, (ग) स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने प्रयोजनका लागि परिवारलाई एक एकाइ मानिने ।


स्वास्थ्य बिमा नियमावली, २०७५ ले यी व्यवस्था गरेको छ—

(क) प्रति ५ जनासम्मको परिवारले वार्षिक रु. ३,५००।– प्रिमियम रकम र परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य रु. ७००।–का दरले थप रकम बुझाउनुपर्ने

(ख) सुविधाको थैलीको सीमा पाँच जनाको परिवारको हकमा वार्षिक रु. १००,०००।– र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रतिथप सदस्य बापत रु. २०,०००।– को सीमा बढ्दै अधिकतम रु. २००,०००।– सम्म हुने

(ग) बिमित सदस्यहरूले वर्षमा एकपटक प्रिमियम बुझाएपछि सेवा क्रियाशील भएपश्चात क्यासलेस प्रणालीमा वर्षभरि सुविधा थैलीको सीमा अनुसार उपचार खर्च पाउने

(घ) बिमित सदस्यले स्वास्थ्यसेवा सबै सरकारी स्वास्थ्य संस्थाबाट प्राप्त गर्नुका साथै प्रेषण पुर्जासहित रिफर भई बिमा बोर्डसँग सम्झौता गरेका आधारमा निजी क्षेत्रका अस्पताल र शिक्षण संस्थाबाट पनि सेवा पाउने

(ङ) कार्यक्रमको सदस्यता वार्षिक रूपमा नवीकरण गर्नुपर्ने

(च) कार्यक्रम लागू भएका जिल्लामा वर्षभरि सदस्यता दर्ता कार्य खुल्ला रहने

(छ) कार्यक्रम सूचना प्रविधि बेसमा सञ्चालित हुने

(ज) मोबाइलबाट फोटो खिची दर्ता सहयोगीले घर–घर गई दर्ता कार्य गर्ने

(झ) प्रचलित कानुन बमोजिम अति गरिबको परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपांगता, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोगी भएकाको परिवार तथा सत्तरी वर्ष पुगेका ज्येष्ठ नागरिकको प्रिमियमको शतप्रतिशत र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको प्रिमियमको ५० प्रतिशत केन्द्र, प्रदेश वा स्थानीय तहले बेहोर्ने,

(ञ) सेवाप्रदायकले चौबीसै घण्टा औषधि उपलब्ध गराउनेगरी फार्मेसीको व्यवस्था गर्नुपर्ने ।


स्वास्थ्य बिमा सम्बन्धी कामकारबाही गर्न नौ जनाको स्वास्थ्य बिमा बोर्ड छ । स्वास्थ्य बिमा सम्बन्धी नियमित कार्यक्रम सञ्चालन गर्न संघदेखि स्थानीय तहसम्म १८६ जना पूर्णकालीन कर्मचारी छन् । तीमध्ये ६८ जना स्वास्थ्य मन्क्रालयबाट काजमा आएका हुन् । ३,५०० देखि ४,००० जनासम्म दर्ता सहयोगी छन् । स्वास्थ्य बिमा कार्यत्रमको सदस्यता दर्ता गर्नका लागि गाउंँपालिका/नगरपालिकाका प्रत्येक वडामा एक–एक जनाका दरले दर्ता सहयोगी छन् । उनीहरू समुदायमा गई स्वास्थ्य बिमा कार्यक्रमबारे जानकारी दिई सदस्यता वितरण गर्ने गर्छन् ।


सरकारले राष्ट्रिय लक्ष्यका रूपमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नीति अवलम्बन गरी सोही अनुसारका कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । सन् २०२२ सम्म विकासोन्मुख देशमा स्तरोन्नति गर्ने, २०३० अगावै दिगो विकास लक्ष्य हासिल गर्ने र मध्यम आय भएको देशमा पुग्ने तथा २०४३ सम्म समुन्नत राष्ट्रको स्तरमा पुग्ने प्रतिबद्धतालाई आधार मान्दै सरकारले २५ वर्षे दीर्घकालीन सोच सहितको पन्ध्रौं पञ्चवर्षीय योजनाको आधारपत्र तयार गरेको छ ।


मानव विकास सूचकाङ्कमा स्वास्थ्य सम्बन्धी सूचकहरूको महत्त्वपूर्ण स्थान हुन्छ । स्वस्थ नागरिकले आर्थिक विकासमा

टेवा पुर्‍याउने हुनाले स्वास्थ्य बिमा कार्यक्रमले स्वास्थ्यमा सर्वव्यापी पहुँचतर्फ नेपाललाई सशक्त बनाउँछ ।


स्वास्थ्य बिमा नेपालका सन्दर्भमा नयाँ र चुनौतीपूर्ण कार्यक्रम हो । यसलाई सफल तुल्याउने दिशामा सबैको समन्वय, सहयोग र सहकार्य अपरिहार्य छ ।


लेखक स्वास्थ्य बिमा बोर्डका अध्यक्ष हुन् ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?