टुंगो लाग्दै छ सगरमाथाको नयाँ उचाइ

बुद्धिनारायण श्रेष्ठ

सरकारले सर्वोच्च शिखरको उचाइ मापन गर्न चैत २७ गते सगरमाथा आधार शिविरतर्फ प्राविधिक टोली पठाएको छ  । टोली सदस्यहरू एक महिनादेखि त्यस क्षेत्रको वातावरणसँग अनुकूल हुन ‘अक्लामेटाइजेसन’ गर्दै छन्  ।

उचाइ पचाउन आधार शिविरबाट ७,००१ मिटरमा रहेको तेस्रो क्याम्पसम्म ओहोर–दोहोर गर्दै, यन्त्र–उपकरण परीक्षण गर्दै छन् । उनीहरूले ५,०५० मिटरमा रहेको लोबुचेमा क्रस–ओरिजिन रिसोर्स सेयरिङ (सीओआरएस) नियन्त्रण विन्दु पनि स्थापना गरेका छन् ।


आफ्नो देशको सम्पत्तिका रूपमा रहेको विश्व सम्पदाको मापन तथा लेखाजोखा नेपाल आफैंले गर्दै छ । यसअघि कतिपय देशले सगरमाथाको उचाइ घटेको र कतिपय देशले बढेको भनेका छन् । सन् २०१५ को भूकम्पले सगरमाथाको उचाइ घटेको छ कि भन्ने शंकालु अध्येता पनि छन् । आफैंले मापन नगरेसम्म नेपालले पारम्परिक उचाइलाई नै मान्दै आएको छ । अबको मूल्यांकनपछि उचाइ घटबढ सम्बन्धी विवादको अन्त्य हुनेछ । तर मापन विश्वलाई चित्त बुझ्ने गरी आधुनिक विधिविज्ञान तथा प्रविधि अपनाई प्राविधिक तवरले गर्नुपर्छ । त्यसैले सगरमाथाको परिशुद्ध मापन चुनौतीपूर्ण छ । परिष्कृत उचाइ निर्धारण गरी संसारभरका सम्बन्धित क्षेत्रका वैज्ञानिक तथा अध्येतालाई सन्तुष्ट तुल्याउने यो अवसर पनि हो ।


२०११ मा सगरमाथाको सफल आरोहण गरिसकेका खिमलाल गौतमको नेतृत्वमा चार सर्भेयरले सगरमाथाको उचाइ मापन गर्दै छन्। मापन टोलीलाई चुचुरोसम्म पुर्‍याउन र फर्काउन पिक प्रमोसन प्रालिमार्फत चार सदस्यीय शेर्पा गाइडको नेतृत्व छिरिङ जाङ्बु शेर्पाले गरेका छन् । उनले दुईपटक सगरमाथा चुमिसकेका छन् । यो टोलीलाई प्रधानमन्त्री केपी ओलीले माला र टीका लगाई ‘एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्नुहोला, तपाईंहरूले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ’ भनी सफलताको कामना गर्दैे बिदाइ गरेका थिए ।

मापन कार्य
सगरमाथाको उचाइ मापन पूर्ण प्राविधिक कार्य हो । सगरमाथाको टुप्पोमा प्वाल पारी त्यहाँबाट फलामको मोटो डन्डी सीधै तल ठोक्दै सगरमाथाको पीँध अर्थात समुद्रको सतहसम्म पुर्‍याउँदा त्यो डन्डी कति मिटर लामो हुन्छ, त्यही नै सगरमाथाको उचाइ हो । बङ्गालको खाडीको पानीको सतह शून्य मिटरको उचाइ हो । त्यो शून्य मिटरको समतलन रेखालाई सगरमाथा टुप्पाको उचाइले बनाएको समतलन रेखासँग समानान्तर गरी सीधै तलतिर ९० डिग्रीको कोणमा त्यस्तो डन्डी ठोकिएको हुनुपर्छ । कोण दायाँ–बायाँ पारेर डन्डी ठोकिन पुग्यो भने त्यसले परिशुद्ध उचाइ जनाउन सक्दैन । यिनै कुरा सगरमाथा मापनका मुख्य विषय–वस्तु हुन् । वस्तुगत हिसाबले सगरमाथाको टुप्पोबाट डन्डी ठोकेर मापो लिन सकिँंदैन । बङ्गालको खाडीको पानीको सतहलाई शून्य मिटर उचाइ मानेर विभिन्न विधि तथा वैज्ञानिक तौरतरिका अवलम्बन गर्दै मैदानी भाग हुँदै त्रिकोणमितीय समतलन नापिन्छ । अनि सगरमाथाको टुप्पोसम्मको विन्दुमा यन्त्रद्वारा अवलोकन गरी उचाइ पत्ता लगाइन्छ ।


यसका लागि भारतको कोलकाताको समुद्र सतहदेखि नेपालको सिरहा जिल्लाको माडर अनि त्यहाँदेखि ओखलढुङ्गा–सोलु पिके डाँडासम्म १७० किलोमिटर त्रिकोणमितीय समतलन नापी गरिएको छ । तराईदेखि पहाडसम्म २३० स्थानको विन्दुमा जीएनएसएस (ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम) प्रविधिबाट नापो लिइसकिएको छ । यीमध्ये १२ विन्दुसँगको सर्वेक्षणका आधारबाट सगरमाथाको चुचुरोमा एन्टेनायुक्त जीपीएस रिसिभर यन्त्रद्वारा ब्रह्माण्डमा तैरिरहेका स्याटेलाइटले दिएको डाटा क्याप्चर रेकर्ड गरिन्छ । यही डाटा रेकर्ड गर्न मापन टोली सगरमाथाको चुचुरोतर्फ लागेको हो । चुचुरोमा जीपीएस रिसिभरद्वारा रेकर्ड गर्न तथा चट्टानी भागदेखि चुचुराको हिउँको थुप्रोसम्मको उचाइ लिन ग्राउन्ड पेनिट्रेसन राडर (जीपीआर) का सहायताले मापन गरी संगणना गर्नु सफल आरोहण गर्नुजत्तिकै महत्त्वपूर्ण छ ।

चुनौती
जीपीएस प्रविधिद्वारा रेकर्ड गरिएको तथ्याङ्क र स्थापना गरिएका अन्य सर्वेक्षणका काँचाकोरा तथ्याङ्कलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी परिष्कृत गर्नु निकै चुनौतीपूर्ण मानिन्छ । यस्ता चुनौतीमा मापनलाई परिशुद्ध गर्न डिफ्लेक्सन अफ भर्टिकल, जियोआइड, अब्सोलुट ग्राभिटेसनल एनिमोली, टेक्टोनिक मोसन, एटमस्फेरिक करेक्सन जस्ता प्रविधियुक्त क्यालकुलेसन (जोड–घटाउ) आवश्यक पर्ने हुन्छ । नेपालले निर्धारण गरेको नयाँ उचाइलाई विश्वका एक–दुई संस्था तथा व्यक्तिले चुनौती दिए भने तथ्य–तथ्यांक तथा विधि उल्लेख गर्दै सामना गर्नुपर्ने हुन्छ । २०७२ को भूकम्पले उचाइ खलबलाएको रहेछ/रहेनछ, अनि हिमचुलीको टुप्पोमा थुप्रेको हिउँको उचाइ समेतको मापन हो कि त्यसभित्रको चट्टानको भन्ने विषयलाई पनि चुनौती मान्नुपर्छ । अमेरिका भन्छ— सगरमाथाको उचाइ २ मिटर बढेको छ । चीन ठोकुवा गर्छ— ४ मिटर घटेको छ । अहिले मापन गर्दा बढेको देखिए वा घटेको पाइए, के कारणले यस्तो भएको हो भन्ने प्राविधिक तथ्य उजागर गर्नु पनि चुनौती हो ।

तथ्यांक प्रशोधन
प्राप्त विभिन्न तथ्यांक प्रशोधन गरी परिष्कृत तुल्याउन उच्चस्तरीय समन्वय समिति गठन गर्नु सान्दर्भिक हुन्छ । त्यसमा प्राविधिक उपसमिति तथा टोलीहरूले कार्य गर्ने संयन्त्र बनाउनुपर्छ । उपसमितिमा सर्भेयर, डिजिटल एस्ट्रोनमर, जियोफिजिसिस्ट, हाइड्रोलजिस्ट, जियोम्याटिस्ट, डाटा प्रोसेसर, जियोसाइन्टिस्ट जस्ता विषयविज्ञ रहनुपर्छ । तथ्यांक प्रशोधनका क्रममा चीन र भारतलाई पनि सहभागी गराउनु समय–सापेक्ष हुन्छ । किनभने सगरमाथा नेपाल–चीन सीमामा छ, अर्कातिर भारतले पिक–१५ (सगरमाथा) विश्वको सबैभन्दा अग्लो हिमचुली हो भनी पत्ता लगाएको हो । तथ्यांक प्रशोधन गर्दा तापक्रम, गुरुत्वाकर्षण, मौसमी शुष्कता आर्द्रता, हावाको चाप परिष्कृत गरिनुपर्छ । उच्चस्तरीय समन्वय समितिले गर्ने कामको तथ्यता/सत्यता बढाउन अमेरिकाको नेसनल जियोग्राफिक/बोस्टन म्युजियम अफ साइन्स, युएन कार्टोग्राफिक डिभिजन, इन्टरनेसनल एसोसियसन अफ जियोडेसी, इन्टरनेसनल फेडरेसन अफ क्लाइम्बिङ एन्ड माउन्टेनियरिङ, युनाभकोलाई समितिको आमन्त्रित सदस्यका हैसियतमा संलग्न गराउँदा परिणाम घोषणाको वजन बढ्छ ।

अवसर
सगरमाथा मापनकार्य चुनौती र जोखिमपूर्ण भए पनि यसमा अवसरसमेत जोडिएको छ । नेपालका सर्भेयर प्राविधिक तथा वैज्ञानिकहरू मापनकार्यमा निपुण रहेछन् भनी विश्वसमक्ष कौशल देखाउने मौका हो यो । नेपालमा रहेका हिमालयको अध्ययन–अनुसन्धान गर्ने तथा हिमाली भूकम्पको जोखिमको लेखाजोखा राख्ने विश्वका फिजिसिस्ट, सिस्मोलजिस्ट, जियोलजिस्ट, क्लाइमेटोलजिस्ट, इन्भाएरन्टलजिस्ट, जियोडेसिस्ट, जियोमर्फोलजिस्ट सन्तुष्ट हुने विधि तथा प्रविधि अपनाउनुपर्छ । १९५३ मे २९ का दिन तेन्जिङ र हिलारीले सफल आरोहण गर्दा सगरमाथाको थाप्लोमा तेन्जिङले पहिले पाइला टेके कि हिलारीले भन्ने कौतूहल सबैलाई भयो । ती दुवैले हातेमालो गरी एकैपटक टेकेको जवाफ दिए । उचाइ मापन प्रक्रियामा पनि सबै विधि पुर्‍याइएको छ भनी विश्वलाई आश्वस्त तुल्याउने अवसर हो यो।

प्रकाशित : जेष्ठ २, २०७६ ०८:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सामुदायिक विद्यालयमा चाप

वडा कार्यालयले निःशुल्क ड्रेस तथा बालविकासका लागि खेलौना सहयोग, विद्यालय छात्रामैत्री
कान्तिपुर संवाददाता

सिन्धुली — निजी विद्यालयको जस्तै ड्रेसमा सजिएर बालबालिकाहरू विद्यालय आउँछन्  । विद्यालय हाताभित्रै रहेको सालको रूखमा झुन्ड्याएर राखिएको खानेपानीको धारामा बोतलबाट पानी भर्छन्  ।

कक्षाकोठामा ब्याग राखेपछि उनीहरूको दैनिक फोहोर देखे टिपेर डस्टबिनमा हाल्ने हुन्छ । यो काम ९ र १० का विद्यार्थीहरूले गर्छन् । पछिल्लो पुस्ताले पनि उनीहरूले गरेको कामलाई नियालिरहेका हुन्छन् ।


कमलामाई नगरपालिका १३ माथिल्लो रानीवासमा रहेको प्रभात मावि जिल्लाकै नमुना सामुदायिक विद्यालय बन्दै गएको छ । प्राथमिक तहमा सामुदायिक विद्यालयहरूमा दिनानुदिन विद्यार्थीको संख्या घट्दै गइरहेको भए पनि प्रभात माविमा भने चाप छ । विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेर एक कक्षादेखि ५ कक्षासम्म ९ वटा विषयमा अध्यापन गराउँछ । दुई वर्षअघि नजिकै खुलेको निजी विद्यालयले ८ वटा विषयमा पढाइ सुरु गरेको थियो । प्रभात माविले ९ वटा विषयको पढाइ सुरु गरेपछि यतिखेर निजी विद्यायल बन्द भएको छ । अभिभावकहरूले निजी विद्यालयको भन्दा गुणस्तरीय शिक्षा निःशुल्क पाएपछि आफ्ना बालबालिकाहरूलाई सामुदायिकमा ल्याएको विद्यालयले जनाएको छ ।


सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन वडा कार्यालयले निःशुल्क ड्रेस तथा बालविकासका लागि खेलौना सहयोग गरेको छ । निजी विद्यालयलाई विस्तापित गरी सबै बालबालिकाहरूलाई सामुदायिकमा अध्यापन गराउने लक्ष्य रहेको वडाध्यक्ष किरण माझीले बताए । ‘स्थानीय तहबाट शिक्षकको समेत व्यवस्था गरेका छौं,’ उनले भने, ‘शिक्षामा सबैको पहुँच र समानताका लागि लागिपरेका छौं ।’


चारैतिर रुखहरूले विद्यालयलाई घेरेकाले समेत शान्त वातावरणमा अध्यापन हुने गरेको छ । त्यसका अलावा सोही विद्यालयमा अध्यापन हुने विद्यालय तहकै बाली विज्ञान समूहका विद्यार्थी र शिक्षक, शिक्षिका मिलेर व्यवस्थित बगैंचासमेत बनाएको छ । विद्यालयमा सबैभन्दा रोचक पक्ष भनेको छात्रामैत्री हुनु हो । विद्यालयमै सेनेटरी प्याड बनाएर छात्राहरूलाई निःशुल्क वितरण गरिन्छ । १० कक्षामा अध्ययनरत छात्राले ९ कक्षाकालाई प्याड बनाउन सिकाउने गरेका छन् । त्यो क्रम प्रत्येक वर्ष चलिरहन्छ । प्याड बनाउन चाहिने सामग्री भने विद्यालयले जुटाइदिने गरेको छ । सस्तो पनि पर्ने र आफैंले बनाउँदा छात्राहरूमा आत्मवल बढ्ने विश्वास विद्यालयका प्रधानाध्यापक अरुणकुमार थिङले बताए । ‘ प्याड नभएर कुनै पनि छात्राले विद्यालयबाहिर बस्न नपरोस् भनेर उनीहरूलाई नै तालिम दिएर बनाउन लगाइएको हो,’ उनले भने, ‘विद्यालयले चाहिने सामग्री गज, कटन, कैंची लगायत सामानको व्यवस्था गरेका छौं ।’ न्यूनतम सिकाइ उपलब्धि भएका विद्यार्थीहरूलाई छुट्टै कोचिङ कक्षाको व्यवस्था गरिएको छ । प्रभात माविमा शिक्षकहरू खेर जाने बिदामा पनि विद्यालय छाड्दैनन् ।


बिदा नलिएर पढाएबापत केही प्रोत्साहन भत्ता भने उनीहरूलाई दिने गरिएको छ । निजीको जस्तै साना बालबालिकाहरूलाई अभिभावकले नै विद्यालयसम्म ल्याउने–लाने गर्नाले पनि शिक्षकहरूमा उत्साह थपिएको सहायक प्रधानाध्यापक मीनप्रसाद बरालले बताए । विद्यालयमा शिक्षकहरूलाई कोड भाषाबाट बोलाइने गरेको छ । २०१८ सालमा स्थापना भएको विद्यालयमा बालविकासमा २२ जना, कक्षा एकदेखि ५ सम्म १००, कक्षा ६ देखि ८ सम्म एक सय ५४ र ९ र १० मा एक सय ४० विद्यार्थी छन् । त्यसका अलावा बाली विज्ञानतर्फ ९१ जना विद्यार्थी रहेका छन् । विद्यालयमा भएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिन सके सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्ने प्रधानाध्यापक थिङको धारणा छ । ‘निजी विद्यालयमा चर्को शुल्क हुनाले सामुदायिक गुणस्तरीय शिक्षा निःशुल्क हुँदा कुनचाहिँ मूर्ख हुन्छ र पैसा धेर भएको ?’ उनले प्रश्न गरे ।

राजकुमार कार्की रानीवास

प्रकाशित : जेष्ठ २, २०७६ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT