१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कमिलाबाट सिक्ने कि !

कमिला साना जीवका प्रतिनिधि हुन् । एन्टार्कटिका बाहेक पृथ्वीका सबै ठाउँ र हावापानीमा पाइन्छन् । यत्रतत्र पाइएर नै हो, संसारका सबै देशमा चलेका लोक तथा बाल साहित्यमा कमिलालाई पात्र बनाइएको हुन्छ । संसारमा कति कमिला होलान् ? गणना गरी साध्य नभए पनि कमिलाविज्ञहरूले करिब एक लाख खर्ब भएको अनुमान लगाएका छन् ।

कमिलाबाट सिक्ने कि !

संसारमा लगभग १२ हजारदेखि १५ हजार प्रजातिका कमिला पाइएका छन् । नचिनिएकाहरूको पनि पहिचान खुलेमा यो प्रजाति संख्या ठीक दुई गुना हुने अनुमान विश्वासिलो आधारमा गरिएको छ । एक अध्ययनले भनेको छ- संसारका कमिलाको सुक्खा तौल (बायोमास) संसारका मानिसको बराबर हुन्छ ।


जन्तुजगतको सबैभन्दा ठूलो समूह आर्थोपोडामा कुल जन्तुका ९२ प्रतिशत पर्छन्, यसैमा पर्छ कमिला पनि । कमिलाले आर्थोपोडाको सबैभन्दा ठूलो हिस्सा लिएको छ । यो जीव समूह, घर (घार) बनाएर बस्छ । यसको एउटै घारमा दुई करोड वटासम्म बसेको पाइन्छ ।


सबैतिर पाइए पनि, धेरै महत्त्व भए पनि विश्वभरमै यो प्राणी अलि हेपिए जस्तो भएको छ । ठूला जीवहरूको मात्र अध्ययन गरिने, तिनलाई मात्र जोेगाउने अभियान चलाउने तर यिनलाई वास्ता नगर्ने प्रवृत्ति देखिएको छ । यिनका विषयमा अति कम अनुसन्धान भएका छन् । गहिराइमा अध्ययन गर्दै जाँदा थाहा लाग्ला, तर आजको स्थितिमा विश्व संरक्षण संघ (आईयुसीएन) ले १४० प्रजातिलाई संकटापन्नको सूचीमा राखेको छ । त्यसमा पनि तीन प्रजाति भने अति संकटापन्न छन् ।


नेपालमा कमिलाको अध्ययन, अनुसन्धान इन्द्रप्रसाद सुवेदीले गर्दै आएका छन् । उनले विद्यावारिधि डिग्रीको लागि कमिलाको अनुसन्धान रोजेका हुन् । यसअघि नेपालमा यसरी यो विषयमा खोजमूलक कार्य नभएको बुझिएको छ । हाल कमिलाका विषयमा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागबाट बल्ल पाँच जनाले स्नातकोत्तरको शोधकार्य गरेका छन् । यो अति न्यून संख्या हो । विश्वविद्यालयका उपप्राध्यापकसमेत रहेका सुवेदी कमिलाको विषयमा अब अरू पनि अनुसन्धाताको चासो बढेको पाइएको बताउँछन् ।


सन् १९७० तिरको अनुसन्धानमा नेपालमा कमिलाका ४१ जाति र ८६ प्रजाति रहेको अनुमान गरिएको थियो । सुवेदीका अनुसार १३२ प्रजातिको हाल पहिचान खुलेको छ । अझै अनुसन्धान भइरहेमा संख्यामा राम्रै वृद्धि हुने संकेत देखिएको छ । सन् १९७० मा कोलिङउडले गरेको अध्ययनले नेपालमा मात्रै पाइने कमिलाको प्रजाति संख्या नौ भनेको छ । म्यानम्यारदेखि नेपाल हुँदै अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश पर्वत शृंखलामा २०२ प्रजाति पाइए, तीमध्ये ७१ चाहिँ यहाँबाहेक अन्त पाइँदैनन् भनेर हिमेन्दर भारतीले सोइओबायोलोजी जर्नलको ५२ अाैँ अंक सन् २००० मा छापेका छन् ।


कमिलाको उत्पत्ति १ अर्ब ४० करोड वर्षअघि भएको अनुमान छ । जैविक दुनियाँमा यसलाई अति नै सफल जीव मानिन्छ । यो आफ्नै कलाकौशल भएको, आफ्नै बलबुता र सीपले घर बनाउने, सामाजिक रीति, संस्कृति तथा नीति भएको प्राणी हो । कमिलामा सामाजिक नियम मृत्युदण्ड दिनेसम्मको हुन्छ । यो सानो प्राणीमा कतिपय विशेषता मानिससँग मात्र मिल्ने छन् । जस्तै- मानिसले जस्तै यसले खेतीपाती र पशुपालन गर्छ, जुन अन्य कुनै जनावरले जानेको छैन ।


यिनीहरूले लाहीकिरा, स्केलबग, मिलीबग जस्ता कीराहरूलाई अरू शत्रुबाट जोगाएर रेखदेख गरी राख्छन् । आफूलाई चाहिएको बेलामा घारभित्र ल्याएर भण्डारण गरी राख्छन् या तत्स्थानमा खान्छन् । दक्षिण अपि|mकामा पाइने काला कमिलाले घारमा ठूलो मात्रामा खाद्यान्न सुरक्षित राख्ने गरेका अनुसन्धाताहरूले पत्ता लगाएका छन् । कमिला माटामुनि, सतहमा, रुखमा जता पनि बसेका छन्, तर पानीमा बस्दैनन् । पानी पर्दा शरीरको सतहले लाइफबोट जस्तै बनावट तयार गर्छ, जसले उतार्छ ।


जन्तु जगतमा यो जीवलाई सबैभन्दा बलियो मानिन्छ । यसले आफ्नो तौलभन्दा ५० गुणा गह्रौँ वस्तु सजिलै बोकी हिँड्छ । यिनीहरूको एकता र सहकार्य सराहनीय तथा अनुसरणीय छ, समूहगत प्रयासबाट ठूला शक्तिशाली बिच्छीलाई पनि मारेर खान्छन् । कमिलाको खास विशेषता कुराकानी गर्ने शैली हो । यिनीहरूको सञ्चार हर्मोन (फेरोमोन) को संकेतबाट हुन्छ ।


किसानका लागि कमिला मित्रजीव हुन् । यिनले बालीलाई हानि गर्ने साना कीटहरूलाई खाइदिन्छन् । चीनमा विभर एन्टलाई कृषिमा जैविक नियन्त्रकको कामका लागि प्रयोग गरिन्छ । हजारौँ मेटि्रक टन विषादी बराबरको काम बिना प्रदूषण यो कमिलाले गरिरहेको छ । माटोमा मसिना दुला बनाएर जमिनभित्र हावा र पानीको मात्रालाई बढाइदिन्छन् । माटोको अम्लीयपनलाई नियन्त्रित रूपमा राख्न मद्दत गर्छन्, अनि माटोमा नाइट्रोजन र फोस्फोरसको मात्रालाई बढाइदिन्छन् । बालीनालीमा परागसेचन गराई फल लगाउन सहयोग गरेका हुन्छन् ।


यो जीवमा मातृसत्ता चल्छ । मूल शासक रानी हुन्छे । रानीको आयु अरूको भन्दा धेरै हुन्छ, पाँचदेखि ३० वर्षको उमेरसम्म बाँचेको भेटियो भनेर प्राणीशास्त्रहरूमा उल्लेख छ । भालेको आयु रानीसँगको सहवाससँगै सकिन्छ । सबै भालेले सोही रानीलाई गर्भाधान गर्छन्, तर त्यसमा होडबाजी हुन्न, पालो अनुसार हुन्छ । कर्मी कमिलाहरू निरन्तर सरसफाइ, खाना संकलन, बच्चाको रेखदेख र पालनपोषण, घारको सुरक्षा आदि काममा व्यस्त हुन्छन् । कुनै शक्तिशाली घरानाले भने अरू कमिलालाई दासको रूपमा पाल्ने गरेको पनि भेटिएको छ । उनीहरूलाई कर्मी कमिलाले गर्ने मध्येका नीच र कठोर कामहरू दिइन्छ ।


मानिसले अरू जनावरबाट धेरै कुरा सिकेर व्यवहारमा ल्याइसके । चराबाट सिकेर हवाइजहाज बनाएका छन् -हवाइजहाजको उड्ने प्रक्रिया चराजस्तै छ ।) माछाबाट सिकेर पनडुब्बी जहाज बनाएका छन्, सर्पबाट सिकेर रेलगाडी बनाएका छन् । यही किसिमले कमिलाबाट सिक्नुपर्ने थुप्रै कुरा छन् । तीमध्ये सबैभन्दा ठूलो अनुशासन, कर्तव्य र मिहेनत हुन् । घार (गोलो) मा कामको विभाजन गरिएको हुन्छ । आफ्नो काम के हो, उसले बाँचुन्जेल मेसिनझैँ निरन्तर गरिरहनुपर्‍यो । एक सेकेन्ड समय उसले खेर फालेको हुँदैन, ठीक समयमा ठीक काम ।


हिँड्दा सधंै लाइनमा हुन्छन्, कसैले लाइन मिच्दैन । विज्ञहरू भन्छन्, कमिलाको सिको गरेर होडबाजी नगरी सवारी साधन चलाउने हो भने काठमाडौंमा सडक जाम हुँदैन । कमिलाको जस्तो कर्तव्य र अनुशासन पालना गर्ने हो भने भ्रष्टाचार शब्द सुन्न पर्दैन । उनीहरूबाट सिक्नुपर्ने अर्को पाठ एकता र सहकार्य हो । काममा ठगठाग गर्ने कमिला गोलो वा समूहबाट सोझै बहिष्कारमा पर्छ । बहिष्कृत कमिला एक्लै परेर मर्छ ।


कमिलालाई असल योजनाकार र इन्जिनियर भनिन्छ । उनीहरूको गोलोको प्रारूप तथा सीप हेर्दा यस्तै लाग्छ । खाद्य संकट आउने संकेत पाएपछि उनीहरू खानेकुराको जोहो गरिराख्छन् । प्राकृतिक विपत्तिहरू बाढी, पहिरो, भूकम्प, वर्षा आदिको पूर्वसंकेत लिन सक्छन् र सावधानी अपनाएर सुरक्षित रहन्छन् । कमिला जैविक विविधताका सूचक हुन् । जहाँ कमिलाको विविधताले सिंगो जैविक विविधतालाई प्रतिनिधित्व गरेको हुन्छ । यिनीहरूको उपस्थितिले स्वच्छ वातावरणको पहिचान दिइरहेको हुन्छ ।


आर्मी एन्ट भनिने एक किसिमको कमिला हुन्छ, जसलाई सर्जन एन्ट पनि भनिन्छ । यसले चोटपटकहरूमा स्टिच गरिदिन्छ । अफ्रिकाका आदिबासीहरूले मात्र होइन, अस्ट्रेलियाका आर्मीहरूले समेत यसलाई टोकाएर खिललाई चोटपटकमा स्टिचको रूपमा प्रयोग गर्दारहेछन् । यसबाट उत्सर्जन हुने फर्मिक एसिडले घाउमा संक्रमण हुन नदिँदो रहेछ । साथै विषमा प्रोटिन हुने भएकोले चाँडै घाउ निको हुन्छ । कमिलामा हजारौँ औषधीय र पौष्टिक गुण अवश्य छन् । ती वस्तुको पहिचान गरेर धेरै औषधी उत्पादन गर्न सकिन्छ । कर्ममा विश्वास गर्ने यी कर्मवीर कमिला चिनौँ, कमिलाबाट सिकौँ र यिनलाई संरक्षण गरी पर्यावरण जोगाऔँ ।

लेखक त्रिभुवन विश्वविद्यालय, स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।


[email protected]

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?