कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

तगारा छल्दै उद्यममा महिला

मधु राई

मोरङको टंकीसिनुवारीकी चम्पा नेपालले छ वर्षदेखि आफ्नै घरमा शु सेन्टर सञ्चालन गर्दै आएकी छन् । सात वर्षअघि उनलाई घरेलु तथा साना उद्योग, मोरङले दुईमहिने जुत्ता बनाउने तालिम दिएपछि उनको दिनचर्या फेरिँदै गयो । उनी वर्षमा पाँच–छ पटक प्रशिक्षक भएर जिल्लाबाहिर पनि जाने गरेकी छन् ।

उनले आफ्ना नौ जना छिमेकीलाई प्रत्यक्ष रोजगारीसमेत दिएकी छन् । उनका उत्पादन जिल्लाबाहिर पनि बिक्ने गरेका छन् । तीन वर्षअघि उनको कामको मूल्यांकन गर्दै केयर नेपालले कदरपत्रसहित चालिस हजार रुपैयाँ प्रदान गर्‍यो । उद्यमबाट सन्तुष्ट भए पनि आर्थिक कारणले गर्दा बजारक्षेत्रमा पसल भने सञ्चालन गर्न नसकेको चम्पा बताउँछिन् ।


मोरङकै विराटचोककी सीता राई पनि सफल उद्यमी हुन् । स्नातक राईले छ वर्षदेखि विराटचोकमा तेह्रथुमे ढाका र अल्लोका कपडा उत्पादन गर्नुका साथै विभिन्न डिजाइनका पोसाक, ढाका र अल्लोबाट जुत्ता–चप्पल तयार गर्दै आएकी छन् ।


उनले पाँच महिला र एक पुरुषलाई रोजगारीसमेत दिएकी छन् । पोसाक तयार गर्न उनलाई श्रीमान्ले पनि सघाउने गरेका छन् । यही जेठको दोस्रो सातादेखि सीताले सुन्दरहरैंचा नगरपालिकाको आंशिक सहयोगमा पन्ध्र महिलालाई निःशुल्क तालिम दिँदै छिन् । व्यवसाय बढाउन जनशक्ति चाहिने भएकाले निःशुल्क तालिम दिन लागेको उनी बताउँछिन् ।


चम्पा नेपाल र सीता राई यस्ता प्रतिनिधि पात्र हुन्, जो घरव्यवहार धान्नुसँगै आफू रोजगार बन्न र अरू महिलालाई उद्यमी बनाउन अहोरात्र खट्दै छन् । पछिल्लो समय सहरबजारमा सिलाइबुनाइको पसल सञ्चालन गर्दै आएका कतिपय शिक्षित र हुनेखाने महिलाहरूलाई बुटिक व्यवसायले पनि आकर्षित गर्दै छ ।


अफसोस, यस्ता बुटिकमा उनीहरूले पुरुषलाई बढी रोजगारी दिने गरेका छन् । विराटनगरको ट्राफिक चोकमा बुटिक सञ्चालन गर्दै आएकी जीना श्रेष्ठकहाँ पाँच कामदारमध्ये एक महिला छिन् । कतिपय बुटिक सञ्चालक महिलाहरू नै ‘कहाँ सक्छन् र महिलाहरूले पुरुषसरह काम गर्न ?’ भनी तर्किने गर्छन् । महिलाको क्षमता र योग्यतामा महिलाले नै विश्वास नगर्नु सानो विडम्बना होइन ।


रोजगारीको खोजीमा विदेसिन बाध्य महिला जनशक्तिलाई पछिल्लो समय स्वदेशमै रोजगार बन्न प्रेरित गर्दै छन् यी उद्यमी महिलाहरूले । यस्ता उद्यममा घरपरिवारले सहयोग गरे पनि स्थानीय तहले पुरुष उद्यमीलाई जस्तो सहजै पत्याउने वातावरण बनिनसकेको सीता राईको कटु अनुभव छ । यी र यस्ता कतिपय कारणले गर्दा पनि महिलाहरू उद्यम–व्यवसायमा अघि सर्न सकेको देखिंदैन ।


उद्यम–व्यवसाय गर्न चाहने कतिपय महिला उपयुक्त सल्लाह, तालिम र पुँजीको अभावमा हच्किने गरेका पनि छन् । स्थानीय तहले पछिल्लो समय महिलाहरूका लागि लामो समयको तालिमभन्दा दुईदिने नेतृत्व विकास तथा कानुनी साक्षरता सम्बन्धी अभिमुखीकरण जस्ता प्रशिक्षण दिने गरेको छ । स्रोतसाधनको उपलब्धता हुँदाहुँदै पनि जनप्रतिनिधिहरूको प्राथमिकतामा महिलालाई स्वरोजगार बनाउनु पर्छ भन्ने विषय नपर्नु पनि अर्को विडम्बना हो ।


गृहिणी पृष्ठभूमिबाटै जनप्रतिनिधि बन्ने अवसर पाएका कतिपय महिला न आफै स्वरोजगार बन्न चाहेको देखिन्छ न त अरू महिलाका लागि वातावरण बनाउनमा चिन्तित देखिन्छन् । अनेक कठिनाइ झेल्दै उद्यम–व्यवसायमा संलग्न महिलाहरूको व्यवसायलाई चाहिने थप सल्लाह–सुझाव दिनमा घरेलु तथा साना उद्योग कार्यालयसमेत उदासीन देखिन्छ । तालिम प्रमुख अशोक राई भन्छन्, ‘जनशक्ति अनि थप साधनस्रोतको कमीले सल्लाह दिन र अनुगमन गर्न सकेका छैनौं ।’


हामीकहाँ सिलाइबुनाइ, बुटिक र हस्तकलाको व्यवसायमा मात्र महिलाहरूको उल्लेख्य सहभागिता छ । विकसित मुलुकमा जस्तो दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्यममा महिलाहरूको उपस्थिति नगण्य देखिन्छ । तीनै तहका सरकारले महिलाहरूको क्षमता पहिचान गरी आवश्यक तालिम दिने गरे यो अपवाद हट्दै जानेछ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?