नेपाली दिदीबहिनीको माया लिएर जाँदै छु

ब्यारोनेस सग

केही दिनअघिको पश्चिम नेपालको भ्रमणमा मैले केही नेपाली महिला तथा किशोरीसँग कुराकानी गर्ने मौका पाएँ । उनीहरूको काम, प्रत्येक दिन भोग्ने चुनौतीहरू र तिनलाई सामना गर्ने तरिकाबारे जान्न पाएँ । उनीहरूका कुराबाट म निकै प्रभावित भएकी छु ।सुर्खेतको खाँडदेवी माविमा मैले माध्यमिक तह सक्न मिहिनेत गरिरहेका किशोरीसँग कुराकानी गरेँ ।

महिनावारीको व्यवस्थापनका लागि आवश्यक सामानको अपर्याप्त पहुँच, दैनिक लामो समयसम्म गर्नुपर्ने घरधन्दा, दुर्व्यवहार तथा बालकै अवस्थामा विवाह गर्नुपर्ने दबाब लगायतका कारण उनीहरूको जीवन थप कष्टकर भइराखेको छ । तर जब उनीहरूले मलाई भविष्यका आफ्ना आकांक्षाबारे बताए, आफ्नो समुदाय तथा देशलाई दिगो योगदान गर्ने उनीहरूको प्रतिबद्धता सुनेर म नतमस्तक भएँ ।

ती किशोरीलाई ‘सिस्टर्स फर सिस्टर्स’ परियोजनाले सहयोग गरिरहेको छ, जसमा समुदायका युवा महिलाले अति संवेदनशील किशोरी तथा बालिकालाई सल्लाह तथा परामर्श दिन्छन्, छोरीको शिक्षाको महत्त्वबारे सचेतना जगाउनका लागि उनीहरूका परिवारसँग काम गर्ने गर्छन् ।

यो परियोजना बालिका शिक्षाप्रति समर्पित विश्वको सबैभन्दा ठूलो कोष, संयुक्त अधिराज्यद्वारा प्रायोजित गर्ल्स एजुकेसन च्यालेन्जको हिस्सा हो । अध्यापन तथा सिकाइमा सुधार ल्याउने, बालिका तथा किशोरीविरुद्ध हुने हिंसालाई चुनौती दिने र बालिका शिक्षाप्रतिको धारणा तथा मनोवृत्ति परिवर्तन गर्ने जस्ता काम गरेर हामीले नेपाल र अन्य १७ देशमा १० लाखभन्दा बढी अति संवेदनशील बालिकाहरूलाई शिक्षा प्राप्त गर्ने र व्यक्तिविशेषको क्षमतानुसार सफलता हासिल गर्ने दिशामा मद्दत गरिरहेका छौं ।

कर्णालीमा मैले संयुक्त अधिराज्यको ग्रामीण पहुँच कार्यक्रमका उपलब्धिबारे जान्ने मौका पाएँ । गत पाँच वर्षमा ऊक्त कार्यत्रमले ७३ किलोमिटरभन्दा बढी नयाँ सडक निर्माण गर्न र बाँकी नेपालसँग जोड्ने ३८२ किलोमिटर बराबरका पुराना सडकहरूको मर्मत–सम्भार गर्न सहयोग गरेको छ । अन्ततः ऊक्त कार्यत्रमले अहिले आफ्नो हालसम्मकै महत्त्वाकांक्षी परियोजना — हुम्लालाई देशको बाँकी भूभागसँग जोड्ने ६७ किलोमिटर लामो सडक — को निर्माण गरिरहेको छ ।

यातायातको पहुँच अभिवृद्धि गर्नेबाहेक उक्त परियोजनाले हालसम्म ३० लाख श्रमदिनभन्दा बढी रोजगारी पनि सिर्जना गरिसकेको छ, जसबाट लाभान्वित हुनेमा ४० प्रतिशतभन्दा बढी महिला छन् । अझ महत्त्वपूर्ण कुरा त, सडक परियोजनामा काम गर्ने पुरुष र महिलाले समान ज्याला पाउने गरेका छन् । थप सडकको मर्मत–सम्भारका लागि प्रादेशिक सरकारसँग साझेदारी गरिने ऊक्त कार्यत्रमको नयाँ चरणको शुभारम्भ गर्न पाउँदा म निकै उत्साहित थिएँ ।

भ्रमणकै क्रममा सुर्खेतको क्षेत्रीय अस्पतालमा मैले गत दुई दशकमा महिला र बालबालिकाका हकमा नेपालको स्वास्थ्य सूचकमा आएको उल्लेखनीय सुधारबारे अवगत हुने अवसर पाएँ । सन् २००१ मा दसमध्ये केवल एक शिशु स्वास्थ्य केन्द्रमा जन्मिन्थ्यो । अहिले सो अनुपात १०ः६ पुगेको छ, जसले शिशु तथा मातृ मृत्युदर दुइटैलाई करिब आधा घटाउन मद्दत गरेको छ ।

तर अझै पनि गम्भीर चुनौती विद्यमान छन्, विशेष गरी दुर्गम र ग्रामीण समुदायमा । संयुक्त अधिराज्यले नेपाल सरकारलाई सबैभन्दा विपन्न, अति संवेदनशील तथा सामाजिक रूपमा बहिष्कृत समूह, विशेष गरी महिला तथा बालबालिकाको स्वास्थ्यस्थितिमा सुधार ल्याएर विद्यमान असमानता कम गर्न सहयोग गरिरहेको छ ।

म अब यौन तथा लैङ्गिक हिंसा सम्बन्धी एउटा सम्मेलनमा भाग लिन नेपालबाट नर्वे जाँदै छु । दुर्भाग्यवश, मेरो आफ्नै देश र नेपाल लगायत विश्वभरि नै अझै यौन तथा लैङ्गिक हिंसा व्याप्त छ ।

प्रदेश ५ को कोहलपुरमा, संयुक्त अधिराज्यको सहयोगमा बान्काटुवा प्रहरी चौकी निर्माण भइरहेको छ । त्यहाँ मैले स्थानीय महिलासँग भेटेर हिंसा सम्बन्धी उनीहरूका अनुभव तथा हिंसाको रोकथामका सम्बन्धमा उनीहरूको धारणा सुनेँ । संयुक्त अधिराज्यले नेपाल प्रहरीलाई लैङ्गिक हिंसा रोकथाम गर्न, त्यस्ता घटनामा यथाशीघ्र प्रतिक्रिया जनाउन र पीडितलाई सहायता गर्नका लागि देशभरि विशिष्टीकृत महिला तथा बालबालिका सेवा केन्द्रहरू निर्माण गर्न मद्दत गरिरहेको छ ।

महिला तथा बालिकाहरूलाई आफ्नो फूर्ण क्षमता हासिल गर्न संयुक्त अधिराज्यले मद्दत गरेकामा म निकै गौरवान्वित छु । महिलाको रोजगारी र सशत्तीकरणमा समेत योगदान पुर्‍याउने सडक तथा प्रहरी चौकीजस्ता पूर्वाधारहरूमा गरिएको लगानी तथा गर्ल्स एजुकेसन च्यालेन्जजस्ता सामाजिक परिवर्तनलाई टेवा पुर्‍याउने कार्यक्रमहरूलाई गरिएको सहयोग सबैले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यप्राप्तिमा योगदान पुर्‍याउँछन् भन्नेमा म पूर्ण विश्वस्त छु ।

नेपालको बलियो र दीर्घकालीन हितैषी बन्नका लागि संयुक्त अधिराज्य प्रतिबद्ध छ । तपाईंहरूको देशबाट बिदा हुँदै गर्दा मलाई सबैभन्दा ठूलो आशा प्रदान गर्ने नै बालिका तथा महिलाहरू हुनुहुन्छ । सामाजिक अपेक्षालाई चुनौती दिँदै आफ्नो शिक्षा पूरा गर्न लागिपरेका बालिका तथा किशोरी । सेवामा सुधार ल्याउनका लागि अहोरात्र खटिरहने स्वास्थ्यकर्मी ।

हिंसापीडितलाई साथ र समर्थन दिइरहेका सामुदायिक अभियन्ता तथा महिला प्रहरी । लैङ्गिक रूढिवादलाई चुनौती दिन र निर्णय प्रक्रियामा महिलाको आवाज सुनिएको सुनिश्चित गर्न आफ्नो नयाँ भूमिका प्रयोग गरिरहेका महिला राजनीतिकर्मीहरू । उनीहरूको व्यक्तिगत योगदान लाखौं मानिसका लागि एउटा उदाहरण बन्नेछ र परिवर्तनको लहरलाई अझ टेवा दिनेछ, जसले संविधानमा परिकल्पना गरिएका प्रतिबद्धता हासिल गर्न नेपाललाई मद्दत गर्नेछ ।

लेखक बेलायतकीअन्तर्राष्ट्रिय विकासमन्त्री हुन् ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पहिले रुचिको टुंगो अनि विषय 

मेदिनबहादुर लामिछाने

झन्डै चार लाख छयासी हजार विद्यार्थी एसईई नतिजाको पर्खाइमा छन् । केही सातामा नतिजा सार्वजनिक भएसँगै उनीहरू विभिन्न विद्यालयको खोजीमा निस्कनेछन् । अझै पनि हाम्रो समाजमा एसईईपछि के पढ्ने भन्ने निर्क्योल विद्यार्थीको रुचि र क्षमतामा भन्दा बढी विद्यार्थीको ग्रेडले निर्देशित गरेको हुन्छ ।

एसईईमा ए वा ए प्लस ग्रेड आए विज्ञान पढ्नैपर्ने, बी वा बी प्लस ग्रेड आए व्यवस्थापन, सी वा सी प्लस आए मानविकी पढ्न पठाइदिने र डी प्लस आए शिक्षा विषय पढ्न लगाउने । हाम्रो समाज र यसका अगुवाहरूले दिने सुझाव यस्तै हुन्छन् ।

अभिभावकहरूले पनि यस्तै अपेक्षा गरेका हुन्छन् । कक्षा एघारको भर्नाको आधार हेर्दा पनि सरकारको नीति यस्तै देखिन्छ ।
एसईईपछि पढ्ने विषय र संकायको छनोट गर्दा ग्रेडलाई आधार त मान्नुपर्छ, त्यसैको मात्रै भर परियो र विद्यार्थीको रुचि र क्षमतालाई उपेक्षा गरियो भने चाहिँ भविष्य मुस्किलमा पर्न सक्छ ।

आफूलाई रुचि नभएको विषय पढ्दा, पढेको विषयमा कमजोर हुँदा र इच्छा नभएकोविषय पढ्नुपर्दा विद्यार्थीमा विचलन आउन सक्छ । त्यसैले अभिभावक र शिक्षकहरूले भविष्यमा कुन विषय र संकाय पढ्ने भनी परामर्श दिनुअघि विद्यार्थीको रुचि, क्षमता र बौद्धिक स्तरबारे बुझ्नुपर्छ ।

यदि विद्यार्थीको बोल्ने र लेख्ने शैली उच्च स्तरको छ, शब्द चयनमा राम्रो छ, नयाँनयाँ शब्द प्रयोग गर्न मन पराउँछ, पढ्न र लेखरचना सम्पादन गर्न अग्रसर हुन्छ, कसैले बोलेका बोलीहरूमा प्रतिक्रिया देखाउँछ, पढेका विषयवस्तुबारे छलफल गर्न अघि सर्छ भने ऊ भविष्यमा सफल प्रतिलिपि लेखक, न्यायाधीश, अनुवादक, लेखक, इतिहासकार, वकिल, कवि, वक्ता, अनुवादक, प्रशिक्षक बन्न सक्छ । शब्दसँग खेल्न सक्नेका लागि मानविकी, कला र शिक्षाशास्त्र संकाय उपयुक्त हुन्छ ।

समस्याको विश्लेषण गर्न सक्ने, ढाँचा पत्ता लगाउन सक्ने, कुनै घटनाको कारण र सम्बन्ध बुझ्न सक्ने विद्यार्थी तार्किक हुन्छ, गणितीय बुद्धिको हुन्छ । कामकुरो तर्कसङ्गत गर्ने, उद्देश्यकेन्द्रित काम गर्ने, रणनीतिक खेलमा दक्षता भएको, अंकलाई राम्रोसँग खेलाउन सक्ने, जटिल डाटासहजै बुझ्ने विद्यार्थी भविष्यमा गणित शिक्षक, वैज्ञानिक, व्यापारी, बैंकर, शोधकर्ता, सैन्य अधिकारी, चिकित्सक, इन्जिनियर, कम्प्युटर प्रोग्रामर, चार्टर्ड एकाउन्टेन्ट बन्न सक्छ । यस्तो विद्यार्थीलाई गणित, विज्ञान वा कम्प्युटर विज्ञान विषय पढ्न अभिप्रेरित गर्नुपर्छ ।

कुनै विद्यार्थीमा ठाउँ, दूरी र मापनबारे उच्च तहको दक्षता हुन्छ । उसको ध्यान शब्द र अंकमा भन्दा बढी रंग र आकारमा जान्छ । ऊ अत्यधिक कल्पनाशील हुन्छ, चित्र कोर्न र रङ भर्न खुबै मन गर्छ । चित्र नभएका किताब उसको रोजाइमा पर्दैनन् । यस्तो विद्यार्थी भविष्यमा नक्सा बनाउने, कला निर्देशक, चित्रकार, फेसन डिजाइनर, ग्राफिक डिजाइनर, फोटोग्राफर, सर्वेयर, मूर्तिकार, चित्रकार बन्न सक्छ । त्यसैले यस्तो विद्यार्थीलाई ठाउँ, दूरी र मापन प्रशस्त प्रयोग गरिने विषय पढाउनु उपयुक्त हुन्छ ।

कुनै विद्यार्थीमा शब्द, अंक र स्थानको भन्दा चालको दक्षता बढी हुन्छ । उसलाई कुनै शब्द, अंक र रङले भन्दा आफ्नो शरीरको चालले उत्तेजित बनाउँछ । यस्तो विद्यार्थीका आँखा र शरीरबीचको समन्वय गज्जबको हुन्छ । हातले गर्ने काममा उसले उच्च कोटिको दक्षता हासिल गरेको हुन्छ ।

ऊ कुनै पनि सीप अभ्यास नगरी सुनेको वा हेरेको भरमा सिक्न सक्दैन । खेलकुद खुब मन पराउँछ । कक्षाकोठाबाहिर बसेर सिक्न रुचि राख्छ । असाध्यै ऊर्जाशील हुन्छ । यस्तो विद्यार्थी मानवशास्त्री, जीव वैज्ञानिक, नर्तक, भूवैज्ञानिक, फिजियोथेरापिस्ट, खेल प्रशिक्षक बन्न सक्छ । यस्तो विद्यार्थीलाई अवलोकन र अध्ययन भ्रमण आवश्यक पर्ने विषय पढाउनु अत्युत्तम हुन्छ ।

ताल, आवाज र लयप्रति लगाव हुने, सचेत हुने, हिँड्दा वा काम गर्दा जहिल्यै गुनगुनाइरहने विद्यार्थी गायक, संगीतकार, ध्वनि इन्जिनियर, डीजे बन्न सक्छ । लय र आवाजप्रति अत्यधिक चासो हुने विद्यार्थीलाई ताल, आवाज र लय आवश्यक पर्ने विषय पढाउनुपर्छ ।

कुनै विद्यार्थीमा मानिस चिन्ने कौशल गज्जबको हुन्छ । उसले जस्तै जटिल परिस्थितिमा पनि अरूसँग सम्बन्ध स्थापित गर्न सक्छ । उसले अपरिचित व्यक्तिको सञ्चार र व्यवहार सहजै बुझ्न सक्छ, सामाजिकीकरण उच्च कोटिको हुन्छ, अरूको भावना सजिलै बुझ्छ । छलफल, वार्तालाप र अन्तरक्रिया भएन भने उसलाई खल्लो महसुस हुन्छ, एक्लै कुनै काम गर्न सक्दैन, नयाँ मान्छे भेट्न र नयाँ साथी बनाउन जहिल्यै उत्सुक हुन्छ । यस्तो विद्यार्थी भविष्यमा राम्रो सल्लाहकार, राजनीतिज्ञ, सामाजिक कार्यकर्ता, प्रबन्धक, पर्यवेक्षक, प्राध्यापक, निर्देशक, शिक्षक, मध्यस्थकर्ता, प्रशिक्षक र मनोवैज्ञानिक वन्न सक्छ । उसलाई पनि रुचि अनुसारकै विषय पढाउनु उपयोगी हुन सक्छ ।कुनै विद्यार्थी अन्तर्मुखी स्वभावको हुन्छ ।

आफ्नो भावना, प्रेरणा र लक्ष्यप्रति चिन्तित हुन्छ । विषय र परिस्थितिको विश्लेषण आफै गर्छ र निष्कर्ष निकाल्छ । यस्तो विद्यार्थीको रुचिको विषय धर्मशास्त्र, दर्शनशास्त्र र मनोविज्ञान हुन्छ । यस्तो विद्यार्थीले स्वरोजगारमा रुचि राख्छ । एक्लै काम गर्दा आनन्दानुभूति गर्छ । यस्तो विद्यार्थी भविष्यमा वैज्ञानिक, दर्शनशास्त्री, आविष्कारक, उद्यमी र कृषि वैज्ञानिक बन्न सक्छ । यस्तो प्रकृति भएको विद्यार्थीलाई माथि उल्लिखित पेसा–व्यवसायलाई आवश्यक पर्ने सीप र अवधारणा दिने विषय पढ्न लगाउनु पर्छ ।

कुनै विद्यार्थी प्रकृतिप्रति अति नै संवेदनशील हुन्छ । हरेक कुरामा प्रकृतिसँगको सम्बन्ध खोज्छ । जुन काम र विषय प्रकृतिसँग मेल खाँदैन, त्यसमा चाख राख्दैन । बिरुवा रोप्न र हुर्काउन अति चाख राख्छ । हिँडडुल गर्न, क्याम्पिङ गर्न, हाइकिङ गर्न रमाइलो मान्छ । पानी/वायु प्रदूषणबारे असाध्यै चिन्तित हुन्छ । घरबाहिरको क्रियाकलापमा असाध्यै रुचि हुन्छ । यस्तो स्वभावको विद्यार्थी भविष्यमा राम्रो पशु चिकित्सक, वागवानी विशेषज्ञ, रेन्जर, भूवैज्ञानिक बन्न सक्छ । यस्ता विशेषता भएको विद्यार्थीलाई मिल्ने माथिको कुनै पनि संकायमा पढाइयो भने ऊ सफल हुँदै जान्छ ।

विज्ञान संकाय पढेका विद्यार्थीहरूले व्यवस्थापनमा राम्रो काम गरेका र साहित्यमा पनि उल्लेखनीय योगदान दिएका उदाहरणसमेत प्रशस्तै पाइन्छन् । वाणिज्यशास्त्र अध्ययन गरेकाहरूले साहित्य र प्रविधिका क्षेत्रमा उल्लेखनीय काम गरेका छन् । शिक्षाशास्त्र पढेकाहरूले साहित्य र प्रविधिका क्षेत्रमा उल्लेखनीय काम गरेका उदाहरण हाम्रा समाजमा प्रशस्तै छन् ।

जसले जे पढ्यो त्यही विषयमा उल्लेखनीय काम गरेको भने विरलै देख्न पाइन्छ । नत्र हाम्रा विज्ञान प्रयोगशालाबाट प्रशस्त वैज्ञानिक उत्पादन हुनुपर्ने हो, हाम्रो कला र भाषाको कक्षाबाट प्रशस्त साहित्यकार निस्किनुपर्ने हो । त्यस्तै, शिक्षाशास्त्र संकाय पढेका विद्यार्थी योग्य शिक्षक बन्नुपर्ने हो । तर, त्यवहारमा त्यसो भइरहेको छैन । कारण विविध हुन सक्छन् । मूल कारण चाहिँ हो— स्कुलपछि पढाइ विद्यार्थीविशेषको रुचि, क्षमता र बौद्धिक स्तरसँग मेल खाने नहुनु ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT