गेरुवा गुफामा लोकतन्त्र

उज्ज्वल प्रसाईं

पाँच वर्षअघिको घटना हो । पृष्ठभूमिमा पाँच राता अर्धकदका सालिक पक्की खाँबामा अविचल बसेका छन्— स्टालिन, लेनिन, माओ, लिन पियायो र चारु मजुमदार । बलिया खाँबाको आडमा तीन जना ख्याउटे शरीरका रैथाने उभिएर गफिँदै छन् । हातमा नाम्लो देखिन्छ, ती सम्भवतः मजदुर हुन् ।

गेरुवा गुफामा लोकतन्त्र

पश्चिम बंगालको नक्सलबारी बजारबाट काँकरभिट्टा फर्कने क्रममा हामी ती अविचल मूर्ति र चलायमान मानिसछेउ अडिन्छौँ । अर्धकदका मूर्तितर्फ देखाउँदै तिनलाई सोध्छौँ, ‘यी मूर्ति कसका हुन् ?’ एक जना जवाफिन्छन्, ‘इन्डियासँग लड्न आएको ब्रिटिसलाई हराउने मान्छेका होलान् ।’


केन्द्रीय सत्तामा नरेन्द्र दामोदर दास मोदी र पश्चिम बंगालमा ममता बनर्जीको ‘राज’ स्थापित हुँदै गरेको समय थियो ।


त्यो समयलाई अर्को नाम पनि दिन सकिन्छ । नक्सलबारीले नक्सलवाद बिर्सिएको समय, मजदुरले माओ र चारु भुलेको समय । कम्युनिस्ट नामको राजनीतिक दल जीवन्त मजदुर र किसानबाट कटेर अर्धकदका लाल मूर्तिहरूमा जड बनेको समय ।

कम्युनिस्टलाई कुनै बेला क्रान्तिको अतिशय रोमाञ्चकता र कुनै बेला त्रान्ति–संकथनका अकर्मण्य विलासितामा रमाउने उपक्रमले गाँजेको थियो । सत्ता–उन्मादका सिंगुर र नन्दीग्राम जस्ता कथानक छँदै छन् । समग्रमा, अस्तित्व निमिट्यान्न नभए पनि वामपन्थी राजनीतिको धुकधुकी धिमा हुँदै गएको समय थियो त्यो । पाँच वर्षमा कहिले सुस्तरी र कहिले वेगले बगेको बालासन नदीले त्यही धुकधुकीमा निरन्तर प्रहार गरिरह्यो । अहिले भने नक्सलवाद, भाकपा (मार्क्सवाद) र तृणमूल कांग्रेसका समेत केही अंश बगेर भाजपाको गेरुवा गुफामा थिग्रिए ।


भर्खरै सम्पन्न भारतीय लोकसभा निर्वाचनमा मोदीका नाममा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को हिन्दुवादी राष्ट्रवाद विजित ठहरिएको छ । जसले राष्ट्रवाद, बहुसंख्यकवाद र हिन्दुवादका बलिया संकथन निर्माण गर्न र प्रसार गर्न सक्यो, निर्वाचनमा त्यसैले बाजी मार्‍यो  । मुलुकभर प्रभाव पार्न सक्ने सञ्चार माध्यममा सबैभन्दा बलियो पकड भाजपाको थियो । आरएसएसका असंख्य शाखाहरू सधैँ जनतामाझ रहे, तिनका दैनन्दिन जीवनमा प्रभाव पारिरहे । साथै जनतालाई हिन्दुवादी संकथन सधैँ सम्झाइरहे ।

आरएसएसले सञ्चालन गरेका उत्तिकै प्रभावकारी सञ्चारकेन्द्र सरस्वती शिशु मन्दिरजस्ता विद्यालय लगायतले पनि एकोहोरो मोदीलाई नयाँ युगका देवताका रूपमा स्थापित गरिरहे, भाजपा सबैभन्दा मौलिक भारतीय दल भएको विश्वास दिलाइरहे । यसका साथै गौरक्षा एवं हिन्दु स्वच्छताका नाममा चलाइएको भयको शासनले धर्मभीरु बहुसंख्यक मानिसको मस्तिष्क कब्जा गर्न सफल रह्यो ।

संवैधानिक लोकतन्त्रले परिकल्पना गरेको जनताको दैनन्दिन जीवनसँग सोझै सरोकार राख्ने रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, निर्बाध बोल्न र लेख्न पाउने अधिकार लगायत कुनै पनि विषय निर्वाचनको विमर्श बनेनन् । भाजपाको पछिल्लो कार्यकाल यस्ता पेचिला विषयमा असफल भएको तथ्यांकले स्पष्ट देखाउँछ । संविधानको मर्मविपरीत मोदी–सत्ता हदै अलोकतान्त्रिक भएको पनि उत्तिकै सत्य हो ।

गोविन्द पन्सारे, एमएम कलबुर्गी र गौरी लंकेशजस्ता विद्वान्को हत्या मोदी–सत्ताले वरण गरेको असहिष्णु राष्ट्रवादको परिणाम हो । निखिल वाग्ले र राना अयुबजस्ता पत्रकारले बेहोरेका कहर लोकतान्त्रिक व्यवस्थामा अस्वीकृत हुनुपर्ने हो । आनन्द तेलतुम्बडे र कान्चा इलैयाले भोगेका सकस र उनीहरूका अभिव्यक्ति स्वतन्त्रतामाथि बोलिएका धावा मोदी असफलताका दसी हुन् । असफलताका यी विदारक कथा बिकाउ संकथन बन्न सकेनन् ।

आधारभूत आवश्यकता समेतबाट वञ्चित भारतको बहुसंख्याले यस्ता विषयमा सोच्न र विमर्श गर्न तथा यी विषयलाई राजनीतिको मियो बनाउन जरुरी ठानेन । बरु तिनलाई भाजपाको गेरुवा तमासाले वशीभूत गर्‍यो । लोकतन्त्रलाई मजबुत बनाउने, आर्थिक विकास गर्ने र प्रगतिका प्रतिफलको उचित वितरण गर्ने नारा नउरालिएका होइनन्, तर तिनलाई सामान्य नागरिकले सुन्न, बुझ्न र आत्मसात् गर्न सकेनन् ।

जसले यस्ता नारा लगाए, तिनलाई खासै विश्वास गर्न पनि सकेनन् । उस्तै नारा लिएर आउने रंगीबिरंगी दल देखेर पनि उनीहरू अलमलिएका हुन सक्छन् । उही संकथन बजाउँदै आउनेहरूले आपसमा सहकार्य गर्न नसक्नुले पनि विभ्रमहरू सिर्जना गरेका हुन सक्छन् । यी अलमलका बीच पाकिस्तान विरोध, मुस्लिम विद्वेष, हिन्दुत्व रक्षाका नारा हदै सफल बने ।

निर्वाचनविज्ञका रूपमा परिचित राजनीतिशास्त्री योगेन्द्र यादवले भारतीय लोकसभा निर्वाचनलाई ‘चुनाव–हरण’ प्रक्रिया भनेका छन् । अर्थात्, २०१९ को चुनावी नामको तमासामा जनताले आफ्नो जीवनसँग सरोकार राख्ने सवालमा सोचेर सही नेतृत्व चुन्ने अवसर पाएनन् । बरु त्यो प्रक्रियाको बलात् हरण गरिएको उनको विश्लेषण छ । सञ्चारका सबै प्रभावकारी माध्यममा राज्यसत्ता र स्रोतको आडमा कब्जा जमाउनु, निर्वाचन आयोगजस्ता संवैधानिक संस्थालाई आफूअनुकूल प्रयोग गर्न सक्नु, फरक मत राख्नेलाई हदैसम्म बदनाम र अवैध ठहर्‍याउन सफल हुनु निर्वाचन प्रक्रियाबाट लोकतन्त्रको प्राण हराउनु हो ।

अब प्रश्न उठ्छ, भाजपाको संकथन निर्माण र प्रसार गर्ने क्षमता मात्रैले उसको यो विजय निश्चित भएको हो ? सत्यको यो एउटा पाटो मात्रै हो । भाजपाइतर दलले जनतासँग संवाद र सम्पर्क स्थापित गर्न नसक्नु यो सत्यको अर्को उत्तिकै महत्त्वपूर्ण पाटो हो । माथि चर्चा गरिएका मजदुरसँग कांग्रेस वा वामपन्थी दलको संवाद टुटेपछि उनीहरू भाजपाका मतदाता हुनु स्वाभाविक हो ।

कारण, भाजपाले जनताले बुझ्ने भाषामा बोल्छ, तिनका धार्मिक र आध्यात्मिक तुष्टि पूरा गरिदिन्छ, साथै तिनका भावुकता र उत्तेजनामा उसले आफ्ना राजनीतिक आवेग मिसाइदिन सक्छ । जनताको त्यो तहले कस्तो भाषा बुझ्छ, तिनका कस्ता मुद्दामा दलको भरोसा स्थापित गर्न आवश्यक छ र तिनलाई लोकतन्त्रको मर्म बुझाउन कस्तो सांगठनिक काम जरुरी छ भन्ने ठहर्‍याउन नसक्नु प्रतिपक्षको कमजोरी हो । उचित सिद्धान्तबाट आफू दीक्षित छु र सत्यको ठेक्का आफूसँग मात्र छ भनेर घमन्ड गर्ने तर सत्यका असली पहरेदारसँग संवाद स्थापित गर्न नसक्ने हो भने भोग्नुपर्ने परिणाम गेरुवा गुफा नै हो ।

प्रमुख प्रतिपक्ष भारतीय कांग्रेसको नेतृत्व संकट पेचिलो विषय बन्यो । नेतृत्वको बागडोर गान्धीइतर व्यक्तित्वमा नपुग्नु एउटा समस्या हो भने सैद्धान्तिक अस्पष्टता र सो अस्पष्टताको दुष्प्रभावमा देखिएको सांगठनिक अकर्मण्यता पनि उत्तिकै दोषी छ । कांग्रेसले भाजपासँग सैद्धान्तिक असहमति राख्ने अन्य घटकलाई दक्षिणपन्थविरोधी मोर्चामा गोलबद्ध गर्ने क्षमता नराख्नुको परिणतिस्वरूप आरएसएस विजयी भएको हो । साथै मनमोहन सिंह नेतृत्वका अघिल्ला दुई सरकारले गरेका अनेक नकामबारे पार्टीभित्र निर्मम समीक्षा हुन सकेको छैन । आर्थिक विकासका संकथनमा भाजपाभन्दा फरक र प्रभावकारी बन्न नसक्नुले पनि राहुल गान्धी उचित विकल्प नठहरिएका हुन् ।

भारतीय साम्यवादीका दुःखबारे राजनीतिशास्त्री अजय गुडवर्थीले राम्रो विश्लेषण गरेका छन् । उनी भन्छन्, ‘कम्युनिस्ट पार्टीका नेतृत्वले भारतलाई दुई भागमा विभाजित गरेका छन्— एकातिर शुद्ध साम्यवादी ब्राह्मण र अर्कातिर प्रतिक्रियावादी बहुजन ।’ आर्थिक समताका साथै सामाजिक र सांस्कृतिक आन्दोलनसँग आफूलाई जोड्न नसक्नुले कम्युनिस्ट पार्टीहरू कोरा सिद्धान्तका ससाना आइभोरी टावरमा परिणत भए ।

त्यसैले ती मजदुरसँग छैनन्, महिलासँग छैनन्, किसान र दलितसँग पनि छैनन्, बरु जडवत् मूर्तिहरूसँग मात्र छन् । एक थरी सत्ताको स्वाद चाखेकाहरू छन्, जो आफ्ना लागि सत्ताको सानो भाग जुराउनेभन्दा बढी केही सोच्दैनन् । त्यति पनि नजुर्ने देखेपछि तिनले ममता हराउ अभियान थाले र अन्ततः भाजपालाई मत माग्दै हिँडे । अर्का थरी छन्, जसलाई स्टालिन छोडेर एन्टोनियो ग्राम्स्कीसम्मको चर्चा गर्नु पनि अशुद्ध हुनु हो भन्ने ठूलो भय छ ।

भारतमा मोदीको दोस्रो विजयले नेपाली राजनीतिलाई गलत ढंगले दीक्षित गर्ने सम्भावना छ । अर्थात्, राष्ट्रवादी प्रोपागान्डाको निर्माण, त्यसको प्रभावकारी प्रसार, त्यसका लागि सञ्चार माध्यममा पकड वा अंकुश र राज्यशक्तिको आडमा सबै संस्थामा दलीय कब्जा गर्ने रणनीति निर्वाचन जित्ने सबैभन्दा प्रभावकारी रणनीति हो । यस्तो दीक्षा हाम्रो शिशु गणतन्त्रका लागि घातक हुनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?