राजा वीरेन्द्रको रातो किताब

टीका धमला

काठमाडौँ — राजा वीरेन्द्रका पालामा राष्ट्रिय मूल नीति, २०४२ को एउटा रातो किताब निकालिएको थियो । जतिसुकै सरकार परिवर्तन भए पनि त्यसै मूल नीतिलाई आधार मानेर नेपाललाई सन् २००० सम्म एसियाली मापदण्डमा पुर्‍याउने उद्देश्य लिइएको थियो । परराष्ट्र नीतिको लक्ष्य प्राप्त गर्न त्यसमा बुँदाहरू उल्लेख थिए, जसमध्ये एउटामा भनिएको थियो— ‘हामीसँग सम्बन्धित सबै अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा, सैद्धान्तिक दृढतासाथ आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने’ । 

उहाँका सन्देशहरूमा पनि यही नीति पाइन्छ । अहिलेको जस्तो परराष्ट्र नीतिमा दलपिच्छे विचार राजा वीरेन्द्रको शासनकालमा कहिल्यै देखिएन । भारतबाट महाभूकम्पपछि लगाइएको नाकाबन्दीलाई ठूला दलका शीर्षस्थ नेताबाट नाकाबन्दी हो भनेको आजसम्म सुन्न पाइएको छैन । केही पहिला भेनेजुएलाका विषयमा पनि त्यस्तै प्रवृत्तिदेखियो । सबै दल र नेतृत्वकोएकै आवाज सुन्न पाइएन ।

राष्ट्रियताको सवालमा छिमेकी देशलगायत बाह्य जगत्का नेताहरूको राजा वीरेन्द्रप्रति विश्वास र सद्भाव दरिलो थियो । उहाँपछि सबैलाई मान्य हुने नेतृत्व स्थापित भएन । बहुचर्चित १२ बुँदे सम्झौतापछि त हाम्रो मुलुकको नेतृत्व हामी आफैंले गरिरहेका छौं कि अन्त कसैबाट प्रेरित भइरहेको छ भन्ने शंकाका छिद्र देखा परिरहेका छन् ।

राजा वीरेन्द्रमाथि विशेष केही गर्न नसक्ने, आफ्नो छाता आफैं ओढ्न नसक्ने, कांग्रेसविरुद्ध कम्युनिस्टहरूलाई पालनपोषण गर्ने भन्ने जस्ता गम्भीर आरोप लगाइएको थियो । त्यसबाट उहाँ भने विचलित भएको मैले पाइनँ । व्यक्तित्व शालीन हुनाको कारण सबै नेपालीका लागि उहाँ छहारीका रूपमा प्रस्तुत हुन सक्नुभएको जस्तो मलाई लाग्छ । अब के हामीसँग सबै अटाउन सक्ने कुनै त्यस्तो चौतारी छ ?

राजा वीरेन्द्रले क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा आफ्नो भद्र पहिचान बनाउनुभएको थियो । सार्क स्थापनाका लागि उहाँले खेलेको भूमिका र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँबाट व्यक्त भएका सन्देशमा पनि त्यो प्रकट भएको पाइन्छ । कुनै पनि सार्वभौम राष्ट्र सानो वा ठूलो हुँदैमा, धनी वा गरिब हुँदैमा, विभेद हुनु हुँदैन, आआफ्नै शैलीमा स्वतन्त्र रूपमा बाँच्न पाउनुपर्छ भन्ने अडानमा उहाँ अडिग हुनुहुन्थ्यो । त्यही कारण पनि छिमेकी राष्ट्रका नेतृत्वहरूसँग कहिलेकाहीं मनमुटाव हुने गर्थ्यो । सन् १९७३ मा नेपालमा राजदूत भएर आएका इन्दिरा गान्धीका नजिकका महाराजाकृष्ण रसगोत्राको ‘अ लाइफ इन डिप्लोमेसी’ शीर्षक पुस्तकमा पनि त्यस्तै संकेत छन् ।

उक्त पुस्तकका अनुसार इन्दिरा गान्धी राजा वीरेन्द्रलाई मन पराउन्नथिन् । कारण राजा वीरेन्द्रले नेपाललाई एउटा स्वतन्त्र राज्यको रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा उभ्याउनुभएको थियो । रसगोत्राको कार्यकालताका नै सिक्किम भारतमा विलय भएको थियो । त्यसको विरोध नेपालमा हुँदा इन्दिरा गान्धीले राजा वीरेन्द्रलाई दोष लगाएकी थिइन् ।

रसगोत्राले राजा वीरेन्द्रलाई ‘हामीसँग राम्रो सम्बन्ध राखेमा अरू कसैसँग चिन्ता लिनुपर्दैन’ भन्ने गरेका रहेछन् । चीनसँग मिलेर नेपालको विकास भएको हेरौंला नि भन्ने जस्ता व्यंग्यात्मकशैली पनि त्यस किताबमा देखिन्छ । राजा वीरेन्द्र जहिले पनि अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरूप कुनै पनि सार्वभौम राष्ट्र कसैको दबाब र कोपभाजनमा पर्नु हुन्न भन्ने दह्रो दृिष्टकोणसहित प्रस्तुत हुने गर्नुहुन्थ्यो । नेपाल र भारतबीच जेजस्ता उतारचढाव भए पनि राजा वीरेन्द्र भारतीयहरूको दृष्टिकोणमा सम्मानित नै रहनुभयो ।

नेपालको राजनीतिक परिवेशमा राजा वीरेन्द्रले आफू हारेर पनि नेपाल र नेपालीलाई जिताउनुभएको दृष्टान्त २०४६ को परिवर्तनले देखाइसकेको छ । उहाँले अनौपचारिक रूपमा आएको भारतीय प्रस्ताव अस्वीकार गर्दै आफ्नै देशभित्रका दलहरूसँग छलफल गर्छु भनेर मान राख्नुभयो । त्यही भएर त त्यति बेला नेपालको साँचो अन्त कसैको हातमा पुगेको रहेछ भन्ने जस्ता निरीह अभिव्यक्ति हामी कसैले सुन्नुपरेन । हाम्रो शिर झुक्नुपरेन ।

कुनै एक सन्दर्भमा प्रसिद्ध चिनियाँ इतिहासकार फाहयानले लेखेका छन् ‘जुन देशका प्रधानमन्त्री कुनै साधारण झुपडीमा बस्छन्, त्यो देशका जनता ठूलठूला महलमा बस्छन् । जुन देशका प्रधानमन्त्री महलमा बस्छन्, त्यो देशका आम जनता झुपडीमा रहन्छन् ।’ सोहीअनुरूप राजा वीरेन्द्र गरिब देशको धनी राजा भएर बस्नुको औचित्य हुँदैन भन्ने गर्नुहुन्थ्यो । उहाँबाट सधैंभरि यस्तै व्यवहार भएको पाइन्छ । २०६२/६३ को राजनीतिक परिवर्तनपछि सर्वसाधारणलाई खुला गरिएको राजदरबारभित्रको उहाँको वासस्थानबारे सर्वसाधारणले सामाजिक सञ्जालमा गरेका टिप्पणीहरूमा पनि यसको छनक पाइन्छ ।

राजा वीरेन्द्रलाई नजिकबाट चिन्नेहरू उहाँको साधारण जीवनशैली, मितव्ययिता, नेपाल र नेपालीप्रतिको समर्पणबाट प्रभावित छन् । म त्यस्तै एक हुँ । उहाँकै कारण राष्ट्रिय संस्थाहरू खलबलिन नपरेको मैले ठानेकोछु । संविधानअनुरूप व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहितका संस्था राजनीतिक स्वार्थको खेलौना बन्न पुगेका बेला हामी राजा वीरेन्द्रको आचार सम्झिन्छौँ । उहाँको आचारविचार चिरकालसम्म सम्झनायोग्य छ । उहाँको आचरणपनि त्यस्तै थियो किनभने उहाँको सोचप्रस्ट थियो । राष्ट्रिय मूल नीतिबारेको रातो किताब त्यसकै एउटा उदाहरण थियो ।

राजा वीरेन्द्रका अंगरक्षक रहेका लेखक नेपाली सेनाका अवकाशप्राप्त उपरथी हुन् ।
tikadhamala@hotmail.com

प्रकाशित : जेष्ठ १९, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सबैका मनमनका राजा

सन्दर्भ : दरबार हत्याकाण्ड
टीका धमला

काठमाडौँ — ऋतु अनुसार नेपालमा जेठलाई सबैभन्दा उराठदाग्दो महिनाको रूपमा लिइन्छ । त्यसमा पनि २०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा एक अकल्पनीय घटनामा राजा वीरेन्द्रको देहावसान भएपछि त नेपालको इतिहासमा यो महिनालाई अशुभ महिना हो कि भन्न पनि लाग्छ ।

वीरेन्द्रको शालिनता र राष्ट्रप्रतिको त्याग र तपस्याले गर्दा सबै नेपालीको मनमनमा उहाँको अमिट छाप परेको कसैले नकार्न सक्दैन । देशभित्र मात्र नभई बाह्य जगतमा पनि उहाँको प्रशंसा भएको प्रशस्तै सुन्न र पढ्न पाइन्छ । विदुर नीतिमा भनिए अनुसार ‘एउटा व्यक्तिको आचरणले कुल कस्तो हो भन्ने बुझिन्छ, नेताको भाषणले देश कस्तो छ भन्ने बुझिन्छ’ भनेजस्तै उहाँको सबै आचरण, भाषण तथा सन्देश नेपाल र नेपालीको शिर कहिल्यै झुक्न नदिने खालको अभिव्यञ्जना थियो । उदाहरणका लागि पेरिस सम्मेलनमा अति कम विकसित राष्ट्रहरूको प्रतिनिधिको रूपमा व्यक्त भएको सन्देश, अमेरिकाको राजकीय भ्रमणमा ह्वाइट हाउसमा गरिएको सम्बोधन लगायत कैयौं उदाहरण लिन सकिन्छ ।

राजा वीरेन्द्रको राज्यारोहणका सुरुका दिनहरूबाट नै नेपालको राजनीतिले जटिल रूप लिएको थियो । क्षेत्रीय राजनीतिमा सन् १९७१ मा बंगलादेशको जन्म र १९७२ मा तत्कालीन अमेरिकाका राष्ट्रपति निक्सनको चीन भ्रमणबाट दक्षिण–पूर्वी एसियाको राजनीतिले एउटा नयाँ मोड लियो । फलस्वरूप चीन–भारतबीच रहेको नेपालको सामरिक महत्त्व विशेषगरी पश्चिमा शक्तिहरूका लागि बढ्दै गयो । यसले गर्दा राजा वीरेन्द्रलाई राज्य सञ्चालनमा सुरुका दिनहरूबाट नै छिमेकी र बाह्य शक्तिकेन्द्रहरूसँंग सन्तुलित रूपमा बढ्नुपर्ने चुनौती नै बन्यो । आन्तरिक रूपमा पञ्चायती व्यवस्थाका हस्ती मानिएका सूर्यबहादुर थापा लगायत अन्य नेताहरूबाट कालो टीका लगाएर इटुम्बहाल लगायत अन्य स्थानहरूमा भाषण गरेको यो पङ्क्तिकारले पनि विद्यार्थी छँदा सुनेकै हो । तर राजा वीरेन्द्रले सुरुका दिनबाट शासनकालको अन्तिम घडीसम्म पुग्दा जस्तोसुकै समस्यालाई पनि कत्ति पनि विचलित नभई नेपालको शान, मान एवं प्रतिष्ठा राख्नुभएकै थियो । फलस्वरूप राजा वीरेन्द्रलाई नेपाललाई हार्न नदिने एक सशक्त नेतृत्वको रूपमा लिन सकिन्छ ।

छिमेकीहरूसँंगको सम्बन्धमा राजा वीरेन्द्रले आफ्नो शासनका सुरुका दिनबाट नै सशक्त रूपमा अन्य देशहरूप्रति ससम्मान व्यवहार प्रकट गर्दै नेपालको राष्ट्रिय अखण्डता तथा सार्वभौमसत्ताको संरक्षण गरेको पाइन्छ । वास्तवमा देश सानो–ठूलो होला, धनी–गरिब होला, तर अन्तर्राष्ट्रिय मूल्य र मान्यतामा कोही पनि घटी–बढी हँुदैन भन्ने मान्यता राजा वीरेन्द्रमा देखिन्थ्यो ।

सम्पन्न राज्याभिषेकमा विभिन्न राष्ट्रका राष्ट्रप्रमुखहरूलाई विशेष पाहुनाको रूपमा आतिथ्य ग्रहण गर्न निमन्त्रणा पठाइएको थियो । यसै सन्दर्भमा तत्कालीन सिक्किमका राजा चोग्याललाई पनि निमन्त्रणा थियो । तर भारत सरकारले राजा चोग्याललाई नेपाल नजानु भन्दा पनि नेपाल आएको कुरा त्यतिबेलाका केही सञ्चार माध्यमबाट जानकारी भएको थियो । चोग्याल नेपाल आएपछि कुनै एक पक्षबाट राजा वीरेन्द्रलाई अप्रत्यक्ष रूपमा एक्लै नभेट्न खबर आयो । तर त्यसलाई बेवास्ता गर्दै उनले राजा चोग्यालसँंग गोप्य वार्ता गरे । यतिमात्र नभई राजा वीरेन्द्रबाट त्यतिबेला चीन, बेलायत, अमेरिका लगायत अन्य देशबाट आएका प्रतिनिधिहरूसंँग पनि राजा चोग्यालको इच्छा बमोजिम भेट गर्न सहयोग भएको थियो । यसबाट राजा वीरेन्द्रको सबैमा निर्भयसाथ समान व्यवहार गर्ने नेतृत्व भएको पुष्टि हुन्छ ।

चोग्यालको नेपाल भ्रमणपछि भारतलाई सिक्किमको समस्या अन्तर्राष्ट्रियकरण हुन्छ कि भन्ने चिन्ता देखिन्थ्यो । यसै कारण काजी लेन्डुप दोर्जेलाई राजाको विरुद्ध प्रयोग गरी आन्तरिक द्वन्द्व सिक्किममा भएको इतिहासले पुष्टि गर्छ । त्यसैबेला लेन्डुप दोर्जे बनारसमा निर्वासित नेपाली कांग्रेसका नेता बीपी कोइरालालाई भेटी नेपालमा पनि राजसंस्था हटाउन लाग्नुस् भन्दा बीपीले यसमा असमर्थता जनाउँदै नेपालमा राजा सहितको प्रजातन्त्र स्थापना गर्नेतर्फ लागेको इतिहासमा देखिन्छ । यसै अनुरूप २०३३ सालसम्म बीपी कोइरालाले राजा वीरेन्द्रको देश सञ्चालन गर्ने शैलीको निगरानी गरेको देखिन्छ ।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको सिद्धान्त अनुरूप नेपाल आउन लागेका बीपीलाई तपाई यो अवस्थामा नेपाल नजानुहोस् । तपाईलाई देशद्रोहीको मुद्दा छ, राजा वीरेन्द्रले तपाईलाई मृत्युदण्ड दिन सक्छन् भन्दा बीपीले राजा वीरेन्द्रप्रति पूर्ण आस्था र भरोसासाथ त्यस्तो हुनै सक्दैन भनेका थिए । त्यतिमात्र हैन, बीपीले आफ्ना समर्थकहरूसँंग त्यसबेला भनेका थिए, ‘नेपालमा राजा सहितको प्रजातन्त्र स्थापना गर्ने दिशातर्फ राजा वीरेन्द्रसंँग मिलेर अघि बढ्न सकिने आधार उहाँको विगत ५ वर्षको शासन शैलीले देखाउँछ’ भनेका थिए ।

क्षेत्रीय मेलमिलाप र संयुक्त प्रयासमा क्षेत्रीय विकासको लागि सार्कको परिकल्पना राजा वीरेन्द्र लगायतबाट नै भएको थियो । भविष्यमा एसियाको भूराजनीतिमा नेपाल बाह्य शक्तिको क्रीडास्थल नबनोस् । दुबै उदीयमान छिमेकीहरूलाई आआफ्नै शैलीबाट समग्र विकास गर्ने नेपालको भूमिबाट बाधा–अड्चन नहोस् । र नेपालको समग्र विकासमा कहीं कतैबाट अवरोध नहोस् भनी नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राजा वीरेन्द्रबाट नै राखिएको थियो । अमेरिका, फ्रान्स, बेलायत, चीन लगायत ११६ राष्ट्रबाट समर्थन हुँदा पनि नेपालसंँग विशेष सम्बन्ध छ भन्ने छिमेकी देश भारतकै तत्कालीन नेतृत्वले त्यसमा समर्थन गर्न चाहेन । आन्तरिक रूपमा पनि २०४७ सालको संविधान लेखनका बेला राजा वीरेन्द्रले नेपालको शान्ति क्षेत्रको प्रस्ताव जीवितै राखौं भन्नुभएको थियो । यसमा तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सकारात्मक देखिए पनि नेपालको स्थिरता र शान्ति नचाहनेहरूबाट शान्ति क्षेत्रको प्रस्ताव जीवित राख्न दिइएन ।

अहिलेको अवस्थामा नेपालको भूराजनीतिक महत्त्व दुवै छिमेकी देश र बाह्य शक्तिकेन्द्रहरूको नजरमा पनि दिनानुदिन बढ्दै गएको देखिन्छ । नेपाल गणितीय रूपमा संघीयतामा गइसकेको अवस्थामा मेचीदेखि महाकाली र तराईदेखि हिमालसम्म एकै सूत्रमा बाँधिएर शान्ति र विकास होला कि नहोला भन्ने शंका गर्ने प्रशस्तै ठाउँ छन् । यस अवस्थामा भोलिका दिनमा नेपालले फेरि राजा वीरेन्द्रको सपना साकार पार्न नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भनी संयुक्त राष्ट्र संघमा प्रस्ताव गर्नु नपर्ला भन्न सकिन्न ।

आजको नेपालको अवस्था हेर्दा संघीयताको नाममा एक नेपाली समुदाय अर्को समुदायसंँग मिसिनै नहुनेगरी फाटो हुने र गराउने काम भएको छ । दक्षिणको समथर भाग उत्तरको पहाडसँंग जोडिनै नहुने, गुरुङ, मगर, राई, लिम्बु, क्षत्री, बाहुन मिसिनै नहुने कस्तो संघीयता हो ? तसर्थ अबको नेतृत्वले राजा वीरेन्द्रले जस्तै उदार दिल र व्यवहारले सबैलाई समेटेर आन्तरिक राजनीतिक समस्याको समाधान गर्न सक्नुपर्छ । विदेश नीति र छिमेकीसँंगको व्यवहारमा पनि उहाँकै पाइला पछ्याउनु व्यावहारिक हुनेछ ।

धमला नेपाली सेनाका अवकाश प्राप्त उपरथी र राजा वीरेन्द्रका अङ्गरक्षक हुन् ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०७:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT