कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्दर पश्चिमले विद्रोह गर्ला ?

केशव दाहाल

हामी केही साथीले गत महिना सुदूरपश्चिमको यात्रा गर्‍यौं । वैशाख ३१ देखि जेठ १२ सम्म चलेको यात्रा मूलतः भ्रष्टाचारविरोधी अभियान सम्बद्ध थियो । यस क्रममा भएका अनेक अन्तरक्रिया, भेटघाट, कोणसभा र छलफल मेरा लागि भने पश्चिम नेपाल चियाउने आँखीझ्याल बने । हामी पूर्वका मान्छेले सुनेको पश्चिम र देखेको पश्चिमलाई म तुलनात्मक रूपमा अनुभव गर्न चाहन्थेँ ।

सुन्दर पश्चिमले विद्रोह गर्ला ?

टीकापुरबाट यात्रा सुरु गर्दैगर्दा मित्र गोपी हमालले भनेका थिए, ‘सुन्दर सुदूरपश्चिममा स्वागत छ ।’ सुदूरपश्चिम कसरी सुन्दर सुदूरपश्चिम बन्यो ? मैले सोध्दा मित्र प्रकाश भट्टले उल्टै प्रतिप्रश्न गरे, ‘हामी कसरी सुदूरपश्चिम भयौं ? सुदूरपश्चिम आफैंमा पूर्वाग्रही नाम हो । यही नामले यो क्षेत्रलाई सीमान्त, गरिब र कमजोर बनायो । यही नामले काठमाडौं यो क्षेत्रप्रति लापरबाह भयो ।


कर्मचारीहरूले यसै कारण हेपे । उद्योगी–व्यापारी पूर्वाग्रही बने । ठेकेदारहरूले हामीलाई अबुझ र गँवार ठाने । नेताहरूले यसै कारण यहाँका हामीमाथि स्वार्थको राजनीति (?) गरे । अवस्था यस्तो आयो, जब मान्छेहरू सुदूरपश्चिमको कुरा गर्थे, सबै हाम्रो नियतिमाथि हाँस्थे र दया देखाउँथे । त्यसैले लाग्यो– यो नामबाटै विभेदको सुरुवात हुन्छ, त्यसैले यसलाई फेर्नुपर्छ । त्यसैले हामीले भन्यौं– हाम्रो भूमि सुदूरपश्चिम हैन, सुन्दर पश्चिम हो ।’


कैलालीको टीकापुरबाट हामी कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ र बाजुरासम्म पुग्यौं । सुन्दर भूगोल, सरल मान्छे, अनेक स्रोतसाधनले भरिपूर्ण डाँडाकाँडा, नदीनाला, झरना, पाटन र जंगलहरू । दार्चुलाको अपी हिमाल, बझाङको सैपाल हिमाल, प्रसिद्ध खप्तडमालिका, घोडाघोडी ताल, रामारोसन ताल, उग्रतारा मन्दिर, बडिमालिका मन्दिर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र अनेक मनमोहक पर्यटकीय स्थान ।


लाग्यो– महाकाली र सेतीले सिञ्चित सुदूरपश्चिम साँच्चै सुन्दर छ, सम्पदाले भरिपूर्ण छ, सभ्यताले सजिएको छ । जब हामी डडेल्धुराबाट उँभो लाग्यौं, यत्रतत्र ओखरका बोट देखिन थाले । बाटामा काफल बेच्न बसेका मान्छे प्रशस्तै भेटिए । साथी दिनेश भण्डारीले वरपर देखिने डाँडा हेर्दै सुनाए– यी पाखापखेरा जडीबुटीका भण्डार हुन् ।


फेरि प्रश्न उही आउँथ्यो– यति धेरै स्रोतसाधन भएर पनि किन गरिब छ सुन्दर पश्चिम ? किन मान्छे निराश छन् ? किन डाँडाकाँडा उराठ छन् ? लगभग ३० लाख जनसंख्या, श्रम गर्न जमिन, उत्तरदक्षिण सम्बन्ध र अनेक सम्भावना हुँदाहुँदै किन बनेन सुन्दर पश्चिम ? अझ महत्त्वपूर्ण कुरा, यही जमिनका दुई नेता प्रभावशाली प्रधानमन्त्री भए, एक जना नेता त अझै प्रमुख प्रतिपक्षी दलका सभापति नै छन् । अनेक मन्त्री भए । अनेक नाम चलेका प्रशासक जन्मिए तर किन सुन्दर बनेन सुदूरपश्चिम ? कि त भन्नुपर्छ– यो भूमि नै श्रापित छ अथवा भन्नुपर्ने हुन्छ– जनता नै बेइमान । नभए यसको दुःखको कारण के हो ?


हामीले स्थानीय अगुवासँग यस्तै विभिन्न प्रश्न गर्‍यौं । साझा जवाफ हुन्थ्यो– काठमाडौंको पूर्वाग्रह, भ्रष्ट राजनीति र निकम्मा प्रशासन नै पश्चिमको दुःख हो । काठमाडौं कति लम्फु छ, त्यसको सानो उदाहरण सुन्न पाइयो । कुरा २०६३ तिरको रहेछ । सुदूरपश्चिमलाई कैलाली उद्योग वाणिज्य संघले ‘सुन्दर सुदूरपश्चिम’ नाम दियो, यसैको अभियान सुरु भयो ।


सुन्दर सुदूरपश्चिम चिनाउन केही फोटा प्रकाशन गर्ने योजना बन्यो । राम्रा फोटा खोज्दै अभियन्ताहरू काठमाडौंको पर्यटन बोर्ड पुगे । बोर्डले उपलब्ध गरायो रारा ताल र से फोक्सुन्डो तालका फोटा । स्वयं पर्यटन बोर्डलाई थाहा थिएन, ती ताल सुदूरपश्चिममा होइन, मध्यपश्चिममा पर्छन् । दिपायलमा भेटिएका एक अगुवाले भने, ‘स्वयं पर्यटन बोर्डलाई रारा र से फोक्सुन्डो तालको ठेगाना थाहा हुँदैन त कसरी बन्छ सुदूरपश्चिम ? सायद अझै काठमाडौंका मान्छे खप्तडलाई कर्णाली ठान्दै होलान् !’ साँफेबगरमा भेटिएका एक पूर्वजनप्रतिनिधिले सुनाए, ‘आफ्नो भूगोल, सम्पदा, मनोविज्ञान र श्रम नचिन्ने मान्छेले शासन गरेको देश हो यो । त्यसैले यो बनेन ।’


सिंहदरबारका हर्ताकर्ताको मनोविज्ञानबारे अर्को सन्दर्भ पनि त्यहीँ सुनियो । प्रसंग हो प्रजातन्त्रकालको । त्यो बेला जब विकास क्षेत्रस्तरीय गोष्ठी आयोजना हुन्थे, तब मध्यपश्चिम र सुदूरपश्चिमको संयुक्त भेला बोलाइन्थ्यो । कार्यक्रम राखिन्थ्यो नेपालगन्जमा । त्यो क्षेत्रका अगुवा गुनासिए, ‘हामीलाई कहिल्यै स्वतन्त्र अस्तित्वका रूपमा हेरिएन, सधैं दया मात्र गरियो ।’ यो प्रसंग सुनेपछि दार्चुलाका एक शिक्षकले उल्टै प्रश्न गरे, ‘राज्यकै सोचमा गरिबी भएपछि जनता कसरी धनी हुन्छन् ?’


हाम्रो विकासको गति किन सुस्त छ ? पछिल्लो आधा शताब्दीमा चीन, भारत, मलेसिया, सिंगापुर र कोरियाले गरेका उन्नतिबारे पनि पाटनमा कुराकानी भए । एक सामाजिक कार्यकर्ताले त्यहाँका दुइटा विकास आयोजनाबारे सुनाए । पहिलो, २५ वर्षअगाडि पाटन पञ्चेश्वर सडक शिलान्यास भयो तर त्यो अझै ट्र्याकमै अल्झिरहेको छ । उनको प्रश्न थियो, ‘१०/२० किमि सडक खन्न कति वर्ष लाग्छ ?’ उनले अर्को तथ्य पनि सुनाए– २०३६ तिरै पाटनमा हवाईजहाज उड्थ्यो ।


मान्छेहरू एकछिनमा नेपालगन्ज पुग्थे तर अहिले त्यो विमानस्थलमा जहाज उत्रिँदैन । उनले प्रश्न गरे, ‘किन उल्टो छ हाम्रो विकास ? हामीले बाटामा दस वर्षदेखि बन्दै गरेका अस्पताल, स्कुल भवन धेरै देख्यौं । सिटामोल नपाएर मान्छेको बिजोग छ, हाम्रा ठेकेदार एउटा स्वास्थ्यचौकी बनाउन दस वर्ष लगाउँछन् तर न नेता बोल्छन्, न त कार्यकर्ता ।’ दार्चुलाका एक युवा व्यवसायीले भने, ‘सबका सब मिलेका छन् । त्यसैले कोही बोल्दैनन् ।’


निश्चय नै, बोल्नुपर्नेहरू चुपचाप छन् र जनताको आवाज मधुरो छ । त्यसैले होला, सुदूरपश्चिम सुन्दर भएर पनि गरिमाहीन छ । परिणाम, एउटा राम्रो विश्वविद्यालय छैन । एउटा राम्रो अस्पताल छैन । उम्दा खेलमैदान छैन । राम्रो पार्क छैन । केही हजार मान्छेलाई रोजगारी दिने उद्योग छैन । उद्योग ग्राम छैन । खेत बाँझै छन् । सिंचाइ सुविधा छैन । बजारहरू अव्यवस्थित छन् । सडक साँघुरा छन् । हिलो छ । मैलो छ । मान्छे कोदो र मकै बेच्छन् अनि चाउचाउ खान्छन् । मधेसबाट बोतलमा पानी जान्छ र झरनाको कञ्चन पानी खेर गइरहेको छ । अनेक कारणले मान्छे थकित र गलित छन् ।


यस्तो अवस्थाबाट पार पाउन सुन्दर सुदूरपश्चिमका अभियन्ताले गर्नैपर्ने २१ कामको सूची बनाएका छन् । विकासका मुख्य माग समेटिएको त्यो सूची र २१ किलोकै माला बोकेर उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अनेक नेतालाई भेटे । सबैले ठूलठूला कुरा गरे, आश्वासन दिए । तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले त हौसिएर भनिदिएछन्– अबको दशक सुदूरपश्चिमको हुनेछ तर त्यसको झन्डै १५ वर्षपछि पनि न माग पूरा भयो, न त सुदूरपश्चिम फेरियो । लोकतन्त्रको लाभांश जनतामा नजानु निकै लाजमर्दो विषय हो ।


सुदूरपश्चिमका माग सरल छन् । सर्वसुलभ स्वास्थ्य सेवा, आधुनिक र उन्नत शिक्षा, सडक र पूर्वाधार, उद्योग स्थापना र रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण र पर्यटनको विकास । आजको युगमा स्कुल र अस्पताल कुनै मागै होइनन् । यी स्वाभाविक विषय हुन्, राज्यको दायित्व ।


सुदूरपश्चिमका मान्छे सम्पूर्ण सामाजिक, सांस्कृतिक तथा लैंगिक विभेदको अन्त्य, छाउपडी र देउकी प्रथाको अन्त्य, मुक्त कमैया र मुक्त हलियाको पुनःस्थापना मागिरहेका छन् । यी लोकतान्त्रिक राज्यका लागि माग्नुपर्ने विषय नै होइनन् । गाँउबस्तीमा खाद्य संकट भोगिरहेका जनताका लागि खाद्य सुरक्षाको माग गर्नु अपराध हो र ? देशमा भ्रष्टाचार रोकिने हो भने यस्ता साधारण माग पूरा गर्न पाँच वर्ष प्रशस्त समय हो तर शासकहरू मौन छन्, सभासद मौन छन् र सुदूरपश्चिम अनेक दुःखको भारी बोकेर एक्लै अक्करको बाटो हिँडिरहेको छ ।


सुदूरपश्चिमको कथा आफैंमा आशा र अपेक्षाको कथा हो । त्यो विकट भूगोलको मात्र दुःखको कथा होइन, बरु काठमाडौंको बेइमानी र अपहेलनाको कथा पनि हो । हामीले १३ दिनको यात्रामा भेटेका सबैजसोले भने, ‘जब आफ्नै राजधानी पराई हुन्छ, तब मन दुख्छ नै । जब आफैंले भोट हालेकाहरू, आफ्नै मन्त्रीहरू, आफ्नै नेताहरू पराई बन्छन्, तब मन भाँचिन्छ नै ।’


युवा भन्छन्– अब अवस्था फेरिनुपर्छ । सुदूरपश्चिमका जनताको पछिल्लो निष्कर्ष छ– अब काठमाडौं फेरिनुपर्छ अनि मात्र विकास सम्भव छ । सुदूरपश्चिम ‘सुन्दर सुदूरपश्चिम’ बन्नका लागि राजनीति फेरिनुपर्छ । यसका लागि सुदूरपश्चिमले विद्रोह गर्नुपर्छ । भ्रष्टाचारविरुद्ध विद्रोह । विकास र सुशासनका पक्षमा विद्रोह । सुसंस्कृत राजनीतिका लागि विद्रोह । यो विद्रोह आजको पुस्ताको अधिकार हो, जनताको अधिकार हो । सबैलाई थाहा छ– विद्रोहको स्वर चर्को हुन्छ । लौ, सबैले परिवर्तनका लागि चर्को बोलौं । त्यो स्वर एक दिन काठमाडौंले पक्कै सुन्ला ?


[email protected]

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?