कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मानविकी पढ्ने, तर कहाँ ?

सरिता तिवारी

एसईईको नतिजा पर्खिने विद्यार्थीमा यस पालि मेरी छोरी पनि छिन् । पहिलो सन्तान स्कुले शिक्षा पूरा गर्ने संघारमा उभिँदा भावुक त छु नै, त्योभन्दा बढी उनको आगतको शिक्षालाई लिएर चिन्तित छु । व्यक्तिको स्वभाव र रुचिमाथि बजारको मनोविज्ञान डरलाग्दो गरी हावी भइरहेको युग हो यो ।

मानविकी पढ्ने, तर कहाँ ?

एउटी आमाका रूपमा भन्नुपर्दा, मेरा लागि भविष्यमा सन्तानको पेसा कुन वा कमाइ कति होला भन्ने विषयले त्यति महत्त्व राख्दैन, जति अविभेदकारी र मानवीय संस्कृतिले निर्मित सिर्जनशील विश्व नागरिक बन्ने कुराले राख्छ । तर उदार चिन्तनको सिर्जनशील नागरिक उत्पादन गर्ने कुरामा बजारको कठोर अवरोध छ ।


अध्ययन र ज्ञान आर्जनको विषय जीवन या समाजको सापेक्षिक आवश्यकता कम र एउटा यान्त्रिक उद्यम बढी बनिरहेको अनुभवको सकस पनि छँदैछ । यतिखेर शिक्षा बजारको कारखानाभित्र पस्न तयार एउटा निम्छरो वस्तुजस्ता लाग्छन्, विद्यार्थी । त्यही पंक्तिमा छिन्, हाम्री छोरी पनि ।


हामीकहाँ अधिकांश बच्चालाई ठूलो भएपछि के बन्ने भनेर सोध्दा कि डाक्टर कि इन्जिनियर भन्ने रेडिमेड उत्तर आउँछ । हुन त यस्तो सोधाइ नै गलत हो भन्छु म । लक्ष्यको नियोजित र गह्रुङ्गो भारी बोक्नैपर्छ भन्ने कुराले बच्चालाई उन्मुक्त बाल्यकाल भोग्नबाट वञ्चित गरिदिन्छ, भविष्यबारे उसको कल्पना सीमित र साँघुरो हुन्छ । हामी सामान्यतया यसरी सोच्दैनौं र बच्चाको दिमागलाई आफ्ना निहित इच्छाको प्रयोगशाला बनाइदिन्छौं । तिनलाई सानै उमेरदेखि रटाइने शास्त्रीय तर्क हो— हामीसँग एउटा खास लक्ष्य हुनैपर्छ । हाम्रोमा त्यस्तो लक्ष्य बच्चा स्वयम्ले होइन, प्रायः अभिभावकले तय गर्छन् ।


मेरो अनुभव भने योभन्दा फरक रह्यो । हामीले सकेसम्मको उन्मुक्त र छनोटको वातावरणमा बच्चा हुर्काएका हौं । तिनलाई लक्ष्यसिद्धिका नाममा शास्त्रीय र प्रायः निर्विकल्प छनोटको बाध्यताभन्दा बाहिर राख्नुपर्छ भन्ने हाम्रो मान्यता रह्यो । बजार र हल्लाबाट होइन, बच्चाको आधारभूत रुचिबाट निर्देशित हुँदा उसले जीवनमा प्राप्त गर्ने सुख, सन्तोष र सफलताको रंग गाढा र स्थायी हुन्छ भन्ने सोचियो भने अभिभावकीय दायित्व सहजै पूरा हुन्छ होला । भविष्यमा शिक्षा आर्जनको बाटो कस्तो र कुनचाहिँ हुने भन्ने विषयमा उपलब्ध सबै विकल्पबारे घरमा हुने छलफलकै प्रतिफल हुनपर्छ । केही दिनअघि छोरीले भनिन्, ‘म मानविकीको विद्यार्थी बन्छु । साहित्य, समाजशास्त्र वा यस्तै केही पढ्छु ।’


छोरीले यसो भनेको दिनदेखि म सोचिरहेकी छु— मानविकी पढ्ने, तर कहाँ ? कुन शिक्षालयमा ?


शिक्षाको बजार

उच्चस्तरीय शिक्षा आयोगले आठदेखि बाह्र कक्षासम्मलाई माध्यमिक त भनेको छ, अभ्यास भने त्यसरी भैसकेको छैन । त्यसैले दस र एघार कक्षाबीच बजारको अधिकृत हस्तक्षेप सुरु भैहाल्छ । बजारका शिक्षा कारखानाहरू अहिले नाम–नामका साइनबोर्ड र ब्रोसर बोकेर, विभिन्न प्रलोभन र आश्वासन लिएर घरघरै पुग्छन् ।


विद्यार्थीका पाखुरा समातेर, घिसारेरै आफ्ना संस्थामा हुल्ने प्रतिस्पर्धामा निजी शिक्षण संस्थाहरूको खटाइ शरमलाग्दो स्तरमै छ । यस्तो परिस्थितिलाई नियमन गर्ने ठोस सरकारी प्रयत्न भने देखिन्न । यो माहोलमा एउटा सिर्जनशील र ऊर्जावान् नागरिक उत्पादन गर्ने विषय विचार–विलास मात्रै पो हो कि जस्तो पनि लाग्ने ।


यतिखेर बजारमा विज्ञान र व्यवस्थापन जस्ता संकायको जुन दरभाउ उपलब्ध छ, मानविकीलाई त्यसको एक छेउ पनि छैन । त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह खारेज गरेपछि ‘प्लस टु’ जेनेरेसनको आकर्षण निजी कलेजतर्फ नै बढी छ । पछिल्लो पुस्ताले सकी–नसकी विज्ञान र व्यवस्थापन नै पढिरहेको छ, तर आफ्नो पढाइसँग खास सन्तुष्ट भने छैन । सरकारी विद्यालयमा मानविकी अध्यापनको जनशक्ति पटक्कै ऊर्जाशील, सिर्जनशील छैन । निजीको अवस्था पनि त्योभन्दा भिन्न छैन ।


कारण, विश्वविद्यालले त्यस्तो उम्दा जनशक्ति तयार गर्नै सकेन । परिणाम अहिले देखिँदैछ । धेरै पहिले प्रतिभा र क्षमता भएका विद्यार्थीले पनि ठूलो मात्रामा मानविकी रोज्थे । पछिल्ला दशकमा आएर मानविकी पढ्ने भनेको सबैभन्दा लद्दू र कमजोरहरूले मात्रै हो भन्ने मनोविज्ञान व्याप्त छ । त्यही मनोविज्ञानबाट ग्रस्त प्राध्यापक छन् । विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकमा पनि त्यसैको प्रभाव छ । मानविकीमार्फत देशमा उच्च बौद्धिक र रचनात्मक ‘स्कलर’हरू, शासक र प्रशासकहरूको उत्पादन हुने हो भन्ने कुरा न विश्वविद्यालयले आफ्ना नीति र अभ्यासमा अनुसरण गर्‍यो, न सरकार र जनसामान्यले नै बुझे ।


नेपालमा लामो समयदेखि जीवनोपयोगी, व्यावहारिक, वैज्ञानिक शिक्षा र त्यसै अनुसारको पाठ्यक्रमको तर्क गर्दै आउँदा मानविकी लगायतका विधालाई लगातार ‘बुर्जुवा शिक्षा’ भनियो । बुर्जुवा शिक्षालाई विस्थापित गरेर जनवादी शिक्षा लागू गर्नुपर्छ भन्नेहरू नै अहिले शासक बनेका छन् । जनवादी शिक्षा के हो या यसको चरित्र र खाका कस्तो हुन्छ, त्यस्तो कुनै ठोस जवाफ भने उनीहरूले कहिल्यै दिएनन् ।


अहिले त प्राविधिक शिक्षा नै जनवादी शिक्षा हो भन्ने तर्क पनि गर्न थालिएको छ । प्राविधिक शिक्षाको आवरणमा कसरी संस्थागत लुटतन्त्र चलेको छ भन्ने विषयलाई कार्पेटमुनि लुकाएर गरिने यस्ता कुतर्कको कति अर्थ छ ? प्राविधिक शिक्षाको प्रसार र महत्त्वको विषय आफैमा संवेदनशील हो । तर नेपालमा यसको सञ्चालन र व्यवस्थापन कसरी गरिएको छ भन्नेबारे निर्मम बहस हुन सकेको छैन ।


एकातिर पुँजीवादी बजार–दृष्टिमा मानविकी, समाजशास्त्र जस्ता विधा कम महत्त्वका बन्न थाले, अर्कातिर बुर्जुवा शिक्षाको आलोचना गर्ने कम्युनिस्ट पार्टीहरूले पनि यी विधाको सक्दो उपेक्षा गर्दै आए । त्यसको प्रत्यक्ष असर अहिले देखिएको छ । शिक्षा सम्बन्धी हाम्रा नीति र अभ्यास आफैमा कति गोलमटोल, अस्पष्ट र दिशाहीन थिए र छन् भन्ने कुरा व्यवहारले बताइरहेको छ । तत्कालको आर्थिक उत्पादनसँग मात्रै जोडेर हेर्दा मानविकी अप्रासंगिक र महत्त्वहीन विधा हो भन्ने पर्न जानु अस्वाभाविक होइन । तर सरकार र विश्वविद्यालयले यो कुरालाई चिर्न नसक्नु हाम्रो संरचनागत अक्षमता हो ।


पुस्ता र जुगका दुःख

केही समययता मानविकी र समाजशास्त्रका विद्यार्थी घटेका तथ्यहरूमाथि सार्वजनिक चासो बढेको छ । यसमाथि त्रिभुवन विश्वविद्यालय वा शिक्षा मन्त्रालयको चासो र चिन्ता कति छ, थाहा छैन । तर अखबार र विमर्शहरूमा आएका विचारले भने यो एउटा गम्भीर विषय हो भन्ने बताउँछन् । तथ्यांक र बहसले निर्देशित गरेका यस्ता चिन्ताहरू सामान्य र अल्पकालीन होइनन् ।

मानिसको जीवन, संस्कृति, इतिहास, कला, विचार र राजनीतिसँग जोडिएको मानविकीजस्तो बृहत् र गतिशील विधाको महत्त्वलाई उपेक्षा गरेर यसलाई केवल शास्त्रीय शिक्षाको रूपमा मात्रै लिने र निरन्तर नयाँ ज्ञानको अभ्यास नगर्ने हो भने यो एक दिन संग्रहालयमा राखिने वस्तु मात्रै बन्ने निश्चित छ । यो विषयमा सामूहिक रूपले सोच्न ढिला भैसकेको छ ।

शिक्षाको मुद्दालाई बजारको मुठीमा छोडेपछि एक–दुई पुस्ताले मात्रै होइन, सिंगो जुगले दुःख पाउँछ । बजारका शैक्षिक कारखानालाई देशभित्र खपत हुने जनशक्ति कसरी निर्माण गर्ने भन्ने सरोकार कुनै हालतमा हुन्न । यसमा सरकारको विवेकसम्मत नीतिगत हस्तक्षेप चाहिन्छ । हरेक क्षेत्रमा दक्ष र मेधावी जनशक्ति तयार गरेर समाज र देशको भौतिक मात्रै होइन, बौद्धिक र सांस्कृतिक समृद्धि कसरी गर्ने भन्ने चिन्ता सरकार र मातहतको शैक्षिक अङ्गले गर्ने हो ।


यद्यपि चिन्ता सामूहिक नै हो र हुनुपर्छ । मेरो चिन्ता मेरी छोरीको मात्रै होइन, आजको सिंगो पुस्ताको हो । र अपेक्षा यत्ति हो— सरकार र मातहतका अङ्गले मानविकीजस्ता विधामाथि सम्मानजनक र पर्याप्त लगानी गरून्, अध्ययन–अनुसन्धानको समृद्ध वातावरण बनोस् ।


आउँदै गरेको यो पुस्ताले देशलाई, समाजलाई केही ठोस बौद्धिक योगदान दिनसक्ने वातावरण तयार गर्ने सुविधाजनक शिक्षालय र ज्ञान निर्माणको तहमा काम गर्ने त्यस्ता केन्द्रहरू अविलम्ब जरुरी छन्, जहाँ कुनै पनि इच्छुक विद्यार्थीले सम्मानजनक शिक्षा र अवसर पाउन सकोस् । देशलाई दक्ष प्राविधिक र व्यावसायिक जनशक्तिसँगै कुशाग्र र क्षमतावान् बौद्धिक जनशक्ति पनि चाहिन्छ भन्नेमा सम्बन्धित सबैको ध्यान पुगोस् ।


यतिखेर भने मैले आफैसँग सोधेको प्रश्नको स्पष्ट उत्तर पाउन सकेकी छैन— छोरीको इच्छा अनुसार ढुक्क भएर उनले रोजेको मानविकी विधा नै पढाउन सक्ने ठाउँ कहाँ होला ? मेरो आमा मनले कल्पेको जस्तो उनको छनोट अनुसारको उदार र सिर्जनशील व्यक्ति बन्न मार्ग प्रदर्शन गर्ने वातावरण यो देशको कुन शैक्षिक केन्द्रसँग होला, जसले उनलाई आफ्नो कारखानाभित्र पस्ने ‘माल’ का रूपमा होइन, भविष्यको समाज निर्माता र कर्ताका रूपमा स्वागत गरोस् ? उनको कल्पनाको उडानलाई वास्तविक बनाइदिने पखेटा दिन सकोस् ?

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?