मानविकी पढ्ने, तर कहाँ ?

सरिता तिवारी

एसईईको नतिजा पर्खिने विद्यार्थीमा यस पालि मेरी छोरी पनि छिन् । पहिलो सन्तान स्कुले शिक्षा पूरा गर्ने संघारमा उभिँदा भावुक त छु नै, त्योभन्दा बढी उनको आगतको शिक्षालाई लिएर चिन्तित छु । व्यक्तिको स्वभाव र रुचिमाथि बजारको मनोविज्ञान डरलाग्दो गरी हावी भइरहेको युग हो यो ।

एउटी आमाका रूपमा भन्नुपर्दा, मेरा लागि भविष्यमा सन्तानको पेसा कुन वा कमाइ कति होला भन्ने विषयले त्यति महत्त्व राख्दैन, जति अविभेदकारी र मानवीय संस्कृतिले निर्मित सिर्जनशील विश्व नागरिक बन्ने कुराले राख्छ । तर उदार चिन्तनको सिर्जनशील नागरिक उत्पादन गर्ने कुरामा बजारको कठोर अवरोध छ ।

अध्ययन र ज्ञान आर्जनको विषय जीवन या समाजको सापेक्षिक आवश्यकता कम र एउटा यान्त्रिक उद्यम बढी बनिरहेको अनुभवको सकस पनि छँदैछ । यतिखेर शिक्षा बजारको कारखानाभित्र पस्न तयार एउटा निम्छरो वस्तुजस्ता लाग्छन्, विद्यार्थी । त्यही पंक्तिमा छिन्, हाम्री छोरी पनि ।

हामीकहाँ अधिकांश बच्चालाई ठूलो भएपछि के बन्ने भनेर सोध्दा कि डाक्टर कि इन्जिनियर भन्ने रेडिमेड उत्तर आउँछ । हुन त यस्तो सोधाइ नै गलत हो भन्छु म । लक्ष्यको नियोजित र गह्रुङ्गो भारी बोक्नैपर्छ भन्ने कुराले बच्चालाई उन्मुक्त बाल्यकाल भोग्नबाट वञ्चित गरिदिन्छ, भविष्यबारे उसको कल्पना सीमित र साँघुरो हुन्छ । हामी सामान्यतया यसरी सोच्दैनौं र बच्चाको दिमागलाई आफ्ना निहित इच्छाको प्रयोगशाला बनाइदिन्छौं । तिनलाई सानै उमेरदेखि रटाइने शास्त्रीय तर्क हो— हामीसँग एउटा खास लक्ष्य हुनैपर्छ । हाम्रोमा त्यस्तो लक्ष्य बच्चा स्वयम्ले होइन, प्रायः अभिभावकले तय गर्छन् ।

मेरो अनुभव भने योभन्दा फरक रह्यो । हामीले सकेसम्मको उन्मुक्त र छनोटको वातावरणमा बच्चा हुर्काएका हौं । तिनलाई लक्ष्यसिद्धिका नाममा शास्त्रीय र प्रायः निर्विकल्प छनोटको बाध्यताभन्दा बाहिर राख्नुपर्छ भन्ने हाम्रो मान्यता रह्यो । बजार र हल्लाबाट होइन, बच्चाको आधारभूत रुचिबाट निर्देशित हुँदा उसले जीवनमा प्राप्त गर्ने सुख, सन्तोष र सफलताको रंग गाढा र स्थायी हुन्छ भन्ने सोचियो भने अभिभावकीय दायित्व सहजै पूरा हुन्छ होला । भविष्यमा शिक्षा आर्जनको बाटो कस्तो र कुनचाहिँ हुने भन्ने विषयमा उपलब्ध सबै विकल्पबारे घरमा हुने छलफलकै प्रतिफल हुनपर्छ । केही दिनअघि छोरीले भनिन्, ‘म मानविकीको विद्यार्थी बन्छु । साहित्य, समाजशास्त्र वा यस्तै केही पढ्छु ।’

छोरीले यसो भनेको दिनदेखि म सोचिरहेकी छु— मानविकी पढ्ने, तर कहाँ ? कुन शिक्षालयमा ?

शिक्षाको बजार
उच्चस्तरीय शिक्षा आयोगले आठदेखि बाह्र कक्षासम्मलाई माध्यमिक त भनेको छ, अभ्यास भने त्यसरी भैसकेको छैन । त्यसैले दस र एघार कक्षाबीच बजारको अधिकृत हस्तक्षेप सुरु भैहाल्छ । बजारका शिक्षा कारखानाहरू अहिले नाम–नामका साइनबोर्ड र ब्रोसर बोकेर, विभिन्न प्रलोभन र आश्वासन लिएर घरघरै पुग्छन् ।

विद्यार्थीका पाखुरा समातेर, घिसारेरै आफ्ना संस्थामा हुल्ने प्रतिस्पर्धामा निजी शिक्षण संस्थाहरूको खटाइ शरमलाग्दो स्तरमै छ । यस्तो परिस्थितिलाई नियमन गर्ने ठोस सरकारी प्रयत्न भने देखिन्न । यो माहोलमा एउटा सिर्जनशील र ऊर्जावान् नागरिक उत्पादन गर्ने विषय विचार–विलास मात्रै पो हो कि जस्तो पनि लाग्ने ।

यतिखेर बजारमा विज्ञान र व्यवस्थापन जस्ता संकायको जुन दरभाउ उपलब्ध छ, मानविकीलाई त्यसको एक छेउ पनि छैन । त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह खारेज गरेपछि ‘प्लस टु’ जेनेरेसनको आकर्षण निजी कलेजतर्फ नै बढी छ । पछिल्लो पुस्ताले सकी–नसकी विज्ञान र व्यवस्थापन नै पढिरहेको छ, तर आफ्नो पढाइसँग खास सन्तुष्ट भने छैन । सरकारी विद्यालयमा मानविकी अध्यापनको जनशक्ति पटक्कै ऊर्जाशील, सिर्जनशील छैन । निजीको अवस्था पनि त्योभन्दा भिन्न छैन ।

कारण, विश्वविद्यालले त्यस्तो उम्दा जनशक्ति तयार गर्नै सकेन । परिणाम अहिले देखिँदैछ । धेरै पहिले प्रतिभा र क्षमता भएका विद्यार्थीले पनि ठूलो मात्रामा मानविकी रोज्थे । पछिल्ला दशकमा आएर मानविकी पढ्ने भनेको सबैभन्दा लद्दू र कमजोरहरूले मात्रै हो भन्ने मनोविज्ञान व्याप्त छ । त्यही मनोविज्ञानबाट ग्रस्त प्राध्यापक छन् । विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकमा पनि त्यसैको प्रभाव छ । मानविकीमार्फत देशमा उच्च बौद्धिक र रचनात्मक ‘स्कलर’हरू, शासक र प्रशासकहरूको उत्पादन हुने हो भन्ने कुरा न विश्वविद्यालयले आफ्ना नीति र अभ्यासमा अनुसरण गर्‍यो, न सरकार र जनसामान्यले नै बुझे ।

नेपालमा लामो समयदेखि जीवनोपयोगी, व्यावहारिक, वैज्ञानिक शिक्षा र त्यसै अनुसारको पाठ्यक्रमको तर्क गर्दै आउँदा मानविकी लगायतका विधालाई लगातार ‘बुर्जुवा शिक्षा’ भनियो । बुर्जुवा शिक्षालाई विस्थापित गरेर जनवादी शिक्षा लागू गर्नुपर्छ भन्नेहरू नै अहिले शासक बनेका छन् । जनवादी शिक्षा के हो या यसको चरित्र र खाका कस्तो हुन्छ, त्यस्तो कुनै ठोस जवाफ भने उनीहरूले कहिल्यै दिएनन् ।

अहिले त प्राविधिक शिक्षा नै जनवादी शिक्षा हो भन्ने तर्क पनि गर्न थालिएको छ । प्राविधिक शिक्षाको आवरणमा कसरी संस्थागत लुटतन्त्र चलेको छ भन्ने विषयलाई कार्पेटमुनि लुकाएर गरिने यस्ता कुतर्कको कति अर्थ छ ? प्राविधिक शिक्षाको प्रसार र महत्त्वको विषय आफैमा संवेदनशील हो । तर नेपालमा यसको सञ्चालन र व्यवस्थापन कसरी गरिएको छ भन्नेबारे निर्मम बहस हुन सकेको छैन ।

एकातिर पुँजीवादी बजार–दृष्टिमा मानविकी, समाजशास्त्र जस्ता विधा कम महत्त्वका बन्न थाले, अर्कातिर बुर्जुवा शिक्षाको आलोचना गर्ने कम्युनिस्ट पार्टीहरूले पनि यी विधाको सक्दो उपेक्षा गर्दै आए । त्यसको प्रत्यक्ष असर अहिले देखिएको छ । शिक्षा सम्बन्धी हाम्रा नीति र अभ्यास आफैमा कति गोलमटोल, अस्पष्ट र दिशाहीन थिए र छन् भन्ने कुरा व्यवहारले बताइरहेको छ । तत्कालको आर्थिक उत्पादनसँग मात्रै जोडेर हेर्दा मानविकी अप्रासंगिक र महत्त्वहीन विधा हो भन्ने पर्न जानु अस्वाभाविक होइन । तर सरकार र विश्वविद्यालयले यो कुरालाई चिर्न नसक्नु हाम्रो संरचनागत अक्षमता हो ।

पुस्ता र जुगका दुःख
केही समययता मानविकी र समाजशास्त्रका विद्यार्थी घटेका तथ्यहरूमाथि सार्वजनिक चासो बढेको छ । यसमाथि त्रिभुवन विश्वविद्यालय वा शिक्षा मन्त्रालयको चासो र चिन्ता कति छ, थाहा छैन । तर अखबार र विमर्शहरूमा आएका विचारले भने यो एउटा गम्भीर विषय हो भन्ने बताउँछन् । तथ्यांक र बहसले निर्देशित गरेका यस्ता चिन्ताहरू सामान्य र अल्पकालीन होइनन् ।
मानिसको जीवन, संस्कृति, इतिहास, कला, विचार र राजनीतिसँग जोडिएको मानविकीजस्तो बृहत् र गतिशील विधाको महत्त्वलाई उपेक्षा गरेर यसलाई केवल शास्त्रीय शिक्षाको रूपमा मात्रै लिने र निरन्तर नयाँ ज्ञानको अभ्यास नगर्ने हो भने यो एक दिन संग्रहालयमा राखिने वस्तु मात्रै बन्ने निश्चित छ । यो विषयमा सामूहिक रूपले सोच्न ढिला भैसकेको छ ।
शिक्षाको मुद्दालाई बजारको मुठीमा छोडेपछि एक–दुई पुस्ताले मात्रै होइन, सिंगो जुगले दुःख पाउँछ । बजारका शैक्षिक कारखानालाई देशभित्र खपत हुने जनशक्ति कसरी निर्माण गर्ने भन्ने सरोकार कुनै हालतमा हुन्न । यसमा सरकारको विवेकसम्मत नीतिगत हस्तक्षेप चाहिन्छ । हरेक क्षेत्रमा दक्ष र मेधावी जनशक्ति तयार गरेर समाज र देशको भौतिक मात्रै होइन, बौद्धिक र सांस्कृतिक समृद्धि कसरी गर्ने भन्ने चिन्ता सरकार र मातहतको शैक्षिक अङ्गले गर्ने हो ।

यद्यपि चिन्ता सामूहिक नै हो र हुनुपर्छ । मेरो चिन्ता मेरी छोरीको मात्रै होइन, आजको सिंगो पुस्ताको हो । र अपेक्षा यत्ति हो— सरकार र मातहतका अङ्गले मानविकीजस्ता विधामाथि सम्मानजनक र पर्याप्त लगानी गरून्, अध्ययन–अनुसन्धानको समृद्ध वातावरण बनोस् ।

आउँदै गरेको यो पुस्ताले देशलाई, समाजलाई केही ठोस बौद्धिक योगदान दिनसक्ने वातावरण तयार गर्ने सुविधाजनक शिक्षालय र ज्ञान निर्माणको तहमा काम गर्ने त्यस्ता केन्द्रहरू अविलम्ब जरुरी छन्, जहाँ कुनै पनि इच्छुक विद्यार्थीले सम्मानजनक शिक्षा र अवसर पाउन सकोस् । देशलाई दक्ष प्राविधिक र व्यावसायिक जनशक्तिसँगै कुशाग्र र क्षमतावान् बौद्धिक जनशक्ति पनि चाहिन्छ भन्नेमा सम्बन्धित सबैको ध्यान पुगोस् ।

यतिखेर भने मैले आफैसँग सोधेको प्रश्नको स्पष्ट उत्तर पाउन सकेकी छैन— छोरीको इच्छा अनुसार ढुक्क भएर उनले रोजेको मानविकी विधा नै पढाउन सक्ने ठाउँ कहाँ होला ? मेरो आमा मनले कल्पेको जस्तो उनको छनोट अनुसारको उदार र सिर्जनशील व्यक्ति बन्न मार्ग प्रदर्शन गर्ने वातावरण यो देशको कुन शैक्षिक केन्द्रसँग होला, जसले उनलाई आफ्नो कारखानाभित्र पस्ने ‘माल’ का रूपमा होइन, भविष्यको समाज निर्माता र कर्ताका रूपमा स्वागत गरोस् ? उनको कल्पनाको उडानलाई वास्तविक बनाइदिने पखेटा दिन सकोस् ?

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:००
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मार्तडी बजार : एक खेप याद

सरिता तिवारी

 सूदुर पश्चिममा झन्डै पाइलै नराखेको मजस्तो मान्छेका लागि बाजुरा मानौं अगम्य थियो  । त्यो बहुतै अनकण्टार र साँच्चिकै सुदूर थियो  ।

तर सुविचारित सफर तय गरेपछि थाहा पाइहालियो, मजस्ता पात्रको भूगोल ज्ञान कति निम्छरो हुन्छ ! सूचना र सञ्चारको वैश्वीकरणको यो जुगमा हामी न्युयोर्क र एमस्टर्डम या मकाउ र गोवाबारे सजिलै बताउन सक्छौं तर आफ्नै देशका ठाउँहरूबारे अनभिज्ञ छौँ । मधेसमा खाइखेलेर हुर्के पनि मेरो जीउ पहाडसित अपरिचत छैन । यसलाई पहाडको अप्ठ्यारो नक्सा र स्वभाव दुवै थाहा छ । तर जति थाहा छ, गण्डकी धौलागिरी र नारायणी क्षेत्रको परिधिभित्रै थाहा छ ।


बाजुरा देख्न उत्साहित थिएँ म । त्यहाँको भूगोल चिन्न । त्यहाँका मानिसहरू भेट्न । तिनका कुरा सुन्न । मध्यवैशाखको राफिलो मधेसबाट निस्केर उँभो लागेको । मार्तडीसम्म पुर्‍याउने सुविधाजनक कालोपत्रे सडक र पहाडको मौसम दुवैले कुनै स्वप्नप्रदेशमा हिँडेजस्तो आह्लादकारी आनन्द दिए । मज्जा आयो । त्यहाँ पुगेपछि थाहा लाग्यो, अछामको साँफेदेखि बाजुराको सदरमुकाम मार्तडीसम्म पुग्ने सडकको सपना साकार हुनै बाइस वर्ष लागेको रहेछ । जम्मा ५७ किलोमिटर सडकले लिएको धैर्यको परीक्षा कति लामो ? ओहो ! बाजुरामै बस्ने साथी खडक बोहरा यसअघि फेसबुकभित्रका भर्चुअल मित्र मात्रै थिए । उनीसँग एकसरो वार्ता गरेपछि नै हो मैले बाजुरा हान्निने सुर कसेको । मार्तडीसम्म पुगिने बाटोबारे जानकारी लिएपछि म एक्लै भए पनि जाने मनस्थितिमा थिएँ । केही दिन बस्ने सुरमा थिएँ । तै फेरि साथीहरू विनोद लोहनी, ज्वालामुखी र दीपा धितालको हार्दिक साथ पाएपछि यात्राको योजना लम्बिने भयो । तर मार्तडी वरिपरिका गाउँहरू घुम्ने योजना भने थाती नै राख्नुपर्ने भयो । साथीहरू पनि मिसिने निश्चित भएपछि हाम्रो खास मुकाम बनेको थियो खप्तड क्षेत्र । तर सहमति बन्यो, मार्तडीमा कम्तीमा दुई रात बस्ने ।


अघिल्लो दिन बिहान ११ बजे काठमाडौंदेखि छुटेको गाडी भोलिपल्ट झन्डै ३३ घण्टा लगाएर मार्तडी बजार पुगेको थियो । तीव्र गति, कोचाकोच सवारी र उछिनपाछिनको भयङ्कर रोगले ग्रस्त सडकमा यात्रा गर्नु वास्तवमै मृत्युसँग लुकामारी खेल्नुजस्तै हुन्छ नेपालमा । तर हामीले यति लामो सफर कुनै भय र आतंकबिना सुबिस्तासँग पूरा गरेका थियौं । ओर्लिसकेपछि गाडी चालकहरूको भद्र हँकाइको प्रशंसा नगरी छुट्न मन लागेन । प्रशंसा र कृतज्ञता प्रकट गर्ने विनोदजीको विशेष शैली छ । उनका शब्दले गुरुजीहरूका ओठमा फक्रिएको शान्त हाँसो सम्झनलायक थियो । त्यो अगम्य ठानेको भूमिमा पहिलोपल्ट पाइलो राख्दा अँध्यारोको साम्राज्य बाक्लिँदो थियो । ओर्लिनासाथ जीउसित ठोक्किएको शीतल सिरेटोमा अपी र साइपलदेखि छुटिआएको हावाको मादक लय भित्रैसम्म महसुस गरें मैले । चिसो चिसो यो बतासको स्वागत बडो काव्यिक लाग्थ्यो । मलाई विभोर मुद्रामा छातीका अन्तिम खोँचहरूसम्म पुग्ने गरी लामो लामो सास खिच्न मन भयो । मनैमन आफैंसँग भनें, ‘हावासित ठोक्किनु त थालनी मात्रै हो केटी ! हेर्दै जा यहाँ के के अनुभूति हुनेछ !’


एकै छिनमा साथी खडक आइपुगे हामीलाई लिन । हँसिलो व्यक्तित्व र सरल स्वभावका यी युवा लेखपढ र बौद्धिक छलफलमा रुचि राख्छन् । बेलाबेला मेसेन्जर मार्फत विचार आदानप्रदान हुँदाहुँदै हामी एकअर्काका भरपर्दा मित्र बनेछौं । खासमा त्यही मित्रताले डोहोरिएर आइपुगेकी हुँ म यहाँसम्म । सडकमा बत्ती थिएन । सडक छोडेर मुख्य बजारतर्फ प्रवेश गर्दा हामीलाई काठमाडौंको कुनै गल्लीमा हिँडेजस्तो अनुभूति भइरहेको थियो । भृकुटीमण्डपको झल्को दिने बजार ! पसलहरू बन्द हुने तर्खरमा थिए । टर्चलाइट बालेर हामी चार जना खडक्जीलाई पछयाउँदै मूल बजार छिचोलेर बस्ने ठाउँतिर लाग्यौं ।

बाजुरा जिल्लाको मुख्य केन्द्र मार्तडी बजार । हुन त कोल्टी पनि उत्तिकै प्रख्यात छ तर जिल्ला सदरमुकाम भएकाले गाउँ र जिल्लाबाहिरका मानिसहरूको चहलपहलले मार्तडी बजारलाई गुलजार बनाएको छ । भिरालो ठाउँमा बसेको यो बजार अलिक गुजुमुज्ज र अव्यवस्थित देखिन्छ । मुख्य बजार क्षेत्रमा प्रायः टिनैटिनका छाप्रा छन् । बजार बस्नुअघिदेखिको पुरानो बस्तीसँग कुम जोडेर बसेको छ किराना, फेन्सी, कस्मेटिक्स, थान कपडा आदिका दोकानहरूले छापिएको बजार । सडक ‘काट्ने’ प्रचलन नआउँदै बनाइएका सिँढीदार बाटा कताकति अझै छन् तर आधुनिक सडक निर्माणको कामले पनि गति लिँदो छ । सदरमुकाम छुने चार चक्के जिप मात्रै होइनन्, सुविधाजनक बसहरू पनि सजिलैसँग चल्ने सडक छ । बजार भित्रभित्र हुँदै जिल्लाका अन्य ठाउँसम्म सामान ढुवानीका आदिम साधन खच्चड बरोबर देखिन्छन् । घाँडीमा बाँधिएका घण्टी टाङ्टाङ् टुङटुङ् गर्दै हिँड्ने खच्चडहरू ती साँघुरा बाटा हुँदै हिँड्दा पहाडी बजारको भिन्दै अनुभूति र स्वाद मात्रै उपस्थित हुन्न पहाडका पृथक् दुःखको चित्र पनि सँगसँगै हाजिर हुन्छ ।


एउटा बजारलाई आधुनिक भनाउन जे–जे चीजको जरुरत पर्छ, ती सबै चीज उपलब्ध छन् मार्तडीमा । फेन्सीदेखि मदिरासम्म । काठमाडौं र देशका अन्य भूभागसँग जोड्ने सडकदेखि कंक्रिटका अत्याधुनिक संरचनासम्म । स्थानीयस्तरकै रेडियो र इन्टरनेटको सहज पहुँचसम्म । यिनलाई विकासको सूचक मान्ने हो भने मार्तडी विकासशील सहर बन्न लालायित पहाडी बजार हो भन्दा फरक पर्दैन । तर विकास के केलाई मान्ने ? मुख्य कुरा यो हो । स्मरणीय के हो भने बाजुरा जिल्ला अहिले पनि मानव विकास सूचचांकको सबैभन्दा पछिल्लो लहरबाट गनिन्छ । विकासका आधारभूत सर्तहरू व्यवस्थित सडक सञ्जाल, खानेपानी, स्वास्थ्य, शिक्षालगायतको पहुँच स्थापित गर्ने कामको गति अझै पनि धेरै कमजोर छ ।


यहाँबाट कोल्टी र जिल्लाका अन्य गाउँहरूसम्म पुग्ने सडक प्रायः सबै कच्ची छन् । कोल्टीको नाम विशेष रूपले किन आउँछ भने जिल्लाको हवाई अड्डा त्यहीं छ । मार्तडीदेखि कोल्टी पुग्नै पाँच घण्टा लाग्छ जिपमा । जिल्लाको हिमाली गाउँपालिकासँगै छिमेकी जिल्ला मुगु र हुम्लासम्मलाई जोड्ने व्यवस्थित सडक अझै प्रतीक्षित छ । भारतका विभिन्न ठाउँमा काम गर्न जाने र धनगढी, महेन्द्रनगर झर्नुपर्ने मानिसहरू बाजुराबाट अछाम हुँदै डँडेल्धुरा छोएर ओर्लिने सडककै बढ्ता उपयोग गर्छन् । त्यसैले पनि मार्तडी बजारमा मानिसहरूको चहलपहल उल्लेख्य छ ।

सूर्योदय ! नयाँ ठाउँमा प्रायः उदाउँदो घामले मलाई जिल्याइदिन्छ । यहाँ पनि यस्तै भएछ ! मैले उत्तर ठानेको दिशा त पूर्व पो रहेछ ! आफ्नो दिशाबोध सम्झेर एक्लै हाँसेँ । अलिबेर घाम उदाइरहेको दिशातिर हेरें । घाममा आङ सेकिरहेका पहाड र पाखाहरूलाई हेरें । पूरै बस्तीलाई हेरेँ । आफू उभिएको घरको कौसी मुन्तिरका ससाना घरहरूलाई हेरेँ । आकाशको एउटा छेउमा तुर्लुङ्ग झुन्डिइरहेको अण्डाकार बल्बजस्तो लाग्छ घामको डल्लो ! सोचेँ, धन्न यो घामले वर्ग, क्षेत्र, जात र लिङ्गको भेद गर्दैन ! सुगम र दुर्गम भनेर अर्घेलो गर्न जान्दैन । काठमाडौंमा लाग्ने घाम, चितवन, पोखरा या वीरगन्जमा लाग्ने घाम र बाजुरामा लाग्ने घाम त आखिर एउटै न हो !


सत्तारूपी घामको शक्ति र तेज आफ्नै वरिपरि खैंचेर यो ठाउँलाई लगातार ओसिलो र अनकण्टार छोडिराख्ने शासकहरू । सकेसम्म जानै नपरोस्, गैहाल्नुपरे टन्न ‘माल’ पर्ने जिल्लामा जाने मेसो मिलोस् भन्ने कर्मचारीतन्त्र । कल्पना गर्छु धनगढी, महेन्द्रनगर र काठमाडौं आवाद गर्न पुगेका यहाँका पहुँचवाला मान्छे कसरी सोच्दा हुन् ! यहीं जन्मिएका, यहाँबाटै स्कुल शिक्षा पूरा गरेका वा विभिन्न कारणले थातथलो छोडेकाहरू के सोच्दा हुन् ?


सबेर सात बजे भेट्ने भनेर बेलुकी छुटेका खडक समयमै टुपुल्किए । अब उनीसँग बजार र आसपास घुम्न निस्कनु छ । निस्कनासाथ पहिलो झमटमै बाजुरेली जीवनशैलीको अभिन्न साधन धान कुट्ने ओखल साक्षात्कार हुन्छ । बाटोनेरै खुला ठाउँमा ‘पब्लिक’ ओखल । धान निफनिरहेकी पाकी महिलाको तन्मय भंग गर्दै सोधिदिन्छौं हामीले, ‘मेसिनमा कुट्न लगे सुख हुँदो हो नि ?’ स्थानीय भाषिकाको लवजमा तिनको सहज र छोटो उत्तर छ , ‘स्वाद हुँदो नाइ ! चामलको जैविक स्वादका लागि हरेक दिनजसो धान कुट्नुपर्ने यो दुःख आफैंले रोजेको त हो । र यसो गर्नेलाई यो काममा खास दुःख नलागेको देख्दा हामीले दुःख ठान्नुपर्ने के नै छ र ? हुँदोरहेछ के भने यसरी धान कुट्ने काम प्रायः महिलाले नै गर्ने रहेछ । ओखलका मुसल छन्, लामा छोटा दुवै आकारका । गह्रुँगा !


यहीं भेटिए असी हाराहारी पुगेका बुद्धि चुनारा । वरिपरि चुनारा बस्ती नै रहेछ । यो समुदायको पुर्ख्यौली पेसा काठका ठेकी आदि सामान बनाएर बिक्री गर्ने रहेछ । आजकल पुर्ख्यौली पेसा संकटमा परेको छ, उनले सुनाए । यिनले अछाम, डोटी र डँडेल्धुरा पुगेर खेपेका भारीका दुःख मात्रै कहेनन् काला पहाड र देहरादुन पुग्दाका कहानी पनि सुनाए । पहिले यहाँ चुनाराहरूकै मात्र घर थिए रे । हामी पनि सोच्दै थियौं, कुनै बजारको मुख्य र मालदार ठाउँमा कसरी दलितहरूको बस्ती बसेको रहेछ ? खासमा मार्तडीका आदिवासी यिनै चुनाराहरू रहेछन् । २०३४ सालदेखियता सदरमुकाम बनेको मार्तडीका पुराना निवासीसँग गफिँदा हामीले मार्तडी नामबारे जिज्ञासा राख्यौं । तिनले एउटा कथा नै सुनाए ।


नजिकैको चौराँटा भन्ने ठाउँमा बस्ने एक जना किसान रहेछ । कामको चटारो धेरै । रात नसकिँदै झिसमिसेमै खेत जोत्न निस्केछ । अलिबेरमा त उसले नारेको हलगोरुमध्ये एउटाचाहिँ गाईको आवाजमा कराएछ । खासमा, अँध्यारोमै गोरु नार्दा उसले एउटा गोरुको सट्टा गाई पो नारेको रहेछ । काम छोड्ने बेला थिएन । त्यसैले जे त पर्ला भन्दै जोत्दै रहेछ । त्यही बेला कसैले दौडँदै आएर घरमा उसकी आमा अचानक मरेको खबर दिएछ । त्यो खबरले विचलित भएको उसले आफ्नो अपराधबोधको स्मरणमा त्यही खेतमा आमाको शव गाडिछोडेछ । मा अर्थात् आमालाई तोडेको (गाडेको) हुनाले त्यस वरिपरिको ठाउँ मा–तोडी हुँदै मार्तडी कहलिएछ !
यो कथा कति प्रामाणिक हो, त्यो भने पत्तो पाइएन ।

बजारको मुख्य बाटो भिरालो र साँघुरो छ । त्यसैमाथि निर्माणको काम हुँदै छ । ठाउँठाउँ खानेपानीका पाइप फुटेर निर्माणाधीन सडकभरि पानी बगिरहेको छ । कामको गति अत्यन्तै धीमा छ भन्ने थाहा पाउन धेरै बेर लाग्दैन । हामी कृषि ज्ञान केन्द्र हुँदै उँभो छड्किएर जिल्ला अस्पतालको क्वार्टरमा छिर्छौं । शनिबारको दिन, डाक्टर रोहित गिरी क्वार्टरमै भेटिन्छन् । जिल्ला अस्पतालको निर्माणाधीन भवन देखाउँदै उनी भन्छन्, यो बनेपछि केही सुविधा त होला ! तर मुख्य कुरा बिरामीको चापअनुसार स्वास्थ्यकर्मीको दरबन्दी छैन। एउटा पोस्टमार्टम केस आउनेबित्तिकै ओपीडी सेवा ठप्प गर्नुपर्ने स्थिति छ ! त्यसमाथि नयाँ डाक्टरलाई विश्वास नगर्ने जनमानस !


यी डाक्टर पनि मिसिएपछि अब हाम्रो टोली छ जनाको भयो । दुई वर्षअघि नियुक्ति लिएर मार्तडी आएका रहेछन् यिनी । कोल्टीमा एअरपोर्ट र मार्तडीमा जिल्ला अस्पताल हुँदाका दुःख कहँदा कम्ता भावुक भएनन् । समयमा जहाज आइपुगेन भने काठमाडौं पठाउने बिरामीको त बिजोगै हुन्छ, उनले भने । विकट क्षेत्रमा काम गर्ने शिक्षक होउन् या डाक्टर, सामाजिक कार्यकर्ता होउन् या अरू कोही पनि ! सबैको अनुभूति उस्तै हुँदो हो ।


जिल्ला अस्पताल परिसरबाट सिधै उँभो लागेपछि स्थानीय शैलीका कच्ची घरै घर हुँदै बडिमालिका मन्दिरतिर सोझिने उकालो बाटो थालिन्छ । कतिपय घरमा ताल्चा झुन्डिएका छन् । तिनमा कोही बस्दैनन् । केही घरमा माथि गाउँतिरबाट ओर्लेका ज्याला मजदुर बस्छन् भाडामा । मार्तडीवासी बडिमालिकालाई खुबै श्रद्धा गर्छन् । जनश्रुतिअनुसार, मार्तडी ‘बडिमालिका माताको नाचनथली’ हो । त्यसैले बजारको टुप्पोमा मार्तडीको संरक्षकका रूपमा मन्दिरसमेत बनेको रहेछ । र, नगरपालिकाको नामसमेत बडिमालिका राखिएको छ । बडिमालिका मन्दिर भनिए पनि खास बडिमालिका मन्दिर यहाँबाट तीन दिनको दूरीमा पर्छ । योचाहिँ ‘मिनी’ बडिमालिका रे ! ठूलो अर्थात् वास्तविक बडिमालिका माताको मन्दिर त झन्डै ४२०० मिटरको उचाइमा रहेको छ । किंवदन्तीअनुसार बडिमालिका मातालाई चढाइएको ध्वजा हावामा उड्दै उड्दै आएर यहींनेर खसेकाले यहाँ मिनी बडिमालिका बनाइएको रे । बजारको सिरानमा रहेको यो मन्दिरको कौसीबाट मार्तडी बजारको छटा बहुत लोभलाग्दो देखिन्छ । स्कुल, क्याम्पस, नगरपालिका कार्यालयलगायत समग्र बजार अनि बजारमुनिको पूर्वी छेउमा बाहुली र अनै खोलाको सुन्दर संगमस्थल । खोलाको किनारमा यतिबेला गहुँ र आलुको रहरलाग्दो खेतीले शोभायमान बनेको फाँट छ र फाँट छेउमा छ लाम्चो, पातलो बस्ती ।


हामी मन्दिरनिरबाटै बजारतिर ओर्लियौं । ओर्लिंदा बाटैछेउ रहेको छाउगोठले हामीलाई अलिबेर अल्मल्याइदियो । छाउगोठबारे प्रसस्त सुने पनि प्रत्यक्ष देखिएको थिएन । जिज्ञासा भने धेरै थिए, त्यसको आकार, संरचना र छोइछिटोको तरिकाबारे । हामीले त्यसमा बसिरहेकी सुरजा बुढालाई पनि भेट्यौं । तिनीसँग केही कुरा गर्‍यौं । हिमाली गाउँपालिकाकी सुरजा बीएड पढ्न मार्तडी आएकी रहिछन् । डेरा गरेर बसेको भए पनि घरवालाले महिनावारी हुँदा त्यही गोठमा बस्नुपर्ने सर्त राखेका रहेछन् । पढे–लेखेर बुझ्ने भैसकेकी सुरजालाई छाउगोठमा बस्ने मात्रै होइन छाउका नाममा गरिने छोइछिटो नै गलत संस्कार हो भन्ने थाहा छ तर उनीसँग तत्कालको विकल्प छैन ।


त्यहाँबाट हामीलाई साथी खडकले स्थानीय अर्ग्यानिक खाजा पाइने होटलमा पुर्‍याए । साहुजी रहेछन् नृप सिंह, जैविक खाद्यवस्तुबाट मीठामीठा खानेकुरा बनाउन खप्पिस । कागुनाको खीर, मार्सेको लड्डू, फापरको केक र कोदोको पुवासहितको दिउँसोको खाजा अर्डर गरियो । यहाँ आइपुगेपछि यति त चाख्नैपर्‍यो ! घुमघामको बिहानको मेलो सकिएपछि बासस्थान फर्किइयो खाना खान । खानामा विशेष थियो स्थानीय रातो चामलको भात र सिस्नुको लेदो तरकारी । स्थानीय खानाको प्रवर्द्धनले सुदूरपश्चिमका उत्पादनहरूले कसरी राजधानी र देश–विदेशका विभिन्न ठाउँमा ख्याति पाएका छन् भन्ने चर्चा सुरु भयो । विकास, बजार र आधुनिकताको लहरमा हामीले पोषक खानेकुरामाथिको ज्ञान र अभ्यासलाई कसरी निरुत्साहित गर्दै आयौं भन्ने कुरा पनि भए । यी कुरा गरिरहँदा डाक्टर अरुणा उप्रेतीका लेखहरू खुबै सम्झियौं । उनीजस्ता केही पोषणविद्का प्रयत्नले पनि हो पछिल्लो समय स्थानीय उत्पादनमाथिको सम्मान र उपभोग बढ्न थालेको । यो आफैंमा सुखद थालनी हो ।


दिउँसो बजारको दक्षिण पश्चिमपट्टिको डाँडो उक्लिने तय भयो । उद्देश्य थियो पल्लोछेउबाट त्योभन्दा उताका गाउँ र मार्तडी बजारको दृश्य हेर्ने । अपी होटल अघिको चउरमा बसेर बजार निहार्दै देशको विकास सूचांकबारे गफिँदा आनन्द र अवसादले एकैसाथ छोप्यो । पछिल्लो समय संक्रामक रोगजसरी फैलिएको डोजर अर्थतन्त्रका आयामबारे ज्वालामुखी र विनोदका छलफल विचारोत्तेजक थिए । त्यसमा थपिलाग्ने खडक भैहाले । हामीले यी कुरा गरिरहँदा बाहुली खोलापारिको भित्ताका भीमकाय कीरोजस्तो एक्साभेटर दगुरिरहेको थियो । त्यसभन्दा पारि थियो पहिरोले खसालेको फुङ्ग उडेको नरमाइलो पाखो । माथिपट्टि डाँडाको पानीढलोमा सेनाको ब्यारेक छ । ब्यारेकको तारबारभन्दा ठीक अघिल्तिर एउटा खण्डहर घरसामु पुगेर अडिएका छौं हामी । यसभन्दा माथि नजाने मुडमा । किनभने त्यसमाथि जंगल र खर्क मात्रै छन् । त्यहाँबाट खोला वारि–पारिपट्टिका धेरैजसो गाउँ देखिन्छन् । सेना बस्ने दुर्ग ठीकै ठाउँमा रहेछ भन्ने लाग्यो । यहींबाट देखिन्छ मार्तडीको सकल बाहिरी अनुहार । भित्री अनुहार देख्न त अलिदिन आइजाइ गर्नैपर्छ । यत्तिकै कहाँ देखिन्छ ! यस पटकलाई बाहिरी रूप मात्रै हेरेर फर्किन सकिन्छ । त्यसैले धेरै भावुक हुन मन लागेन ।


भोलिपल्ट बडिमालिका नगरपालिकाका उपमेयर कविता विष्टलाई भेट्ने कार्यक्रम तय थियो । हाल सालै पेटको शल्यक्रियापछि आराम गरिरहेकी कविता हामीसँग मज्जाले गफिइन् । त्यहीँ भेटिइन् डँडेल्धुराकी गजलकार गौरी बुढाएर । मेसोमा उनका गजल पनि सुनियो । कष्टकर बाल्यजीवन र आजको यो प्रोफाइलसम्मको उनको बाटो कति संघर्षले बनेको छ, सुनाइन् कविताले । बालकैमा बाआमा गुमाएकी, घरीघरी आफ्नै कथामा द्रवित भइन् । आमजनताको चेतनास्तरसँग ठोक्किँदै काम गर्न कति चुनौती छन् सुनाइन् । यसैबीच विनोदले फ्याट्ट सोधिहाले, ‘उपमेयरका रूपमा अहिले तपाईंको सबैभन्दा ठूलो चुनौती के हो?’


उनले बडो खेदपूर्वक जवाफ दिइन्, ‘न्यायिक समितिको संयोजकको भूमिका !’ उनलाई लाग्छ, यो भूमिका अवसरभन्दा बढी चुनौती हो । झन्डै उनान्सय प्रतिशत महिला उपप्रमुख रहेको स्थानीय सरकारमा न्यायिक समितिको संयोजक महिला नै बस्नुपर्ने जुन विधि बनेको छ, त्यसले हाल उपप्रमुख रहेका महिलालाई स्वतः अलोकप्रिय बनाइदिनेछ । ती कदाचित भोलिका चुनावमा प्रमुखको दाबेदार बन्न सक्ने स्थितिमा हुन्नन् । भए पनि हार्नेछन् । उनको कुराले हामी गम्भीर भयौं ।


उनीसँग एउटा विशेष सपना छ, आफ्नो कार्यकालसम्ममा नगरपालिकालाई छाउगोठमुक्त बनाउने । यो सपना पूरा गर्ने कार्ययोजना पनि छ उनीसँग । त्यसैअनुसार काम गर्दै पनि छिन् । तर यो सपना धेरै महँगो र चुनौतीले भरिएको छ । उनका योजना पूरा होऊन्, हामीले दिलैदेखि शुभकामना प्रकट गर्‍यौं। अब हिँड्ने तर्खर गर्नु थियो । मेरो मनको रंगशालामा तस्बिरमा मात्रै देखिएको खप्तड पाटनको विशाल भूमिको चित्र कुँदिरहेको थियो । मानौं मेरो एउटा गोडो त्यहीँ पुगिसकेको छ र अर्को एउटा मार्तडीमा । म भयंकर उत्साहित थिएँ । मार्तडी चिन्न विशेष सहयोग गर्ने साथी खडकले खप्तड जाने जिपको समेत व्यवस्था गरिदिएका थिए । उनीप्रतिको कृतज्ञताले मन भरिएको थियो तर भन्ने खास शब्द नपाएर म ट्वाँ परिरहेकी थिएँ । तै, केही त भनें । उदात्त हृदयको सदाशय र सहयोगमाथि कृतज्ञ हुनुपर्ने बेला मलाई जहिल्यै शब्दको संकट महसुस हुन्छ । यस पटक पनि यस्तै भयो।

प्रकाशित : जेष्ठ १८, २०७६ ११:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT