घरकै खान्कीले घटाउँछ रक्तअल्पता

अरुणा उप्रेती

करिब ३२ वर्षअघि एक रात म प्रसूति गृहमा इमर्जेन्सीमा थिएँ । भोलिपल्ट बिहान छ बजेतिर वीरगन्जकी एक महिला आइपुगिन् । उनको सुत्केरी व्यथा थियो, पहेँली देखिन्थिन् । उनको रगतको कमी कति रहेछ भनी जाँचियो । लगत्तै उनलाई बेसरी पेट दुख्यो र इमर्जेन्सी कक्षामै बच्चा जन्माइन् । बच्चा सानो भए पनि ठूलो स्वरले रोयो ।

तर, आमाको रक्तअल्पताको परिणाम थाहा पाएपछि हामी सबै स्वास्थ्यकर्मी अचम्मित भयौं । विज्ञानको नियम अनुसार त उनको मृत्यु भइसक्नुपर्ने थियो । स्वस्थ व्यक्तिको हेमोग्लोबिनको स्तर १२–१५ हुनुपर्नेमा उनको २ मात्र थियो ! उनी आफू मात्रै बाँचिरहेकी थिइनन्, भर्खर सानो भए पनि स्वस्थ बच्चा जन्माएकी थिइन् ।

कसरी यस्तो हुन सक्छ भनेर मैले सिनियर स्त्रीरोग विशेषज्ञ डा. हीरा डंगोललाई सोधें । उहाँले भन्नुभयो, ‘उनको शरीरमा रगतको काम बिस्तारै हुँदै गयो, शरीरले आफै सन्तुलन मिलायो । सुत्केरी हुँदा धेरै रगत बगेको भए उनलाई बचाउन गाह्रो पर्थ्यो । प्रकृतिमा कहिलेकाहीं अचम्म पनि हुन्छ । हाम्रो ज्ञानले सायद बुझ्दैन ।’ अस्पतालमै राखेर छ दिन रगत चढाएपछि ती महिलाको हेमोग्लोबिन ८ पुग्यो अनि उनलाई घर पठाइयो । परिवारले उचित खानपिनको व्यवस्था गरिदिएको भए उनी यस्तो कमजोर हुने थिइनन् । उनले छोरो पाउँदाचाहिँ सबै हर्षित थिए । उनले छोरी पाएकी भए गर्भावस्थामा झैं घरका मान्छेले सायद वास्तै गर्दैनथे ।

कतिपय ग्रामीण समुदायमा घरपरिवारले गर्भवतीको स्वास्थ्यको उति वास्ता गर्दैनन् । ‘वंशको रक्षा गर्ने गरी छोरा जन्माइन्’ भने मात्रै उनको हेरविचार हुन्छ । यस्तै कारणले गर्दा धेरै महिला रक्तअल्पताको सिकार हुन्छन् । तर, जुनसुकै महिला रक्तअल्पताको सिकार हुनुको अर्थ हो— शरीरमा लौहतत्त्वको मात्र होइन, प्रोटिनको पनि कमी हुनु । त्यस्ता गर्भवतीलाई भिटामिन, क्याल्सियम र अन्य पोषक तत्त्वको पनि कमी हुन्छ, किनभने उनले घरमा भएका स्वस्थकर खानेकुरा पनि पेटभरि खान पाएकी हुन्नन् । उनको चिन्ता र वेदनाले गर्दा खाएको कुरा पनि राम्रोसँग आन्द्रामा सोसिन पाउँदैन । पोषण भनेको भोजनमात्र होइन ।

शिशुहरूलाई आमाको दूधबाटै लौहतत्त्व प्राप्त हुन्छ । तर आमाले पनि प्रोटिनयुक्त र लौहतत्त्व पर्याप्त खाएको हुनुपर्‍यो । शिशुले खाने लिटो फलामको भाँडामा पकाउँदा पनि शरीरले लौहतत्त्व प्राप्त गर्न सक्छ । दूध उत्तम भोजन हो, तर यसमा लौहतत्त्व हुँदैन । त्यसैले गाई, भैंसी वा डेरीको दूध बच्चालाई फलामको भाँडामा तताएर दिनाले केही लौहतत्त्व प्राप्त हुन्छ ।

बच्चाहरूलाई लौहतत्त्व र अन्य पौष्टिक तत्त्व राम्रोसँग मिलोस् भन्न विभिन्न फलफूल, जुन सस्तो हुनुका साथै सहजै पाइन्छन्, खानु उचित हुन्छ । आफ्नै करेसाबारीमा पाइने आरु, आरुबखडा, अम्बा, अमला, नासपातीबाटै उपयुक्त पौष्टिक तत्त्व पाइने भएकाले महँंगा स्याउमा पैसा खर्च गर्नुपर्दैन, बट्टाका महँगा खाना नै दिनुपर्छ ।

खाद्यपदार्थका कतिपय विज्ञापनमा ‘घरमा भएका खानेकुराले बच्चालाई र गर्भवतीलाई पोषण पुग्दैन, त्यसैले बाहिरको पोषण किनेर क्याल्सियम र आइरन तत्त्व तिनको पोषण पुर्‍याउनुपर्छ’ भनिएको हुन्छ । यस्ता गलत विज्ञापनले मानिसहरूमा भ्रम छरिरहेका छन्, किनभने यिनलाई स्वास्थ्यकर्मीले पनि गलत भन्ने गरेका हुन्नन् । प्याकेटका खानेकुरा किन्दा पैसाको दुरुपयोग मात्रै हुन्छ ।

बकुला, सिमी, बोडी जस्ता तरकारीमा पर्याप्त प्रोटिन त पाइन्छ नै, क्याल्सियम र लौहतत्त्व पनि धेरै हुन्छ । तिनको मूल्य बजारिया वा विदेशी संस्थाहरूले दिने खानेकुराभन्दा निकै कम हुन्छ, पोषणचाहिँ बढी हुन्छ ।

एक–दुई वर्षको शिशुलाई परिवारका अन्य सदस्य नै खाने साग, गेडागुडी नै खुवाउन सकिन्छ । खानेकुरामा रहेको लौहतत्त्वलाई शरीरमा सोसाउन सजिलो उपाय छ । दाल भात तरकारी कागतीको रस वा गोलभेंडाको अचारसँग खाइयो भने यसमा रहेको भिटामिन सीले लौहतत्त्व सोसिन निकै मद्दत गर्छ । लट्टेको सागमा भिटामिन ए र लौहतत्त्व दुइटै प्रशस्त पाइन्छ । भटमासमा फोलिक एसिड, आइरन र प्रोटिनपर्याप्त हुन्छ ।

गेडागुडीलाई उमारेर पकाउनाले यसमा पौष्टिक तत्त्वको मात्रा बढ्छ । पाकिसकेपछि अलिकता कागतीको अमिलो वा गोलभेंडा हालिदिनाले भिटामिन सीले यिनमा रहेको लौहतत्त्व राम्ररी सोसिन पाउँछ । त्यसैले होला, पहिले–पहिले दालभात, साग, अमिलो मोही खाने चलन थियो ।

स्वास्थ्य मन्त्रालय चाहिँ गर्भवतीलाई आइरन चक्की दिएर नै रक्तअल्पता कम हुन्छ भनी जताततै आइरन चक्की बाँड्छ । कति महिलालाई त्यसले वाकवाकी लाग्छ, अनि खान छोड्छन् । अहिले त कतिपय प्रदेशमा किशोरीलाई समेत आइरन चाहियो भन्दै फोलिक एसिड बाँड्ने कार्यक्रम चलाउने रे ! मानव पोषणलाई टुक्रा–टुक्रामा विचार गरेर, टुक्रे–टुक्रे कार्यक्रम गरेर महिला र किशोरीको स्वास्थ्य राम्रो हुने वा रक्तअल्पता कम हुने हुँदैन ।

हाम्रो ‘स्वास्थ्य’ कि ‘रोग’ मन्त्रालयले धेरै पैसाले आइरन चक्की र फोलिक एसिड किन्छ, तर त्यसले महिलाको रक्तअल्पता घटाउन सकेको छैन । सन् २००६ मा ३६ प्रतिशत गर्भवती महिलामा रक्तअल्पता थियो भने २०१६ को सरकारी तथ्यांक अनुसार यो ४१ प्रतिशत पुगेको थियो । यति धेरै फोलिक एसिड, आइरन चक्की बोक्दा पनि रक्तअल्पता कम भएन । रक्तअल्पता सामाजिक समस्या हो र आइरन चक्की बाँडेर समाधान हुँदैन भनी यो मन्त्रालयले कहिले बुझ्ने होला ?

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तरलता अभाव टार्न सुनचाँदी निक्षेप

सरोज गुरागाईं

बैंकिङ क्षेत्रमा दुई–तीन वर्षयता तरलता अभाव हुँदै आएको छ । लगानी क्षमतामा तथा राष्ट्रको आर्थिक क्रियाकलापमा वृद्धि र निक्षेपको स्रोत सीमित हुनु यसको मुख्य कारण मान्न सकिन्छ । आर्थिक वर्ष २०७६/७७ को बजेटमा देशमा छरिएर रहेको सुनचाँदीलाई बैंकिङ प्रणालीमा निक्षेपका रूपमा ल्याउने सोच केही हदसम्म तरलता सहज गर्न सक्ने सम्भावनायुक्त छ । सुनचाँदी निक्षेपको प्रभावकारी प्रयोग निम्नानुसार ल्याउन सकिन्छ :



सरोज
गुरागाईं




(क) सुनचाँदीेका गणना साधारण निक्षेपसरह
बैंकहरूले कुल निक्षेपको २० प्रतिशत तरल सम्पत्ति राख्नुपर्ने हुन्छ । अब त्यस्तो सम्पत्तिमा सुनचाँदी राख्ने र यसमा प्रयोग रहेको तरल रकम कर्जा प्रवाहका लागि उपयोग गर्ने गर्नुपर्छ । यसका लागि निक्षेपका रूपमा सुनचाँदी तथा यसका गरगहनालाई निश्चित ब्याजदरमा ग्राहकबाट बैंकहरूले स्वीकार गर्छन् ।

यसको महत्त्वपूर्ण पहिलो पक्ष निक्षेपमा दिने ब्याजदर हो । अहिलेको अवस्थामा वार्षिक ३–४ प्रतिशतभन्दा कम ब्याजदर आकर्षक नहुन सक्छ । बढी आकर्षक बनाउन यसलाई बचत तथा मुद्दती निक्षेपका रूपमा ल्याउनु राम्रो हन्छ । भारतमा यस्तो ब्याजदर २.२५ प्रतिशत छ । दोस्रो पक्ष यस्ता गरगहनामध्ये वास्तविक सुनको मात्रा कति छ भन्ने छुट्याउने विधि हो । बैंकहरूलाई यसका लागि राम्रा सुन–जाँचकी तथा आधुनिक सुन जाँच्ने मेसिनको आवश्यकता पर्छ ।

बैंकको ब्याज खर्च हुने हुँदा यस्ता निक्षेपलाई लगानी गरेर आय आर्जनमा प्रयोग गर्नुपर्छ । यो कार्य केन्द्रीय बैंकको सहयोगबिना सम्भव छैन । यसका निम्ति केन्द्रीय बैंकले तोकेका विद्यमान व्यवस्थालार्ई निम्नानुसार संशोधन गर्नुपर्छ :

१. नगद जगेडा अनुपात (सीआरआर) ४ प्रतिशत कायम गर्दा बैंकले आफ्नो भाल्टमा राखेको सुनचाँदी समेतलाई समावेश गर्ने । यस प्रयोजनका लागि प्रत्येक बैंकलाई सुनचाँदी कोष (नोट कोषजस्तै) सञ्चालन गर्न दिनुपर्ने हुन्छ, जुन केन्द्रीय बैंकको प्रतिनिधि भएर बैंकहरूले चलाउनुपर्छ ।

२. वैधानिक तरलता अनुपात (एसएलआर) कायम गर्दा बैंकहरूले आफ्नो भाल्टमा राखेको सुनचाँदी समेतलाई समावेश गर्ने र प्रत्येक वाणिज्य बैंकले आफ्नो कुल निक्षेपको १० प्रतिशत रकम भाल्टमा नगद, केन्द्रीय बैंकमा नगद, सरकारले जारी गरेका ट्रेजरी बिल, विकास ऋणपत्र आदिमा लगानी गर्नुपर्ने हुन्छ । त्यस्ता लगानी उपकरणमा सुनचाँदीसमेत समावेश गर्नुपर्छ ।

३. तरल सम्पत्ति अनुपात (२० प्रतिशत) कायम गर्दा बैंकहरूले भाल्टमा राखेको सुनचाँदी समेतलाई समावेश गर्ने ।

४. कर्जा निक्षेप अनुपात कायम गर्दा सुनचाँदी निक्षेपलाई स्रोत परिचालनमा गणना गर्ने । बैंकले आफ्नो कुल स्थानीय मुद्राको निक्षेप तथा पुँजीको ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । यसरी स्रोत परिचालनमा स्थानीय मुद्रा तथा सुनचाँदीको निक्षेपसमेत समावेश गर्नुपर्ने हुन्छ ।

(ख) केन्द्रीय बैंकसँग स्वाप गर्ने
बैंकहरूले ग्राहकबाट सुनचाँदीको बचत तथा मुद्दती निक्षेपका रूपमा स्वीकार गर्ने र निश्चित प्रतिशत ब्याज दिने । यस्ता निक्षेपको लेखाङ्कन ‘ग्राम’मा गर्नु उपयुक्त हुन्छ । यसलाई प्रत्येक दिन अन्तर्राष्ट्रिय ब्याजदरको मूल्यमा आधारित गरेर निश्चित नेपाली मूल्य निकाल्नुपर्ने हुन्छ । यस अर्थमा सुन तथा चाँदी परिवर्तीय विदेशी मुद्राजस्तै निक्षेपका रूपमा रहन सक्छ । यसका लागि केन्द्रीय बैंकको सहयोगमा निम्न विधि तथा प्रक्रिया अपनाउनु आवश्यक देखिन्छ :

१. केन्द्रीय बैंकले प्रत्येक दिन अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय मूल्य निर्धारण गर्ने ।

२. उक्त मूल्यमा वार्षिक २–३ प्रतिशत ब्याजदरमा स्वाप गरी सो बराबरको नेपाली रुपैयाँ प्रत्येक दिन निश्चित समयमा बैंकहरूलाई उपलब्ध गराउने । यस्तो स्वाप ७ दिनदेखि ५ वर्षसम्मका लागि उपलब्ध गराउने ।

३. सुनचाँदी बचत निक्षेप कुनै पनि समयमा ग्राहकहरू लिन आएमा फिर्ता दिनुपर्ने हुन्छ । यसलाई सहज गर्न केन्द्रीय बैंकले यस्तो स्वाप खरिद तथा बिक्री गर्ने दुइटै सेवा बैंकहरूलाई उपलब्ध गराउने । यसरी केन्द्रीय बैंकले उपलब्ध गराएको खुद रकम (नेट अफ बाई एन्ड सेल स्वाप) लाई बैंकहरूले निक्षेप वा पुनर्कर्जाका रूपमा प्रयोग गर्ने ।

४. माथि उल्लिखित सुनचाँदीको खरिद–बिक्रीको स्वाप कारोबारका लागि प्रत्येक बैंकमा सुनचाँदी कोषको व्यवस्था गर्ने ।

(ग) अन्तर्राष्ट्रिय प्रचलन तथा जोखिम
सुनलाई निक्षेपभन्दा पनि तरल सम्पत्तिका रूपमा लिने अन्तर्राष्ट्रिय प्रचलन नै छ । बैंकहरूले केन्द्रीय बैंकले तोके अनुसारको वैधानिक तरलता अनुपातका लागि सुनलाई गणना गर्न दिने प्रचलन रहेको देखिन्छ । यसबाट त्यस्ता उपकरणमा लगानी गर्नुपर्ने रकम कर्जा प्रवाह गर्न वा अन्य क्षेत्रमा लगानी गर्न सकिन्छ ।

भारतमा सन् २०१५ मा सुनलाईमुद्राका रूपमा परिचालन (मोनिटाइजेसन अफ गोल्ड) गर्ने सुन निक्षेप स्किमका रूपमासुरुआत गरिएको थियो । यस अनुसार बैंकहरूका लागि विभिन्न संकलन केन्द्रमा न्यूनतम ३० ग्राम यो स्किममा जम्मा गर्न सकिन्छ । संकलन
केन्द्रले सुन संकलन गरी शुद्घीकरण केन्द्रमा पठाउँछ ।

सुनलाई पगालेर शुद्घ बनाई सुन निक्षेप प्रमाणपत्र जारी गर्ने गरिन्छ । यो स्किममा निक्षेपकर्ताले करिब २.२५ प्रतिशत वार्षिक ब्याज पाउने व्यवस्था रहेको छ । यस्तो निक्षेप १–३ वर्षदेखि बढीमा १५ वर्षसम्मका लागि गरेको पाइन्छ । तर, सुन शुद्घीकरणमा केही नोक्सानी, कम ब्याजदर तथा यस सम्बन्धी शिक्षाको कमी जस्ता कारणले यो स्किम अपेक्षाकृत सफल भएको देखिँदैन ।

विकसित बजारमा यसलाई मुद्राजस्तो निक्षेपका रूपमा भन्दा पनि निश्चित लिज दरका आधारमा वस्तु बजारमा सुनचाँदी सापटी दिने तथा मुद्रासँग स्वाप गर्ने प्रचलन छ । यस्ता स्वापमा सुनचाँदी बजारमा मूल्यमा आउने परिवर्तनका कारण निम्त्याउने जोखिम निहित हुन्छ ।

नेपालको बजारमा आवश्यक परेका बेला खरिद–बिक्री गर्न कठिन हुने तरलता सम्बन्धी जोखिमसमेत छ । बृहत् परिप्रेक्ष्यमा यसबाट परिचालन हुने थप मुद्राका कारण मुद्रास्फीति लगायतका मौद्रिक विस्तारबाट हुने जोखिमलाई मनन गर्नुपर्ने हुन्छ ।सुनचाँदी विशिष्ट प्रकृतिको निक्षेप हुने भएकाले कुल निक्षेपमा यसको अंशको सीमा कायम गर्नु केन्द्रीय बैंकको हिसाबले उपयुक्त हुन सक्छ ।

सुनचाँदी निक्षेप कति आउला
नेपाली बजारमा सन् २००९ मा भुक्तानी सन्तुलन (बीओपी) ऋणात्मक भएर तरलता अभाव भएको थियो र त्यसको प्रमुख
कारण थियो— सुनचाँदीको अत्यधिक आयात । सन् २००९/१० देखि चालु आर्थिक वर्षको ९ महिनासम्म करिब २३८ अर्बको सुन तथा ९८ अर्बको चाँदी गरी हामीले जम्मा ३३६ अर्ब बराबरको सुनचाँदीे आयात गरेका छौं । सोमध्ये केही नगण्य चाँदीका हस्तकलाका माध्यमबाट निर्यात भएको छ ।

भारतको बजारमा नेपालको सुनचाँदीको सहज पहुँच समेतलाई विचार गर्दा पनि १०० अर्बभन्दा बढीको निक्षेप बढ्न सक्ने सहजै अनुमान गर्न सकिन्छ । सर्वसाधारणले परम्परागत रूपमा खरिद गरेका तथा मठमन्दिरको ढुकुटीमा रहेका सुनचाँदी समेतलाई उत्पादनशील क्षेत्रमा लगाउने सोच राख्ने हो भने यस्तो निक्षेप सोचेभन्दा निकै बढी हुन सक्छ ।

निष्कर्ष
अन्तर्राष्ट्रिय बजारमा प्रचलित सुनचाँदी सम्बन्धी स्किम नेपालमा हुबहु लागू गर्दा अपेक्षित रूपमा प्रभावकारी नहुने करिब निश्चितै छ । कारण, नेपाली बजारको आवश्यकता अन्तर्राष्ट्रिय बजारको भन्दा बिलकुल फरक छ । त्यसैले पछिल्लो बजेटको ८.५ प्रतिशत आर्थिक वृद्घिको लक्ष्य हासिल गर्न जुन मौद्रिक विस्तार नीति आवश्यक छ, सोको पूर्तिका लागि सुनचाँदीलाई अन्तर्निहित सम्पत्ति राखेर निक्षेप विस्तार गर्नु अचूक उपाय हुन सक्छ । यस्तो नवीनतम सोच तथा प्रक्रियाबाट पछि हट्नु हुँदैन ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT