शिवपुरी–नागार्जुन काठमाडौंको जीवन 

कमलजंग कुँवर

विश्वमै देशको राजधानीबाट सबैभन्दा नजिकको राष्ट्रिय निकुञ्ज शिवपुरी नागार्जुन हो । यसले उपत्यकाको दूषित हावा सोसेर स्वच्छ हावा उत्सर्जन, खानेपानी, भूमिगत जलभण्डार सिञ्चन, कृषि भूमिमा सिँचाइ, मरुभूमीकरण हुनबाट काठमाडौंलाई जोगाउँछ । धूलो र धूवाँबाट आक्रान्त काठमाडौंवासीलाई प्रकृतिमा सयर गराउँछ । 

यसको समुचित व्यवस्थापन र संरक्षणका लागि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६ आएको छ । यो नियमावली मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा, काठमाडौं उपत्यका, वाग्मती र विष्णुमती नदीको हितलाई केन्द्रमा राखेर तयार पारिएको छ ।

पाँच दशक पहिले वाग्मती र विष्णुमती नदीको सम्पूर्ण जल खानेपानीमा प्रयोग गर्न सकिन्थ्यो । दूरदृष्टि त्यतिबेलाका शासकमा नहुँदा आज मेलम्चीका नाममा काठमाडौंवासीले धुलोमान्डुमा बस्नुपरेको छ, कमिसन र भ्रष्टाचारको जालोमा कर्मचारी र राजनीतिक वृत्त जोडिनुपरेको छ । वाग्मती जीवन्त हुनु भनेको काठमाडौं स्वच्छ हुनु हो भन्ने नसोच्नु भूल थियो ।

१२२ वर्ष पहिले राणाकालमा बूढानीलकण्ठ, मुहानपोखरीबाट रुद्रमती र महादेव खोलाको दोभानको पोखरीबाट पानी संकलन गरेर दरबार र काठमाडौंमा ल्याइएको थियो । गत वर्ष मात्रै मुहानपोखरी नजिकैका स्थानीय उपभोक्ताले रुद्रमतीबाट खानेपानी ल्याउन खोज्दा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले अवरोध गर्‍यो ।

निकुञ्ज कार्यालयले स्थानीय समुदायलाई खानेपानी लैजान अनुमति प्रदान गर्दा पनि डराउनुपर्‍यो । स्थानीय बासिन्दा, निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाका गण यसका वास्तविक व्यवस्थापकहरू हुन् तर पानीका स्रोतमा अर्कैको हालीमुहाली रहेछ । निकुञ्जबाट जति परिमाणमा पानी संकलन भएको छ, त्यही अनुपातमा समानुपातिक ढंगले वितरण हुने हो भने काठमाडौंवासीले काकाकुल हुनुपर्ने थिएन ।

पानीको स्रोत अव्यवस्थित र अवैज्ञानिक ढंगबाट उपयोग हुँदै आएको छ । यो नियमावलीको प्रावधानबमोजिम खानेपानीको वैज्ञानिक, व्यवस्थित र समान वितरण लागू गरेर संविधानको धारा ५१ (छ) मा प्राकृतिक स्रोतमाथि स्थानीय समुदायको अग्राधिकार र प्राथमिकताको भावना कार्यान्वयनमा ल्याउनेछ । स्थानीय समुदायलाई दुवै हातमा लड्डु हुनेछ ।

यो नियमावलीमा पानी र प्राकृतिक स्रोतमा स्थानीय समुदायको अग्राधिकार र प्राथमिकता तोकिएको छ भने बढी भएको स्रोत तल्लो तटीय क्षेत्रमा वितरणबापत निकुञ्जमा प्राप्त राजस्वको ३०–५० प्रतिशत रकम मध्यवर्ती क्षेत्र कार्यक्रममा विनियोजित गर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम उनीहरूले त्यसको प्रतिफल पाउने छन् । खानेपानीको अव्यवस्थित र अवैज्ञानिक वितरण प्रणालीमा सुधार भई समानवितरणको अवसर सिर्जना हुनेछ ।

मध्यवर्ती क्षेत्रमा प्राप्त हुने रकमबाट नेपालको एउटै मात्र ठाउँ जहाँ बाँदरलगायतका सबै वन्यजन्तुले स्थानीय समुदायको अन्नबाली, फलफूल, भण्डारण गरेको अन्न, पशुधन, मानवीय क्षतिबापत राहत पाउँछन् । पीडितले सर्पदंशको उपचार खर्च पाउने व्यवस्था गरिएको छ । नेपालभरिको क्षेत्रमा केवल १४ प्रजातिका वन्यजन्तुले क्षति पुर्‍याएमा राहत पाउने व्यवस्था छ तर शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन निर्देशिका २०७३ मा सबै जनावरले क्षति पुर्‍याएबापत राहत पाउने व्यवस्था गरिएको छ ।
वातावरणीय सेवाको भुक्तानीको सुरुवात गर्ने पहिलो संरक्षित क्षेत्र हुन सके प्राकृतिक स्रोतमाथि स्थानीय समुदायको अग्राधिकार, वन्यजन्तुको क्षतिबापत राहत, मध्यवर्ती क्षेत्रमा प्राप्त हुने बजेटबाट संरक्षण र विकास एकसाथ अगाडि बढ्न सकेमा स्थानीय समुदायमा पानीको स्रोत संरक्षणमा अपनत्वको भाव जागृत हुनेछ । हालसम्म तल्लो तटीय क्षेत्रमा मुफ्तमा पानी प्रयोग गरिरहेका खानेपानी उपभोक्ताले पानी प्रयोग गरेबापतको रकम तिर्दा प्राकृतिक स्रोतको प्रतिफल स्थानीय बासिन्दाले पाउने छन् ।

नियमावलीबमोजिम काठमाडौंमा खानेपानीको वैकल्पिक व्यवस्था भएपछि वाग्मती नदीको सम्पूर्ण पानी प्राकृतिक रूपमा छाड्ने व्यवस्था हुन सके काठमाडौंलाई यसले जीवन्त पार्नेछ र वाग्मती नदीमा सफा पानी बग्नेछ । हरेक खोलाखोल्सीमा नियमित पानीको प्रवाह गर्ने सपना यस नियमावलीले बोकेको छ ।

एकपटक जंगलमा डढेलो लाग्दा पुनः पुरानै अवस्थामा आउन १८–१९ वर्ष लाग्छ । जति धेरै जंगलमा डढेलो लाग्छ, त्यत्ति धेरै वर्षात्को समयमा तल्लो तटीय क्षेत्रमा बाढीपहिरो र हिउँदमा पानीको अभाव हुन्छ । पानीको सञ्चिती क्षमतामा ह्रास ल्याउने डढेलोलाई नियन्त्रण गर्न भुइँमा झरेका सल्लाका सल्लेरी स्थानीय बासिन्दालाई उपलब्ध गराउने व्यवस्था यो नियमावलीको अर्को विशेषता हो ।

जंगलबाट सल्लेरी निकाल्दा एकातिर डढेलो नियन्त्रणमा टेवा पुग्छ भने अर्कोतिर किसानले सल्लेरीलाई जैविक मल बनाउन प्रयोग गर्नेछन् । निकुञ्जको पहिलो पञ्चवर्षीय कार्ययोजना २०७४/२०७५–२०७८/०७९ मा पनि सल्लाको वनलाई चौडापाते जंगलमा रूपान्तरण गर्ने विशेष कार्यक्रम समावेश गरिएको छ । यसो हुन सकेमा डढेलोको घटनामा ह्रास आउनेछ भने जलाधार क्षेत्रमा जल सञ्चिती क्षमतामा वृद्धि हुने र हिउँदमा नदी र खानेपानीका मुहानमा जल प्रवाह बढ्नेछ ।

सफारी प्रावधानको मर्म
नियमावलीमा भएको जिप सफारीसम्बन्धी विषय उठेपछि प्रबुद्ध वर्गको चासोबाट यो निकुञ्जको महत्त्व झल्कन्छ । यो निकुञ्ज राजधानीबाट नजिकै भए पनि ‘बत्तीमुनिको अँध्यारो’ जस्तो ओझेलमा परेको थियो । कहिले केबलकारका नाममा त कहिले अल्लेको जंगलमा ‘मिनी नेपाल’ बनाउने नाममा, जताततै सडक निर्माण गर्न खोज्ने, महोत्सव मनाउने नाममा आफैंले पिउने पानीको मुहानमा डोजर चलाएर समाप्त पार्न खोज्नेहरूबाट पटकपटक आक्रमण गर्ने चेष्टा हुँदै आएका छन् ।

निकुञ्ज कार्यालय, सरकारी निकाय र केही सीमित संघसंस्था मात्र होइन, यसको संरक्षणमा ठूलो जमात् ‘कान ठाडो’ पारेर चनाखो भएर बसेका छन् भन्ने पछिल्ला घटनाक्रमले देखिनु नै अब यसको संरक्षणमा कसैले आँच पुर्‍याउन सक्दैन भन्ने हो । यसबाट खानेपानीको मुहानमाथि आक्रमण गर्न खोज्नेहरू पनि झस्किएको हुनुपर्छ । जिप सफारीको व्यवस्था आफैं भने ‘अन्धोले हात्ती छामे जस्तो’ भएको छ ।

सयौं गाडी र मोटरसाइकलमा निकुञ्ज प्रवेश गरेर मनलाग्दी सयर गर्ने परिपाटी र निजी सवारीसाधनको ध्वनि र वायु प्रदूषण नियन्त्रण गर्ने यसको उद्देश्य हो । वातावरणमैत्री सीमित सवारीसाधनको प्रवेश अनुमति यसको खास सोच हो । निजी सवारीको नियमन नियन्त्रण गर्न कठिन भइरहेको र तोकिएको मापदण्डअनुसार चल्ने जिप सफारीका माध्यमबाट थप प्रदूषण हुन नदिने, व्यवस्थित र वैज्ञानिक तरिकाबाट निकुञ्जको अवलोकन भ्रमण गराउने यसको अभिप्राय हो । जिप सफारीका लागि निकुञ्जभित्र नयाँ सडक निर्माण नगरी पुरानै सडकलाई सामान्य मर्मत गरेर सञ्चालन गर्ने सोचाइ हो । दैनिक सयभन्दा बढी सवारीसाधन निकुञ्जभित्र प्रवेश गराउनुपर्ने बाध्यतालाई सीमित संख्यामा कसरी झार्न सकिन्छ भन्ने योजना हो ।

स्थानीय युवायुवतीलाई नेचर गाइडका माध्यमबाट रोजगारी सिर्जना गरी उनीहरूको माध्यमबाट निकुञ्जको जैविक विविधता र धार्मिकस्थलको ज्ञान वितरण गर्ने उपायका रूपमा पनि हो । नेचर गाइडसँगै जानेहरूले जथाभावी निकुञ्जभित्र फोहोर नफाल्ने हुँदा खानेपानीको मुहानलाई प्रदूषणमुक्त बनाउने मनसाय पनि हो ।

४० जना स्थानीय युवालाई तीन वर्षदेखि प्रकृति पथप्रदर्शकको तालिममार्फत उनीहरूलाई देशमै स्वरोजगारको व्यवस्था गरिएको छ । यसबाट रोजगारी मात्र सिर्जना भएको छैन, उनीहरूको माध्यमबाट निकुञ्जको महत्त्व र आवश्यकताबारे स्वदेशी तथा विदेशीलाई जानकारी प्रवाह गर्ने र फोहोररहित निकुञ्ज बनाउने अभियान सञ्चालन भएको छ ।

लेखक शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका पूर्वचिफ वार्डेन हुन् ।

प्रकाशित : असार २, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

बंगलादेश र वेस्ट इन्डिजको महत्त्वपूर्ण खेल

एजेन्सी

टाउनटन — बंगलादेश र वेस्ट इन्डिज दुवै टिमले यस विश्वकपमा सानदार सुरुआत गरेका थिए । उनीहरूले त्यस सफलतालाई निरन्तरता दिन असफल रहे । 


आक्रामक बलिङकै कारण वेस्ट इन्डिजले विश्वकपमा फाइदा उठाइरहेको छ । उसका ब्याट्सम्यानहरूको खराब सट छनोटको मूल्य समग्र टिमले चुकाउनुपरेको छ । शुक्रबार इंग्ल्यान्डविरुद्धको खेलमा ३० ओभरसम्म वेस्ट इन्डिज १४४/३ को स्थितिमा थियो । उनीहरू ४५ औं ओभरमा २ सय १२ रनमै अलआउट भए ।

मुख्य २ खेलाडी एन्ड्रयु रसेल र सेल्डन कोट्रेल घाइते हुनु वेस्ट इन्डिजका लागि ठूलो झडका हो । शुक्रबार मैदान छाड्नुअघि यी दुईले ५ ओभर मात्र बलिङ गरेका थिए ।

यस विश्वकपमा बंगलादेशको अहिलेसम्मको सफलता तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका सकिव अल हसनको प्रदर्शनकै वरिपरि घुमिरहेको छ । कार्डिफमा इंग्ल्यान्डविरुद्ध दबाबमा देखिएका बंगलादेशी बलरहरू पर्याप्त विकेटको अवसरबाट वञ्चित रहे । इंग्ल्यान्डले त्यस खेलमा ५० ओभरमा ३ सय ८६ रन जोडेको थियो, जुन विश्वकप इतिहासकै सर्वाधिक योगफल हो ।

माश्रफी मोर्तजाले शक्तिशाली वेस्ट इन्डिजविरुद्धको खेलमा टिमबाट अधिक सुधारिएको प्रदर्शनको अपेक्षा गरेका छन् । त्यसका लागि उनी आफैंले प्रयासको नेतृत्व गर्नुपर्नेछ ।

टाउनटनको अवस्था हेर्दा खेल वेस्ट इन्डिजको पक्षमा जाने अनुमान गर्न सकिन्छ । जेसन होल्डर नेतृत्वको टिमविरुद्धको पछिल्लो सफलताले बंगलादेशलाई आत्मविश्वास कायम राख्ने अवसर हुनेछ । दुवै टिमको अहिलेसम्म ४ खेलबाट ३ अंकछ । १० टोली सम्मिलित विश्वकपको राउन्ड रोविन प्रतिस्पर्धाको सेमिफाइनलमा स्थान बनाउनका लागि दुवैलाई जित आवश्यक छ ।

टाउनटनमा सोमबार बिहानीपख घाम लाग्ने र मध्याह्नपछि बदलीको पूर्वानुमान गरिएको छ । सानो मैदान भएकाले ठूलो स्कोरको खेल हुने अनुमान गरिएको छ ।

प्रकाशित : असार २, २०७६ ०७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्