सञ्जालमा बुलिङ

निर्मला ढकाल

मैले कलेज पढाउन सुरु गरेको केही महिना मात्र भएको थियो । थप केही कलेज पढाउने सोच आएपछि राम्रो चिनजानका एक गुरुसँग सहयोग मागें । उहाँले तत्काल आश्वस्त तुल्याइहाल्नुभयो । म ढुक्क भएर गुरुको सुसमाचारको प्रतीक्षामा बस्न थालें । उहाँसँग बीचबीचमा ‘च्याट’ भइरहेको थियो । दिन बितेसँगै उहाँको ‘अफर’ आउन थाल्यो— ‘चिया–कफीमा भेटौं,’ ‘सँगै कलेज हेर्न जाऔं ।’

आफूले अति आदर गर्दै आएका व्यक्ति भएकाले उहाँका यस्ता सुन्नुपर्दा कताकता असहज लागे पनि आफ्नै मन पापी होला भन्ने सोचें । उहाँले भनेझैँ भेटघाट गर्न सम्भव थिएन, किनकि मैले भर्खरै पढाउन थालेकी थिएँ । त्यसमाथि स्नातकोत्तर तहको पढाइ !
शारीरिक दुर्व्यवहार नहुन्जेल हामी कतिपय कुरा बेवास्ता गर्ने गर्छौं, जुन कालान्तरमा ठूलो गल्ती हुने रहेछ ।

एक दिन गुरु बहकिनुभयो । मेसेन्जरमा अश्लील शब्दावली लेख्नुभयो । त्यसले मलाई छाँगाबाट खसेझैं बनायो । आफ्नै गुरुको यस्तो नीचता ? आफूले मान्दै आएका मान्छेको असली रूप नांगिँदा पनि म कुनै प्रतिक्रिया दिन सक्ने अवस्थामा थिइनँ । समय रातको नौ बजिसकेको थियो । कुनै प्रत्युत्तर दिइनँ र स्क्रिनसट सेभ गरें ।

भोलिपल्ट स्क्रिनसट पठाउँदै फोन गरें, ‘यो सब के हो ?’ उहाँले गए राति आफू होसमा नरहेको, साथीसँग बसेर पिउँदा झुक्किएर मेसेज गयो होला भन्दै माफी माग्नुभो । ‘खुट्टा ढोग्न तयार छु, यो कुरा अन्त्य गर’ भन्दै अब यस्तो कुकृत्य नदोहोर्‍याउने वाचा गर्नुभयो । म फेरि आज्ञाकारी छात्रा बनें, त्यो मेसेजडिलिट गरिदिएँ ।

घटना त टुंगियो, तर म मानसिक रूपमा विक्षिप्त जस्तै बनें । त्रिवि परिसर टेक्दा पनि त्यही घटना आँखाअघि आउन थाल्यो । हातमा सर्टिफिकेटको थुप्रो, नामअगाडि ‘डा.,’ मानिएका बौद्धिक, तर महिलाप्रतिको व्यवहार ?

‘फेसबुक र मेसेन्जरमा मलाई बेवास्ता गरे पनि क्लासमा भेट अवश्य हुन्छ, कसरी बच्नुहुन्छ ? विचार गर्नुस् ।’ शब्दशः यही बोलेको थियो त्यो विद्यार्थीले !

बारम्बार अनावश्यक मेसेज गर्नेहरूलाई झैं उसलाई पनि मैले ब्लक गरेकी थिएँ । कलेज विद्यार्थी युनियनमा आबद्ध उसले त्यसअघि लेखेको थियो— ‘मलाई सहयोग गरे तपाईंलाई राम्रो हुन्छ, आवश्यकता दुवैको हुन सक्छ, यहाँ टिक्न मन छ भने भनेको मान्नुस् ... ... ।’

आफ्नै विद्यार्थीले, आफ्नै सन्तानसरह केटोले मलाई धम्क्याउँदै थियो । आफ्नो त्यो विद्यार्थीलाई त्यही रूपमा सम्झिनु मेरो भूल भइसकेको थियो । मलाई अध्यापनप्रति नै वितृष्णा हुन थाल्यो । मानसिक तनाव अति भयो । त्यो कलेजको गेटभित्र पस्दा खुट्टा काम्न थाले, कक्षामा उसकै अगाडि बसेर पढाउनुपर्दा हीनताबोध हुन थाल्यो । त्यो मेरा लागि परीक्षाको घडी पनि थियो । मन बदलें र उसलाई एक पटक सुधार्ने कोसिस गर्छु भनी युनियनका केही विद्यार्थी भाइसँग सप्रमाण सहयोग मागें । उनीहरूले ‘एक पटक माफी दिनुस्, अब गल्ती गर्दैन’ भन्ने वाचा गरे । त्यसपछि मेरो अवस्था सामान्य हुँदै गयो ।

म सामाजिक सञ्जालमा निकै सक्रिय छु । फेसबुक र ट्वीटर सार्वजनिक ठाउँ हुन् । तिनमा अलि बौद्धिक वर्गको हालीमुहाली भए पनि हैकमवादी सोचको उपस्थिति कम छैन । मेरा लागि सामाजिक सञ्जाल व्यक्तिको सोच र मानसिक दरिद्रता अध्ययन गर्ने थलो पनि भएको छ । केही महिनाअघि आफैं ‘साइबर बुलिङ’ को नराम्रो सिकार भएँ ।

कुनै अपरिचित व्यक्तिले बारम्बार मेरो चरित्रमाथि सञ्जालमार्फतै औंला उठाएर मानसिकता खलबल्याइदिए । कमेन्ट मेट्न नमिल्ने, बेवास्ता पनि गर्न नसकिने ! साथीभाइ र परिवारजनले त्यसको सामना गर्ने साहस दिए । कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढ्यो, अहिले अनुसन्धानमा छ । सञ्जालमा अभिव्यक्त हुने यस्ता प्रतिक्रिया वा भनाइबाट, महिलाप्रति हाम्रो पुरुषसमाज कस्तो धारणा राख्छ भन्नेप्रस्ट हुन्छ ।

जे भोगें, त्यो मेरो मात्र भोगाइ होइन । घरबाहिर निस्किने प्रायः महिलाको भोगाइ यस्तै छ । हामी प्रतिकार गर्न सक्दैनौं, संकोचले रोक्छ । परिवार, इस्टमित्र, समाजले के भन्ला भन्ने डर अझै हावी छ हामीमा । कहीं न कहीं ‘भिक्टिम ब्लेमिङ कल्चर’ बाट हामी प्रभावित छौं । महिला भन्नेबित्तिकै सहनशील हुनुपर्ने पुरातन ‘अब्जेक्ट’ बाट हामी उम्किन सकेका छैनौं । घरभित्र आमा, बहिनी, श्रीमती, छोरीलाई सम्मान गर्न सक्ने पुरुष घरबाट निस्किनेबित्तिकै महिलाको अस्तित्वस्वीकार गर्न किन गाह्रो मान्छ ? केहीअंग फरक हुनेबित्तिकै यति बलियोबन्न सकिन्छ र ?

पुरुषको कथित ‘मर्दानगी’ विकसित हुनमा घरपरिवार, इस्टमित्र, स्कुल, कलेज, सञ्चारमाध्यम, धर्म, राजनीति सबैको भूमिका छ । यो शक्ति जुन शारीरिकभन्दा बेसी मानसिक छ, जसका कारण कुनै गुरु वा विद्यार्थी वा सामाजिक सञ्जालमा भेटिने जोसुकैले कहिल्यै नभेटिएकी महिलालाई समेत ‘पौरुष’ को आडलिएर सहजै आक्रमण गर्ने हिम्मत जुटाउँछ ।

महिलाको लडाइँ पुरुषसँगनभई हैकमवादी सोच जन्माउने,हुर्काउने र विकास गर्ने सामाजिकप्रवृत्ति, सिकाइ, संस्कारसँग हो । व्यावहारिक रूपमै विभेद हटाउन परम्परादेखिका महिलाकेन्द्रित लाञ्छना, आरोप, मान्यता तथा दृष्टिकोण हटाउन जरुरी छ । अमिल्दा मान्यता, हामी पुरुषसरह हुन सक्दैनौं भन्ने सोच डिलिट गरिहालौं ।

प्रकाशित : असार २, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

शिवपुरी–नागार्जुन काठमाडौंको जीवन 

कमलजंग कुँवर

विश्वमै देशको राजधानीबाट सबैभन्दा नजिकको राष्ट्रिय निकुञ्ज शिवपुरी नागार्जुन हो । यसले उपत्यकाको दूषित हावा सोसेर स्वच्छ हावा उत्सर्जन, खानेपानी, भूमिगत जलभण्डार सिञ्चन, कृषि भूमिमा सिँचाइ, मरुभूमीकरण हुनबाट काठमाडौंलाई जोगाउँछ । धूलो र धूवाँबाट आक्रान्त काठमाडौंवासीलाई प्रकृतिमा सयर गराउँछ । 

यसको समुचित व्यवस्थापन र संरक्षणका लागि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली, २०७६ आएको छ । यो नियमावली मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा, काठमाडौं उपत्यका, वाग्मती र विष्णुमती नदीको हितलाई केन्द्रमा राखेर तयार पारिएको छ ।

पाँच दशक पहिले वाग्मती र विष्णुमती नदीको सम्पूर्ण जल खानेपानीमा प्रयोग गर्न सकिन्थ्यो । दूरदृष्टि त्यतिबेलाका शासकमा नहुँदा आज मेलम्चीका नाममा काठमाडौंवासीले धुलोमान्डुमा बस्नुपरेको छ, कमिसन र भ्रष्टाचारको जालोमा कर्मचारी र राजनीतिक वृत्त जोडिनुपरेको छ । वाग्मती जीवन्त हुनु भनेको काठमाडौं स्वच्छ हुनु हो भन्ने नसोच्नु भूल थियो ।

१२२ वर्ष पहिले राणाकालमा बूढानीलकण्ठ, मुहानपोखरीबाट रुद्रमती र महादेव खोलाको दोभानको पोखरीबाट पानी संकलन गरेर दरबार र काठमाडौंमा ल्याइएको थियो । गत वर्ष मात्रै मुहानपोखरी नजिकैका स्थानीय उपभोक्ताले रुद्रमतीबाट खानेपानी ल्याउन खोज्दा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले अवरोध गर्‍यो ।

निकुञ्ज कार्यालयले स्थानीय समुदायलाई खानेपानी लैजान अनुमति प्रदान गर्दा पनि डराउनुपर्‍यो । स्थानीय बासिन्दा, निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाका गण यसका वास्तविक व्यवस्थापकहरू हुन् तर पानीका स्रोतमा अर्कैको हालीमुहाली रहेछ । निकुञ्जबाट जति परिमाणमा पानी संकलन भएको छ, त्यही अनुपातमा समानुपातिक ढंगले वितरण हुने हो भने काठमाडौंवासीले काकाकुल हुनुपर्ने थिएन ।

पानीको स्रोत अव्यवस्थित र अवैज्ञानिक ढंगबाट उपयोग हुँदै आएको छ । यो नियमावलीको प्रावधानबमोजिम खानेपानीको वैज्ञानिक, व्यवस्थित र समान वितरण लागू गरेर संविधानको धारा ५१ (छ) मा प्राकृतिक स्रोतमाथि स्थानीय समुदायको अग्राधिकार र प्राथमिकताको भावना कार्यान्वयनमा ल्याउनेछ । स्थानीय समुदायलाई दुवै हातमा लड्डु हुनेछ ।

यो नियमावलीमा पानी र प्राकृतिक स्रोतमा स्थानीय समुदायको अग्राधिकार र प्राथमिकता तोकिएको छ भने बढी भएको स्रोत तल्लो तटीय क्षेत्रमा वितरणबापत निकुञ्जमा प्राप्त राजस्वको ३०–५० प्रतिशत रकम मध्यवर्ती क्षेत्र कार्यक्रममा विनियोजित गर्नुपर्ने कानुनी व्यवस्थाबमोजिम उनीहरूले त्यसको प्रतिफल पाउने छन् । खानेपानीको अव्यवस्थित र अवैज्ञानिक वितरण प्रणालीमा सुधार भई समानवितरणको अवसर सिर्जना हुनेछ ।

मध्यवर्ती क्षेत्रमा प्राप्त हुने रकमबाट नेपालको एउटै मात्र ठाउँ जहाँ बाँदरलगायतका सबै वन्यजन्तुले स्थानीय समुदायको अन्नबाली, फलफूल, भण्डारण गरेको अन्न, पशुधन, मानवीय क्षतिबापत राहत पाउँछन् । पीडितले सर्पदंशको उपचार खर्च पाउने व्यवस्था गरिएको छ । नेपालभरिको क्षेत्रमा केवल १४ प्रजातिका वन्यजन्तुले क्षति पुर्‍याएमा राहत पाउने व्यवस्था छ तर शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन निर्देशिका २०७३ मा सबै जनावरले क्षति पुर्‍याएबापत राहत पाउने व्यवस्था गरिएको छ ।
वातावरणीय सेवाको भुक्तानीको सुरुवात गर्ने पहिलो संरक्षित क्षेत्र हुन सके प्राकृतिक स्रोतमाथि स्थानीय समुदायको अग्राधिकार, वन्यजन्तुको क्षतिबापत राहत, मध्यवर्ती क्षेत्रमा प्राप्त हुने बजेटबाट संरक्षण र विकास एकसाथ अगाडि बढ्न सकेमा स्थानीय समुदायमा पानीको स्रोत संरक्षणमा अपनत्वको भाव जागृत हुनेछ । हालसम्म तल्लो तटीय क्षेत्रमा मुफ्तमा पानी प्रयोग गरिरहेका खानेपानी उपभोक्ताले पानी प्रयोग गरेबापतको रकम तिर्दा प्राकृतिक स्रोतको प्रतिफल स्थानीय बासिन्दाले पाउने छन् ।

नियमावलीबमोजिम काठमाडौंमा खानेपानीको वैकल्पिक व्यवस्था भएपछि वाग्मती नदीको सम्पूर्ण पानी प्राकृतिक रूपमा छाड्ने व्यवस्था हुन सके काठमाडौंलाई यसले जीवन्त पार्नेछ र वाग्मती नदीमा सफा पानी बग्नेछ । हरेक खोलाखोल्सीमा नियमित पानीको प्रवाह गर्ने सपना यस नियमावलीले बोकेको छ ।

एकपटक जंगलमा डढेलो लाग्दा पुनः पुरानै अवस्थामा आउन १८–१९ वर्ष लाग्छ । जति धेरै जंगलमा डढेलो लाग्छ, त्यत्ति धेरै वर्षात्को समयमा तल्लो तटीय क्षेत्रमा बाढीपहिरो र हिउँदमा पानीको अभाव हुन्छ । पानीको सञ्चिती क्षमतामा ह्रास ल्याउने डढेलोलाई नियन्त्रण गर्न भुइँमा झरेका सल्लाका सल्लेरी स्थानीय बासिन्दालाई उपलब्ध गराउने व्यवस्था यो नियमावलीको अर्को विशेषता हो ।

जंगलबाट सल्लेरी निकाल्दा एकातिर डढेलो नियन्त्रणमा टेवा पुग्छ भने अर्कोतिर किसानले सल्लेरीलाई जैविक मल बनाउन प्रयोग गर्नेछन् । निकुञ्जको पहिलो पञ्चवर्षीय कार्ययोजना २०७४/२०७५–२०७८/०७९ मा पनि सल्लाको वनलाई चौडापाते जंगलमा रूपान्तरण गर्ने विशेष कार्यक्रम समावेश गरिएको छ । यसो हुन सकेमा डढेलोको घटनामा ह्रास आउनेछ भने जलाधार क्षेत्रमा जल सञ्चिती क्षमतामा वृद्धि हुने र हिउँदमा नदी र खानेपानीका मुहानमा जल प्रवाह बढ्नेछ ।

सफारी प्रावधानको मर्म
नियमावलीमा भएको जिप सफारीसम्बन्धी विषय उठेपछि प्रबुद्ध वर्गको चासोबाट यो निकुञ्जको महत्त्व झल्कन्छ । यो निकुञ्ज राजधानीबाट नजिकै भए पनि ‘बत्तीमुनिको अँध्यारो’ जस्तो ओझेलमा परेको थियो । कहिले केबलकारका नाममा त कहिले अल्लेको जंगलमा ‘मिनी नेपाल’ बनाउने नाममा, जताततै सडक निर्माण गर्न खोज्ने, महोत्सव मनाउने नाममा आफैंले पिउने पानीको मुहानमा डोजर चलाएर समाप्त पार्न खोज्नेहरूबाट पटकपटक आक्रमण गर्ने चेष्टा हुँदै आएका छन् ।

निकुञ्ज कार्यालय, सरकारी निकाय र केही सीमित संघसंस्था मात्र होइन, यसको संरक्षणमा ठूलो जमात् ‘कान ठाडो’ पारेर चनाखो भएर बसेका छन् भन्ने पछिल्ला घटनाक्रमले देखिनु नै अब यसको संरक्षणमा कसैले आँच पुर्‍याउन सक्दैन भन्ने हो । यसबाट खानेपानीको मुहानमाथि आक्रमण गर्न खोज्नेहरू पनि झस्किएको हुनुपर्छ । जिप सफारीको व्यवस्था आफैं भने ‘अन्धोले हात्ती छामे जस्तो’ भएको छ ।

सयौं गाडी र मोटरसाइकलमा निकुञ्ज प्रवेश गरेर मनलाग्दी सयर गर्ने परिपाटी र निजी सवारीसाधनको ध्वनि र वायु प्रदूषण नियन्त्रण गर्ने यसको उद्देश्य हो । वातावरणमैत्री सीमित सवारीसाधनको प्रवेश अनुमति यसको खास सोच हो । निजी सवारीको नियमन नियन्त्रण गर्न कठिन भइरहेको र तोकिएको मापदण्डअनुसार चल्ने जिप सफारीका माध्यमबाट थप प्रदूषण हुन नदिने, व्यवस्थित र वैज्ञानिक तरिकाबाट निकुञ्जको अवलोकन भ्रमण गराउने यसको अभिप्राय हो । जिप सफारीका लागि निकुञ्जभित्र नयाँ सडक निर्माण नगरी पुरानै सडकलाई सामान्य मर्मत गरेर सञ्चालन गर्ने सोचाइ हो । दैनिक सयभन्दा बढी सवारीसाधन निकुञ्जभित्र प्रवेश गराउनुपर्ने बाध्यतालाई सीमित संख्यामा कसरी झार्न सकिन्छ भन्ने योजना हो ।

स्थानीय युवायुवतीलाई नेचर गाइडका माध्यमबाट रोजगारी सिर्जना गरी उनीहरूको माध्यमबाट निकुञ्जको जैविक विविधता र धार्मिकस्थलको ज्ञान वितरण गर्ने उपायका रूपमा पनि हो । नेचर गाइडसँगै जानेहरूले जथाभावी निकुञ्जभित्र फोहोर नफाल्ने हुँदा खानेपानीको मुहानलाई प्रदूषणमुक्त बनाउने मनसाय पनि हो ।

४० जना स्थानीय युवालाई तीन वर्षदेखि प्रकृति पथप्रदर्शकको तालिममार्फत उनीहरूलाई देशमै स्वरोजगारको व्यवस्था गरिएको छ । यसबाट रोजगारी मात्र सिर्जना भएको छैन, उनीहरूको माध्यमबाट निकुञ्जको महत्त्व र आवश्यकताबारे स्वदेशी तथा विदेशीलाई जानकारी प्रवाह गर्ने र फोहोररहित निकुञ्ज बनाउने अभियान सञ्चालन भएको छ ।

लेखक शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका पूर्वचिफ वार्डेन हुन् ।

प्रकाशित : असार २, २०७६ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्