छुवाछूतले दलितमा मानसिक समस्या

प्रकाश विक

पश्चिमा देशहरूको मुख्य समस्या रङ्गका आधारमा गरिने विभेद भएजस्तै दक्षिण एसियाली समाजको प्रमुख रोग हो— जातीय छुवाछूत । पश्चिमा देशमा मनोसमाजिक समस्याका विभिन्न कारकमध्ये रङ्ग विभेद रहेको धेरै अध्ययनले पुष्टि गरेका छन् । छाला कालो भएकै कारण गोरा भनिनेबाट विभेद र अपमान सहनुपर्दा उनीहरूमा मनोसमाजिक समस्या उत्पन्न हुने गरेको छ ।

नेपालमा चाहिँ दलित समुदाय सदियौंदेखि यस्तै अवस्थामा पिल्सिरहेको छ । हिन्दु वर्णव्यवस्थाका आडमा कथित उच्च जातबाट भएका भेदभावका कारण उब्जेको यो समस्याबारे गम्भीर अध्ययन भने हुनसकेको छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले समग्र मानसिक स्वास्थ्यबारे नभए पनि डिप्रेसनलाई लिएर हालै ‘मनसंँग सम्बन्धित समस्याहरूको राष्ट्रिय सर्वेक्षण’ गरेको छ । यसैका आधारमा परिषदले विभिन्न जातजातिलाई आधार मानी मानसिक स्वास्थ्य अवस्था विश्लेषण गर्‍यो भने कुन जातजाति कुन समुदायबाट मनोसामाजिक समस्याको जोखिममा छन् भन्ने तथ्य उजागर हुनसक्छ ।

बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल) को अनुसन्धान विभागसम्बद्ध रमेशप्रसाद अधिकारी र अन्यले करिब दुई वर्षअघि गरेको अध्ययनले दलित समुदायमा रहेको मनोसामाजिक समस्याको भयावहतातिर संकेत गरेको छ । उक्त अध्ययन ७२ जिल्लाका १०–२४ वर्ष उमेर समूहका ११ हजार ४ सय ७७ किशोर–किशोरीमाथि गरिएको थियो । तीमध्ये १,२३४ दलित, ५,८१८ जनजाति र ४,४२५ बाहुन–क्षत्री थिए ।

उनीहरूमध्ये उदासीन र चिन्तित हुने दलित किशोर–किशोरीको प्रतिशत १६.३ थियो । जनजाति र बाहुन–क्षत्रीमा त्यो क्रमशः १२.२ र १४.९ प्रतिशत थियो । स्मरणीय छ, उदासी र चिन्ता मानसिक स्वास्थ्य अवस्था मापन गर्ने दरिला आधार हुन् । तथ्यले अन्य जातजातिका तुलनामा दलित किशोर–किशोरीको मानसिक स्वास्थ्यमा धेरै असर परेको प्रस्ट्याउँछ । यसलाई आधार मान्दा नेपालमा करिब ८ लाख दलित किशोर–किशोरीमा यस्तो समस्यामा रहेको अनुमान लगाउन सकिन्छ ।

पश्चिमा देशहरूले रङ्गमाथि धेरै खोज–अनुसन्धान गरेका छन् । उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगार, राजनीति, अर्थतन्त्र, सामाजिक सम्बन्ध आदिमा रङ्गले खेलेको भूमिकाबारे गम्भीर अध्ययन गरेका छन् । दक्षिण एसियामा भने जात र यसले विभिन्न क्षेत्रमा पारेको प्रभावलाई उपेक्षा गरिएको छ ।

‘गुगल स्कलर’ मा गरिएको ‘सिस्टम्याटिक रिभ्यु’ बाट नेपालमा मानसिक स्वास्थ्य समस्यामा जातलाई समावेश गरीगरिएको खोज–अनुसन्धान निकै कम देखिन्छ, मुस्किलले एक दर्जन । ती पनि विदेशी मनोचिकित्सक/अनुसन्धानकर्ताले गरेका थिए । हाम्रो देशमा यो क्षेत्रमा अनुसन्धान गर्नमा प्रायः नेपाली मनोचिकित्सक नै अगाडि रहे पनि जातको उपेक्षा भएको पाइन्छ ।

बबुरो बुझाइ
हामीकहाँ मनोसामाजिक समस्याबारे बुझाइ केही हदसम्म गलत छ । द्वन्द्व र प्राकृतिक प्रकोपलाई मात्र यसको कारकका रूपमा लिने प्रवृत्ति यहाँ बलियो छ । त्यसमा पनि माओवादी सशस्त्र द्वन्द्व र २०७२ को भूकम्पलाई मात्रै । त्यसो त नेपालमा मनोसामाजिक समस्याबारे बहसले सशस्त्र द्वन्द्वपछि मात्रै गति लिएको हो । त्यसताका मानवअधिकार उल्लंघनका गम्भीर घटना भएकाले हाम्रा मनोचिकित्सकले द्वन्द्वलाई यो समस्याको मुख्य जड मान्दै अनुसन्धान गरेको देखिन्छ ।

पछिल्लो भूकम्पका बेला राहतसँगै उल्लेखनीय मनोसामाजिक सेवासुविधा प्रदान गरियो । यसको मुख्य कारण हो— प्राकृतिक प्रकोपले जनधनको क्षति पुर्‍याएको हुँदा पीडितहरूमा डिप्रेसन लगायत उत्पन्न हुनसक्छ भन्ने बुझाइ । जनयुद्ध र भूकम्पले यस्तो समस्या निम्त्याएकामा सत्यता नभएको होइन, तर कारकतत्त्व यही मात्र होइन । जातप्रथा र त्यसले निम्त्याइरहेका हिंसा, अपमान, छुवाछूत र विभेद पनि यसमा उत्तिकै जिम्मेवार छन् ।

मनोसामाजिक समस्याका कारक बहुआयामिक हुन्छन् नै । तर वर्णव्यवस्थाका कारण दलित समुदायले भोगिरहेको विभेद कसरी द्वन्द्व र प्राकृतिक प्रकोपभन्दा कम मनोसामाजिक समस्या हो ? द्वन्द्व र प्राकृतिक प्रकोपबाट उत्पन्न प्रभाव केही दशकमा कम हुनसक्छ, तर छुवाछूतको असर अनन्तकालसम्म रहिरहन्छ ।

वर्णव्यवस्थाको असर दलित समुदायले पाइला–पाइलामा भोगिरहनुपरेको छ । एउटा घटनाको दुष्प्रभाव सकिन नपाउँदै अर्कोले आक्रमण गर्छ । यसबाट दलित समुदायले नचाहँदा–नचाहँदै चिन्ता र उदासीको सिकार हुनुपरेको छ । यस्तो समस्या निम्त्याउने मुख्य कारक वर्णव्यवस्थाको असर पनि हुनसक्छ भन्ने कुरा हाम्रा मनोचिकित्सकले औपचारिक रूपमा लिपिबद्ध गर्न नसक्नु निकै दुःखद छ ।

जातलाई मनोसामाजिक समस्याको खोज–अनुसन्धानमा कतिसम्म बेवास्ता गरिएको छ भन्नेबारे हालैका दुई घटना उल्लेखनीय छन् । २०७५ कात्तिक १६ र चैत २७–२९ मा ‘बालबालिका तथा किशोर–किशोरीको मानसिक स्वास्थ्य’ र ‘संघीय सन्दर्भमा समता र विकासका लागि अनुसन्धान’ बारे काठमाडौंमा दुइटा बृहत् सम्मेलन भए । तिनमा नेपालसँगै विभिन्न देशका मनोचिकित्सक र अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गरेका थिए । दुइटैमा गरी प्रस्तुत गरिएका९४ कार्यपत्रमध्ये एउटा पनि जातका कारणले निम्त्याएको मानसिक स्वास्थ्य समस्याबारे थिएन । नेपालमा जातभातका कारण मानसिक स्वास्थ्यसमस्या भोग्ने समुदायमध्ये दलित नै अगाडि छ ।

तर यी सम्मेलनमा यो समुदाय ओझेलमा पर्‍यो । नेपालमा मानसिक स्वास्थ्य खोज–अनुसन्धानका लागि जति पनि अन्तर्राष्ट्रिय अनुदान आउँछन्, सबैजसोमा प्राकृतिक प्रकोपलाई नै केन्द्रमा राखिएको हुन्छ । अनुदानकर्तालाई वर्णव्यवस्थाका कारण निम्तिएको मनोसामाजिक समस्याबारे थाहा नभएरै यस्तोभएको हुनसक्छ ।

अर्कातिर, मनोसामाजिक समस्याको स्रोत जातहो भन्ने वर्णव्यवस्थाबाट पिल्सिएको समुदायलाई नै थाहा छैन । यसबारे जानकार हुन्थे भने दलितहरूले आफ्ना छोराछोरीलाई यो विषयमा उच्चशिक्षा हासिल गर्न प्रोत्साहित गर्थे होलान् । काठमाडौंस्थित परामर्श मनोविज्ञान तथा सामाजिक अध्ययन कलेजमा गरिएको एउटा अध्ययन अनुसार, शैक्षिक वर्ष २०७४/७५ मा भर्ना भएका जम्मा ५१ विद्यार्थीमध्ये बाहुन/क्षत्री, जनजाति, नेवार, मधेसी र दलित समुदायका क्रमशः ३६, ६, ६, २ र १ जना छन् । यस विषयमा उच्चशिक्षा हासिल गर्ने दलित लगायत कम भएपछि खोज–अनुसन्धान पनि स्वाभाविक रूपले थोरै हुने नै भयो ।

विश्वमा मानसिक स्वास्थ्य समस्याको भार उच्च छ, न्यून आयस्तर र विविधतायुक्त देशमा झन् धेरै । असंख्य जातजाति रहेको नेपालमा र त्यसमा पनि जातकै कारणले समाजको पीँधमा पारिएका समुदाय यो समस्याको उच्च जोखिममा रहेको सजिलै अनुमान गर्न सकिन्छ । कुनै पनि असमानताले सामाजिक समस्या मात्र होइन, स्वास्थ्य समस्या पनि निम्त्याउने हुँदा असमानताका ती सूचकलाई ध्यान दिँदै खोज–अनुसन्धान हुन जरुरी छ ।

bbk.prakash@gmail.com

प्रकाशित : असार ५, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

छोरीको बिहे गर्ने उमेर

कुमारी लामा

हालै म दुइटा वैवाहिक समारोहमा सामेल भएँ । दुलहीहरूमध्ये एउटी बीबीएस दोस्रो वर्षमा अध्ययनरत थिइन् भने अर्की १२ कक्षा मात्रै भ्याएकी । दुवै पढालेखा र हुनेखाने घरका । कलिलै उमेरमा किन बिहे गरिदिएका होलान् भन्ने खुलदुली भइरह्यो मलाई । कुरो बुझ्दा, एउटीका दुलाहा युके आईडीवाला र अर्कीका चाहिँ सरकारी जागिरे रहेछन् ।

दुवैका अभिभावकले छोरीका लागि आएको राम्रो प्रस्तावलाई उम्काउन चाहेनन् । त्यसैले पढाइ नै पूरा नभएका छोरीहरूको ‘सुनिश्चित र सुरक्षित भविष्य’ का खातिर विवाह गरिदिएको प्रस्ट बुझियो ।

यी प्रतिनिधि उदाहरण मात्रै हुन् । हाम्रो समाजमा उनीहरूजस्तै धेरै कलिला युवती पढाइ र भविष्यको लक्ष्यलाई कुनातिर थन्क्याएर अन्मिरहेकै छन् । अहिले पनि बाबुआमाले ‘राम्रो प्रस्ताव’ आउनेबित्तिकै छोरी अन्माउन तम्सिहाल्छन्, मानौं त्यो प्रस्ताव उम्किए अरू राम्रो केटै पाउँदैनन् । खासमा प्रत्येक परिवार छोरीको भविष्य सुरक्षित होओस् भन्ने चाहन्छन् । तर पढाइ पूरै नगरी, आफ्ना खुट्टामा नउभिई अर्काको घर पुग्ने छोरीहरूको भविष्य कति सुरक्षित होला ?

वैश्विक नागरिक भएको दाबी गर्छौं हामी । नाफाखोर बहुराष्ट्रिय कम्पनीको पछिल्लो उत्पादन उपभोग गर्न पाउँदा खुब गजक्क पर्छौं । औंलामा नचाइरहेका छौं, वैश्विक घटनाहरूको अपडेट पनि । मानसिकता भने उही पुरातन ! छोरीहरू आफै गरिखान सक्छन् भनी विश्वास गर्न हामीलाई अझै पनि मुस्किल छ । उचित शिक्षा, अवसर र परिवारको सहयोग भएछोरीहरू आफ्नो भविष्य आफै सुरक्षित
पार्न सक्छन् ।

अलि हुर्किनेबित्तिकै छोरीलाई अर्काको जिम्मा लगाइहाल्ने चलन निकै पढालेखा र समृद्ध परिवारहरूमा छ । समय थोरै फेरिए जस्तो लाग्छ, छोरीहरू धमाधम विदेश पढ्न गएका पनि छन्, तर विदेशै पनि एक्लैभन्दा सकेसम्म लगनगाँठो कसेरै पठाइदिने गर्छन् । अझ सबैभन्दा सजिलो त अमेरिका, अस्ट्रेलिया या युरोपतिर सेटल भएका केटाहरूसँग बिहे गरिदिनु नै हुन्छ । त्यसो गर्दा छोरीको ‘भविष्य पनि सुरक्षित,’ विदेश पठाउन ठूलो आर्थिक लगानी पनि गर्न नपर्ने ! मध्यमवर्गीय नेपाली परिवार छोरीका लागि ठूलो धनराशि लगानी गर्न अझ पनि हच्किन्छ ।

त्यसको फल भविष्यमा अर्कै परिवारले खान्छ नि त ! यस्तै अनेक सामाजिक मूल्य–मान्यता र मानसिकताहरूको जन्जालमा जकडिएको छ, नेपाली समाज । यसो हुनुमा उही फ्रेमभित्र लामो कालखण्डदेखि चलिरहेको हाम्रो समाज र त्यसैबाट निर्मित विशेष मनोविज्ञानले भूमिका खेलेको देखिन्छ । आर्थिक रूपले सम्पन्न र सेटल भएका केटाहरूको जिम्मा लाउँदैमा हाम्रा छोरीहरूको भविष्य सुरक्षित हुन्छ त ? नहुने रहेछ ।

छिमेककै एउटी बहिनीका लागि ‘राम्रो परिवार’ बाट प्रस्ताव आएछ । काठमाडौंको ‘प्राइम लोकेसन’ मा घरजग्गा भएको, जागिरे । बस, यत्ति भए पुगिहाल्यो केटी पक्षलाई । स्नातक पढ्दै गरेकी निकै फुक्काफाल बहिनीले अनेक सपना साँचेकी थिइन् सायद । तर, उनले नचाहँदा–नचाहँदै इन्गेजमेन्ट भयो । विवाहको मिति केही समयपछिका लागि तोकियो ।

उनीहरूको भेटघाट हुन थाल्यो । संगत गर्दै जाँदा ती बहिनीले हुनेवाला श्रीमान्लाई आफूले सोचेभन्दा विपरीत स्वभावको पाइन् । अभिभावकका अघि उनले विवाह नगर्ने कुरो गरिन्, तर ‘इज्जत’ को कुराउठ्यो । अभिभावकको रुवाबासी चल्यो । उनी सोच बदल्न बाध्य भइन् । अन्ततः परिवारले उनलाई अन्मायो । पछि परिणाम उनले लख काटेजस्तै भयो । उनी हिंसाको सिकार भइन् । बच्चा भइसक्दा पनि मतभेद सुल्झिने छाँट देखिएन ।

केही नलागेपछि सम्बन्ध विच्छेदको तहमा पुग्यो उनीहरूको झगडा । अब यी बाउआमाको विवादमा बिचरा त्यो नाबालकले सजाय पाउँदै छ । बाउआमाको सम्बन्ध विच्छेदबाट सन्तानमा पर्ने आघात अर्को संवेदनशील विषय हो । ‘इज्जतका खातिर’ छोरीलाई कुलघरानामा जबर्जस्ती बिहे गरिपठाउने ती अभिभावक पनि अहिले तनाव झेलिरहेका छन् । अब न परिवारको ‘इज्जत’रह्यो, न छोरीको ‘सुनिश्चित भविष्य’ नै !

हामी नाक जोगाउने धुनमा निकै ठूलो सम्भावित दुर्घटनालाई अन्देखा गरिदिन्छौं र अन्ततः गहिरो खाल्डोमा जाकिन्छौं । त्यस बेला न नाक रहन्छ, न छोरीको सुखी परिवार । कतिपय जोडी भने परिवारको इज्जतकै खातिर पारपाचुके नगरी जीवनभर निकै तनाव र बेमेल जीवन बाँचिरहेका पनि देखिन्छन् ।

अर्कातिर, पढाइ सकेपछि मात्र बिहे गर्ने अडानमा बसेका कतिपय छोरीहरूलाई केटा पक्षबाट बिहेपछि पनि पढ्न वातावरण दिने आश्वासन दिइन्छ । तर बोलीजस्तो व्यवहार कहाँ हुनु ? घरपरिवारको उचित सहयोग नपाउँदा छोरीहरूले पढ्न चाहेर पनि सक्दैनन् । अन्ततः उनीहरू केटाकेटी हुर्काउँदै गृहिणी भई थन्किन पुग्छन् ।

उनीहरू असल गृहिणी र जिम्मेवारआमा त बन्छन्, तर आर्थिक रूपमा सधैं श्रीमान्कै भर पर्न विवश हुन्छन् । लोग्नेको खटनपटन, हेलाहोचोमा पर्ने सम्भावना बढ्छ । हामीले भुल्न हुन्न, आर्थिक स्वतन्त्रतासँग जीवनका धेरै पक्ष जोडिएका छन्, जस्तो— महिलाको अस्तित्व, आत्मनिर्भरता स्वतन्त्रता, परिवारभित्रको निर्णयमा अधिकार ।

नेपाली समाजले शिक्षा, सञ्चार, प्रविधि लगायतका क्षेत्रमा निकै फड्को मारेको छ । यति भइसक्दा पनि राज्य संयन्त्रका उच्च ओहदामा पुरुष नै बढी छन् । नीति, नियम र योजना बनाउने, निर्णय लिने, कार्यान्वयन गर्ने जस्ता प्रमुख ठाउँ पुरुषले नै ओगटेका छन् । महिला भने अह्राएपह्राएको काम गर्ने, खटनपटन सम्हाल्ने जिम्मामै बढी छन् । यसो भइरहनुमा हामी नै जिम्मेवार छौं ।

हामी छोरीहरूलाई सक्षम र आत्मर्निभर बनाउनेभन्दा ‘सेटल्ड’ केटाकोजिम्मा लाउने सपना बुनिबस्छौं । आवश्यकपढाइ र आत्मनिर्भर नभई विवाह हुनुले अझै बहुसंख्यक महिला घरधन्दा र चुलोचौकोमै सीमित हुन बाध्य छन् । पारिवारिक जिम्मेवारी, बालबच्चाको लालनपालन आदि–इत्यादिमा लाग्दालाग्दै उनीहरूको पढाइ, लक्ष्य र आकांक्षाहरू अलपत्र परिसक्छन् ।

प्रकाशित : असार ५, २०७६ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्