१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चन्द्रागिरि चढेपछि 

राजन मुकारुङ

काठमाडौँ — ‘बौद्धिकता मात्र आलोचनात्मक व्यवहार, नयाँ व्याख्या या प्रश्नाकूलता होइन, यो त यी सबैको अतिरक्ति उचित–अनुचित, नैतिक–अनैतिक, कल्याणकारी वा हानिकारी, मूल्यवान वा अमूल्यवान आदिको गहिराइबाट गरिने विवेचना पनि हो ।’
— प्रो. सत्यप्रकाश मिश्र

चन्द्रागिरि चढेपछि 

पोहोरको फोहोर

‘मदन भण्डारी स्मृति प्रतिष्ठान’ ले भानु जयन्तीको उपलक्ष्यमा ‘हिमवत् खण्ड ः कला–साहित्य सम्मिलन’ मनाएको एक वर्ष पुग्नै लाग्यो । उक्त सम्मिलनकै सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले चन्द्रागिरिमा चढेर ‘समृद्धि’ नामको कविता रचे । ‘सपनामा पनि सपना देख्न पाऊँ’ भन्ने मनसायको त्यो कवितालाई महान् भन्नेहरूको दुई तिहाइ लर्को लामो हुने नै भैगो । अझ त्यो बेलाको ‘अरिङ्गाल अर्चना’ ले त नेपाली साहित्यकै महान् कविता मानिदियो । तत्कालका लागि यो नयाँ ‘मिथक’ होइन, बरु हल्का ‘जोक्स’ हो, तर यसलाई सम्झिरहनु भने पर्नेछ । तितो–टर्रो जसो लागोस्, ‘गणतन्त्र नेपाल’ को सबभन्दा शक्तिशाली कार्यकारी प्रमुखको सपनाको कुरा हो । ध्येय या केही न केही मनसाय पक्कै हो ।


त्यसो त पृथ्वीनारायण शाहले पनि चन्द्रागिरिकै डाँडोबाट काठमाडौं उपत्यका हेरेका थिए । उनले लहलह झुलेका खेत, हरियो बगेको वागमती र मल्लकालीन सभ्यताको सहर देखे । उनलाई ठूलो नेपालको तिर्खा जाग्यो । भौगोलिक एकीकरणको अभियानले गति लियो । त्यही तिर्खाले आजको नेपाल बनायो । इतिहासको कथाले यही भन्छ । हाम्रो आधुनिक नेपाल निर्माणको मीठो–नमीठो ‘मिथक’ यही हो ।


पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट कान्तिपुरी देखेपछि बुनेका सपनाकै निरन्तरता ओली–कविताको मूल मन्त्र थियो, हो । अझ ज्ञानेन्द्रकालीन ‘राजकीय प्रज्ञा–प्रतिष्ठान’ का प्राज्ञहरू नै त्यस सम्मिलनभरिका हर्ताकर्ता थिए । तिनै कालका राजकीय विद्वान्हरूले नै कार्यपत्रहरू पढेका थिए । अनि हिजो क्रान्तिमा होमिएका जब्बर कामरेडहरूचाहिंँ तिनैका प्रिय श्रोता बनेका थिए । त्यहाँ रामेशहरू, रायनहरू, जीवन शर्मा वा माइला लामाहरू थिएनन् । ताली ठोक्दै बस्ने पुस्तामात्रै थियो । यस्तो लाग्थ्यो– भानुभक्तीय ताडना र ‘हिमवत् खण्डीय आलाप’ ले पूरै मुलुकमा रैदालो गरिरहेको छ । उसो त ‘सत्ताको स्वाद चखाऊ र सत्ताधारी कवि–लेखक नचाऊ π’ भन्ने महेन्द्रीय नियतका सिकार सबै संस्कृतिकर्मीहरू पटक–पटक हुँदै आएकै छन् । ‘ओली–ओलनको राष्ट्रवाद’ का सामुन्ने यिनेगिने कुनै माइकालाल उभिने थिएन पनि । मान्छे त रूखबाट झरेको आँपमात्रै वा हात्तीको जीउबाट खसेको रौं बराबर मात्रै देख्ने, ठान्ने चिन्तनका अगाडि आज पनि धेरैले आत्मसमर्पण गरिरहेका छँदैछन् । लाग्छ– यो चेतनाको मृत्युको दुःखद् समय हो । माओवाद र एमालेवाद मेट्नैलाई ‘नेकपा’ बनेको हो भने पनि भानुभक्तको ‘वधुशिक्षा’ र मदन भण्डारीको ‘जबज’ के कति मिल्दाजुल्दा छन् ? यी दुवै सम्मिलन हुँदा ‘भानुभक्तवाद’ बन्छ कि ‘नेकपावाद’ ? यति प्रश्न गरिदिने विज्ञहरू भने यो एक वर्षसम्म भेटिएनन् । हामी नाथे अबुझ, बबुरो र अदनामाथि यति पनि न्याय हुनसकेको छैन, जिज्ञासा मेटिएको छैन ।


प्रसङ्ग उही ‘कला–साहित्य सम्मिलन’ कै छ । बडो अजीव छ । उक्त उत्सवमा सहभागी एक प्राज्ञले कार्यक्रम स्थलबाटै फेसबुकमा स्टाटस लेखे– ‘रामेश, रायनहरू छुटे, अपूरो लाग्यो ।’ के हतारो आइलाग्यो कुन्नि ? हठातै उनले उक्त स्टाटस हटाए । कति छिटो रामेश, रायनहरू त्यहाँ उपस्थित गराइएछन् ? यस्तो लाग्या थियो । पछि त तिनको वालभरिका छ्याल्ल–ब्याल्ल ‘अपलोड’हरूमा रामेश–रायनहरू कोही देखिएनन् । अहिले पनि उनको वालमा ती तस्बिरहरू सुरक्षित दरिएका छँदैछन् । यस्तो नजाती बोकेर हाम्रो प्राज्ञिकता गुज्रिआएको छ । तर हाम्रो बौद्धिक जगत किन गुमनाम बसिरहेको हो ? वधुशिक्षाका विभेदकारी श्लोकहरूसित जोडदार जुझ्दै आएकाहरूको साझा विम्ब नै आज शासकीय मर्यादामा सबभन्दा माथि छन् । फेरि उनले नै भानुभक्तीय पदक बाँड्न हतारो गर्छन् । तब कसरी भन्ने ? हाम्रो चेतना फेरियो । अहँ, फेरिएन । बरु सरकारी समृद्धिको मार्से पुलाउसित साहित्य र संस्कृतिको वेगलाई रोक्ने प्रयास पो भइरहेको छ । रूपान्तरण होइन, अझ जड हुने क्रन्दन पो तीव्र भइरहेको छ । लेनिनको कलपुर्जा त के सत्ताभक्तीय सभामा विचार–तिरोहण भइरहेको छ । ‘नेपाली कला साहित्य उत्सव’ भन्दा पनि हुन्थ्यो । तर ‘खण्ड’ को नाममा ‘अखण्ड–विम्ब’ को जुन ‘ग्राइन्ड डिजाइन’ मा मदन भण्डारीको नामलाई सौदा गरियो, त्यो खतरनाक थियो । घातक थियो । त्यसको प्रभाव त देखिने नै छ, देखिँदैछ । यस्तो हर्कतमा पनि चुइँक्क नबोल्ने ‘प्रलेसीय कवि’हरूलाई कसो भन्ने खै ?


हो, चन्द्रागिरिमा दर्जनौं कविहरूले निम्ता माने । चन्द्रागिरिकै चोटाबाट तिनले ‘समृद्धि नाम’ को सिलोक र भजन गाए । काव्यमा ‘नेकपा– जिन्दावाद’ पनि भने होलान् । त्यस्तो अपार सफलता जबजका महान् नेता मदन भण्डारीको नाममा मिल्यो । उनैको स्मृति–प्रतिष्ठानबाट भानु जयन्तीय ‘हिमवत् खण्ड ः कला–साहित्य सम्मिलन’ भयो । विभिन्न जातीय भेषभूषामा सजिएर मातृभाषी कविहरूसमेत सहभागी भए । ती मातृभाषीहरूले भानुभक्तीय भक्तिगान गाउँदा ‘विनिर्माण’ को तर्क पनि उठाउन सकिएला । तर हिजो तिनैलाई भाषाको उपनिवेशवादी देख्ने दिमाग कति तेजका साथ परिवर्तन भएको हो ? या ‘ड्यामेज’ भएको हो ? नत्र ‘पुरुषको भन्दा महिलाको दाँत कम हुन्छ’ भन्ने अरस्तुवाला चिन्तनकै ‘बुहार्तन शिक्षा’लाई मान गरिरहनु पनि त अपमान नै हो । खै त हाम्रो बौद्धिकता ? आलोचनाको जगमा उभिनैपर्ने थियो, उभिएन । पोहोरको फोहोर यही हो ।


भाइरले भास

पोहोरकै बर्खा काठमाडौं उपत्यकामा निकै ठूलो बाढी आयो । डुबान भयो । त्यो बेला ‘घर–घरमा पानी, ग्यास र पानीजहाज’वाला ‘ओली–नारा’ ले फेरि ब्युँझिने ताजा अवसर पायो । सामाजिक सञ्जाल पूरै ओली–पानीजहाजको ‘ट्रोल’ ले रङ्गियो । डुबानमा परेका गाडीहरू नै जहाज बनाइएका तस्बिरहरू ‘भाइरल’ भए । डुबानमा परेका मानिसहरू स्वयंले सेल्फी पोस्ट गरे । मानवीय संवेदनशीलता कति कमजोर भइसकेछ ? भनेर भावुक प्रश्नहरू उठाइए । एक किसिमको अबौद्धिक तर्कनाहरू व्यभिचारमय भए । हो, संवेदनशीलता कमजोर पक्कै थियो । हाम्रो सामाजिक संरचनाका मान्यताहरूलाई ‘डिजिटल डिजिज’ ले खाइमार्दै ल्याएकै छ । यद्यपि पानीजहाजको कुरा जनताले गरेका होइनन् । त्यो वाम–गठबन्धनको चुनावी नारा थियो । जनताले खिसिटिउरी गरेका पनि कदाचित थिएनन्, होइनन् । सम्झना गरेका, गराएका मात्रै थिए । तर त्यही विषयलाई लिएर एक पूर्वमन्त्रीले ‘साइबर क्राइम’ को धम्की नै दिएका थिए ।


मेडिकल माफिया विरुद्ध डा. गोविन्द केसी लडे । उनी पनि भाइरल भए । यसैमा मार्सी चामलको लफडा थपियो । सामाजिक सञ्जाल नै हताहत होलाझैं भयो । मार्सी हंगामा वा ट्रोल, जेसुकै भनौं यसको व्यङ्ग्य भने ‘समृद्धि’वाला नाराको सत्तापक्षतिरै सिधा थियो, छ । अहिले पनि यो ‘भाइरल’ नै छ । जुम्लाको मार्सीले चाहिं बजार पाउन किन नहुने ? पुँजीवादी बजारमा चाउचाउ छरेर ‘जङ्कफुडे जेनेरेसन’ हुर्काउँदा हाम्रो चित्त काटिएन भने मार्सीको महकमा किन टाउको दुखाइरहनुपर्ने ? यसबारे त बहस भइरहनै पर्छ । डा. केसीलाई केही बुँदामा हस्ताक्षर गरिदिएर सरकारले होलो–खोकुलो मान्यो । उनको मागमा कुनै तुक र दम थिएन भने ‘टु थर्ड’वाला सरकार छँदै थियो । अनावश्यक हर्कत गरेर जनतामा भ्रम छर्ने मान्छेलाई सजाय दिँदा हुन्थ्यो । होइन भने स्वास्थ्य क्षेत्रलाई दलालहरूको हातबाट थुत्ने अवसर आएको थियो । स्वास्थ्य क्षेत्रको विभेदको जराको उन्मूलन गर्नैपर्थ्यो≤ गरेन ।

‘डिजिटल दिमाग’ ले मानिसलाई संवेदनाका पक्षमा कम जिम्मेवार बनाइरहेकै छ । सिधा सरोकारमा पर्नुपर्ने सवालहरू गम्भीर विमर्शमा होइन, हँसिमजाकमा बढी उद्वेलित बनिरहेका छन् । जस्तो कि भदौ १ ले नयाँ ‘कानुनी संहिता’ जारी गरेपछि बिकेन लिम्बू र सावित्री सुवेदी एकाएक चर्चामा आए । तिनका बारे यहाँ बहस गरिरहनु परेन । तर पनि नेपाली समाजको मनोविज्ञान बढी नै खिल्ली उडाउने भएको छ । ‘स्वयंवाद’ या ‘स्वघोषित बुझक्कड’ हुनाकै कारण यस्ता हर्कतहरू हुँदारहेछन् भन्ने बोध गर्न भने उनीहरूबाट अवश्य सिक्न सकिन्छ ।


‘निर्मलाका निम्ति न्याय’ भन्ने हाम्रो आन्दोलनले अझै पार पाएको छैन । न्यायविहीन छौं, तर हामी पिर्लिक–पिर्लिक आँखा बनाउने मात्रै भएका छौं । सामाजिक सञ्जालमा आन्दोलनको ‘सेल्फी’ टाँस्दा–टाँस्दै हामीले अवसर गुमायौं । हाम्रो आन्दोलन केवल ‘शनिबारे बिदा’ मा केन्द्रित भयो । सारा मुलुक ठप्प पारेर हामी न्याय लिन सक्थ्यौं, हामीले त्यसो गरेनौं । उठिसकेको मासलाई पनि हामीले भाइरले मात्रै बनायौं । तकनिकीका तर्कहरूमा त दरिला लाग्यौं, धारिला भयौं, तर हामी त्यहींनेर चुक्यौं, जहाँ हामीले जित्नैपर्ने थियो । हामी भासमा पो फस्यौं, फसिरहेका छौं ।


अबोला बौद्धिकता

भर्खरै मात्र हो, मलाई पनि चन्द्रागिरि चढ्ने अवसर जुर्‍यो । संयोगले चन्द्रागिरि कुहिरोले ढाकिएको थियो । उसो त काठमाडौं उपत्यका नियालिरहनुपर्ने जरुरी पनि थिएन । थकथक लागेन । किनभने यही उपत्यकाभित्र पच्चीस वर्ष बसिसकियो । यहाँका उन्नति–प्रगतिका बारे भागिदार छँदैछु । धुलो–धुवाँको साक्षी त के त्यसैको ‘एलर्जीवाला’ पनि छु । दीर्घरोग जस्तै छ । सवारीपथको मात्रै ‘ब्रुमर’ ले मेरो एलर्जी निको हुने कुरै रहँदैन । यही उपत्यका हेर्ने डाँडो चन्द्रागिरिमा कुहिरोले छोपिएर बसिरहँदा केही कुराहरू भने घतमा आएकै हुन् ।


यो वर्षभरिमा दर्जनभन्दा बढी व्यक्ति र संस्थाहरूलाई ‘साइबर क्राइम’ को मुद्दा चलाइएको छ । को कति साँच्चिकै ‘क्राइमवाला’ हुन् ? प्रस्टै छ । तर अभिव्यक्तिको व्यङ्ग्य चेतलाई समेत अपराध मान्ने नजिर उभ्याइएको छ । मत नमिल्नेलाई थुनिहाल्ने, थुनाइहाल्ने पारा झ्याँगिँदैछ । कार्टुन चित्रलाई पनि कज्याउन थालिएको छ । ती पूर्वमन्त्रीको ‘साइबर क्राइम’ को अभिव्यक्तिले दिनदिनानु बल पाइराखेको अवस्था छ । ‘मिडिया काउन्सिल विधेयक’ अगाडि राखेर तर्साउन खोजिएको छ । यसले सरकारलाई ‘अधिनायकवादी’ देखाएकै छ । संविधानमै स्वीकारेको ‘समावेशिताको सिद्धान्त’ का विपरीत विज्ञापन गर्न लगाएर ‘लोकसेवा आयोग’सित हँसिमजाक गरिएको छ । लोकतन्त्रमा सबभन्दा ठूलो सुन्दरता भन्नु समावेशिता पनि हो । तर धज्जी उडाइएको छ । मधेसी, दलित, आदिवासी जनजाति वा पिछडिएको वर्गको सैद्धान्तिक पाउँदर खोसिएको छ । भोलि असंवैधानिक विज्ञापन विरुद्ध उठेको चर्को स्वरको कारण देखाउँदै लोकसेवाको विज्ञापन रद्द भए सरकारी पार्टीकै कार्यकर्ता ‘करारे’ हुनेछन् । ‘गुठी–लुट’ को तारतम्य उस्तै बुझिन्छ । भलै, गुठीमा अन्तरनिहित कतिपय स्वार्थलाई सामयिकताले नरुचाउला । तर यस्तो बेला कट्टर आलोचक बन्नुपर्ने हाम्रो ‘बौद्धिक वर्ग’ भने सरकारी ‘थिङ्क ट्याङ्क’ कै मेसोमा अबोला भएको छ । प्रतिक्रियाहीन भएर ट्वाँ परिरहेको छ ।


इतिहासमै सबभन्दा शक्तिशाली सरकार छ, हामीसित । जनताका आशा र भरोसा केन्द्रित राज्यपक्ष हुनु सुखद कुरा हो । समृद्धि, विकासजस्ता नाराकै विश्वासमा यो सरकारलाई दुई तिहाइको शक्तिशाली जनमत जुटेको हो । यसप्रति कसैले अमिलो मन गर्नु पर्दैन । यद्यपि कतिपय सन्दर्भमा हाम्रो मनोविज्ञानमा विकसित हिजोका अविश्वासले आज बलियो अडान लिइरहेको छ र आम–मानिसहरूमा गम्भीर नभएर धज्जीको ‘डोज’ भइरहेको तितो छ । ‘ओलीको बोली गोली बराबर’ को मजाकले हाम्रो मस्तिष्कमा गहिरो गरी छाप छाडेको छ । उनका उखान–टुक्काहरूले यस्तरी हस्तक्षेप गरेका छन् कि उनले देखेको समृद्ध नेपालको सुन्दर सपना पनि व्यङ्ग्य चेतमात्रै ठानिएका छन् । यी सबैबारे नागरिकहरूमा घनिभूत विमर्श भयो त ? अहँ, भएको छैन । यसले हामीलाई अघिल्तिर जान उत्साहित गराउँदैन ।


तब सोध्नुपर्छ– प्रो. सत्यप्रकाशले इङ्गित गरेको हाम्रो बौद्धिकता कसको भरोसामा छ ? नागरिकको कि सत्ताको ? सरोकारकै कुरा गर्ने हो भने नागरिकहरूकै भरोसामा हुनुपर्ने हो । आफूलाई प्रजाबाट मुक्त गर्दै नागरिक हुने अभियानमा लागौं भनेरै ६२–६३ को जनआन्दोलनमा हामी सहभागी बनेका थियौं । रैती–प्रजाबाट जनता र जनताबाट नागरिक हुने हाम्रो राजनीतिक वा सामाजिक प्रक्रिया साँच्चिकै लामो परम्परा भएर गुज्रिआएको छ । सांस्कृतिक रूपान्तरणको जागरण अभियानमा अतिक्रमण वा संक्रमण दुवै भोगेका छौं । हामीले बगावत गरेका छौं । हामीसित चन्द्रागिरिको चाँदनीमात्रै छैन, कीर्तिपुरे नाककानका कहालीलाग्दा भोगाइहरू पनि साक्षीमा छन् । हाम्रो आज हुनुमा सबैको साझा सङ्घर्षहरू पनि छन् । त्यसो हुँदा पृथ्वीनारायण शाह र केपी ओली दुवैले चन्द्रागिरिबाट नेपालको फैलाव भनौं समृद्धि देख्नुलाई संयोगमात्रै नठानौं π परिवर्तनका कसीमा पुनरुत्थानतिरको, पश्चगमनतिरको यात्रा पो हो कि भनेर पनि सोचौं π यही चन्द्रागिरिमा बसेको नेकपाको स्थायी समितिको निर्णयले पो यस्तो हर्कत गरिरहेको छ भन्ने नहोस् π कम्तीमा यति सचेत त गराऔं !


यो साल पनि भानु जयन्ती आउनै लाग्यो ।

तयारी के–के हुँदैछ ? राज्यको ढुकुटीबाट कति दोहन हुँदैछ ? यसपालि अलि अघि नै सोधिहाल्नु छ । सम्बन्धित पक्षहरूले समयमै उत्तर दिऊन् ! आगे देखा जायगा ।

प्रकाशित : असार ७, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?