१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

अनि फस्टाउँदैनन् साना व्यवसाय

आशुतोष तिवारी

साना व्यवसाय चलाउनेहरूसँग कुरा गर्‍यो भने सरकारलाई र राजनीतिक दलहरूलाई एक चोटि गाली गरिसकेपछि धेरैको निष्कर्ष एउटै हुन्छ, ‘जे गरे पनि गाह्रो छ । हरेक दिन हाडछाला घोटे पनि, जतिसुकै मेहनत गरे पनि दैनिक छाक टार्नेभन्दा माथि आफ्नो व्यवसायलाई लग्न सकिएको छैन ।’

अनि फस्टाउँदैनन् साना व्यवसाय

यसो भन्ने साना व्यवसायीहरूले पाएजति तालिम लिएकै हुन्छन् । दाताको पैसामा होओस् या आफ्नै पैसामा, देश–विदेश पनि घुमेकै हुन्छन् । स्थानीय च्याम्बर र व्यापार संगठनहरूसँग पनि उनीहरूको सम्बन्ध राम्रै हुन्छ । त्यसकै बलमा यताउता जान, सभा–सम्मेलनमा भाग लिन अनि निजी क्षेत्रको प्रतिनिधि भनेर चिनिन पनि उनीहरूलाई सजिलै भएको देखिन्छ ।


तैपनि जब उनीहरू खातापाता पल्टाउन थाल्छन्, तब महसुस गर्छन्— सोचेजस्तो आम्दानी नभएको, कर बुझाउन ढिलो भएको, तलब दिन नसकिएको, घरभाडा बुझाउन पैसा नपुगेको, ठूला ग्राहकले छ महिनाभन्दा बढी समयसम्म पैसा नदिएकाले ताकेता गरिरहनुपरेको ... । बाहिरबाट हेर्दा सबै मिलेजस्तो, भित्रचाहिँ चिन्ता र निराशाको भुमरी । यस्तो किन भएको होला ?


लगानी भोक नहुनु

नेपाली साना व्यवसाय प्रायः निकै कम लगानीमा चलेका हुन्छन््, कुपोषणका कारण जीउ लिन नसकेको बालकजस्तो । त्यो थोरै लगानी पनि व्यवसाय सुरु गर्नेले आफ्नै गहना वा जग्गा बेचेर, बचत मासेर र ऋण काढेर थालेका हुन्छन् । सर्वस्व व्यवसायमा लगाएपछि तिनीहरू सधैं ‘केही तलमाथि भएर अलिकति भएको पनि गुम्ला कि’ भन्ने त्रासमा हुन्छन् । त्यही डरले गर्दा तिनले व्यवसायमा चाहिने लगानी गर्न सक्दैनन् ।


बैंक र सहकारीले चर्को ब्याजदरमा ऋण त दिन्छन््, तर जग्गा धितो राख्नुपर्ने हुन्छ । ऋण पाइए पनि हाम्रा बैंक र सहकारीले पैसा दिने मात्र हो, अरू देशमा जस्तो चाहिने सरसल्लाह दिन्नन्, न त व्यवसाय सम्बन्धी नेटवर्क नै बढाइदिन्छन् ।


नितान्त नाफा–घाटाको हिसाब मात्रै गरेर साना ग्राहकहरूसँग मासिक ब्याज असुल्नमै फुर्सद हुन्न नेपाली वित्तीय संस्थाहरूलाई । वित्तीय सुधारमुखी दाताहरूले साना व्यवसाय कुनै पनि देशको अर्थतन्त्रको मेरुदण्ड हो भनेर जतिसुकै तालिम दिए पनि तिनको प्रभाव नगण्य नै छ ।


नेपालमा लगानीकर्ता नभएका हैनन्, व्यवसायमा पैसा हाल्ने सवालमा तिनको ‘साइकोलोजी’ नमिलेको मात्र हो । प्रायः भाउ बढाई जग्गा बेचेर या सट्टा बजारमा फाइदा कमाएर चाँडचाँडै धनी भएका नेपाली लगानीकर्ताहरू ढिलो प्रतिफल आउने, त्यो पनि अर्काले चलाइरहेको व्यवसायमा हात हाल्दैनन् । हातै हाल्न खोजे पनि उनीहरू ठाडै भन्छन्, ‘व्यवसायको ५१ प्रतिशत या त्योभन्दा बढी हिस्सा दिने हो भने मात्रै पैसा हाल्छौं ।’


तिनको भनाइको निहितार्थ हो— जसले व्यवसाय सुरु गरेको हो, उसैलाई कामदार बनाउन चाहनु । पैसाको चरम अभाव भएका बेला केही साना व्यवसायी या स्टार्टअपहरूले त्यसरी पनि हिस्सा बाँड्लान्, तर त्यसपछि कडा मेहनत गरेर व्यवसायलाई फस्टाउने बाटोतिर लाग्ने उनीहरूको उत्प्रेरणाचाहिँ कम भइसकेको हुन्छ ।


धेरै साना व्यवसायीको यस्तो मर्का बुझेर सरकारले लगानी नियम सजिलो पारिदिने हो भने रेमिटान्सलाई पनि योजनाबद्ध ढङ्गले केही हदसम्म उपयोग गर्न सकिन्छ, फिलिपिन्स लगायतले गरे जस्तै ।


व्यावसायिक ढंग नपुग्नु

नर्सरी र केजीका गुरु–गुरुमाले आफ्ना विद्यार्थीलाई दश कक्षामा फेरि पढाउँदैनन् । तिनले प्लस टु वा कलेजमा तिनलाई पढाउने सम्भावना त हुँदै हुन्न । नेपाली व्यवसायीहरूले पनि आफ्ना कामलाई नर्सरी वा केजीका बालबालिका जस्तै ठान्नुपर्‍यो, जसलाई समयसँगै फरक–फरक व्यवस्थापकीय दक्षता या ‘शिक्षा’ को खाँचो पर्छ, जुन ती व्यवसायका संस्थापकले सिक्न, सिकिरहन र सिकाउन सक्दैनन् ।


कुनै–कुनै व्यवसायले बृहत् आकार लिने सम्भावना देखाइरहेका हुन्छन्, तर उद्यमीविशेष आफै आमाबाबु र शिक्षक दुवैको भूमिकामा त्यसमै टाँसिइरहने लोभ त्याग्न सक्दैनन् । फलस्वरूप व्यवसायले झाँगिने मौकै पाउँदैन । उनीहरू सफलताको शत्रु जानी–नजानी आफै भइरहेका हुन्छन् ।


उनीहरूले न आफूलाई न अरूलाई दक्ष बनाउन सक्छन् । अमेरिकी लगानीकर्ता वारेन बफेले भनेझैं, ‘कुकुर पनि पाल्नु, फेरि त्यो कुकुरले भुकेको मिलेन या भएन भनेर आफै पनि बार्दलीमा बसेर भुकिरहनु’ जस्तो चरित्र हाम्रा धेरै साना व्यवसायीमा देखिन्छ ।


सुशासनमा ध्यान नदिनु

घर किनेर या बनाएर चाँडै बेच्छु भन्ने मानिसले बढी मूल्य पाउन त्यसको हिफाजत गरेकै हुन्छ, रंगरोगन गरेर, बारबगैंचा बनाएर, झ्यालढोका सब चिरिच्याँट्ट पारेर । नबेचे पनि त्यस्तो घर झन् राम्रो देखिन्छ नै ।


हाम्रा साना व्यवसायीले आफ्नो कामकारबाही यस्तै अभ्यास गर्न सक्छन् । आफ्नो व्यवसाय पछि कहिल्यै बेच्ने मन नभए पनि, बढी मूल्य पाए मात्र बेच्छु भन्ठाने पनि सुरुदेखि नै कागजपत्र, हिसाबकिताब र आन्तरिक नियमहरूको उचित प्रबन्ध गर्नुपर्छ । व्यवसायमा कामदारहरू आउँछन्– जान्छन्, कागजपत्र चुस्त भए पहिले कसरी काम हुँदो रहेछ, केके कुरा परिवर्तन भएछ, पछि कामको प्रकार के–के भएछ भन्नेबारे नयाँलाई पनि थाहा हुन्छ ।


यस्तो अभ्यासका कारण व्यवसायको संस्थागत स्मरणशक्ति बलियो हुन्छ । तर, हाम्रा पढेलेखेका व्यवसायीहरू नै डकुमेन्टेसनमा त्यत्ति विश्वास गर्दैनन् या अल्छी मान्छन् । चार सदस्य मात्रै भएको सानो घरपरिवार चलाए जस्तो गरी चालीस जना काम गर्ने व्यवसाय चलाउन खोज्छन् र ससाना कुरामा अल्झेर बस्छन् ।


सुशासन या व्यवसायको हितमा कसले कस्तो निर्णय कसरी गर्छ भन्ने कुरामा ध्यान नदिई आफूखुसी चल्ने गरे एक दिन डुब्नु छँदै छ । शरीरमा मधुमेह एक्कासि नभए जस्तै त्यस्तो व्यवसायमा बिस्तारै धमिरा लाग्दै जान्छ ।


विदेशी लगानीकर्ता नआउनु

हाम्रा नीतिनिर्मातालाई स्वदेशी लगानीकर्ता टन्नै रहेको भ्रम छ । त्यसैले हालै उनीहरूले एउटा नियम पास गरे— विदेशी लगानी ५ लाख डलर बराबरको हुनुपर्छ, नत्र ल्याउन पाइन्न । पुँजी नपाएर डुब्न लागेका नेपाली व्यवसायीहरूमाथि सरकारले झन् एक गाग्री पानी खन्याइदिए जस्तो भएको छ यो नियम ! कसैकसैलाई निरुत्साहित गर्न यस्तो नियम ल्याइएको हुन सक्छ, तर नेपालका साना व्यवसाय यति ठूला र विश्वसनीय भइसकेका छैनन्, जसले विदेशबाट ५ लाख डलरको लगानी तान्न सक्छन् ।


पहिलो त, व्यवसायमा लगानी गर्ने मामिलामा हाम्रा धेरैजसो लगानीकर्ताको अनुभव र ज्ञान नै पुग्दैन । व्यवसायबाट प्रतिफल पाउनु भनेको जग्गा या सेयर बेचेर कमाए जस्तो पटक्कै हैन, यसमा धेरै समय लाग्छ भन्ने सत्य तिनले बुझेकै छैनन् । ती यति चाँडै प्रतिफल खोज्छन्, तिनको अधैर्यले नै व्यवसायलाई फस्टाउन दिँदैन ।


दोस्रो, विदेशी लगानीका लागि वातावरण सहज बनाइदिएर नेपालीसँगै मिली लगानी गर्नुपर्छ भन्न सके दुइटै पुँजी योजनाबद्ध रूपमा व्यवसायमा आउँथ्यो । अनि नेपाली व्यवसायीले विदेशी ज्ञानको फाइदा पनि लिन्थे, पहिले विदेशी बैंकमा सँगै काम गरेर पछि आफै बैंक चलाउन सक्षम भएजस्तै ।


विदेशी लगानीले पुँजी मात्र ल्याउने हैन, ‘नो हाउ’ या त्यो पुँजी कसरी व्यवस्थित परिचालन गर्ने भन्ने सीप पनि सिकाउँछ । यता रोजगारी सिर्जना गर्न भन्नु, उता देशभित्र लगानी आउने स्रोत रोक्नु भनेको साना व्यवसायीलाई चाहिने पुँजी, सीप र दक्षता नलिऊ भनेसरह हो ।


नेपालमा साना व्यवसायहरूबारे जतिनै बहस गरे पनि जबसम्म तिनलाई चाहिने लगानी र तिनको व्यवस्थापकीय ढंग सुधार्नतिर च्याम्बर, बैंक, सरकार र व्यावसायिक संगठनहरूले ध्यान दिंँदैनन्, तबसम्म हाम्रा साना व्यवसायहरू सुकेनास लागेका बच्चाजस्तै भइरहन्छन् ।

प्रकाशित : असार ९, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?