छुवाछूत सर्‍यो सामाजिक सञ्जालमा

मधु शाही

केही दिनअघि म नेपालगन्ज उपमहानगरपालिका पुगेकी थिएँ । प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलसँग कुरैकुरामा सरकारी सेवामा आरक्षणको प्रसंग निस्कियो । प्याकुरेलले भने, ‘आरक्षण दलितलाई होइन, गरिबलाई दिनुपर्छ ।’ उदाहरणस्वरूप आफूले गरिब बाहुनलाई घरेलु सहयोगी राखेको सुनाउँदै उनले थपे, ‘बाहुन हुँदैमा धनी र दलित हुँदैमा गरिब भन्ने हुँदैन ।’

दलित आर्थिक हिसाबले भन्दा जातीय हिसाबले बढी पीडित रहेको तर्क गर्दै मैले भनें, ‘दलितले छुवाछूत भोग्न बाध्य छन् नि, सर !’
प्याकुरेलले छुवाछूत पुरानो कुरा भइसकेको संकेत गर्दै विषय अन्यत्रै मोडे । दलितप्रतिको उनको बुझाइले मलाई खिन्न बनायो ।
तर, अचेल दलितबारे सबैजसोको प्रतिक्रिया यस्तै हुने गरेको छ । राज्यको उच्च निकायमा बस्नेहरूले त्यस्तो छैन भनिरहेका छन् । सबै भन्छन्— छुवाछूत उहिलेको कुरा भइसक्यो । भुक्तभोगीहरू भन्छन्— जातीय भेदभाव उस्तै छ । अब प्रश्न उठ्छ— देख्नेका कुरा सुन्ने कि भोग्नेका ? भोग्नेका सुन्नुपर्छ । देख्दा एउटा पाटो मात्र देखिइरहेको हुन्छ ।

छोइछिटो प्रवृत्ति सञ्चार र प्रविधिको चरम विकासको यो कालखण्डमा पनि उस्तै छ । फरक छ त शैली र तौरतरिका । गाउँघरमा छिटो हालेर चोखो हुने गरिन्छ भने सहरबजारमा प्रविधिका माध्यमले । यसको ताजा उदाहरण हुन् लोकप्रिय गायक प्रकाश सपुत । सामाजिक सञ्जालका माध्यमले केही दिनयता उनले जातीय विभेदको चरम पीडा भोगिरहेका छन् ।

उनले पछिल्लो गीत ‘गलबन्दी च्यातियो तिम्ले तानेर...’ निकै लोकप्रिय भयो । युट्युब ट्रेन्डिङमा एक नम्बरमा पर्‍यो । यो गीतले सफलताको चुली उक्लिनु के थियो, चोरीको बात लगाइयो । प्रकाशले गायक शम्भु राईको लोकगीत नक्कल गरेको भन्दै बखेडा झिक्न थालियो । शम्भु पनि यही पथमा लागे । हुँदाहुँदा उनको समुदायका सयौं मान्छेले प्रकाशलाई सामाजिक सञ्जालमा जथाभावी लेख्न थाले ।

प्रकाशले त्यो गीत निर्माणमा सही गरे या गलत, यसको छ्यानविचार गर्ने कानुनी बाटो हुँदाहुँदै शम्भुका समर्थकहरू वा उनको समुदायकाहरू एकोहोरो प्रकाशमाथि जाइलागे । उनलाई कमजोर साबित गर्न जातलाई माध्यम बनाए । यो अमानवीय शैली हो, पीडादायी विषय हो । कलाकार भनेको कलाकार मात्रै हो । उसको जातपात हुँदैन । कलाकारको जात हेरिने भए शम्भु राईकै कति श्रोता हुन्थे होलान् ? त्यसैले कुनै पनि कलाकारको जातलाई लिएर गाली–बेइज्जतीमा उत्रिनु अपमानको पराकाष्ठा हो । यसमा कसैको हार हुन्छ भने नेपालको कलाक्षेत्रको हार हुन्छ ।

दुर्भाग्यपूर्ण के छ भने, अहिले मात्रै कोही दलित समुदायको कलाकार वा स्थापित व्यक्तिले यस्तो निन्दा भोग्नुपरेको होइन । दलित समुदायका अन्य कलाकार, सामाजिक अभियन्ता, राजनीतिकर्मी, कर्मचारी र बहालवाला मन्त्रीसम्म जातीय विभेदका भुक्तभोगी भएका छन् ।

केही वर्षअघि कोरियोग्राफर शंकर बीसी पनि सामाजिक सञ्जालको छोइछिटोमा परे । पत्रकारसँंग भनाभन पर्दै गरेको उनको भिडियो सार्वजनिक भयो । सामाजिक सञ्जालका कमेन्टमा ‘कामीले जात जनायो’ भन्दै असंख्य प्रतिक्रिया आए ! असह्य भएपछि उनी फेसबुकका कमेन्ट बटुलेर प्रहरीकहाँ पुगे । शंकर त्यो दिन सम्झँदै भन्छन्, ‘जातलाई होच्याएर लेखेको कमेन्टले म रातभरि सुत्न सकिनँ । डिप्रेसन नै होला जस्तो भएको थियो । त्यो सम्झिँदा अझै पनि मन पोल्छ ।’

यसरी विभेदको सिकार बन्न बाध्य छ दलित समुदाय । यो पीडा अरू समुदायले भोग्नुपर्दैन । मान्छेको पहिचान बुझाउनै संघर्ष गर्नुपर्ने समाजमा दलित समुदायको राज्यसंँगको पहुँच कसरी विकास हुन सक्छ ? एकातिर आरक्षणलाई लिएर लोकसेवा आयोगविरुद्ध दलित समुदाय संघर्षमा उत्रिएको छ, अर्कातिर प्रकाश सपुतजस्ता सर्जकहरू विभेदका सिकार भएका छन् ।

कानुनले कुनै पनि सम्प्रदाय, समूह, जात, धर्म, वर्ण, लिङ्गका आधारमा अपमानजनक हिसाबले बोल्न, लेख्न र अभिव्यक्त गर्न वर्जित गरेको पृष्ठभूमिमा प्रहरी–प्रशासन आफै तात्नुपर्ने हो यो मामिलामा, तर त्यस्तो हुन सकिरहेको छैन । सामाजिक सञ्चालमा पोस्ट भएको विचार आफैमा एउटाप्रमाण हो । प्रहरी–प्रशासनले उजुरी कुरेर बस्नुभन्दा सामाजिक सद्भाव खलबल्याउन खोज्नेहरूलाई यथाशीघ्र कानुनी कारबाहीमा तानिहाल्नुपर्छ ।

समयसँगै हाम्रो चालढाल, लवाइखवाइ फेरिएको छ, सोच र प्रवृत्ति भने पुरातन नै छ । हुँदाहुँदा दलितका पक्षमा बोलिदिनेसम्म कोही हुन्नन् । संसदमा सांसद मीनबहादुर विश्वकर्माले प्रकाशमाथिको विभेदको कुरा चर्को रूपमा उठाए, तर गैरदलित कुनै सांसदलाई यो विषय गम्भीर लागेन ।

मानव विभेद हुनु राष्ट्रिय मुद्दा हो र यो मामिलामा पनि दलितभन्दा गैरदलितले बढी आवाज उठाउनुपर्ने थियो । तिनलाई सद्बुद्धि कसले दिने, जतिसुकै प्रकाश सपुतहरू अपमानित भइरहून् !

rjmadhu2008@gmail.com

प्रकाशित : असार ११, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

११ वर्षीय बालकको आत्महत्या–'अनर्थ भयो’

प्रशान्त माली

माल्टा, ललितपुर — सानैदेखि नाच्न काविल कान्छो छोरालाई ठूलो कलाकार बनाउने धोको थियो ६० वर्षीय सुकबहादुरको । गीत गाउन, कविता वाचन र नृत्यमा प्रतिभाशाली थिए ११ वर्षीय समीर लुङवा । तिनै छोराले शनिबार राति अकस्मात् आत्महत्या गरेपछि भावविहृवलमा परेका छन् लुङवा परिवार । 

दुई छोरामध्ये ठूलो २९ वर्षीय कमल लुङवा र बुहारी शोभा बेसुर छन् । ठूली छोरीको विवाह भइसक्यो । कान्छी शान्ति भर्खर १३ वर्षमा लागिन् । बागमती गाउँपालिका २ का ६० वर्षीय बुवा सुकबहादुर र ५० वर्षीय आमा मानमायाको बुढेसकालको सहारा भनेकै समीर थिए । शनिबार राति ‘सुसाइट नोट’ लेखेर झुन्डिएर आत्महत्या गरेपछि आमाबुबाको आशाको दियो निभेको छ ।

मंगलबार पिँढीमा भावविहृवल अवस्थमा भेटिएकी आमा मानमाया भन्छिन्, ‘छोराले ठूलो नृत्य कलाकार बनेर परिवार पाल्छु भन्थे । मलाई कहिल्यै छोडेर एक्लै हिँडैनथ्यो । त्यो दिन म र छोरी बाहिर गएको बेला अनर्थ भयो ।’

घटना घटेको दिन राति सुकबहादुर झाँक्री काम गर्न छिमेकीकोमा घरमा पुगेका थिए । आमा छोरी टीभी हेर्न छिमेकीकोमा गएका थिए । सुकबहादुर करिब साढे ९ बजेतिर घर पुग्दा छोरा झुन्डिएको अवस्थामा देख्दा उनको होसहवास उड्यो । पिँढीमा बसेर हारगुहार माग्दै रुनकराउन थाले । उनको आवाज सुनेर मानमाया कुदेर घर पुगिन् । सुरुमा उनले श्रीमान् मुटु दुखेर कराउन थालेको भन्ठानेका थिए । छोराको अवस्था देखेपछि उनी पनि पानीबिनाको माछाजस्तै छट्पटाए । उनी सम्झिन्छन्, ‘घटना घट्नुअघिका दिनहरूमा छोराको व्यवहारमा केही परिवर्तन देखिनँ । एक्कासि घटना घटा अचम्ममा परेँ ।’

परिवारका अनुसार कालीदेवी माविको कक्षा ५ मा अध्यनरत मृतक समीर राम्रो नृत्य गर्दथे । अलि चकचके स्वभावका उनी आमाको सारी, फरिया, चुरा लगाएर नृत्य गर्दथे । गीत गाउन कविता वाचन राम्रो गर्दथे । काम गर्न अल्छी गर्दैनथे । धान रोप्न, मकै गोड्न महिलाले सक्दैनथे । झूटो बोल्दैनथे । २०७५ मा सम्पन्न बागमती गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा पनि उत्कृष्ट भएका थिए । सुकबहादुर भन्छन्, ‘छोराको स्वभाव देखेर उत्कृष्ट कलाकार बनाउन जग्गा बेचेर भए पनि पढाउने सपना थियो । सबै चकनाचुर भयो ।’

सुकबहादुर दम्पती किसान वर्गका हुन् । उनीहरूको ५ रोपनी पाखो बारी छ । अरूको खेतबारीमा हलो जोतेर र दुध बेचेर भएको आम्दानीबाट घरपरिवार चलाउँदै आइरहेका छन् । सुकबहादुरको ३ वर्षअघि घाँस काट्न जादा भीरबाट लडेर ३ वटा करङ भाँचेको थियो । अस्पतालमा उपचार गराएर ठीक त भए । तर, पहिला जस्तो राम्रोसँग काम गर्न नसक्ने भएका छन् ।

अहिले सुत्दा र उडा छाती दुख्छ उनको ।उनी सुनाउँछन्, ‘ठूलो छोराले कान्छोलाई जिस्काइरहन्थे । तैपनि कान्छाले ठूलोलाई कहिले पनि ठूलो स्वरले बोल्दैन्थ्यो । कहिलेकाहीँ ख्यालख्यालमा सामान्य झगडा गर्दा पनि कान्छोले जित्थे । अहिले जुन बेला सहराको आवश्यक पर्‍यो त्यही बेला टुट्यो ।’

घटना दुईतले घरको भुइँतलामा घटेको थियो । सुसाइट नोट शवनजिकै कापीको बीच भागबाट उप्काएको पानामा लेखेर ढुंगाले थिचेर राखेको अवस्थामा भेटिएको थियो । नोटमा ‘मेरो नाम समीर लुङवा हो । म कक्षा पाँचमा पढ्छु । मेरो रोल नम्बर पाँच हो । म आज केही कुरा भन्न चाहन्छु । म धेरै दुःखमा छु । मलाई कसैले माया गर्दैन । कक्षामा केटीहरूलाई नपिट्ने र केटाहरूलाई पिट्ने र घरमा पनि मलाई दाइभाउजूले हेला गर्ने, कोही सरमिस त नहुने । म तिनीहरूको नाम लेख्दै छु । सरस्वती मिस, दिवाकर सर, गोविन्द सर । म बिरामी हुँदा मलाई बिरामी भएको छैन भने । म अब यति भनेर बिदा गर्दछु । म ११ वर्षको भएँ । मेरो जन्मेको महिना कात्तिक चौध गते । म यो संसार छोडेर जाँदै छु ।’

परिवारका अनुसार समीर जेठमा ज्वरोले ३ दिन थलो परेका थिए । नसकिनसकी विद्यालय पनि गएका थिए । सुकबहादुर भन्छन्, ‘छोराले बिरामी हुँदा पनिशिक्षकले बिरामी नभएको भनेको कुरा नोटमा लेखेका छन् । यसले शिक्षकशिक्षिकाबाट भएको हेला सहन नसकेर आत्महत्या गरेको देखिन्छ । प्रहरीले यसबारेमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही चलाउनुपर्‍यो ।’

माल्टाका पूर्वगाविस अध्यक्ष चन्द्रबहादुर दर्लामीले पनि समीरले लेखेको नोटले विद्यालयको हेलाले गर्दा आत्महत्या गरेको देखिने बताए । ‘विद्यालयको कमजोरी देखिन्छ,’ उनले भने, ‘अभिभावक भेला नगरेको पनि ३ वर्ष बित्यो ।’

कालीदेवी माविका प्रिन्सिपल कुमार चौलागार्इंले अनुसन्धान गर्ने क्रममा दोषी फेला परेमा कारबाहीका लागि सिफारिस गरिने बताए । ‘घटनापछि विद्यालयमा पुग्न पाएको छैन । समीरका कक्षाका साथीहरूसँग सोधपुछ गरेर उनलाई शिक्षकशिक्षकाले पिट्ने गरेको छ/छैनबारेमा जानकारी लिनेछु,’ उनले भने, ‘समीर विद्यालयमा राम्रो विद्यार्थी थिए । समीरका दाइ कमल पसल गए पैसा फिर्ता नल्याउने । पैसा गन्न नजान्ने । घरबाट कहिले ६/७ दिन बेपत्ता हुने । अरूको घरमा गएर १०/१२ दिनसम्म बस्ने, बोलेको कुरा नसम्झिनेजस्ता अनौठो स्वभावका थिए ।’

‘तर, दाइभाइबीच झगडा गर्‍यो भनेर ठूलो स्वरले सुन्न पाएको छैन । समीर घरमा मात्र नभई छिमेकमा समेत ठूलो स्वरले बोलेको थाहा छैन,’ उनका छिमेकी गंगामाया स्याङतानले बताइन् । महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार खिउजुले घटनाबारेमा अनुसन्धान भइरहेको बताए । ‘शिक्षकशिक्षकाको बयान लिइसकेका छौँ । पोस्टमार्टम रिपोट आउन बाँकी छ,’ उनले भने, ‘सुसाइट नोट सही हो/होइन जाँच गर्ने क्रममा छौँ ।’

प्रकाशित : असार ११, २०७६ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्