फोहोरलाई नहेर्नू फोहोरी नजरले

मधु राई

एक वर्ष भयो हामीले शून्य फोहोरको अवधारणाअनुरूप घर र विद्यालयबाट निस्कने फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन गर्न थालेको । त्यसो त तेह्र वर्षयता कागज जस्ता सुक्खा फोहोरबाट शैक्षिक, घरायसी र कार्यालय प्रयोजनका लागि विभिन्न सामग्री बनाउँदै आएका छौं । गत वर्ष जेठदेखि घर र विद्यालयले कागजको लेदो र माटोबाट आकर्षक फलफूल र जनावर बनाउन थालेका छौं । 

हामी प्लास्टिकको झोला पुनः प्रयोग गर्छौं । दूधका साना पोकामा बिरुवा उमार्ने गर्छौं र ठूला पोकामा फलफूल र तरकारी फलाउने गर्छौं । पातलो प्लास्टिक झोलाबाट डोरी बनाउँछौं । भान्साबाट निस्कने कुहिने फोहोरबाट जैविक मल बनाई कौसी र करेसाबारीमा प्रयोग गरेको धेरै वर्ष भयो । अन्य प्लास्टिकजन्य फोहोर बिक्री गर्छौं भने ससाना चक्लेटका खोलबाट खेलौना बनाउँछौं । कामै नलाग्ने फोहोर भने करेसाबारीको छेउछाउमा खाल्डाखुल्डी पुर्ने काममा प्रयोग गर्दै आएका छौं ।

फोहोरको प्रकृति हेरी यसको वैज्ञानिक र दिगो व्यवस्थापनबाट एकातिर विद्यालयको शैक्षिक सामग्री खर्च घटेको छ, अर्कातिर शैक्षिक सामग्री बनाउने जनशक्ति तयार हुँदै छ । जैविक मल प्रयोग गरी फलाएको विषादीमुक्त तरकारीले भान्साको खर्च मात्र घटाएको छैन, शिक्षक–कर्मचारी र छरछिमेकलाई पनि फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन गर्दा हुने चौतर्फी फाइदाले आकर्षित गर्न थालेको छ ।

फोहोरप्रति आम नेपालीको परम्परागत सोचले यसको व्यवस्थापन झन्झन् जटिल बन्दै गएको छ । यो काम वैज्ञानिक र दिगो हुन सकेको छैन । विराटनगर महानगरपालिकामा केही वर्षयता जताततै बाटा र नालाको निर्माणले यसलाई खिल्ली उडाइरहेको प्रतीत हुन्छ ।

त्यसो त महानगरपालिकाले दुई दशकदेखि फोहोरमैला व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिँदै आएको छ, तथापि तिनको पुरातन कार्यशैलीका कारण परिवर्तन देख्न सकिएको छैन । फोहोर घटाउनेभन्दा पनि ‘जति फोहोर त्यति मोहोर’ भन्ने मानसिकता पालेको देखिन्छ । हुन त स्थानीय तहको सक्रियता र समन्वयमा कतिपय नगरपालिकामा फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन हुँदै आएको छ । यस्ता नगरपालिकामा इलाम, धनकुटा, हेटौंडा र मोरङको सुन्दरहरैंचा अग्रपंक्तिमा पर्छन् । विडम्बना, यिनको सफलताबाट अन्य नगरपालिकाले पाठ सिक्न चासो लिएको देखिँदैन ।

बहुसंख्यक स्थानीय तहका पदाधिकारीले निजी कम्पनीले कसरी फोहोर व्यवस्थापन गरिरहेका छन् भन्नेबारे जिज्ञासा लिएको देखिँदैन । यसको फाइदा तिनै कम्पनीले उठाइरहेका छन् । कम्तीमा प्रकृति हेरी वर्गीकरण मात्र गर्न सके पनि फोहोरको मात्रा स्वतः घट्छ ।

यद्यपि निजी कम्पनीको बुझाइमा फोहोरको मात्रा घट्नु वा घटाउनु भनेको फेरि पनि आफूले स्थानीय तहबाट पाउने रकम घट्नु हो । यस्तै, फोहोरजन्य वस्तु बिक्री गरी आयआर्जन गर्न सकिन्छ भन्ने जनचेतना जगाउन स्थानीय तहलगायत निजी कम्पनी चुकेको देखिन्छ । यस्ता कतिपय कारणले पनि फोहोर ‘उत्पादक’ मासचेतना बढ्न सकेको छैन ।

पछिल्लो समय काठमाडौं र भक्तपुरमा कतिपय निजी कम्पनीले आधुनिक सूचना र प्रविधि प्रयोग गरी घरदैलाबाटै फोहोर किनिदिने गरेका छन् । यस्ता कम्पनीमा भक्तपुरको ठिमीको डोको रिसाइकलर्स र खाली सिसी डटकमहरू अग्रपंक्तिमा छन् । डोको रिसाइकलर्सले किनेको फोहोर पुनः प्रयोग र पुनः चक्रण गरी बिक्रीसमेत गर्दै आएको छ भने खाली सिसी डटकमले सीधै कबाडीलाई बिक्री गर्ने गर्छ ।

पछिल्लो समय विकसित मुलुकहरूको के कुरा, छिमेकी मुलुक भारतको केरला राज्यको कोबलाममा सन् २००४ देखि ‘जिरो वेस्ट’ अभियान सुरु भएको छ । यूएनडीपीको सहयोगमा सञ्चालित सो अभियानलाई परिणाममुखी बनाउन सेल्फ हेल्प समूहका महिला लागिपरेका छन् । यो अभियानले त्यहाँ वातावरण संरक्षण मात्र भएको छैन, महिलाका लागि रोजगारीको भरपर्दो माध्यम बन्दै छ फोहोर ।

जापान सरकारले शून्य फोहोरको अवधारणाअनुरूप कार्य गर्न शैक्षिक संस्थाहरूसँग सहकार्य र समन्वय गर्दै आएको धेरै भइसक्यो । यस्तै घर र विद्यालयबाट निस्कने पैंतीस किसिमका फोहोरलाई वर्गीकरण गर्ने कला स्कुले बालबालिकालाई सिकाउन जापानी सरकार लागिपरेको छ । कुहिने फोहोरबाट जैविक मल बनाई तरकारी र फलफूल उत्पादन गर्ने देशमा जापान अग्रपंक्तिमा पर्छ ।

विश्वको दोस्रो उत्कृष्ट र सफा देश स्विडेनमा समग्र फोहोरको ४७ प्रतिशत पुनः प्रयोग र पुनः चक्रण गरिन्छ । ५२ प्रतिशत अजैविक अर्थात् प्लास्टिकजन्य फोहोरबाट विद्युत् उत्पादन गरिन्छ र विद्युत् आपूर्ति गर्न बेलाबेला स्विडेनले यस्ता फोहोर अपुग हुँदा आयातसमेत गर्दै आएको छ । त्यहाँ १ प्रतिशत काम नलाग्ने फोहोर मात्र ल्यान्डफिल साइटमा लगिन्छ ।

अस्ट्रेलियामा फोहोरको प्रकृति हेरी एक दिन कुहिने र अर्को दिन नकुहिने संकलन गरिन्छ । नेदरल्यान्डमा नकुहिने फोहोर मात्र संकलन गरिन्छ भने फोहोर उत्पादक स्वयंले कुहिने फोहोरको वैज्ञानिक र दिगो व्यवस्थापन गर्नुपर्ने सरकारी नियम छ । फिनल्यान्डमा सहकारी संस्थाहरूको आम्दानीको मुख्य स्रोत फोहोर नै हो ।

पछिल्लो समय हाम्रा तीनै तहका सरकारी पदाधिकारीहरूको विदेश भ्रमण बाक्लिँदै गएको छ, तथापि उनीहरूको विदेश भ्रमण सीप, प्रविधि सिक्नेभन्दा पनि कति आर्थिक सहयोग माग्ने भन्नेमै केन्द्रित देखिन्छ । उनीहरूको प्राथमिकतामा न फोहोरमैला व्यवस्थापन पर्‍यो, न पर्ने कुनै छाँट छ । विकसित मुलुकले जस्तै फोहोरलाई आम्दानीको स्रोत बनाउन सके हामीकहाँ पनि रोजगारीको भरपर्दो विकल्प तयार हुन सक्छ ।

प्रकाशित : असार १५, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्

तगारा छल्दै उद्यममा महिला

मधु राई

मोरङको टंकीसिनुवारीकी चम्पा नेपालले छ वर्षदेखि आफ्नै घरमा शु सेन्टर सञ्चालन गर्दै आएकी छन् । सात वर्षअघि उनलाई घरेलु तथा साना उद्योग, मोरङले दुईमहिने जुत्ता बनाउने तालिम दिएपछि उनको दिनचर्या फेरिँदै गयो । उनी वर्षमा पाँच–छ पटक प्रशिक्षक भएर जिल्लाबाहिर पनि जाने गरेकी छन् ।

उनले आफ्ना नौ जना छिमेकीलाई प्रत्यक्ष रोजगारीसमेत दिएकी छन् । उनका उत्पादन जिल्लाबाहिर पनि बिक्ने गरेका छन् । तीन वर्षअघि उनको कामको मूल्यांकन गर्दै केयर नेपालले कदरपत्रसहित चालिस हजार रुपैयाँ प्रदान गर्‍यो । उद्यमबाट सन्तुष्ट भए पनि आर्थिक कारणले गर्दा बजारक्षेत्रमा पसल भने सञ्चालन गर्न नसकेको चम्पा बताउँछिन् ।

मोरङकै विराटचोककी सीता राई पनि सफल उद्यमी हुन् । स्नातक राईले छ वर्षदेखि विराटचोकमा तेह्रथुमे ढाका र अल्लोका कपडा उत्पादन गर्नुका साथै विभिन्न डिजाइनका पोसाक, ढाका र अल्लोबाट जुत्ता–चप्पल तयार गर्दै आएकी छन् ।

उनले पाँच महिला र एक पुरुषलाई रोजगारीसमेत दिएकी छन् । पोसाक तयार गर्न उनलाई श्रीमान्ले पनि सघाउने गरेका छन् । यही जेठको दोस्रो सातादेखि सीताले सुन्दरहरैंचा नगरपालिकाको आंशिक सहयोगमा पन्ध्र महिलालाई निःशुल्क तालिम दिँदै छिन् । व्यवसाय बढाउन जनशक्ति चाहिने भएकाले निःशुल्क तालिम दिन लागेको उनी बताउँछिन् ।

चम्पा नेपाल र सीता राई यस्ता प्रतिनिधि पात्र हुन्, जो घरव्यवहार धान्नुसँगै आफू रोजगार बन्न र अरू महिलालाई उद्यमी बनाउन अहोरात्र खट्दै छन् । पछिल्लो समयसहरबजारमा सिलाइबुनाइको पसल सञ्चालन गर्दै आएका कतिपय शिक्षित र हुनेखाने महिलाहरूलाई बुटिक व्यवसायले पनि आकर्षित गर्दै छ ।

अफसोस, यस्ता बुटिकमा उनीहरूले पुरुषलाई बढी रोजगारी दिने गरेका छन् । विराटनगरको ट्राफिक चोकमा बुटिक सञ्चालन गर्दै आएकी जीना श्रेष्ठकहाँ पाँच कामदारमध्ये एक महिला छिन् । कतिपय बुटिक सञ्चालक महिलाहरू नै ‘कहाँ सक्छन् र महिलाहरूले पुरुषसरह काम गर्न ?’ भनी तर्किने गर्छन् । महिलाको क्षमता र योग्यतामा महिलाले नै विश्वास नगर्नु सानो विडम्बना होइन ।

रोजगारीको खोजीमा विदेसिन बाध्य महिला जनशक्तिलाई पछिल्लो समय स्वदेशमै रोजगार बन्न प्रेरित गर्दै छन् यी उद्यमी महिलाहरूले । यस्ता उद्यममा घरपरिवारले सहयोग गरे पनि स्थानीय तहले पुरुष उद्यमीलाई जस्तो सहजै पत्याउने वातावरण बनिनसकेको सीता राईको कटु अनुभव छ । यी र यस्ता कतिपय कारणले गर्दा पनि महिलाहरू उद्यम–व्यवसायमा अघि सर्न सकेको देखिंदैन ।

उद्यम–व्यवसाय गर्न चाहने कतिपय महिला उपयुक्त सल्लाह, तालिम र पुँजीको अभावमा हच्किने गरेका पनि छन् । स्थानीय तहले पछिल्लो समय महिलाहरूका लागि लामो समयको तालिमभन्दा दुईदिने नेतृत्व विकास तथा कानुनी साक्षरता सम्बन्धी अभिमुखीकरण जस्ता प्रशिक्षण दिने गरेको छ । स्रोतसाधनको उपलब्धता हुँदाहुँदै पनि जनप्रतिनिधिहरूको प्राथमिकतामा महिलालाई स्वरोजगार बनाउनु पर्छ भन्ने विषय नपर्नु पनि अर्को विडम्बना हो ।

गृहिणी पृष्ठभूमिबाटै जनप्रतिनिधि बन्ने अवसर पाएका कतिपय महिला न आफै स्वरोजगार बन्न चाहेको देखिन्छ न त अरू महिलाका लागि वातावरण बनाउनमा चिन्तित देखिन्छन् । अनेक कठिनाइ झेल्दै उद्यम–व्यवसायमा संलग्न महिलाहरूको व्यवसायलाई चाहिने थप सल्लाह–सुझाव दिनमाघरेलु तथा साना उद्योग कार्यालयसमेत उदासीन देखिन्छ । तालिम प्रमुख अशोक राई भन्छन्, ‘जनशक्ति अनि थप साधनस्रोतको कमीले सल्लाह दिन र अनुगमन गर्न सकेका छैनौं ।’

हामीकहाँ सिलाइबुनाइ, बुटिक र हस्तकलाको व्यवसायमा मात्र महिलाहरूको उल्लेख्य सहभागिता छ । विकसित मुलुकमा जस्तो दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्यममा महिलाहरूको उपस्थिति नगण्य देखिन्छ । तीनै तहका सरकारले महिलाहरूको क्षमता पहिचान गरी आवश्यक तालिम दिने गरे यो अपवाद हट्दै जानेछ ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्