कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कांग्रेस जागरणसँगै अधिवेशन

विश्वप्रकाश शर्मा

प्रमुख प्रतिपक्षी दलको भूमिका देशले प्रभावकारी अस्तित्वका साथ खोज्नु यस बेला विशेष रूपले सान्दर्भिक भएको छ । कम्युनिस्ट पार्टीको सरकारले राष्ट्रिय जीवनका अनेक क्षेत्रमा हस्तक्षेप बढाउँदै लगेपछि प्रतिपक्षी दलले त्यसको दृढ प्रतिवाद गरोस् भन्ने जनअपेक्षा बढ्नु स्वाभाविक हो ।

कांग्रेस जागरणसँगै अधिवेशन

नेपाली कांग्रेससँग नागरिकका कैयौं गुनासा थिए र छन्, पटकपटक मुलुकको नेतृत्व गरेको दलसँग कतिपय सन्दर्भमा प्रश्न र गुनासा हुनु स्वाभाविक हो तर नागरिक पंक्ति के कुरामा कांग्रेससँग सदैव ढुक्क र विश्वस्त देखिन्छ भने कांग्रेसले लोकतन्त्रका मानकहरूमाथि न हस्तक्षेप गर्छ न त सत्तालाई बलियो बनाउने भ्रममा लोकतान्त्रिक मूल्यविरुद्ध कसैसँग सम्झौता गर्छ । त्यसैले सपनाको कम्युनिस्ट सत्तासँग छोटो समयमै मोहभंग भएको विशाल नागरिक पंक्ति यति बेला कांग्रेसतर्फ भरोसाको नजर घुमाउँदै छ र त्यो पंक्तिले आफ्नो सैद्धान्तिक विश्वासको रक्षा गर्न सक्ने प्रतिपक्षी दलको घरेलु जीवनप्रति पनि खुलेर चासो राख्न थालेको छ । यो बिल्कुलै स्वाभाविक किन छ भने एउटा लोकतान्त्रिक दलको जीवन उसको घरेलु मामिला मात्रै होइन, आम सरोकारको विषय पनि हो ।


कांग्रेस अब कसरी अघि बढ्छ ? अधिनायकवाद–उन्मुख सत्ताकांक्षालाई रोक्न कस्तो पहल गर्छ ? घरेलु जीवनलाई कसरी व्यवस्थित गर्छ ? अन्तरिम व्यवस्था कि महाधिवेशनमा प्रवेश गर्छ । ‘पञ्चायती’ विधेयकहरूलाई निस्तेज कसरी तुल्याउँछ ? जागरण अभियानको दोस्रो चरणको स्वरूप के हुनेछ ? यस्ता आम जिज्ञासा कांग्रेसतर्फ केन्द्रित हुन थाल्नु भनेको कांग्रेसप्रति नागरिक आशाको पुनर्जागरणको चरण हो । कांग्रेस पार्टी परिवारले समस्याको बिस्कुन सुकाएर आवेगसाथ होइन, रूपान्तरणको ऐक्यबद्ध जागरणसाथ त्यो आशालाई विश्वासमा बदल्नु छ ।


'जबज’ जनवादी केन्द्रीयताले निलेपछि !

नेपाली कांग्रेससामु यतिबेला प्रधान दुई कार्यभार छन् । पहिलो, पार्टीको संशोधित विधानअनुरूपका संरचना राष्ट्रव्यापी रूपमा निर्माण गर्ने घरेलु कार्यभार । दोस्रो, मुलुकको संविधान रक्षार्थ आफ्नो राष्ट्रिय भूमिकालाई समयको मागबमोजिम प्रभावकारी बनाउने दायित्व । विभागहरूलाई पूर्णता, भ्रातृ संस्थाहरूको व्यवस्थापन, प्रशिक्षणलाई गति, जागरण अभियानको दोस्रो चरणको तयारी र चौधौं महाधिवेशनको पृष्ठभूमि निर्माण पहिलो कार्यभारभित्रै पर्छन् । घरेलु कार्यभारलाई व्यवस्थित सम्पादन गर्न सक्दा त्यसले दिने संगठित ऊर्जाले राष्ट्रिय कार्यभार निर्वाह गर्न गतिशीलता दिनेछ । वर्तमान सरकारले लोकतान्त्रिक संविधान र कम्युनिस्ट दर्शनको शासकीय बाटोबीचको अन्तर्द्वन्द्वमा लोकतन्त्रलाई ‘लिप सर्भिस’ र शास्त्रीय बाटोमा लगिरहेको छ । एउटा मात्रै मुद्दा भए त्यसलाई घटनाका रूपमा लिन मिल्थ्यो तर अनेक घटना र दर्जन विधेयकका शृंखलाले घटना होइन, प्रवृत्तिलाई प्रतिनिधित्व गर्छ ।


निषेधको राजनीति र अधिनायकवाद–उन्मुख आकांक्षा यो सवा वर्षको सार हो वर्तमान सरकारको । यद्यपि प्रतिरक्षामा दिइने तर्क बलिया छन्– १४ वर्ष जेल बसेको, लोकतान्त्रिक संविधानका पानापानामा हस्ताक्षर गरेको र जनताबाट निर्वाचित भएको ! यथार्थ के हो भने वर्तमान सरकार प्रमुख संसदीय लोकतान्त्रिक प्रणालीको माग गरेर १४ वर्ष जेल बस्नुभएको थिएन । इतिहासको तीतो सत्य स्मरण गर्नुपर्दा बल प्रयोगबाट राज्यसत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने घोषित लक्ष्यका साथ भएको झापा विद्रोहले जेल पुर्‍याएको थियो उहाँ र उहाँका सहयोद्धाहरूलाई । त्यतिका वर्ष जेल बस्दै गर्दा उहाँको पार्टीले संसदीय लोकतान्त्रिक प्रतिस्पर्धाको बाटो अंगीकार गरिसकेको थिएन ।

मदन भण्डारी नाम गरेको एउटा जिउँदो नायकले मार्क्सवादको अस्थिपञ्जरमा बहुदलीय जनवादको आत्मालाई ‘ट्रान्सप्लान्ट’ गरेपछि उहाँहरूको कार्यदिशा संसदीय लोकतान्त्रिक मार्गमा समाहित भएको हो तर २०७५ जेठ ३ देखि त्यही जबजलाई खोपाको भीमसेन बनाएपछि लोकतान्त्रिक संविधानका पानापानामा गरेको हस्ताक्षरको मसी मात्रैले अधिनायक आकांक्षालाई छेक्न कसरी पो सक्छ र ? रह्यो जनताबाट निर्वाचित भएको तथ्य, जो सत्य हो तर सवा वर्षको शासनले व्यवहारत: पुष्टि गरेको छ– लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनु एउटै कुरा होइन ।


राष्ट्रिय जागरणको सार्थकता

कम्युनिस्ट पार्टीको मूल नेतृत्वमा अधिनायकवादी आकांक्षा बलशाली हुँदै गए पनि यसका हजारौं कार्यकर्ताबीच कम्युनिस्ट दर्शन कि लोकतन्त्र भनेर कसैले इमानदार सर्वेक्षण गरे बहुसंख्यकले लोकतन्त्र र लोकतान्त्रिक संविधानका पक्षमा मत जाहेर गर्नेछन् । राष्ट्रिय जागरण अभियानको प्रथम चरणको एक महिनामा कांग्रेसमा प्रवेश गरेका ३१ हजार ६ सय ४२ मध्ये ८० प्रतिशतभन्दा बढी सत्तारूढ कम्युनिस्ट पार्टीमा सक्रिय रहेकाहरू छन् । कांग्रेसले आफूलाई रूपान्तरित र व्यवस्थित गर्दै अघि बढ्ने सामर्थ्य विकास गर्दा जागरणको तेस्रो चरणसम्म कांग्रेसमा समाहित हुने नयाँ सदस्यको संख्या दसौं गुणा बढ्ने देखिन्छ ।


हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको प्रथम चरणमा २ हजारभन्दा बढी कार्यक्रम देशव्यापी रूपमा आयोजना भए । पार्टीलाई गति दिन पर्याप्त छलफल र बहस भए । राजनीतिक दलका कार्यक्रम समयानुकूल रूपान्तरित र छरितो हुनुपर्छ भन्ने मान्यतासाथ केही हदसम्म परिमार्जनको नवीन अभ्यासको थालनी भयो । काम गर्ने तर प्रचार गर्न नसक्ने, आलोचना बेहोर्दै आएको पार्टीले अभियानका क्रममा एकातर्फ सरकारमा हुँदा आफूले गरेका राम्रा कामको प्रचारलाई प्राथमिकता दियो भने अर्कातर्फ कम्युनिस्ट सरकारका कमजोरीमाथि प्रहार बढायो ।

अभियानका क्रममा सबै कांग्रेसजन भिन्नभिन्न ढंगले जागृत भए । जागरण अभियान अघि बढाउने निर्णय २०७५ मंसिर २८ को केन्द्रीय समिति बैठकले गरेबमोजिम गत पुस ८ मा सम्पन्न महासमिति बैठकले पारित गरेको थियो । यो तथ्यको ज्ञान केन्द्रीय समितिमै रहेका कतिपय बौद्धिक साथीहरूमा पुर्‍याउन नसक्नु केन्द्रीय कार्यालयको निश्चय नै कमजोरी थियो तर अभियान महत्त्वपूर्ण के कारणले रह्यो भने यसले घरमा सुत्न कसैलाई दिएन, विरोध गर्नेहरूलाई पनि सम्मानपूर्वक प्रमुख अतिथिका रूपमा घरबाट तानेर मञ्चमा पुर्‍यायो । अभियानका क्रममा पार्टीका थुप्रै कमीकमजोरी साथीहरूले ठाउँठाउँमा औंल्याउनुभएको छ । तिनलाई आत्मसात् गर्दै, सच्याउँदै र सच्चिँदै अघि बढ्ने इच्छाशक्तिले दोस्रो र तेस्रो चरणको अभियानलाई सार्थक तुल्याउनेछ ।


डेनमार्क भेलाको सन्देश

सम्भवत: यो प्रथम पटक हो नेपालको कुनै राजनीतिक दलले सात समुद्रपारि विश्वस्तरीय कार्यक्रम आयोजना गरेको । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ३३ देशका नेपाली जनसम्पर्क समितिका लागि आयोजना गरेको डेनमार्क प्रशिक्षण केवल पढाउनका लागि थिएन, नेपालबाट गएका हामी सहभागीले पढ्नका लागि पनि थियो । ‘साइन्टिफिक प्यानल’ का विज्ञहरू र डेनिस संसद्का दिग्गजहरूबाट ‘ग्लोबल वार्मिङ’ को चुनौती सामना गर्न नेपालजस्तो अल्पविकसित राष्ट्रको भूमिका के हुन सक्छ, युरोपेली समाजवादको उपलब्धि र अनुभव नेपालका लागि कति व्यावहारिक छ, त्यहाँको स्वास्थ्य प्रणाली, कृषिको आधुनिकीकरणजस्ता विषयबारे हामी लाभान्वित भयौं ।

नेपालको कुनै प्रतिपक्षी दलले नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिकाउपर बाहिरी मुलुकमा विषय चिन्तन गरेको यो प्रथम पटक हो । प्रतिपक्षले विमतिका नाममा देशभित्रका भौतिक संरचना भाँच्छ भन्ने विगतको तीतो स्मृतिभन्दा देशबाहिरका नेपली मनहरू देशका लागि गाँस्नतर्फ जिम्मेवार प्रतिपक्ष लाग्छ भन्ने सुखद सन्देश हो डेनमार्क भेला । नेजसस डेनमार्कको संयोजनमा २ सय ५ जना सहभागी रहेको कार्यक्रमले अलग ऊर्जा सम्प्रेषण गरेको छ ।


अब अन्तरिम प्रक्रियामा

जिम्मेवार प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन कांग्रेसले आफ्नो घरेलु जीवनलाई सुदृढ र सशक्त बनाउनु छ । असार २२ देखि हुँदै गरेको केन्द्रीय समिति बैठकले पार्टीको घरेलु र राष्ट्रिय दुवै कार्यभारबारे जरुरी निर्णय लिनु छ । विधानको अन्तिम टुंगोलगत्तै जागरण अभियानमा प्रवेश गर्दा त्यसअनुरूपका संरचना ‘प्यारासुट जम्प’ गरेर गाउँ पुग्ने स्थिति थिएन । विधान कार्यान्वयनका लागि आवश्यक नियमावलीको संशोधित मस्यौदा केन्द्रीय समितिले पारित गरेपछि मात्रै नवीन संरचना निर्माणका लागि मार्गप्रशस्त हुनेछ । यी संरचनाको निर्माण पार्टीको चौधौं महाधिवेशनको पृष्ठभूमि निर्माण पनि हो ।

विधानमा नवीन संरचनाका लागि तदर्थ समिति गठनको कुनै धारा छैन । धारा ७२ को ४ ले गरेको व्यवस्थाले हामीलाई अन्तरिम प्रक्रियामा लैजान्छ । जागरणसँगै अधिवेशन र अधिवेशनसँगै जागरणको हार्दिक एकता र हार्दिक प्रतिस्पर्धाको बाटो हिँडेर कांग्रेसले स्वयं आफ्नो अनि सिंगो देशको नेतृत्व सबल ढंगले गर्नु छ ।

twitter : @bishwaprakash77


प्रकाशित : असार २२, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?