कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

हातहातमा स्यानिटरी प्याड

अम्बिका गैह्रे

काठमाडौँ — हरेक महिला आफ्नो जीवनकालमा करिब ६.२५ वर्ष महिनावारीसँग जुध्ने गर्छन् । विश्व अभ्यासलाई हेर्दा एक महिलाले सरदर १५,००० वटा स्यानिटरी प्याड प्रयोग गर्ने तथ्यांक देखिन्छ ।

हातहातमा स्यानिटरी प्याड

नेपालका सहरी महिलामा स्यानिटरी प्याड प्रयोगको आँकडा राम्रै हुनुपर्छ । बाहिर निस्कनु नपर्ने सहरी महिलाले भने घरायसी सामग्री नै प्रयोग गरेको पाइन्छ । गाउँघरमा प्याड प्रयोग गर्ने चलन त्यति छैन, जानकारी भए पनि प्याड किन्ने खर्च जुटाउन गाह्रो छ । जीवन धान्न दुई छाक जोहो गर्न धौधौ पर्ने हाम्रा धुलाम्मे जीवनहरूमा महिनावारीको रगतको के कुरा ! धूलोसँगै मिल्छ ।


उनीहरूका लागि महिनावारी स्वास्थ्य र सुरक्षा प्राथमिकतामा पर्दैपर्दैन । आर्थिक रूपमा समस्या नहुनेहरूले पनि परम्परागत कपडाले हुने ठाउँमा प्याड फजुल खर्च जस्तो बनिदिन्छ । प्याडमा खर्च गर्ने पैसाले छोराछोरी वा परिवारका अन्य आवश्यकता पूरा हुन्छन् । तर गम्भीर रोग निम्तिनुमा महिनावारीमा प्रयोग गरेकै फोहोर र घाममा नसुकाइएको कपडाको असर पनि हुन सक्छ भनी तिनलाई हेक्कै हुँदैन ।


महिनावारीका कारण धेरै छात्राले विद्यालय छाड्नुपरेको समस्यालाई ख्याल गर्दै सरकारले सबै विद्यालयमा निःशुल्क स्यानिटरी प्याड कार्यक्रम अगाडि सारेको छ । तर नेपालमा उपलब्ध, आयातित वा स्वदेशी उत्पादन, स्यानिटरी प्याड कति सुरक्षित होलान् ? जवाफ कसैसँग छैन ।


नेपालमा पाइने स्यानिटरी प्याडको गुणस्तर कस्तो छ ? सुरक्षित महिनावारीको कल्पनामा एउटी छात्राले मक्ख पर्दै प्रयोग गर्ने प्याडले उसको स्वास्थ्य थप जटिल बनाउँदैन भनेर ढुक्क हुने अवस्था छ त ? अबको बहस स्यानिटरी प्याडको गुणस्तर तथा प्रयोग गरी फालिएका प्याडले वातावरणमा पार्ने असरतिर मोडिनु अत्यावश्यक छ ।


नेपालमा भारतसहित चीन, जापान, सिंगापुर लगायतबाट प्याडको आयात हुन्छ । स्वदेशी उत्पादन पनि उल्लेख्य छ । नेपालमा प्याड उत्पादन गर्न आवश्यक कच्चा पदार्थमा भन्दा तयारी प्याडमा भन्सार थोरै हुँदा नेपाली उत्पादनले भारतीयसँग प्रतिस्पर्धा गर्न नसकेको व्यवसायीको गुनासो छ । तर प्याडमा प्रचारमा देखाइए जस्तो नभएर कटनबाहेक सिन्थेटिक फाइबर, नाइलन, प्लास्टिक, सेलुलोज जेल राखिएका हुन्छन् । यी सेतो नहुने हुँदा सेतो पार्न गरिने ब्लिचिङका क्रममा निस्कने डाइअक्जिन तथा सोस्ने क्षमता बढाउन प्रयोग गरिने जेलले महिलाको पाठेघरको मुखमा क्यान्सर तथा बाँझोपन ल्याउन सक्छन् ।


अचेल महिलाहरूमा पाठेघर सम्बन्धी क्यान्सरको समस्या निकै बढ्दो छ । यसको एउटा कारण असुरक्षित स्यानिटरी प्याडको प्रयोग पनि हो । प्लास्टिसाइजिङ रसायनहरूले मुटुरोग र क्यान्सर तथा भ्रूण नष्ट गर्ने समस्या निम्त्याउन सक्छन्, मधुमेह र थाइराइड समेत हुनसक्छ । दुर्गन्ध हटाउन तथा बास्नादार बनाउन प्रयोग हुने रसायनहरू स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन्, रसायनले गर्भ नै नरहने समस्या उब्जाउँछ । समय–समयमा प्याड परिवर्तन नगर्ने तथा ६ घण्टाभन्दा बढी एउटै प्याड प्रयोग गरेमा ब्याक्टेरियाको संक्रमण हुन सक्छ । फोहोर संकलन गर्ने र छुट्याउने कर्मचारीको स्वास्थ्यमा पनि असर पर्न सक्छ ।


विशेष किसिमको मेसिनले बाहेक सामान्य तरिकाले जलाउन नसकिने, पानीको स्रोतमा पुगे पानी बन्द गर्ने, ढलनिकास बन्द गर्ने तथा माटामा ५०० देखि ८०० वर्षसम्म पनि नकुहिने हुँदा प्याडले जमिन प्रदूषण गर्छ ।


नेपालमा लगभग ९० प्रतिशत प्याडको मागलाई आयातले धानेको छ । आयात गर्दा महिलाको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता प्याडको गुणस्तर हेरिँदैन । स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असर र संवेदनशीलतालाई गौण रूपमा नलिई अरू सामानसरह आयात गर्ने प्रचलन छ । स्वदेशी उत्पादनमा पनि अन्य उद्योगसरह दर्ता गरिदिँदा काम सकिन्छ । स्वदेशी उद्योगलाई त झन् टेलिभिजनका विज्ञापनका आधारमा चर्चा कमाएका विदेशी कथित ब्रान्डले उँभो लाग्न दिएका छैनन् ।


त्यो कथित ब्रान्डभित्रको सामानको गुणस्तर भने कसैलाई थाहा हुँदैन । नेपालमा स्यानिटरी प्याडको गुणस्तर के हुनुपर्ने र कसरी हेर्ने भन्ने राष्ट्रिय मापदण्ड छैन । प्याडको गुणस्तरमा ध्यान नदिई रगत सोस्ने हिसाबले मात्रै लिइँदा स्वास्थ्यका दृष्टिले परम्परागत कपडाभन्दा केही फरक नहोला, तर खर्च भने बढाउँछ ।


अहिले संसारभर स्यानिटरी प्याडबाट महिलाको स्वास्थ्मा हुन सक्ने तथा वातावरणमा पार्न सक्ने असर न्यूनीकरणबारे अध्ययन–अनुसन्धान र नयाँ प्रविधिको विकास भइरहेको छ । विकल्प खोजिन थालेका छन् । नेपालमा पनि प्याडको सट्टा मेन्सुरल कपको प्रविधि भित्रिइसकेको छ । तर पनि नेपाली महिलाहरूमा प्याडकै पहुँच छैन । प्याड सस्तो, गुणस्तरीय र सर्वसुलभ हुनु जरुरी छ ।


नेपालमा व्यक्तिगत प्रयोगबाहेक स्यानिटरी प्याडको ठूलो बजार हस्पिटल सप्लाईको छ । कसरी सस्तोमा सप्लाइ गर्ने भन्ने होडबाजीले गर्दा गुणस्तर गौण बनेको छ । कुनै पनि सामग्रीको बजार सस्तो हुनु राम्रो हो, तर गुणस्तरसँग सम्झौता गर्नु पक्कै राम्रो होइन ।


हाम्रा गाउँ–गाउँमा कपडाबाट पुनः प्रयोग गर्न सकिने प्याड उत्पादन गर्ने तालिम धमाधम सञ्चालन भइरहेका छन् । प्याड घरमै बनाउँदा सहज र सस्तो पर्ने हुँदा सबैको पहुँचमा पुर्‍याउन सकिन्छ र यो वातावरणीय दृष्टिले केही सुरक्षित पनि छ । प्रयोग गरिने कपडाको गुणस्तर तथा प्रयोगमा सरसफाइको अवस्थामा भने विशेष ध्यान पुर्‍याइनुपर्छ ।


नेपालमा वातावरणमैत्री जैविक प्याडको उत्पादन पनि छ । प्रयोगकर्तालाई त्यस्तो प्याडबारे थाहा छैन । सामान राम्रो र नराम्रो छुट्याउने त्यसको गुणस्तरले हो । हाम्रा प्रयोगकर्तालाई गुणस्तरका आधारमा छनोटको सुविधा छैन, किनकि यसबारे कहीँ कसैको ध्यान पुग्नसकेको छैन ।


तसर्थ सरकारले नै गुणस्तर संस्कृतिलाई गम्भीरताका साथ लिनुपर्छ । गुणस्तर मापदण्ड र नियमनकारी निकाय तोकी गुणस्तर परीक्षणपछि मात्र आयात गर्नुपर्छ । स्वदेशी उत्पादनको हकमा पनि परीक्षणको व्यवस्था गरी स्यानिटरी प्याडको प्रयोगबाट महिलाको स्वास्थ्य र सुरक्षामा पर्न जाने असर घटाउन तुरुन्त पहल गरिनुपर्छ ।


लेखक नेपाल गुणस्तर तथा नापतौल विभागकी केमिस्ट हुन् ।

प्रकाशित : असार २६, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?