कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राष्ट्रवादको विषादी–बुमर्‍याङ

सीधा–सीधा
युग पाठक

काठमाडौँ — बाँसको अग्लो खुट्टा जोडेर हिँड्ने एकथरी सर्कस–कलाकार हुन्छन् । कठिन अभ्यासबाट पोख्त हुँदाहुँदै पनि कहिलेकाहीं दुर्घटना हुन्छ, ती लड्छन् । सर्कस हो, दुर्घटनै भए पनि चलिरहन्छ ।

राष्ट्रवादको विषादी–बुमर्‍याङ

राजनीतिमा चलेको राष्ट्रवादी सर्कसको कथा पनि त्यस्तै छ । राष्ट्रवादको बाँसेखुट्टा लाएर अग्लो देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पटक–पटक भुइँमा पछारिने गर्छन् । तैपनि राजनीतिमा राष्ट्रवादको सर्कस चलिनै रहेको छ ।


यस पटक राष्ट्रवादको विषादी–बुमर्‍याङमा परे स्वयम् प्रधानमन्त्री ओली । भारतबाट आयात हुने फलफूल र तरकारीका ट्रक नाकामा रोकेर विषादी परीक्षण गर्ने झिनो प्रयत्न सरकारले गरेकै हो । यो खराब कुरा थिएन । खराब कुराचाहिँ क्वारेन्टाइन प्रयोगशालाको प्राविधिक तयारी पूरा नगरी ट्रक रोक्ने निर्णय थियो । झनै खराब बन्नपुग्यो, भारतीय दूतावासको चेतावनीबाट तर्सेर विषादी परीक्षण स्थगित गर्ने मन्त्रिपरिषदको निर्णय ।


ओलीपन्थको चटक

नेपालमा राष्ट्रवाद एक आरोपको खेल हो । राष्ट्रको हित कसरी गर्ने भन्ने चिन्तन यसभित्र पर्दैन, बरु निरन्तर अराष्ट्रिय तत्त्वको खोज यसको अभिष्ट हो । महाकाली सन्धि हुँदा तत्कालीन एमालेमा प्रभाव जमाइसकेका ओली एक नम्बरका ‘राष्ट्रघाती’ कहलाइएका थिए ।


महाकाली सन्धि पारित हुनुभन्दा पहिले सांसद खरिद–बिक्रीदेखि थाइल्यान्डसम्म लगेर सांसदहरूलाई कब्जामा राखिएको र एकैपटक सन्धिको पक्षमा मत हाल्न मध्यरातमा संसद ल्याइएको खबरले त्यतिखेर मुलुक स्तब्ध थियो । एमालेलाई सन्धिको पक्षमा मत हाल्ने तुल्याउन ओलीले निर्णायक भूमिका खेलेको सम्झनेहरू अझैसम्म चर्चा गर्छन् ।


दुई दशकपछि नाकाबन्दीको चक्करमा उनै ओली फेरि एकाएक राष्ट्रवादी मुखुन्डोमा देखापरे । यो कुनै गाह्रो काम पनि होइन । लामो समयदेखि सत्ताले बनाइराखेको राष्ट्रवादको भाष्य छँदैछ, मान्छेमा त्यसको अन्धविश्वास पनि छँदैछ । अनि के चाहियो ? ओलीले त्यही अन्धविश्वासको तावा तताए र चुनावको रोटी उक्साइहाले । भन्दिनु त हो, मोदीको भारतलाई केही उखानको झटारो पनि हानेकै हुन्, उतिबेला । भारतको प्रधानमन्त्री भैसकेपछि जब मोदी नेपाल भ्रमणमा आए, जहाँ टेक्यो त्यहीं नागरिक अभिनन्दन पनि उनैले गराए ।


एमालेजनले दुई वर्षअघि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दहाललाई अराष्ट्रिय करार गर्न लम्पसारवादी भन्ने शब्द नै कथेका थिए । मोदीको चाप्लुसीपछि त्यही शब्द बुमर्‍याङ भएर प्रधानमन्त्री ओलीको थाप्लोमै बजारियो । सर्कसको रमाइलो के भने उनै दाहाल एमालेजनकै पनि अध्यक्ष भैदिए । आम जनतालाई त ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात !’ दुःख उनीहरूको हो, जो ओलीपन्थमा राष्ट्रवाद खोज्ने दुःखद् प्रयत्न गरिरहन्छन् । विषादी–बुमर्‍याङमा परेर प्रधानमन्त्री ओलीको बाँसको खुट्टा भाँच्चियो, राष्ट्रवाद दुर्घटित भयो । चटक हो, उनलाई फरक पर्दैन । फरक जसलाई पर्ने हो, उनीहरूलाई ‘थाहा’ चाहिएको छ । इतिहासले देखाएको ‘थाहा’ नबुझ्नेलाई वर्तमानले बुमर्‍याङ नै दिने हो ।


घुँडाको भ्वाङ

वास्तवमा ओली न कुनै दिन राष्ट्रवादी थिए, न अचानक विषादी परेर आज अराष्ट्रिय तत्त्व भएका छन् । सवाल को कति राष्ट्रवादी भन्ने नै होइन । हुन त मौका पाउनासाथ कांग्रेस सांसद गगन थापाले भारतसामु घुँडा टेक्दा प्रधानमन्त्रीको घुँडामा भ्वाङ परेको टिप्पणी संसदमै गरे । धेरै कांग्रेसजन र अरु राष्ट्रवादी सर्कसका फ्यानहरूले पनि यस्ता टिप्पणी खुब दोहोर्‍याए । बुमर्‍याङ प्रधानमन्त्री ओलीले खप्नुपरे पनि सर्कस त आखिरमा आम जनताले बेहोर्नुपरेको छ ।


मन्त्री मातृका यादवले पत्रकार सम्मेलन नै गरेर सचिवले झुक्याएको बताउनुपर्‍यो । भीम रावल लगायत नेकपाकै केही नेता र सांसदहरू पनि सरकारको आलोचना गरेरै सही राष्ट्रवादी देखिने सर्कसमा बाँसको खुट्टा जोड्न लागेका छन् । अनौठो कुरा होइन, पार्टीभित्र गुटको खेल छँदैछ । भारतीय दूतावासको चिठी सार्वजनिक हुनु अघिसम्म प्रधानमन्त्री ओली स्वयम् पनि चिठी आएको तथ्य छोपेर झोँक देखाइरहेका थिए । यी सबै राष्ट्रवादी चटक घुँडाको भ्वाङ छोप्ने दुःखद स्पष्टिकरण मात्र हुन् ।


भ्वाङ त साँच्चिकै परेकै छ, घुँडामा । शक्तिशाली मुलुकले कमजोर मुलुकप्रति गर्ने थिचोमिचोको कथा ज्युँदो भैरहन्छ । शक्तिशाली शासकले गरिब सीमान्तकृत जनतालाई गर्ने थिचोमिचो जस्तै । घुँडाकै घाउजस्तो बल्झिरहन्छ । सवाल त घुँडा कति बलियो बनाइन्छ र कति जोगाइन्छ भन्ने हो । अग्लिनलाई बाँसकै खुट्टामात्र खोजिहिँड्ने हो भने घुँडामा भ्वाङ त परिरहन्छ । सत्तापक्षदेखि प्रतिपक्षसम्म आफूलाई चौबिस क्यारेटको राष्ट्रवादी र विरोधीलाई लम्पसारवादी देखाउने मौका चुकाउँदैनन् । तर साँच्चै मुलुकको घुँडा बलियो पार्ने चिन्ता उनीहरूमा छ त ?


सत्ताको विष

हाम्रो बजार उसै अराजक छ । तरकारी, फलफूल लगायत खाद्य पदार्थमा अखाद्य पदार्थ र विषादी भेटिएको समाचार निरन्तर आइरहन्छ । त्यसमाथि ६५ प्रतिशत व्यापार घाटा भारतसँग हुने गर्छ र तरकारी, फलफूल लगायत खाद्यान्नमा समेत नेपाल भारतकै उत्पादनमा निर्भर छ । कृषिप्रधान मुलुक भन्न नछाड्ने तर खानेकुरामा समेत विदेशकै भर पर्नुपर्ने लाजमर्दो अवस्थाको जवाफ हाम्रो राष्ट्रवादले दिन जरुरी ठान्दैन । विषादी परीक्षण प्रकरणले यो तथ्यलाई पुनः एकपटक हाइलाइट गरिदियो ।


श्रम र युवा उमेर मात्र निर्यात गरेर रेमिटान्स सोहर्ने आत्मघाती खेलमा ओली सरकार पनि निमग्न देखिन्छ । खेतबारी बाँझो पल्टिनु र उर्वर जमिनसमेत दलालको प्लटिङ धन्दामा ध्वस्त भैरहनुसँग पनि राष्ट्रवादी भाष्यको कुनै सरोकार छैन । विदेश गएकालाई समेत देश फर्काउने भाषण चुटेर सिंहदरबार सम्हालेको सरकारका श्रममन्त्री युवालाई विदेश धपाउने काम गर्नसकेकोमा गौरवान्वित छन् । कृषि ध्वस्त छ, कृषकको सुरक्षा छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा बचेको झिनो पुँजी पनि छरछार पारेर सक्ने सरकारी नियत छ ।


दर्जनौं काण्डको दागैदागले प्रधानमन्त्रीको राष्ट्रवादी अनुहार भरिइसक्यो । निकुञ्जका जमिनसमेत रिसोर्ट खोल्ने नाममा हत्याउने दाउमा संरक्षित व्यापारी छन् । तिनले जग्गामात्रै हडप्छन् कि बचेखुचेका संरक्षित जनावर र जडिबुटीको कत्लेआम पनि गर्छन्, पत्तो छैन । नांगो नाच जारी छ, भ्रष्टाचारको । सरकार भने आलोचनासँग पो निद्रैमा तर्सिरहेको छ । त्यसैले ज्ञानमा बिर्को लगाउन किताबमा कर ठोक्छ । पत्रकारिता र स्वतन्त्र चिन्तनलाई बिर्को लगाउने विधेयक ल्याउँछ । प्रधानमन्त्री स्वयम्चाहिँ मास्क लगाउने अनुहारमा दुश्मन खोजिबस्छन् ।


चटके राष्ट्रवादले खोज्ने नै दुश्मन हो । आरोप लगाउन आलोचक अनुहार, इन्काउन्टर गर्न विप्लवी नेता, मुद्दा चलाउन कवि, जेल हाल्न मास्क लगाएको मनुष्य खोजेरै ओलीपन्थले पनि राष्ट्रवादी सर्कस चलाइरहेको छ । यो सर्कसको सबैभन्दा निष्ठुर र कर्कश रूप कुमार पौडेलको हत्यामा प्रकट भएको छ । आफ्नै टाउकाको मोल तोकिएको इतिहास कुल्चेर गृहमन्त्री रामबहादुर थाफा त्रूर हत्यालाई दोहोरो भिडन्तको नाममा पचाउन खोजिरहेछन् । सत्ताको विष तरकारीको विषभन्दा डरलाग्दो भैरहेको योभन्दा ज्वलन्त उदाहरण के होला ?


क्वारेन्टाइन चेकपोष्टहरू एकदिन बन्लान्, विषादी परीक्षण पनि होला । व्यापारीले घुस खुवाएर तरकारी, फलफूल पास पनि गराउलान् । यस्तो खेल वर्षौंदेखि चलिरहेकै छ । खास गर्नुपर्ने परीक्षण सत्ताको विषको हो । जनतामाथि लगानी गरेर उत्पादन बढाउने काम यसले गर्ने छैन । बाँझो जमिनमा पसिना बगाउने जनतालाई पाखा र दलालहरूलाई काखा गरेर यसले राष्ट्रवादको धन्दा चलाउने हो । जनता बलियो भए पो उत्पादन बढ्छ, मुलुकको घुँडा बलियो हुन्छ ।


जनताले रगत चढाएर ल्याएको परिवर्तनलाई भत्भुते खरानीले छोपछाप पारेर ओलीपन्थको उदय भएको हो । त्यसैले यो फासीवादको प्रारम्भिक अभ्यासमा छ । जनताको खुसहालीका निम्ति काम गरे पो आलोचनाको डर हुन्न । अन्यथा बोल्नेको मुख थुन्ने बाहेक अरु एजेन्डा बाँकी रहन्न । अहिले विषादी–बुमर्‍याङमा परे पनि राष्ट्रवादको खोटो सिक्का चलेसम्म ओलीपन्थले पुनः बाँसको खुट्टा जड्नेछ । चिन्नुपर्ने त्यही बाँसको खुट्टा हो ।


ट्वीटर : @YugPathak


प्रकाशित : असार २६, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?