त्रिविको रातो पिर्का

सम्पादकीय

त्रिभुवन विश्वविद्यालयले तीन बीस वर्षा पार गरेको दिन कीर्तिपुरको वर्षे हिलामा रातो कार्पेट बिछ्याएर कुलपति तथा प्रधानमन्त्रीलाई स्वागत गर्‍यो । राजनीतिक नेतृत्वलाई विश्वविद्यालयको मैदानमा पिर्कामाथि उभ्याएर प्राज्ञिकहरूले सलाम टक्र्याएजस्तो भान भयो । विश्वविद्यालयबारे हाम्रो बेथितिपूर्ण मानसिकताको एक अर्को नमुना फेरि उजागर भयो । 

त्रिविले तीनवटै व्यवस्था सामना गर्नुपर्‍यो– पञ्चायत, बहुदल र गणतन्त्र । त्रिविलाई प्राज्ञिक कर्मथलोभन्दा पनि राजनीतिक मैदान बनाइयो । कहिले व्यवस्थाविरोधीहरूको अखडा त कहिले व्यवस्थाका समर्थकको स्वार्थसिद्ध गर्ने थलो । गणतन्त्रमा आइपुग्दा त त्रिवि थलै परेको छ । प्राज्ञिक शून्यतामा पुगेको छ ।

तैपनि राज्य सञ्चालकहरू विकृतिको भासबाट विश्वविद्यालयलाई बचाउन खोज्दैनन् । यसको कारण लोकतन्त्रप्रतिको प्रतिबद्धताको अभाव हो । स्वतन्त्र समाजमा लोकतन्त्रको अभ्यास त्यसलाई अड्याउने संस्थामार्फत गरिन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबाहेक स्वतन्त्र प्रेस, प्राज्ञिक संस्था, नागरिक समाज, समुदायलगायतले लोकतन्त्रलाई अड्याएका हुन्छन् । लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्वको ध्येय यी संस्थालाई बलियो
बनाउने हुन्छ ।

जननिर्वाचित सरकार यी संस्थालाई बलियो बनाउनेबारे उदासीन हुनु राम्रो संकेत होइन । सत्ताको आकांक्षा राख्नेहरू मात्रै लोकतन्त्रका आधार मानिएका यी संस्थालाई कमजोर बनाउन उद्यत हुन्छन् ।त्रिविमा दुरवस्थालाई शक्ति केन्द्रीकरण गर्न खोज्ने मनसायको प्रकट रूप भन्न सकिन्छ ।

पार्टी भागबन्डामा आसेपासे नियुक्त गर्नु, प्राध्यापक, विद्यार्थी तथा कर्मचारी संगठन राजनीतिक दलका एकाइ हुनु, प्राज्ञिक गतिविधिलाई शून्यमा झारिनु, विश्वविद्यालयको भौतिक, वित्तीय तथा प्रशासनिक व्यवस्थापनमा लापरबाही दैनन्दिनको विषय बन्नु शासकहरूको त्यो मनसायको प्रकट रूप हो ।

कर्मचारी, प्राध्यापक र विद्यार्थी संगठनले आआफ्नो राजनीतिक स्वार्थका लागि त्रिविको दोहन गरिरहेका छन् । राजनीतिक ‘नेटवर्किङ’ मा समावेश नहुने र पहुँच नभएकाहरू जतिसुकै योग्य भए पनि प्रवेशबाट वञ्चित हुनुपर्ने, कार्यरत योग्यहरूले आफूलाई त्रिविसँग सम्बद्ध छु भन्नलाईलाज मान्नुपर्ने स्थिति छ । सेवा आयोग भागबन्डा, नातावाद र कृपावादमा फसेको छ ।

त्रिविको सम्पत्तिमा ‘जसको शक्ति उसको भक्ति’ छ । विश्वविद्यालय परिसरभित्र प्रहरी कार्यालय, पहुँचवालाका अधीनमा अनेकानेक संघसंस्था र निकायलाई जग्गा दिइएको छ । ३ हजार ७ सय ३ रोपनीमध्ये त्रिविले १ हजार २ सय रोपनी जग्गा विभिन्न संघ/संस्थालाई बाँडिसकेको छ । देशैभरि रहेका त्रिविका भौतिक सम्पत्ति जसले सक्छ, उसैले लिने होडबाजी छ ।

दलैपिच्छेका विद्यार्थी संगठन, प्राध्यापक संगठन र कर्मचारी संगठन त्रिविको अर्को विकृति हो । एउटै विद्यार्थी काउन्सिल भए कसको के बिग्रन्छ ? एउटै प्राध्यापक संघ भए कसलाई घात पर्छ ? किन चाहिए दलैपच्छिेका संघ/संगठन ? प्राज्ञिक समुदाय त्रिवितिर हेरेर खुइय्य सास काढ्छ भने त्यहाँको संकटबारे मुलुकले सही छलफल गरिरहेको छैन भन्ने प्रस्ट हुन्छ ।

विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र बनाउने कि राजनीतिक स्वार्थको अखडा । सोच्न हरेक क्षण सुनौलो मौका हामी गुमाउँदै छौँ । बाहिरी अभ्यासबाट केही सिक्ने हो भने यसको स्वामित्व र सञ्चालनको तौरतरिकामै परिवर्तन गर्नुपर्छ । त्यसका लागि यसको विधान संशोधन जरुरी हुन्छ । ‘बोर्ड अफ ट्रस्टी’ व्यवस्था गरी त्यसैले विश्वविद्यालय सञ्चालन गर्ने परिकल्पना गर्नसके मात्र यो विश्वविद्यालयले राज्यको एउटा बौद्धिक किल्ला बन्ने अवसर पाउनेछ ।

संसारका प्रायः सबै सफल विश्वविद्यालय यही मोडलमा छन् । भौतिक सम्पत्ति व्यवस्थापन, पाठ्यक्रम तर्जुमा, पठनपाठन, अध्ययन, अनुसन्धान, शिक्षक छनोट सबै जिम्मा ‘बोर्ड अफ ट्रस्टी’ लाई दिने व्यवस्थाले विश्वविद्यालयलाई सबै प्रकारका बोझ तथा विकृतिबाट मुक्त गरी शुद्ध प्राज्ञिक उन्नयनमा समर्पित हुन सक्ने वातावरण बन्न सघाउँछ ।

कुलपतिदेखि पदाधिकारी सबै ‘बोर्ड अफ ट्रस्टी’ ले छनोट गर्छन् । राजनीतिक पदाधिकारीले विश्वविद्यालयको नेतृत्व गर्दैन । राजनीतिक नेतृत्वलाई यसै गरी स्विकार्ने हो भने त जति दलदले हिलामा जति रातो कार्पेट बिछ्याए पनि वा जति पिर्कामाथि चढाएर सलामी टक्र्याए पनि त्यहाँ बौद्धिकताको विकास अभ्यास हुँदैन । कार्यकर्ता उत्पादन र रोजगारीको राजनीतिक रजाइँ मात्र भइरहनेछ ।

प्रकाशित : असार २७, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

पुस्तकालयको परिकल्पना

सम्पादकीय

काठमाडौँ — अमेरिकी लेखक नर्म्यान कजिनले सही भनेका छन्– पुस्तकालय विचारको प्रजनन केन्द्र हो । पुस्तकालय पर्व घटेको हाम्रै देशको इतिहास यसको साक्षी छ । खुला समाजमा पाइला चाल्दै गर्दा हामीले सार्वजनिक पुस्तकालयको महत्त्व पूरै भुलेका छौं ।

ज्ञान उत्पादनका केन्द्र विश्वविद्यालयहरू जसरी लथालिंग छन्, त्यसरी नै भताभुंग छन् विचारका कारखाना सार्वजनिक पुस्तकालय ।

मुलुकमा करिब हजार सार्वजनिक पुस्तकालय छन् । पाँच दर्जन त काठमाडौंमै छन् । तैपनि यी पुस्तकालय पठन संस्कृतिको केन्द्र बन्न सकेका छैनन् । सहरमा ज्ञानका भोका र पुस्तकका पारखी नभएरहोइन, पुस्तकालय पुस्तकालयजस्ता नबनेकाले हो। नाम मात्रैका पुस्तकालय छन् ।

सहरी संस्कृतिको अभिन्न अंग हुनुपर्ने हो सार्वजनिक पुस्तकालय । जसरी सम्पदा सहरका आत्मा हुन्, त्यसैगरी पुस्तकालयहरू सभ्यताका ढुकढुकी । ज्ञानविज्ञानका हिसाबले सहर कति स्वस्थ र बस्नलायक छ भन्ने मानक हुन् यी ।

दुई शताब्दीअघि राजा गीर्वाणयुद्ध शाहले लालमोहर लगाएर ‘चिताइ तहबिल’ अर्थात् रेखदेख संग्रह बनाएका थिए । पुस्तक र पुस्तकालय संरक्षण गर्न वर्षको १ सय २५ रुपैयाँ छुट्याएका थिए । आजका आधुनिक शासकहरूले भने पुस्तक संरक्षणमा त्यत्तिको चेतपनि देखाएका छैनन् । देशको एउटै राष्ट्रिय पुस्तकालय चारवर्ष अघिदेखि बेहाल छ । भूकम्पले उक्त पुस्तकालय रहेको हरिहरभवन ध्वस्त बनेपछि सम्पूर्ण पुस्तक ज्ञानेश्वरस्थित महेन्द्र भवनमावि र सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रमा बोरामा थन्क्याइएका छन् ।

राष्ट्रिय पुस्तकालयमा १ लाख ८ हजार पुस्तक छन् । पत्रपत्रिका करिब ५० । पुस्तकालयमा नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा छन् । मराठी, पाली, फ्रेन्च, जापानी, थाई, मलेसियाली र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तक छन् । पुस्तकालयले पत्रपत्रिका र अन्य प्रकाशनलाई इन्टरनेसनल स्ट्यान्डर्ड सिरियल नम्बर (आईएसएसएन) दिँदै आएको छ ।

ढिलै सही, राष्ट्रिय पुस्तकालयको बनाइने नयाँ भवनको डिजाइन तयार भएको छ । सहरको पुरानो केन्द्र जमलस्थित आठ रोपनी जग्गामा यो पुस्तकालय बन्नु सुखद खबर हो । करिब ५५ करोड लागतमा दुई आधुनिक भवन बनाइनेछ । पहिलो ६ तलाको र दोस्रो ३ तलाको । भवन संरचना नेपाली कलासंस्कृति झल्कने हुनेछ । सय वर्षपछिसम्मका पाठकको कल्पना गरेर भवन बनाइने भनिए पनि यो पुस्तकालय कस्तो र कसका लागि हुनेछ अनि कसरी व्यवस्थित गरिनेछ, खुलाइएको छैन ।

पुस्तकालय हुनुभन्दा महत्त्वपूर्ण पक्ष हो– त्यहाँ उत्कृष्ट पुस्तक उपलब्ध हुनु । तिनमा सबै उमेर समूह र शारीरिक अवस्थाका पाठकहरूको पहुँच पुग्नु । पुस्तकालयको वातावरण जाऊँ–जाऊँ, बसुँ–बसुँ र पढुँ–पढुँ लाग्ने हुनु । सार्वजनिक पुस्तकालय यस्तो सामाजिक थलो हो, जहाँ कसैका लागि पनि ढोका बन्द हुँदैन । देशको राष्ट्रिय पुस्तकालय यस्तै एउटा उत्कृष्ट लोकतान्त्रिक मञ्च बन्न सक्नुपर्छ ।

जहाँ मन लागेका जोकोही गएर लाभ लिन सकुन् । सहरमा एउटा शिक्षित पुस्ता बिस्तारै अवकाश जीवनमा प्रवेश गरिरहेको छ । उनीहरूसँग पर्याप्त समय छ तर दिन काट्ने ठाउँ छैन । यस्तो पुस्तकालयले उनीहरूका लागि सुविधा पुर्‍याउनुपर्छ । उनीहरूका लागि सामाजिक विनिमय गर्ने, समय कटाउने र उमेर छँदा नभ्याएका पुस्तक पढ्ने थलो बन्नुपर्छ यो पुस्तकालय ।

त्यसैगरी बालबालिका, विद्यार्थी, प्राज्ञिक तप्का, पाठक, लेखक, कलाकर्मी जोकोहीका लागि सामाजिक थलोको आतिथ्यता दिने गरी यसको परिकल्पना गरिनुपर्छ । सबैखाले पुस्तकलाई डिजिटल माध्यममा पढ्ने सुविधा पनि मिलाइनुपर्छ ।

यो पुस्तकालयलाई वास्तविक रूपमा सर्वसाधारणका लागि अहोरात्र खुल्ने सर्वसुलभ र सर्वप्रिय बनाउने डिजाइन गर्न सके राष्ट्रिय स्मारक बन्न सक्छ, नभए यो बन्न जानेछ– अर्को एउटा सरकारी अड्डा ।

प्रकाशित : असार २६, २०७६ ०९:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्