संगीत सम्पत्ति

किशोर गुरुङ

काठमाडौँ — शंकर लामिछानेले एक लेखमा नयाँ पिँढीले चित्रकलाप्रति ल्याउन सक्ने उत्साह पोखेका छन्, ‘हातमा किताब–कापी बोकेका विद्यार्थी । अनुहारमै ज्ञानको जिज्ञासा । पछि, उनीहरू गएपछि गुजर भन्छ, ‘शंकर । कलाको तृष्णा जागेछ, नवयुवकमा ।

यिनले ओरिजनल त किन्न सक्दैनन्, तर रि–प्रोडक्सनका बिक्रीको सम्भावना नेपालमा आयो । यस लाइनमा सोच ।’ त्यो सोच आज यथार्थमा बदलिइरहेको र नेपाली संगीत जगत् पनि त्यसबाट वञ्चित छैन ।

शंकर लामिछानेको अभिव्यक्ति छापिएको चार–पाँच दशक बितिसकेको छ । यस अन्तरालमा तुलनात्मक हिसाबले सबै कलाक्षेत्रमा विकास भएको छ । अपेक्षित कलात्मक पक्ष विकासको प्रश्न भोलि इतिहासले कोर्ला । जे भए पनि आज संगीतकार, गायक, गायिका, लेखक, अभिनेता आदिले कला–व्यवसायद्वारा आफ्नो जीविका धान्न सक्ने वातावरण बन्दै गएको छ ।

संविधानले कलाको विकासको टेवा निश्चित गरिदिएको छ— बौद्धिक सम्पत्ति अन्तर्गत स्रष्टाको हकहित, अधिकार सुरक्षित गरिदिएको छ, जीवित अवस्थामा र मरणोपरान्त । यो राजनीतिक संघर्षहरूले ल्याएको एउटा महत्त्वपूर्ण उपलब्धि हो । जुन युगमा पुराना पिँढीका स्रष्टा बाँचेका थिए, त्यतिबेला यी उपलब्धि जन्मेका थिएनन् । आर्थिक सुरक्षाको विषम अभावमा बाँचेका थिए, ती स्रष्टा र त्यसको भागिदार बनेका थिए, तिनका सन्तति ‘हातमा किताब–कापी बोकेका विद्यार्थी’ ।

बुबा अम्बर गुरुङले मलाई एक पत्रमा आफ्नो पुरानो परिस्थिति यसरी लेख्नुभएको छ, ‘तिमीलाई थाहा छ कि तिम्रो बाजे र हाम्रा पूर्वज वंशहरूले आर्मीलाई पेसा बनाए र म त्यो प्रथम व्यक्ति हुँ, जसको जीवनमा कलाले सबभन्दा नयाँ मोड लियो र म चिनिएको संगीतकार हुनपुगेंँ । संगीतले मलाई भौतिक सुख कहिले दिएन र त्यसको भागिदार तिमीहरू जम्मै भयौ ।’

उस्तै परिस्थिति थियो, अद्वितीय लेखक शंकर लामिछानेको । लेखेका छन्, ‘गोधूली संसार’ मेरो जीवनको अशक्त परिस्थितिका सशक्त रचनाकालको उत्पादन हो । अन्य केही व्यवसाय स्थिर हुन नसकेको यस अवधिमा मैले जीवनयापन झन्डै कलमका भरमा अपनाउनुपर्‍यो । १७–१८ महिनाको अवधिमा लेख्नु सिवाय उपाय रहेन केही... कुनै पत्रिकाले २५।– (रुपैयाँ) दिन्छ, कुनैले ३०।– र कुनैले अनमोल उत्साह ।’ बिचरो शंकर लामिछाने उनको लेखको ‘डिमान्ड’ बढेको अवस्थाको वर्णन यसरी गर्छन्, ‘...यही जागरुकता हो भने नेपालमा लेखक कलमको भरमा बाँच्न सक्ने अवस्था अब टाढा छैन ।’

आज कलाक्षेत्रमा व्यावसायिक अंग स्थिर बन्दैछ । यो स्थिरतामा नकारात्मक पक्ष पनि प्रवेश भइरहेको छ, जसले गर्दा देशले ठूला ठूला संघर्ष गरेर ल्याएको उपलब्धिलाई हामीले अँगाल्ने सोच र प्रवृत्ति कस्ता बनिरहेका छन् भन्ने गम्भीर प्रश्न खडा गरिदिएको छ । संगीत क्षेत्र सामाजिक सञ्जालसँग अरू कलाक्षेत्रभन्दा सायद बढी आबद्ध हुनपुगेको छ । त्यसले आय उपार्जन गर्ने एउटा स्रोत पनि खोलिदिएको छ ।

यहाँसम्म त उत्साहप्रद छ, तर यही क्षेत्रमा नाजायज फाइदा लिने काम ठूला कम्पनीले साथै संगीतकार, गायकबाटै हुने गरेको छ । यो मारमा नेपाली संगीत जगत्का कहलिएका संगीतकार, शब्द रचनाकार र गायक/गायिका परेका छन् । कारण बुझ्न सजिलो छ— तिनका कृति आज पनि श्रोताले मनपराउँछन् । त्यस्ता कृतिले दशकौंपछि पनि आय उपार्जन गर्ने क्षमता राखेको हुँदोरहेछ ।

विकसित देशमा भन्दा विकासशील देशहरूमा अनुमतिबिना अर्काको गीत रेकर्ड गर्ने र सामाजिक सञ्जालमा राख्ने, अर्काको धुन, शब्द आफ्नो बनाउने ‘प्लेजरिजम’ बढी हावी देखिन्छ । विकसित देशमा प्लेजरिजमको मुद्दा हारेकाले ठूलो रकम भुक्तानी गर्नुपर्ने हुनाले कलाकारहरू यस्ता नाजायज काम गर्न चाहँदैनन् । यस्ता मुद्दासँग जोडिने बदनामी, समय खर्च र तनाव त छँदैछ । तीन वर्षअघि फ्यारेल र रिबिन भन्ने गायकद्वयले अमेरिकी ‘मोटाउन’ शैलीको एक विधाता मानिने मारभिन गेय (सन् १९३९–मृत्यु १९८४) ले सन् १९७७ ताका रेकर्ड गरेको गीत चोरेको आरोप लागेकोमा सत्तरी लाख चालीस हजार अमेरिकी डलर गेयको परिवारलाई हर्जाना तिर्नुपर्ने निर्णय न्यायालयले सुनाएको थियो ।

अर्को घतलाग्दो र मार्ग प्रदर्शन गराउने मुद्दा पनि छ । अति आधुनिक ‘एब्सट्र्याक्ट’ संगीत सिर्जना गर्ने अमेरिकी शास्त्रीय संगीतकार जह केज (सन् १९१२–१९९२) ले कुनै पनि बाजामा बजाउन मिल्ने भनी रचेको कृति ४‘३३‘‘ (चार मिनेट ३३ सेकेन्ड) को प्रस्तुतिमा वादक नेपथ्यमा प्रस्तुत हुन्छन्, मेचमा बस्छन् र ४ मिनेट ३३ सेकेन्डसम्मको अवधिमा केही पनि बजाउँदैनन्, उनी उठ्छन् र रचनाको अन्त्य हुन्छ । यस रचना सम्बन्धी अनेक तर्क, बुझाइ प्रस्तुत भएका छन् ।

जस्तै– रचनामा जुन ४ मिनेट ३३ सेकेन्डको शून्यता छ, त्यो अपेक्षित नहुनु या त्यो शून्यताले श्रोतामा ल्याउने असजिलोपनको प्रत्यक्ष अनुभव हुनु या त्यो शून्यता साधारण शून्यताभन्दा फरक हुनु आदि । पछि मैले थाहा पाएँ कि केज बौद्ध धर्मको दार्शनिकताप्रति आकर्षित रहेछन् । उनले संगीतद्वारा ‘शून्यता’ प्रस्तुत गर्न खोजेका पो हुन् कि भन्ने लाग्छ । कुनै रक ब्यान्डले अनुमति लिई ४‘३३‘‘ रेकर्ड गरेछ— हो, शून्यतालाई सीडीमा राखेर । र केजको परिवारले मुद्दा हाले र मुद्दा जितेछ पनि । वास्तवमा मुद्दाको विषय–वस्तु थियो— शून्यता ।

अम्बर गुरुङले सन् १९६० को दशकमा रच्नुभएको ‘ए कान्छा’ भन्ने गीत भारतको प्रसिद्ध सिने संगीतका आरडी बर्मनले स्थायी र अन्तरा हुबहु चोरेको कुरो सर्वविदितै छ । तर हिन्दी फिल्म र भारतीय क्षेत्रीय फिल्म निर्माताहरूले उहाँको अर्को वाद्यवृन्द रचना ‘सयपत्री’ पनि चोरेका छन्, त्यो तथ्य कसै–कसैले मात्र थाहा पाएका छन् । साथै अधुरो नेपाली चलचित्र ‘मेरो देश’ का लागि अम्बर गुरुङको अगुवाइमा नेपाली कलाकारहरू बम्बई पुगेको बेला नेपाली लोकगीत ‘शिरफुला लाइनँ र म के राम्री भइनँ र’ लाई आरडी बर्मनले नै ‘अपनी जवानी से चाल मस्तानी’ भन्ने गीतमा परिणत गरेका थिए । बिचरा सोझा अम्बर गुरुङ यस्ता घटनामात्र हेरेर बस्नुहुन्थ्यो । आजको बलिउड फिल्म बजेटको कुरो हो भने यी घटना करोडौंको मुद्दा बन्थे र उहाँले मुद्दा जित्ने सम्भावना पनि प्रबल हुन्थ्यो, कारण ‘ए कान्छा’ रेकर्डिङ पहिले भएपछि पछि चोर्ने काम भएको थियो ।

जापानी गायिका मिचिकोले ‘ए कान्छा’ रेकर्ड गर्ने मौखिक स्वीकृति पाएकी रहेछिन्, त्यसपछिको घटना थाहा पाएनौं । पाँच दशकको हाराहारीपछि पनि गतवर्ष ‘छिरिङ’ चलचित्रमा ‘ए कान्छा’ लाई तोडमोड गरेर राख्ने काम भएको छ । अर्का गायक, गायिकाले यही गीत सामाजिक सञ्जालमा अनुमति नलिई राखेकामा तीस लाखभन्दा बढी ‘भ्यु’ भएको देखाउँछ । न कसैले अनुमति प्राप्त गरेका हुन्, न आर्जित रकमको हिस्सा स्रष्टाले पाएका छन् ।

‘ए कान्छा’ एउटा उदाहरण हो, अन्य संगीतकार, शब्द रचनाकार, गायक, गायिकाको पनि बौद्धिक सम्पत्ति हनन भएको छ । जबकि स्रष्टा जीवित रहँदा र उसको मृत्युपछि भौतिक सम्पत्तिसरह बौद्धिक सम्पत्तिको हक, अधिकार ५० वर्षसम्मको अवधिको निम्ति, स्रष्टाको परिवारमा जाने प्रावधान संविधानले निश्चित गरिदिएको छ । परिवारको हकमा कृतिहरू तोडमोड नहोस् भन्ने महत्त्वपूर्ण जिम्मेवारी पनि आइपरेको हुन्छ, नकि आर्थिक उपार्जनको प्रश्न मात्र ।

रेडियो नेपालको हकमा सरकारी खर्च, स्टुडियो भवन र निजी खर्चमा अन्य स्टुडियोमा रेकर्ड भएको गीतउपर कसरी निजी व्यवसायको एकाधिपत्य हुनसक्छ ?

सन् १९९८ मा माइक्रोसफ्ट कम्पनीलाई व्यवसायमा एकाधिपत्य जमाउन खोजेको आरोप लागेको थियो र अमेरिकी न्याय विभागले त्यो मुद्दा लडेर जितेको थियो । त्यसताका एकाधिपत्यको विरोधमा राष्ट्रपति क्लिन्टनले पनि मिडियासामु केही बोलेका थिए । जुन समय कसेट–चक्का (पछि सीडी) बिक्री हुने गर्थ्यो ।

प्रकाशित : असार २८, २०७६ ०९:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

महोत्तरीको भप्सी पुल भत्कियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सन्तोष सिंह

धनुषा — महोत्तरी बर्दिवास नगरपालिकामा पर्ने भप्सी पुल भत्केको छ । पुल भत्केपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको हो । पुलको दुवै छेउमा सवारी साधन अलपत्र छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पुल बाढीले बगाएको पुष्टि गरेका छन् । उनले पनि राजमार्ग अवरुद्ध बनेको र आवत जावतका लागि विकल्प के हुनसक्छ भन्ने विषयमा छलफल सुरु गरेको जानकारी दिए ।

नदीमा अत्यधिक बाढी रहेकाले पूर्वबाट पश्चिम वा पश्चिमबाट पूर्व कोही आउने/जाने गर्न सकेका छैन । पुल भत्केपछि हेर्ने सर्वसधारणको यतिबेला भिड लागेको छ ।

लगातारको अविरल वर्षाले जनजिवन कष्टकर बनेको छ । घर डुवानमा परेको छ । खोलामा बाढीको सतह बढेको छ । सडक जलमग्न भएको छ । महोतरीमा नदीले पुल बगाएपछि पुर्व पश्चिम महेन्द्र राजमार्ग अबरुद्ध भएको छ ।

प्रकाशित : असार २८, २०७६ ०९:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्