कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मनसुनको मार र महामारीको जोखिम 

काठमाडौँ — केही दिन यताको अविरल मनसुनी वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । वर्षाजन्य प्रकोपका कारण काठमाडौंलगायत देशका विभिन्न भूभागमा ३० जनाजति मानिसले ज्यान गुमाएको समाचार सार्वजनिक भएको छ ।

मनसुनको मार र महामारीको जोखिम 

यो चपेटाबाट आमजनजीवन सहज र सामान्य बन्न अझै केही दिन लाग्न सक्छ । प्रकोप प्रभावित स्थानमा महामारी फैलन सक्ने त्रास पनि उत्तिकै छ ।


बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिसँगै पानी, खाद्यजन्य एवं किटजन्य महामारी फैलन सक्ने सम्भावना हुन्छन् । प्रकोपको समयमा उद्धार र राहतमा मुलुकको सम्पूर्ण शक्ति केन्द्रित रहने हुँदा बाढी र डुबानले ज्यान लिएका मानिस तथा जीवजन्तुका शवहरूको खोजी र सुरक्षित व्यवस्थापनमा पर्याप्त ध्यान नपुग्ने गरेको विगत वर्षहरूकै अनुभव छ ।


यस्तो समयमा पिउने पानीको स्रोतलाई बाढी र डुबानले दूषित बनाएका स्थानहरूमा शुद्ध पानी र पौष्टिक खानाको अभाव खड्किने गर्छ । यस्तै, बाढीको जोखिममा रहेका र प्रभावितलाई विभिन्न स्थानमा अस्थायी शिविर बनाई समूहमा बसोबास गराउने गरिएका कारण सरसफाइमा समस्या हुन्छ । बाढी र डुबानबाट बढी मात्रामा तराई क्षेत्र प्रभावित बन्ने गरेको र यसै पनि यो क्षेत्र महामारीका हिसाबले बढी संवेदनशील भएकाले प्रकोपलगत्तै संक्रमण फैलिन सक्ने जोखिम बढी छ ।


विगतमा पनि बाढी प्रभावित क्षेत्रमा झाडापखालाजस्ता ब्याक्टेरियल संक्रमण फैलिने गरेको थियो । करिब ४ वर्षअघि बाँके, बर्दिया र सुर्खेतमा बाढीपीडितमा झाडापखालाको समस्या देखापरेको थियो । एक दशकअघि बाँकेमा बाढीपछि पीडितहरूमा फैलिएको औलोको प्रकोपले केहीको मृत्युसमेत भएको थियो । विश्व स्वास्थ्य संगठनद्वारा गरिएको एक अध्ययनले बाढीको प्रकोपपछि पानी र खानामार्फत सर्ने संक्रामक रोगहरूको उच्च जोखिम हुने औंल्याएको छ ।


बाढी प्रभावित जिल्ला र क्षेत्रहरूमा हैजा, झाडापखाला, टाइफाइड, जन्डिसजस्ता खाना र पानीजन्य रोगका साथै प्रभावित तराईका जिल्लामा औलो, डेंगी, चिकनगुनिया लगायत किटजन्य रोगको उच्च जोखिम रहेको छ । प्रभावित क्षेत्रमा सरुवा रोगको महामारी फैलिएमा संक्रमित बिरामीलाई चिकित्सकीय हेरचाह र समय दिन कठिन पर्न सक्ने परिस्थिति रहेकाले सबैले आफ्नो र घरपरिवारको स्वास्थ्य सुरक्षाका लागि सचेतना अपनाउनु जाती हुन्छ ।


सरुवा रोगजन्य महामारी हाम्रो दैनिक दिनचर्या तथा व्यक्ति र परिवारको खानपान एवं रहनसहनसँग जोडिएर फैलने गर्छ । व्यक्तिगत र सामुदायिक रूपमा केही प्रयाससहितका सजगता अपनाउन सकियो भने सम्भाव्य महामारीको जोखिमबाट आफू, परिवार र समुदायलाई सुरक्षित राख्न सकिन्छ । यसका लागि अस्थायी बसोबासका शिविरमा सुरक्षित मोबाइल शौचालय व्यवस्था गर्ने र यसो गर्न नसकिएमा जमिनमा २ मिटरजति गहिरो खाल्डो खनी वरिपरिबाट प्लास्टिकले कभर गरेर अस्थायी तर सुरक्षित शौचालय निर्माण गर्नुपर्छ ।


त्यहीं मात्र दिसापिसाब गर्न/गराउन आवश्यक छ । खाना पकाउने, भाँडा धुने र अस्थायी शौचालय रहने स्थानमा केही दूरी रहने गरी अलगअलग ठाउँको व्यवस्था गर्न र शिविर वरपर नियमित रूपमा किटाणुनाशक विषादी छर्कनुपर्छ । पानी र खानाको सुरक्षामा उचित ध्यान पुग्न आवश्यक छ । पानी उमालेर सेलाएपछि मात्र खाने र उमाल्न सम्भव नभए क्लोरिन ट्याब्लेट, पीयूष वा अन्य क्लोरिन झोल तोकिएको मात्राअनुसार हालेर शुद्धीकरणपश्चात पिउने गरियो भने पानीबाट सर्ने रोगबाट बाँच्न सकिन्छ । पिउने पानी र खानाको सुरक्षित भण्डारणमा पनि ध्यान दिन आवश्यक छ ।


पीडितहरूलाई राहत वितरण गर्दा सुरक्षित पानी र खानेकुरा वितरण गर्नेतर्फ ध्यान दिन जरुरी छ । खाना खानुअघि, बालबालिकालाई खुवाउनुअघि र चर्पीको प्रयोग गरिसकेपछि साबुनपानीले हात धुने बानीले पनि संक्रामक रोगबाट धेरै मात्रामा बच्न सकिन्छ । गर्मी मौसममा बाढी प्रभावित तराईका भूभागमा सर्पदंशको समस्या देखिनसक्ने भएकाले यसतर्फ पनि सजगता अपनाउनुपर्ने हुन्छ ।


यसका लागि आफ्नो घर र बसोबास गर्ने ठाउँ वरिपरिको सरसफाइमा ध्यान दिनुपर्छ । घर वा बसोबास वरपर झाडी भए हटाउनुपर्छ, प्वाल देखिए बन्द गर्नुपर्छ । पाल वा त्रिपाललाई जमिनको सतहमा टम्म मिल्नेगरी कसिलो रूपमा राख्नुपर्छ । घरपालुवा जनावरलाई घरबाट अलग्ग राख्ने, राति घरबाहिर निस्कँदा उज्यालो प्रयोग गरेर मात्र निस्कने गर्नुपर्छ । सुत्दा खाट वा यस्तै अग्लो स्थानमा झुल लगाएर मात्र सुत्ने, सकेसम्म खाली खुट्टा हिंडडुल नगर्ने र शरीर ढाक्ने कपडा लगाएर मात्र बाहिर निस्कने गर्नुपर्छ ।


बाढी प्रभावित तराई क्षेत्रमा किटजन्य रोगहरूको जोखिम पनि उत्तिकै रहेको छ । लामखुट्टे, भुसुना, उडुसजस्ता किटजन्य जीव आकारमा साना भए पनि यिनीहरू औलो, कालाजार, हात्तीपाइलेजस्ता खतरनाक रोगका बाहक हुन् । अहिले गर्मीमा यस्ता रोगको जोखिम बढी हुने भएकाले यसतर्फ उच्च सतर्कता अपनाउन जरुरी छ । यस किसिमको प्राकृतिक विपत्तिको समयमा दीर्घरोगीलगायत नियमित औषधि खानुपर्ने र उपचार गराउनुपर्ने बिरामीको औषधि उपचारको निरन्तरताका लागि सचेत रहनुपर्छ । बालबच्चा एवं प्रौढको शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने हुँदा परिवारका यस्ता सदस्यको विशेष हेरचाह गर्न पनि जरुरी हुन्छ ।


मृत्यु भएका मानिसका शव र मरेका जीवजन्तुलाई सम्भव भएसम्म चाँडै जलाउन उपयुक्त हुन्छ । मृत जीवहरूको मासु सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । विपत्तिको अवस्थामा मानसिक चिन्ता बढ्ने, शरीरमा पानीको मात्रा कम भई सुक्खा महसुस हुने, निद्रा नलाग्नेजस्ता समस्या देखा पर्छन् । यस्तो समयमा सुदृढ पारिवारिक सहकार्य र मद्दतले केही राहत महसुस हुने भएकाले सम्भव भएसम्म पारिवारिक माहोलमा समय बिताउनु बेस हुन्छ ।


उपचारको बलियो विकल्प नै रोकथाम भएकाले अहिलेको यो प्रतिकूल अवस्थामा सम्भावित महामारीको जोखिम रोक्न उपचार केन्द्रित विधिभन्दा रोकथाम केन्द्रित स्वव्यवस्थापन प्रणालीमा जोड दिनु बुद्धिमानी हुन्छ । अतः एउटा प्राकृतिक विपत्तिको त्रास र प्रभावबाट मुक्त हुन नपाउँदै अर्को सम्भावित महामारीको त्रासबाट अत्तालिनुभन्दा आवश्यक सजगता र सावधानी अपनाउन जरुरी हुन्छ ।


लेखक सुवेदी स्वास्थ्य सेवा विभागका पूर्वउपमहानिर्देशक र खतिवडा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत हुन् ।


प्रकाशित : असार २९, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?