कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

ती ड्राइभर सा’ब

शान्ति श्रेष्ठ

काठमाडौँ — त्यो दिन मलाई भक्तपुरको सिद्धपोखरीछेउको क्लिनिकमा जानुपर्ने थियो । वानेश्वर चोकमा एक छिन कुर्दा भक्तपुरको ब्यासीको गाडी आयो र चढें । सबै यात्रु सिटसिटमा बसेका रहेछन्, आनन्दसाथ । 

ती ड्राइभर सा’ब

म चालकछेउ खाली रहेको ठाउँमा बसेँ ।


बसभित्र चारैतिर पर्चा–पम्प्लेट टाँसिएको देख्दा मलाई अनौठो महसुस भयो । एउटामा लेखिएको थियो— ‘झैझगडामुक्त ख्वप यातायातमा हजुरलाई स्वागत छ ।’ बस गुडिनसकेकाले चालकले टेपले बेरिएको सानो लट्ठी अर्को पर्चातिर ठकठक गर्दै मलाई भने, ‘दिदी यता पनि पढ्नुस् ।’ मेरा आँखा त्यतै टाँसिए— ‘आफू जाने गन्तव्य बताई सही समयमा नै भाडा तिरी सभ्य नागरिकको परिचय दिऔं ।’ मलाई बल्ल हेक्का भयो, बसमा कन्डक्टर रहेनछन् । मैले पर्सबाट लाग्दो भाडा निकालेर चालकतिर बढाएँ । उनले पैसा समाउँदै भने, ‘धन्यवाद !’


सार्वजनिक बसका चालकबाट धन्यवाद पाउँदा मेरो आश्चर्य झन् चुलिँदै गयो ।


बसमा मिनरल वाटरका बोतलहरू देखेपछि मेरो मुखबाट फुत्किइहाल्यो, ‘अहो, पानीको पनि व्यवस्था †’ मेरो कुरा भुइँमा झर्न नपाउँदै चालकले माइक समातेर भने, ‘यहाँ चाउचाउको पनि व्यवस्था छ । मात्र बीस रुपैयाँ ।’ उनका कुरा सुनेर म मरीमरी हाँसेँ । म हाँसेको देखेर सबैजसो सहयात्री खितखिताए । म उत्साहित भएको देखेर चालकले सोधे, ‘हजुरलाई मेरो गाडी कस्तो लाग्यो त ?’ मैले भनें, ‘असाध्यै रमाइलो । आफन्तकै कोठाभित्र छिरेको अनुभव भयो ।’


बस हिँड्यो । मेरा आँखा अन्य पर्चा–पम्प्लेटतिर डुल्न थाले । लेज, कुरकुरे, चुइँगम, फोहोर वस्तुहरूलाई जथाभावी नफाली सही ठाउँको व्यवस्थापन गरौं ... सक्कली कार्ड देखाएर मात्र छुटको दाबा गर्नुहोस् .. हतारमा गाडी नचढ्नू र हतारमा नओर्लिनू ... दुर्घटना हुनबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं ... शिष्ट र सभ्य नागरिकको परिचय दिऔं ... ... । थाहा भयो— यी सब कुरा उनै चालकले लेखेका रहेछन् । गंगाराम खाइजुले ।


बसको ढोकाको दायाँतिर न्याप्किन बक्स, बायाँतिर डस्टबिन । ढोका अटोमेटिक । गंगारामजीले बीच–बीचमा झर्ने यात्रुहरूलाई तिनको उमेर अनुसार नानी, बाबु, बाजे, दिदी, आमा सम्बोधन गर्दै भन्दै थिए, ‘बिस्तारै जानुस् है †’ कति यात्रुले ‘दाइ, मलाई यहाँ रोकिदिनुस् न’ भन्दा पूर्ण आत्मविश्वासपूर्वक सिकाउँदै थिए, ‘म दाइ होइन । मेरो सिटको कदर गर्नुस् । मलाई ड्राइभर सा’ब भन्नुस् ।’


आफ्नो काम र पेसाप्रति यस्तो गर्व देखेर म गंगारामजीप्रति नतमस्तक भएँ । हुन पनि जो व्यक्तिमा आफ्नो कर्म र पेसाप्रति लघुताभास हुँदैन, उसैले ठूलो सफलता हासिल गर्छ । श्रीमद्भगवद्गीतामा पनि कर्म नै पूजा हो भनिएको छ । आफ्नो कर्मप्रति निष्ठावान् र इमानदार गंगारामजी बेलाबेला माइकमा बोलिरहनुभएकै थियो, ‘नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, आफ्नो श्रम र नेपाललाई माया गरौं । आफ्नै देशमा श्रम गरौं । विदेशमा गएर आफ्नो पसिना नबगाऔं । मिहेनत गरे नेपालमा पनि सुन फल्छ । नेपाल र नेपाली पैसालाई माया गरौं ।’ हरेक पटक अन्तिममा उनी भन्दै थिए, ‘मेरो बोलीमा कुनै दोष भए आफ्नै दाइभाइ सम्झी सल्लाह–सुझाव दिनुहोला । धन्यवाद !’


जे होस्, गंगारामजीको बस चढ्दा एक किसिमको आनन्द र अपनत्वको अनुभूति भइरह्यो मलाई । हाँसिरहने, बोलिरहने । ‘जिब्रोको गरिमा मीठो बोलीमा’ भन्ने भनाइ उनमा पूरापूर फिट भएको पाएँ मैले । जीवनको तीन दशक पार गरिसकेकी मैले पहिलो चोटि सार्वजनिक बसमा अद्भुत अनुभव गर्दै थिएँ ।


नेपाली समाजमा चालक र सहचालकलाई प्राय: हेय दृष्टिले हेर्ने गरिन्छ । अस्वाभाविक यस्तो कुरा अचेल अलि स्वाभाविक किन लाग्दै गएको छ भने, यो लाइनमा यात्रुले सभ्य र सुसंस्कृत व्यवहार कमै मात्र पाउँछन् । असभ्यतालाई प्रश्रय दिने क्षेत्रमा पनि कालो बादलभित्र चाँदीको घेरा भनेजस्तै गंगाराम खाइजुजस्ता आदर्श र अनुकरणीय पात्र पनि हुँदा रहेछन् । उनको आदर्श व्यवहारलाई अरू चालकले पनि आत्मसात् गर्न सके सार्वजनिक यातायात क्षेत्र कति सभ्य र मर्यादित हुन्थ्यो होला !


प्रकाशित : श्रावण १, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?