कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

तटबन्ध तनाव

डेटलाइन तराई
चन्द्रकिशोर

तटबन्ध नदीको समानान्तरमा दुइटै किनार भएर बनाइन्छ भने बाँध नदीको प्रवाहलाई रोक्न वा जल सञ्चय गर्न । तराईमा बाढी नियन्त्रणका लागि तटबन्ध एउटा विकल्प मानिएको छ । त्यसैले सके आफैले, नभए अरूको सहयोगमा यो काम गर्न केन्द्र सरकार तम्सिएको छ । 

तटबन्ध तनाव

अहिले वाग्मती वा कमला नदीको तटबन्ध भत्किएर मध्य तराईका जिल्लामा ठूलो वितण्डा मच्चिएको छ । दुई वर्षपहिले पनि नियति यस्तै थियो । तराईका अन्य नदी क्षेत्रमा समेत तटबन्ध त्यस क्षेत्रका बासिन्दाका निम्ति तनावको कारक रह्यो । उसो त तटबन्ध बनाइँदा कतै कटान रोकियो त कतै डुबान, कतै सिंचाइ पनि पुग्यो ।


तटबन्ध बाहिरका बस्तीहरू गुलजार हुन थाले । समय क्रममा देखियो— नदीमा उच्च बहाव, तटबन्धको रखरखावमा हेलचेक्र्याइँ वा पीडित पक्षले नै कटान गरेर तटबन्ध फुटेर बाढीको प्रकोप व्यापक हुन थाल्यो । आखिर तटबन्धबाट समेत ‘बाढी मुक्ति’ भएन । तटबन्धले धेरै ठाउँमा बाहिरपट्टि जलजमावलाई निम्त्यायो । जैविक विविधतामा यसले हानि पुर्‍यायो ।


कतिपय नदीको उत्पत्तिदेखि लिएर मानवीकरणसम्मको विवरण मिथक साहित्यमा पाइन्छ । मिथमा अलौकिकतासमेत गाँसिएको लोकानुभूति बताउने कथा हुन्छ । लोकजीवनमा प्रचलित किंवदन्तीहरू अचानक प्रकट भएका होइनन् । यिनमा कैयौं पिढीको प्रतिभा, संस्कृति, ज्ञान र प्रवृत्ति समेटिएको हुन्छ । मैथिली लोकजीवनमा कमला नदीसँग जोडिएर एउटा गीतिपंक्ति छ—

कोउन मुलुक से अइले मोगलबा

बान्हि जे देलकै कमला माय के धार

एहन बान्ह जे बान्हले रे मोगलबा

सिकियो नै मझाबे मोगला के बान्ह ।


यो लामो लोकगीतको आशय हो— शासकले कमला नदीमा तटबन्ध गरिदिन्छ । यस्तोमा कमला नदी कोशीसँग सुझाव माग्छ, ‘के गरूँ ?’ कमलाको अविरलताप्रतिको चिन्ता देखेर कोशीले सल्लाह दिन्छ, ‘आफूकहाँ बामी माछा जन्माऊ, जसले बाँधलाई भत्काउँछ ।’ उपर्युक्त गीति पंक्तिमार्फत अभिव्यक्त भएको लोकज्ञान हो— नदीको अविरलतालाई रोक्ने कुनै पनि शासकीय उपक्रम भत्काउनुपर्छ, नभए नदी स्वयंले त्यसलाई भत्काउँछ ।


तटबन्ध बाहिरका क्षेत्र बाढीमुक्त भएको देखिए पनि त्यो दीर्घकालीन थिएन । तटबन्धले आफूसँगै अनेक प्रकोप र जटिलता ल्यायो । तटबन्ध प्रविधिमा अन्तर्निहित सीमितता वर्षेनि उजागर हुँदै गएको पनि छ । यो पंक्तिकार स्वयं वाग्मती पूर्वी–दक्षिणी किनारको बासिन्दा हो । सुनिए अनुसार, सवा सय वर्षपहिला यो नदी हाम्रै गाउँ बलरा (सर्लाही) छेउबाट बग्थ्यो । अहिले दस किलोमिटरपश्चिम सरेको छ ।


सन् १९७१ तिर भारतले आफूतिर डुबान र कटान रोक्न सीमावर्ती क्षेत्रमा तटबन्ध बनायो । त्यसले गर्दा लामो समयसम्म नेपाली हिस्सा डुबानको चपेटा र सन्त्रासमा रह्यो । भारतीय क्षेत्रले पनि बाढीको कहर भोगिरह्यो, तटबन्ध भत्किनाले बालुवाकरण, नयाँ जलाशयको निर्माण र धनजनको क्षति हुँदै रह्यो ।


तटबन्ध भत्किनुपूर्व भारतीयहरूले केही वर्ष सुक्खा/खडेरी पनि बेहोरे । नेपालतर्फ भने बाढीसँगै खेतहरूमा मलिलो माटो आइदिन्थ्यो र गज्जब उब्जनी हुन्थ्यो । यसरी नेपाली किसानको ठूलो हिस्साले वाग्मतीको बाढीलाई फलदायी मान्थ्यो । हो, जुन गाउँ कटानमा पर्थ्यो, त्यसको कहर–कथा बेग्लै हुन्थ्यो नै ।


पछिल्लो दशकमा, भारतीय सहयोगमा वाग्मतीको समथरको प्रारम्भविन्दुदेखि नै तटबन्ध बनाइयो । नदीको सतह बढ्न थालेपछि भारततिर तटबन्ध अझ अग्लो बनाउने उपक्रम हुँदै छ । तटबन्ध बनिसकेपछि बाहिरका खेतहरूमा सिल्ट (ताजा माटो) फैलिन पाएको छैन ।


यसबाट खेतको उर्वरा शक्तिमा बिस्तारै ह्रास आउँदै गएको छ । कैयौं नदीमा एउटै किनारमा तटबन्ध बनाइएको छ । यसले पनि कतिपय गाउँका बासिन्दामा विस्थापनको जोखिम बढ्दै गएको छ । बाढी आउने तौरतरिकासँगै त्यसले बगाएर ल्याउने स्रोत पनि फेरिँदै गएको छ ।


तटबन्ध निर्माणपूर्व नदी दोहन, जंगल फँडानी र चुरेको उत्खनन यति विघ्न थिएन । कमला क्षेत्रमा त एउटा मशहुर कहावत नै थियो, ‘आयल बलान त बन्हलौ दलान, गेल बलान त टुटलै दलान ।’ अर्थात्, नदीको पानी आए समृद्धि आउँछ ।


गंगाका मुख्य सहायक नदीहरूको उत्पत्तिस्थल नेपाली भूभाग हो । यी नदीहरू नेपालभित्र बगेपछि भारतका उत्तरप्रदेश र बिहार हुँदै गंगामा मिसिन्छन् । नेपालका नदीहरूबाट हुने बाढी नियन्त्रणका लागि एकतर्फी तटबन्ध संरचना बनाउँदा पनि भारतले सुख पाएन । त्यसै गरी नेपालसँग मिलेर कैयौं नदीमा दुइटै किनारमा बनाइएका तटबन्ध पनि भत्किएर दुवैतर्फ क्षति हुने गरेको छ ।


भारत गंगालाई पुनर्जीवन दिन लामो समयदेखि प्रयत्नशील छ । मोदी सरकारले पनि सुरुदेखि नै ‘निर्मल गंगा’ लाई प्राथमिकतामा राखेको छ । तर त्यहाँका प्रान्तीय वा केन्द्र सरकारले त्यसका सहायक नदीहरूको सीमामै तटबन्ध बनाइदिने गरेका छन् ।


गंगाको कुरा गर्नेले नेपालका नदीबारे पनि सोच्नुपर्छ । दुइटै मुलुकले आ–आफूतिर बाढी नियन्त्रण गर्ने जेजस्तो तौरतरिका अपनाउँदै आएका छन्, त्यो खोटरहित छैन । जब–जब बाढीको सन्दर्भ आउँछ, त्यसमा दुवै देशले तात्कालिक समाधान तटबन्धमै देख्ने गर्छन् ।


नेपालमा त ‘जनताको तटबन्ध’ भन्ने अवधारणागत राजनीति नै भयो ! गौर वा तिलाठी डुबानमुक्त हुनैपर्छ, सँगै सीमावर्ती बैरगनिया वा कुनौली पनि बाढीको वितण्डामा पर्नु भएन । प्राकृतिक प्रकोपले राजनीतिक सीमा छुट्याउँदैन । गंगा बेसिनका हाम्रा नदीहरू भारतीय भूभागमा जाने भएकाले बाढी व्यवस्थापनका लागि पनि सीमावर्ती प्रयत्न हुनुपर्छ । विपद्मा अन्ध राष्ट्रियता र संकीर्ण राजनीति गर्नु भएन ।


विश्वभर चलेको तटबन्ध विमर्शबारे हामीकहाँ पनि उन्नत संवाद हुनुपर्छ । हाम्रैमा उदाउँदो मौलिक सवालप्रति प्राज्ञिक मन्थन आवश्यक छ । मनसुनसम्बद्ध जीवन पद्धतिमा हुँदै गरेको फेरबदललाई कसरी हेर्ने ? विकास र जलवायु परिवर्तनसँग अनुकूल रहने क्रियाकलापबीच कसरी सामञ्जस्य मिलाउने ? न नेपालले आफ्ना नदीको पानी रोक्न सक्छ, न त भारत आफूखुसी संरचना निर्माण गरेरै सुरक्षित रहन सक्छ । क्षति घटाउने नयाँ तौरतरिकाबारे चिन्तन भइरहे पनि तटबन्धको स्पष्ट वैकल्पिक प्रक्रिया स्थापित हुन नसक्नुले समस्या बल्झिरहेको छ ।


दुवैतर्फको राजनीतिले बाढी र तटबन्धमा हालका लागि कमाउ अर्थतन्त्र देखेको छ । तटबन्धजन्य तनावबाट उन्मुक्तिका लागि यस क्षेत्रमा स्वतन्त्र चिन्तन नभएको होइन, तर यसलाई दुवैतिरका सरकारले उपेक्षा गर्दै आएका छन् ।


लामो राजनीतिक द्वन्द्व, अस्थिरता र प्राकृतिक प्रकोपले ग्रस्त नेपालले नदीहरूको दिगो संरक्षण, बाढी व्यवस्थापन र जनसामान्यको सामाजिक–आर्थिक सुरक्षालाई समग्रतामा हेर्नुपर्छ । तटबन्ध चुनौती आफैमा बाढी नियन्त्रणसँग जोडिएको अवधारणागत चुनौती हो । विज्ञ अजय दीक्षित भन्छन्, ‘विश्वमा दुई थरीका तटबन्ध छन्— फुट्ने र फुटिसकेका ।’


तटबन्ध तनावको उचित व्यवस्थापन उपल्लो भेग, तल्लो भेग र सीमापारिको क्षेत्र बीचको सार्थक संवादबाटै पहिल्याउन सकिन्छ, नभए कतै न कतैको तटबन्ध टिकेर वा भत्केर सन्त्रास र संकट उब्जिरहेकै हुन्छ । रौतहटको मत्सरीका बाढीपीडित पूर्वइन्जिनियर दिगम्बर चौधरीको भनाइले सोच्न बाध्य पार्छ, ‘तटबन्ध बाढी व्यवस्थापनको रामवाण होइन रहेछ ।’


[email protected]

प्रकाशित : श्रावण २, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?