ओ, हेलो ! पछाडि जानुस् !

यमुना अर्याल (काफ्ले)

घडीको सुईले पाँच बजेको जनाउ दिइरहँदा मनमा भने कसरी घरमा पुगिएला भन्ने कुरा मात्रै घुमिरहन्छ । कार्यालयदेखि बसपार्क दस मिनेटको पैदल दूरीमा पर्छ । एक अपराह्न कार्यालयबाट बाहिरिएपछि म हतार–हतार दौडिन्छु, सिट पाइन्छ कि भन्ने आशमा । म जस्ता कैयौँ यात्रु उसै गरी हतारिएका भेटिन्छन् । गाडीको लाइन लामै देखिन्छ, आफू जाने रुटको गाडी कुन लाइनमा छ, आँखा उतै हुन्छन् ।

ए दिदी, जाने हो ? ए दाइ, जाने हो ? अंकल, आन्टी, आमा, बुबा ? ... ... जानेसम्मको साइनो लगाउँदै सहचालक भाइ घाँटी सुकाउँदै थियो । एउटा बस हिँडिसकेपछि कार्यालय समयमा अर्को गाडी तुरुन्त भेट्न मुस्किल पर्छ । भेट्टाए पनि सिट पाउने अवसर अपवादबाहेक विरलै मिल्छ ।

बसमा उक्लिएर यसो सिटतर्फ नजर डुलाएँ, कतै खाली छैन । उभिएरै भए पनि जाने सुर गरें । सहचालक भाइ कराइरहेकै थियो, ‘यता सिट खाली छ जाने हो ?’ ड्राइभर दाइ कराए, ‘ए कान्छा, उता हेर् त ! तीन जना आइरा’ छन्, बोला–बोला ।’ भाइ फेरि करायो । उभिने ठाउँसम्म नभए पनि ती तीन जना मुस्किलले भित्र छिरे । अनि एकैस्वरमा कराए, ‘ए फुच्चे, सिट खाली छ भन्या होइन ? गाडीभित्र त उभिने ठाउँ पनि रैनछ !’ ‘बानेश्वरबाट खाली भइहाल्छ नि !’ सहचालक भाइले गाडीको ढोका ठटाउँदै भन्यो ।

सिंहदरबार, माइतीघर, बानेश्वरको जाम छिचोल्न झन्डै आधा घण्टा लाग्यो । पहिले नै भरिभराउ गाडीमा बबरमहल, वानेश्वर, कोटेश्वरबाट झनै यात्रु थपिए । एक–दुई जना ओर्लिए । उभिएका यात्रु मात्रै पच्चीस–तीस जना थियौँ होला । एकातिर गर्मी, अर्कातिर गुन्द्रुकजस्तै कोचाकोच । हलचल गर्नसक्ने अवस्था छैन । कोटेश्वरमा एक ज्येष्ठ नागरिक बल्लतल्ल चढे । उनको नजर आफ्नै आरक्षित सिटमा गएर ठोक्कियो ।

ज्येष्ठ नागरिक सिटमा दुई युवती थिए, जसलाई ती बाले भने, ‘ए नानी, यो त हामीजस्ता बूढापाकाको सिट हो, तरुनी बस्ने होइन ।’ एउटीले भनिन्, ‘हामी बालकुमारीमा ओर्लने हो, बा । एकै छिन उभिनुस् ।’ यो सुनेर मेरो अगाडि उभिएका एक पुरुषले मुख खोले, ‘ए बहिनी, यत्तिको पाको बा देख्दा त तिमीहरू आफै जानेर उभिनुपर्ने हो, उल्टै बाले यो सिट तिमीहरूको होइन भन्दा पनि बस्न लाज लाग्दैन ? हामी उभिएर आउँदा पनि भएकै छ ! महिला सिटमा सेतै दाह्री–कपाल फुलेका बा बस्दा भने तरुनी नातिनीहरू बालाई उठाएर आफू बस्छन् ! आरक्षण र अधिकार तिमीहरूको लागि मात्रै हो ?’ सबै यात्रु त्यही सिटमा केन्द्रित भए । सहचालक भाइ पनि करायो, ‘ए दिदी, उठ्नुस् !’ रिसले रातोपिरो भएका दुवै जना उठे ।

सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिने व्यवस्था सरकारले गरिदिएको छ । ६० वर्ष पुगेका ज्येष्ठ नागरिकले भाडामा ५० प्रतिशत छुट र आरक्षित सिटमा बस्न पाउँछन् । तर त्यस्तो आरक्षित सिटमा बस्नका लागि यी वृद्धजस्ता कति बाआमाले हैरानी भोग्दा हुन् !

सहचालक भाइ गाडीमा उभिने ठाउँसम्म नभए पनि उसै गरी कराइरहेको थियो, ‘जाने हो ? सिट खाली छ । ग्वार्को, इमाडोल सानागाउँ ... ।’ बालकुमारीमा पाँच–छ जना बस कुरिरहेका भेटिए । तिनले ‘ए भाइ, इमाडोल जान्छ ?’ भन्नेबित्तिकै भाइ हर्षित हुँदै बोल्यो, ‘ल–ल, छिटो चढिहाल्नुस् !’ हलचल गर्न नसक्ने अवस्थाका यात्रुहरू रिसले चुर भए ।

एक जना कराए, ‘ए गुरुजी, जाऔं–जाऔं । गाडी पूरै प्याक छ, कहाँ अट्छन् अब ? मान्छे सिन्की त होइन नि जति खाँदे पनि हुने ! यहीँ छ बजिसक्यो, कहिले घर पुग्ने ?’ यो कुरा चालक र सहचालक दुवैलाई सुन्नु थिएन । सहचालक भाइ उल्टै करायो, ‘ओ, हेलो ! अलि पछाडि जानुस् ! ओ, हेलो ! कान सुन्नुहुन्न ? कति बेलादेखि पछाडि सर्नुस् भनिरा’ छु !’ अघिसम्म जानेसम्मको साइनो लगाउँदै चढाएको भाइ यात्रु थपिँदै गएपछि हपार्ने भइसक्यो !

एक छिनमा ऊ करायो, ‘ग्वार्को ओर्लने छ ?’ पछाडिको झ्यालसामु उभिएका दुई युवक ओर्लने जनाउ दिए । पछाडिबाट ढोकासम्म आउन ठूलै सकस । भाइ करायो, ‘अलि छिटो गर्नुस् !’ चालकको पनि चर्को स्वर सुनियो, ‘ए कान्छा, अलि छिटो गर् ! ओर्लनेहरू त अगाडि आएर बस्नुपर्छ नि !’ एक यात्रु बोले, ‘चढाउने बेला पछाडि जा, झर्ने बेला अगाडि आइज ? ठिक्क यात्रु चढाएको भए ओर्लन समय लाग्दैनथ्यो । तिमीहरूलाई यात्रु जहाँ चढाउन पनि छुट, चढाउने बेला जति जना चढाउन पनि छुट, जति बेर हामीलाई कुराउन पनि छुट, तर हामी पछाडिबाट अगाडि आउन एक मिनेट ढिलो हुँदा यत्रो बवन्डर ?’

ग्वार्को पुलनेर एक महिला बच्चा बोकेर चढिन् । महिला सिटमा एक अधबैंसे महिला र अर्की युवती थिए । बच्चा बोकेकी महिलालाई उनीहरूले सिट छोडिदिएनन् । अघिसम्म गफिइरहेका दुवै जनाले निदाएको बहाना गरे । बच्चा गर्मीले अतालिएर रोयो, पछाडिको सिटमा बसेका पुरुष उठिदिए । ती महिला सिटमा बसेपछि ती दुइटीको निद्रा खुल्यो । धन्न, महिला सिट ! एक यात्रुले कटाक्ष गरे, ‘अब महिला होइन, आमा सिट राखे हुन्छ । कम्तीमा आमाहरूले सास्ती त पाउने थिएनन् ।’

सहचालक भाइ फेरि चिच्यायो, ‘इमाडोल झर्ने छ ? इमाडोल झर्नेले भाडा दिइहाल्नुस् । अगाडि आउनुस् ।’ गाडीमा बोलिने कतिपय भाषा सांकेतिक भए पनि सहचालक र यात्रु दुवैका लागि प्रस्ट हुन्छन् । दुइटी युवतीले भाडा दिँदै भने, ‘ए भाइ, दुइटा राता मकै लेऊ त !’ भाइले दुई जनाको भाडा समायो ।

बस ‘राता मकै गेट’ लेखिएको बोर्डनजिकै पुगेपछि रोकियो । चालक कराए, ‘ल, दुइटा राता मकै झर्नुस् ।’ सबैजसो यात्रु गलल्ल हाँसे । सानागाउँ आइपुगेपछि करिब डेढ घण्टाको सकसपूर्ण यात्रा सकियो ।

म जस्ता लाखौं यात्रु हरेक दिन यसै गरी कष्टकर यात्रा गर्न बाध्य छौँ । सरकारसँग पानीजहाज, मोनो/मेट्रो रेलको माग, रहर केही पनि छैन हाम्रो । हामी सार्वजनिक यातायातमा बिनाकष्ट यात्रा गर्न चाहन्छौं । बिहान सग्लो हरियो साग बनेर घरबाट निस्किएको यात्रु साँझ फर्कंदा गुन्द्रुक बन्नुपर्ने अवस्थाको अन्त्य चाहन्छौं । सिटमै बसेर हिँड्न चाहन्छौं । आधा घण्टामा पुगिने स्थानमा डेढ घण्टा लाग्ने अवस्थाको अन्त्य चाहन्छौं । बस, योझन्दा ठूलो माग छैन ।

aryalyamuna44@gmail.com

प्रकाशित : श्रावण ६, २०७६ ०८:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाललाई जम्ने मौका

विनोद पाण्डे

काठमाडौँ — विगत हेर्दा कतारसँग नेपाल निकै सजग हुनुपर्ने अवस्था छ । वर्तमान हेर्ने हो भने नेपाललाई खासै गाह्रो नहुन सक्छ । यही अवस्थामा नेपालले विश्व ट्वान्टी–२० को एसिया छनोटको यात्रा प्रारम्भ गर्दै छ । प्रतियोगिता सोमबारदेखि सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा हुनेछ । नेपालले कतारसँग मंगलबार खेल्नेछ । 

कतारले सोमबार सिंगापुरसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्नेछ । नेपाल, कतार, सिंगापुरसहित मलेसिया र कुवेतले प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छन् । एक सातासम्म चल्ने छनोट प्रतियोगिताको विजेता विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा पुग्नेछ । नेपाल अहिले जुन स्थितिमा छ, त्यो हेर्दा सजिलै प्रतियोगिता जित्ने अनुमान गर्न सकिन्छ । तर नेपाललाई कसैले चुनौती दिन सक्छ भने त्यो कतार नै हुन सक्छ ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियको वरीयतामा नेपाल ११ औं स्थानमा छ, जुन स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावेको भन्दा माथि हो । सिंगापुर आउनुअघि नेपालले मलेसियामा १० दिन अभ्यासमा बिताएको थियो र मलेसियासँगको दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–० ले ‘क्लिन स्विप’ गरेको थियो । जनवरी यता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दुई देशबीच खेलिनेट्वान्टी–२० लाई अन्तर्राष्ट्रिय मान्यता दिन थालेको छ । वर्तमान स्थितिमा कतार २१ औं स्थानमा छ ।

सिंगापुरमा सहभागी टोलीमा नेपालपछि वरीयतामा कतार सबैभन्दा माथि छ । गत वर्षको अप्रिलमै भएको वेस्टर्न रिजनमा कतार दोस्रो भएको थियो र उपाधि भिडन्तमा टोली यूएईसँग ९ विकेटले पराजित भएको थियो । यही प्रदर्शनले कतारलाई वरीयतामा माथि ल्याएको छ । त्यही यूएईलाई राउन्ड रोबिनको खेलमा कठिन चुनौती तेर्स्याएको कतारले त्यसपछि कुवेतलाई २६ रनले, माल्दिभ्सलाई ४४ रनले, साउदी अरेबियालाई ४ विकेटले र बहराइनलाई ५ विकेटले पराजितगरेको थियो ।

कतारले यूएईसँगको पहिलो खेलमै १ सय ४३ रन बनाएको थियो, जसलाई पन्छाउन यूएईले १९ औं ओभरसम्म कुर्न परेको थियो । कुवेतसँग टोलीले १ सय ६७ रन बनाएको थियो । दुई साताअघि मात्र कतारले कुवेतलाई तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि निम्त्याएको थियो । शृंखला २–१ ले जित्ने क्रममा कतारले तेस्रो खेलमा कुवेतले छाडेको २ सय ३ रनको लक्ष्यलाई २ सय ६ रन बनाउँदै पार गरेको थियो ।

इस्टर्न क्षेत्रमा खेलेको नेपालले खासै चुनौतीको सामना गर्नुपरेको थिएन । नेपालले मलेसिया र सिंगापुरसहित अति कमजोर राष्ट्र म्यानमार, थाइल्यान्ड, भुटान, चीनलाई सजिलै पन्छाएको थियो । त्यसयता नेपालले दुबईमा गएर यूएईसँगको तीन खेलको शृंखलामा २–१ को ऐतिहासिक जित निकालेको थियो । विश्व ट्वान्टी–२० छनोटको आयोजक राष्ट्र भएकाले यूएई वेस्टर्न रिजनको विजेता भए पनि एसिया क्षेत्रमा नखेल्ने भएकाले सिंगापुरको प्रतियोगिताबाट विजेता मात्र छानिनेछन् ।

नेपालसँग कतारको खासै तुलना हुँदैन । नेपालले तीन पटक विश्व ट्वान्टी–२० छनोटमा सहभागिता जनाइसकेको छ । २०१३ को छनोटबाट नेपालले विश्व ट्वान्टी–२० नै खेलेको थियो । गत वर्ष यही समयमा नेपालले इंग्ल्यान्डको लर्डसमा नेदरल्यान्ड्ससँग
ट्वान्टी–२० खेलेको थियो । आईसीसीबाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा गतिलो एक्सपोजर पाएको छैन । नेपाललाई पहिलो खेलमै स्तब्ध पार्दै कतार पहिलो पटक विश्व ट्वान्टी–२० छनोटमा पुग्ने दाउमा छ ।

कतारसँगको यसअघिका दुई भेटमा नेपालसँग मिश्रित अनुभव रहेको छ । २००७ मा कुवेतमा भएको एसीसी ट्वान्टी–२० मा नेपाललाई कतारले ३ विकेटले पराजित गरेको थियो । यो त्यही प्रतियोगिता हो जुन नेपालले अन्तर्राष्ट्रियमा खेलेको पहिलो ट्वान्टी–२० थियो । दुई वर्षपछि यूएईमा नेपालले ६ विकेटको विजय निकाली कतारसँग बदला लियो । त्यसका बाबजुद धेरैले मानेका थिए, त्यति खेरसम्म नेपाल ट्वान्टी–२० क्रिकेटमा भिजिसकेको थिएन ।नेपाललाई ट्वान्टी–२० मा अझै जम्न नसकेको टोलीको रूपमा लिइन्छ ।कम्तीमा सिंगापुरको एसिया छनोट नेपाललाई खुलेर खेल्ने राम्रो अवसरको रूपमा आएको छ, त्यसका लागि कतारसँग पहिलो खेल जुरेको छ ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT