कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विद्यालय जानु कि खेतबारी

सविता दवाडी

पछिल्लो समय शिक्षामा समावेशीकरणबारे बहस सुरु भए पनि दलित–गैरदलित शैक्षिक असमानताको खाडल कम हुन सकेको छैन । गरिबीका कारण शिक्षामा कम पहुँच हुने, विद्यालयसम्म पुगेकाहरूले पनि पढ्दापढ्दै छोड्नुपर्ने अवस्था छ । गैरदलितका तुलनामा दलित विद्यार्थीको विद्यालयमा उपस्थिति न्यून भएको र बीचमै पढाइ छोड्ने दर पनि दलितहरूमै बढी रहेको तथ्य नेपाल र भारतमा भएका थुप्रै अनुसन्धानले उजागर गरेका छन् ।

विद्यालय जानु कि खेतबारी

दलितका लागि निःशुल्क शिक्षा तथा छात्रवृत्ति लगायतको व्यवस्था भए पनि प्राथमिक तहबाट निमावि, मावि हुँदै उच्च शिक्षासम्म पुग्दा दलित विद्यार्थीको उपस्थिति उल्लेख्य रूपमा घट्दै जाने गरेको छ ।


शिक्षा मन्त्रालयको फ्ल्यास रिपोर्ट, २०७४/७५ अनुसार ९ र १० कक्षामा भर्ना भएका कुल विद्यार्थीमध्ये ११.१ प्रतिशत दलित छन् । यो संख्या कक्षा ११ र १२ मा ६.५ प्रतिशत मात्रै छ । यसले एकातिर आधारभूत तहमा ठूलो संख्यामा दलित विद्यार्थी औपचारिक शिक्षाबाहिर रहेको र अर्कातिर तहगत कक्षा बढ्दै जाँदा दलित विद्यार्थी घट्दै गएको देखाउँछ ।


उच्च तहमा पुग्दा त झन् उनीहरूको उपस्थिति १.४ प्रतिशत मात्रै छ । छात्रवृत्ति, राहत, अनिवार्य शिक्षा कार्यक्रम, निःशुल्क शिक्षा जस्ता दलितलक्षित विभिन्न कार्यक्रम कार्यान्वयनमा आएसँगै पढ्नैका लागि लाग्ने प्रत्यक्ष खर्च एकदमै न्यून भए पनि तल्लो तहदेखि नै पढ्दापढ्दै छोड्ने दर गैरदलितको तुलनामा दलितको किन बढी छ ? के कारणले गर्दा उनीहरू गैरदलितसरह शिक्षा प्रणालीमा आउन सकेका छैनन् ? मननयोग्य छ ।


परम्परागत पेसा, आर्थिक अवस्था र शिक्षा

अधिकांश दलित भूमिहीन छन् । उनीहरू आफ्नै व्यवसाय गर्नभन्दा निमेक गरेर बाँचिरहेका छन् । खेतीपातीको काम, बालिघरे/हलिया प्रथामा अल्झिएका दलितहरू नगण्य आम्दानीका लागि वर्षैभरि पसिना बगाउन बाध्य छन् । यस्तो कमाइबाट वर्षभरि धान्न धौधौ पर्छ । आधारभूत आवश्यकता पूरा गर्न नसक्दा ऋण लिनुपर्ने हुन्छ ।


ऋण लिएबापत उनीहरू झन् श्रम शोषणमा पर्छन् । उनीहरूका परम्परागत ज्ञान, सीप र उत्पादनलाई आधुनिकीकरण, पश्चिमीकरण र बढ्दो सहरीकरणको प्रभावले विस्थापित गरिरहेको छ । फलस्वरूप कृषि, संगीत, मनोरञ्जन, सरसफाइ, शिल्पकारी पेसाबाट पनि उनीहरूले जीविकोपार्जन गर्न सकेका छैनन् । साथै, उनीहरू वैकल्पिक पेसा छनोट गर्न पनि स्वतन्त्र छैनन् । होटल, लज, पेयजन्य उद्योग–व्यवसाय कतिपयले छुवाछुतका कारण सञ्चालन गर्न सकेका छैनन् ।


परम्परागत पेसाले आर्थिक अवस्थालाई चुनौती दिएसँगै उनीहरूका सन्तानको शिक्षादीक्षामा पनि प्रभाव पारेको छ । परम्परागतभन्दा अन्य पेसा अँगालेका अभिभावकको आर्थिक अवस्था राम्रो पाइएको छ । तिनले आफ्ना बालबालिकालाई पनि उच्च शिक्षासम्म पढाउन सकेका छन् ।


दलित बालबालिकाको श्रम र शिक्षा

जनसंख्याको अनुपातमा बालश्रमिकको संख्या नेपालमा विश्वमै सबैभन्दा उच्च छ । बालबालिकाले गर्नुपर्ने श्रम र शिक्षा अन्तरसम्बन्धित विषय हुन् । गरिब परिवारका बालबालिका धेरैजसो विद्यालयमा भर्नै नहुने र भए पनि पढाइलाई निरन्तरता दिन नसक्ने हुन्छन् । कमजोर आर्थिक अवस्थाका कारण दलितका बालबालिकामा समेत श्रमिकका रूपमा काम गरेर अभिभावकलाई सघाउनुपर्ने बाध्यता छ ।


अभिभावक पनि बालबालिकालाई विद्यालय पठाउनभन्दा काममा लगाउनै उपयुक्त ठान्छन् । औपचारिक शिक्षाले गरिबीलाई झन् विकराल बनाउँछ भन्ने मानसिकता उनीहरूमा छ । बाली लगाउने, बाली भित्र्याउने जस्ता कामको चाप हुने समयमा दलित विद्यार्थीहरू कक्षामा नियमित हुन सक्दैनन् । पढाइ छुट्ने गरेकाले उनीहरू स्वतः कमजोर हुँदै जान्छन् ।


श्रमिकका रूपमा पूरै समय खट्नुपर्ने बालबालिका शैक्षिक प्रणालीभित्र समावेश हुनै सक्दैनन् । घरायसी काम गर्ने, मौसम अनुसारको काममा व्यस्त हुनुपर्ने बालबालिकाको विद्यालयसम्म पहुँच पुगे पनि पढाइलाई निरन्तरता दिने सम्भावना कम हुन्छ ।


विद्यालयको वातावरण र छुवाछुत

केही दशकयता विद्यालयको संख्यामा उल्लेख्य वृद्धि भएको विभिन्न तथ्याङ्कले देखाएका छन् । विद्यालय जातीयता सम्बन्धी अन्धविश्वासलाई चुनौती दिने थलो पनि बनेको छ । यसले दलितको विद्यालय गतिशीलतामा पक्कै केही बढोत्तरी गरेको छ । विद्यालय दलितको परम्परागत पेसालाई परिवर्तन गर्ने साधन बनेको छ ।


यसकै कारण सम्भ्रान्त वर्गको दलितप्रति दृष्टिकोणमा केही लचकता आएको छ । अभिभावकमा पनि आफ्ना बालबालिकालाई पढाउनुपर्ने जागरण आएको छ । तिनले बाह्य संसारबारे जान्ने–बुझ्ने मौका पाएका छन् । तर सबै दलितले यो फाइदा लिन सकेका छैनन् । त्यसको कारण हो— गरिबी, छुवाछुतको माखेसाङ्लो, पेसा छान्न नसक्ने बाध्यता । साथीभाइ र शिक्षकबाट हुने छुवाछुतका कारण पनि दलित विद्यार्थीहरू पढाइप्रति उदासीन रहने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।


घरपरिवारबाट बाहिरिएपछि बालबालिका रमाउने, घुलमिल हुने ठाउँ विद्यालय नै हो । विद्यालय औपचारिक शिक्षा हासिल गर्ने थलो हो । विद्यालयको वातावरण विद्यार्थीको रुचि र दक्षता अनुकूल भए मात्रै सिकाइ सार्थक हुन सक्छ । शिक्षक, सहपाठी, कर्मचारी प्रशासन आदिको सकारात्मक व्यवहार पाए बालबालिका विद्यालयप्रति आकर्षित हुन्छन् ।


सहरी क्षेत्रमा पछिल्लो समय जातीय विभेदमा कमी आएको भए पनि कतिपय ग्रामीण क्षेत्रमा अझै साथीभाइ तथा शिक्षकहरू समेत सँगै बसेर खाजा खान हिचकिचाउने गरेको पाइन्छ । कक्षाकोठामा शिक्षकहरूले दलितलाई होच्याउने खालका उखानटुक्काको प्रयोग गर्ने गरेको अनुभव कतिपय विद्यार्थीको छ ।


देशमा राजनीतिक–सांस्कृतिक परिवर्तनसँगै राज्यको पुनःसंरचनामा समावेशीकरणको यत्रो बहस चलिरहँदा, छुवाछुतमुक्त घोषणा भएको नेपालमा अझै पनि आमजनको दलितलाई हेर्ने दृष्टिकोणमा पूर्णतः परिवर्तन आउन सकेको छैन । देशको जनसंख्याको उल्लेख्य हिस्सा ओगटेका दलितहरू समाजको मूलप्रवाहमा अझै पनि आउन सकेका छैनन् ।


रूढिवाद, अन्धविश्वास, परम्परागत रूपमा लादिएको छुवाछुतका कारण दलितहरू अझै पनि राज्यको स्रोत, साधन र सेवाबाट टाढै छन् । आमजनको ज्ञान, धारणा र व्यवहारमा सकारात्मक परिवर्तन ल्याई जातीय विभेद हटाउन सके मात्र दलित शिक्षा लगायतको मूलधारमा समेटिन सक्नेछन् ।

प्रकाशित : श्रावण ८, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?